भर्खरै :

नेकपा समाजवादको आधार तयार गर्न अघि बढ्छ ?

नेकपाका नेताहरूबीच धेरै पटक गत्यवरोध भयो, चक्र्यो र उचाइमा पुग्यो, धेरै पटक मिल्यो । अन्तरकलह उचाइमा पुगेपछि मिलेको कुरा लेखाजोखा गरेर साध्य छैन । आन्तरिक कलह मिलेको खोकेपछि नेकपाका नेताहरूले भने, एकतादेखि सहन नसकेका अन्य दलका नेताहरू हिस्स भए, प्रतिक्रियावादी शक्तिहरू तिलमिलाए, गले आदि । नेकपाका नेताहरूको मिलन र अन्तरकलहले न प्रतिक्रियावादी शक्तिहरू तिलमिलाउँछन् न त गल्छन् । हालै बसेको नेकपाको स्थायी समितिको बैठकमा अध्यक्षद्वय केपी ओली र दाहाल मिलेको खोके पनि व्यवहारमा त्यो देखिने छैन ।
नेकपाका नेताहरू समाजवादी क्रान्तिको बाटोमा लागेका भए या आमूल परिवर्तनको बाटोमा लागेका भए शोषक, सामन्तजस्ता प्रतिक्रियावादीहरू, पुँजीपति वर्ग, जालीफटाहा, कालाबजारी, कमिसनखोर, सामाजिक अपराधीहरू तर्सनु स्वाभाविक हो । समाजवादी क्रान्तिका पूर्वाधारहरू तयार गरेर समाजवादको आधार निर्माण गरी समाजवादी गणतन्त्रको अभियानमा लागेका भए प्रतिक्रियावादीहरू तर्सन्छन् । सामन्त, जमिनदार र पुँजीपति वर्गको पक्षपोषण गर्न लागेको नेकपाका अध्यक्षद्वयबीचको वाक्युद्ध साम्य भएको पार्टीले निष्कर्ष निकाल्दैमा अरू किन तर्सन्छन् ? नेकपालाई अरू दलहरूले चिनिसकेका छन् । नेकपाको राजनीति समाजवादी क्रान्तिको निम्ति होइन सत्ता राजनीतिमा केन्द्रित भएको कुरा सबैले चाल पाइसकेका छन् ।
नेकपाका अध्यक्षद्वयबीच चर्केको हालको अन्तरकलह न पहिलो हो, न अन्तिम हुनेछ । यस्ता अन्तरकलह पहिले धेरै भए, धेरै पटक मिलेको खबर सञ्चार गरेर खुसी पनि मनाए । अहिलेको अन्तरकलह पनि त्यसकै सिलसिलामात्र हो । कम्युनिस्ट पार्टीको सिद्धान्त र विचारअनुसार नेकपा नलागेको हुँदा अन्य कम्युनिस्ट पार्टीले नेकपा आमूल परिवर्तनको बाटोमा नरहेको टिप्पणी गरेको थियो । ‘जनयुद्ध’ ताका माओवादीले केही गर्ला कि भन्ने कतिलाई लागेको थियो । त्यसरी नै एमालेसँग माओवादी मिलेर नेकपा बनेपछि केही गर्ला कि भन्ने कतिलाई लागेको थियो । तर, नेकपाले सरकारको नेतृत्व गरेपछि ल्याएको सरकारी नीति तथा कार्यक्रम र बजेट हेरेपछि थाहा भयो, नेकपामा कम्युनिस्टको सिद्धान्त र विचार भिजेको छैन । नीति तथा कार्यक्रम र बजेट पुँजीपति वर्गकै पक्षपोषण गर्ने खालको सावित भयो ।
नेकपाको नीति तथा कार्यक्रम टाकनटुकन सुधार गरेर ल्याइएको परम्परागत नै रहेको टिप्पणी भयो । हुन पनि बजेटमा नयाँ कुरा केही थिएन । सरकारी नीति तथा कार्यक्रम समाजवादउन्मुख थिएन । बजेट समाजवादी अर्थतन्त्रउन्मुख थिएन । नेकपाले कम्युनिस्ट पार्टीको सिद्धान्त र विचारअनुसार राजनीति नगरेकै कारण दुई अध्यक्षबीच विवाद चर्केकोमा शङ्का छैन । त्यसो होइन भने आलोपालो सरकारको नेतृत्व गर्ने कुरा कसरी उठ्यो ? निर्वाचनमा हारेका नेकपाका उपाध्यक्ष वामदेव गौतमले प्रम बन्न पाउने सर्तमा राष्ट्रिय सभा सदस्य बन्ने माग किन अघि सारे ? घनश्याम भुषालले सुरुमा पार्टीको खूब विरोध गरे । मन्त्री भएपछि पार्टीले गरेका कमी कमजोरी औँल्याउन पनि उनलाई भ्याइएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *