भर्खरै :

वातावरणमैत्री साइकल, संस्कृति र समृद्धि

 

साइकल वातावरण मैत्री सवारी साधन हो । साइकल चढ्नु स्वास्थ्यका लागि अत्यन्तै लाभदायक छ । साइकलिङलाई स्विमिङ पछिको दोस्रो व्यायामको रूपमा लिइन्छ । हाम्रो देश प्राकृतिक सुन्दरता र वातावरणीय विविधताको कारण विश्वमै परिचित छ । वातावरणलाई सधैँ स्वच्छ, सफा राख्नको लागि साइकल चढ्ने संस्कारको विकास गर्नु आवश्यक छ । अहिले हाम्रो देशमा अर्बाैँ–खर्बाैँको पेट्रोलियम पदार्थ र त्यसबाट चल्ने सवारीका साधनहरू आयात भइरहेको पाइन्छ । यसबाट हाम्रा साना सहर र साघुँरा बाटोसँगै देशका मुख्य–मुख्य शहरहरूमा ट्राफिक जामका समस्या दिनप्रतिदिन बढ्दै गइरहेको छ । वातावरण प्रदूषणले गर्दा विभिन्न माहामारीहरू भोग्न हामी बाध्य छौँ र भविष्यमा अझै यो भन्दा पनि भयावह अवस्था आउन सक्ने आकलन गर्न सकिन्छ । वातावरण प्रदूषणका कारण खुला हावामा श्वास फेर्न मुस्किल हुने अवस्था आइरहेको छ । यस बारेमा गम्भीर भएर नसोच्ने हो भने भावी पुस्ताले दुःख भोग्नुपर्ने निश्चित छ ।
यस्ता समस्यालाई न्यूनीकरण गर्नको लागि इन्धनको सवारी साधनलाई दुरुत्साहन गरी साइकलको प्रयोग गर्नु आवश्यक छ । हाम्रो देशको भौगोलिक अवस्था र धरातल पनि साइकलमैत्री छ । साइकलबाटै एक ठाउँबाट अर्को ठाउँमा सजिलै यात्रा गर्न सकिन्छ ।
तराईका शहररूमा व्यावसायिक एवम् गुजाराको साधनको रूपमा साइकलको प्रयोग व्यापक भएको पाइन्छ भने पहाडी भेगमा सोखको रूपमा साइकलको प्रयोग भएको पाइन्छ । यो समयमा युवा तथा बालबालिकाले साइकल सवारीप्रति मोह राख्न थालेका छन् ।
अहिले युवा–पिँढी बिस्तारै साइकल सवारीप्रति आकर्षित भइरहेको छ । बिहान–बेलुकाको फुर्सद वा बिदाका दिनहरूमा समूह–समूहमा वा एक्लै साइकल चढेर विभिन्न ठाउँमा घुमिरहेका प्रशस्तै देख्न पाइन्छ । यसबाट हामी अनुमान गर्न सक्छौँ साइकल चढ्नु सोखका माध्यम भए पनि भविष्यमा साइकल सोखभन्दा माथि उठेर विभिन्न प्रयोजनका लागि राष्ट्रव्यापी रूपमा उपयोग गरिनेछ वा हुनेछ । यसको लागि साइकल चढ्ने बानी विकास गर्नु जरूरी छ ।
जनस्तरबाट साइकल सवारीको मोह बढिरहेको भएता पनि वर्तमान समयमा सरकारी संयन्त्र र सरकार चलाउने पदाधिकारीहरू यसप्रति बेखबरै छन् । साइकलमैत्री वातावरण बनाउनेतर्फ सरकारमा पदासिनहरूको ध्यान गएको पाइँदैन । साइकल र साइकलका जायज मुद्दाहरूमा उनीहरू संवेदनशील छैनन् ।
यसको लागि साइकल अभियन्ताहरूले एकजुट भई सरकार र स्थानीय निकायलाई यस प्रति चासो राख्न, देशव्यापी पूर्वाधार विकास गर्न र हाम्रा सहरहरूलाई क्रमशः साइकलमैत्री बनाउनका लागि घचघच्याउनु पर्ने टड्कारो आवश्यकता छ । अनि मात्र साइकलको उपयोग र त्यसको उपयोगिता बढ्ने छ ।
सहरलाई साइकलमैत्री बनाउनु त्यति गा¥हो काम होइन, मात्र इच्छाशक्ति र योजना चाहिन्छ । सहरी क्षेत्रमा साइकलको लागि मुख्यतयाः दुई ओटा पूर्वाधारको प्रमुख रूपमा विकास गर्न आवश्यक छ । पहिलो, साइकल लेन अर्थात् साइकल चलाउनका लागि निर्दिष्ट व्यवस्थित एवम् सुरक्षित सडक हुनु जरूरी छ । दोस्रो, साइकल स्ट्यान्ड अर्थात् साइकललाई व्यवस्थित एवम् सुरक्षितरूपमा पार्क गर्ने स्थान आवश्यक छ । हाललाई यी दुई पूर्वाधार मात्र व्यवस्थित हुन सक्यो भने साइकल चढ्ने संस्कारको विकास बिस्तारै बढ्दै जानेछ ।
हाम्रा सहर वा गाउँहरू सानो भएकोले साइकलको माध्यमबाट सजिलै एक ठाउँबाट अर्को ठाउँमा जान सकिन्छ । यसको लागि मोटरसाइकल वा गाडी नै चढ्नुपर्छ भन्ने छैन । यति मात्र होइन यसको प्रयोगमा व्यापकता आउने बित्तिकै विदेशबाट ठूलो परिमाणमा धेरै पैसा खर्च गरेर पेट्रोलियम पदार्थ र अनावश्यक सवारीका साधनहरू आयात गर्न आवश्यकता पर्दैन । सोचौँ त यदि यस्तो हुन सके देशको नगद अनावश्यकरूपमा बाहिर जानेछैन भन्ने वातावरण पनि स्वच्छ हुन जानेछ । अर्कोतर्फ देशमा साइकल पर्यटन प्रबद्र्धन गर्न सकिन्छ । स्वदेशी वा विदेशी पर्यटकलाई साइकल चढाएर देशभरका विभिन्न प्राकृतिक मनोरम ठाउँ, मठमन्दिर, मौलिक कला एवम् सांस्कृतिक सहरहरूको अवलोकन गराउन सकिन्छ भने नेपालको पहाडी र हिमाली क्षेत्रमा साइकल ट्राय्ल व्यापक मात्रामा निर्माण गरी विश्वभरका साहसिक साइकल चालकहरूलाई आर्कषित गरी प्रतियोगिता सञ्चालन गर्न सकिन्छ । यस्ता योजनाहरू बनाएर कार्यान्वयन गर्न सके विश्वभरबाट थप साइकल पर्यटकहरू भित्याउन सकिन्छ, यसबाट नेपालीको आर्थिक अवस्था तथा देशकै आर्थिक अवस्थामा सकरात्मक प्रभाव पर्नेछ र देशको माटो र भूगोल अनुसार दीगो विकासको बाटोमा हामी अग्रसर हुन सक्छौँ । त्यसैले आजै अहिलेबाटै हामी वातावरण मैत्री स्वास्थ्यका लागि उपयोगी सवारीको साधन साइकल चढ्ने प्रण गरौँ । अरूलाई पनि साइकल चढ्न प्रोत्साहन गरौँ । यसैबाट वातावरण जोगाउन सक्छौँ अनि स्वस्थ रहन सक्छौँ । देशलाई स्वस्थ र स्वच्छ बनाई समृद्ध बनाउन सक्छौँ । आर्थिक रूपमा आत्मनिर्भर बनाउन सक्छौँ ।
(लेखक साइकल अभियन्ता हुनुहुन्छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *