भर्खरै :

एक ॅपागल इन्स्पेक्टर’ को बकबक

रात परिसकेको हुन्न । एक मानिस साँझतिर टोल-टोलमा गएर ठूल-ठूलो स्वरले बरबराउने गर्छ । मानिसहरू अलि टाढा बसेर उसको कुरा सुनी आपसमा कुराकानी गर्छन् । पेटी, पाटी वा हरेक दबु (उँचो ठाउँ) मा बसेर वा उभिएर भाषण दिएजस्तै र कुनै एक अनौपचारिक बैठकमा प्रतिवेदन सुनाएजस्तो आफ्नो राय दिएको अभिनय गर्छ । हिउँद महिनामा ६ बजे नै र वर्षायाममा ७ बजेपछि ॅइन्स्पेक्टरको भाषण’ भनी मानिसहरू एक आपसमा ठट्टा गर्छन् ।
पुरानो, अलि मैलो ॅइन्स्पेक्टर’को पोसाकमा ऊ बरबराउँदै थियो- “म प्रहरी इन्स्पेक्टर होइन, दाजुभाइ, दिदी-बहिनीहरू !” म त नगरका सबै घरहरूलाई एकै आकारको, एकै रङ्ग र एउटै कलात्मक स्वरूप दिन रात-दिन जनतालाई सम्झाइ-बुझाइ गर्ने एक निरीक्षक हुँ । मेरो मातहतमा २०-२५ जना वडा निरीक्षकहरू काम गर्छन् । तिनीहरूको कमान्ड मेरो हातमा हुन्छ । तर, जनताले नक्सा पास किन गराइन्छ भन्ने कुरा बुझ्दै नबुझी नक्साअनुसार घर निर्माण गरी इन्जिनियर, डकर्मी-सिकर्मी र ठेकेदारहरूले भनेजस्तै निर्माण कार्य गर्छन् । नक्साअनुसार निर्माण भएन भने वडा निरीक्षकहरूले मलाई रिपोर्ट दिन्छन् र त्यही रिपोर्टलाई म प्राविधिक शाखा र कार्यकारी अधिकृतकहाँ पुर्‍याउँछु ।”
टाढाटाढा आँखा डुलाउँदै ऊ रिसाएर बोल्न थाल्छ- “नगरका घरमालिकहरू यस्ता लोभी, जाली, फटाहा र चिप्लोघसुवाहरू छन् कि अनियमित निर्माण गर्नु हुन्न भन्दा तिनीहरू, “नगरपालिकाको हाकिम र मेयरलाई सबै बताइसकेको छु, सब ठीक छ भन्नुभयो, उहाँबाटै निर्माण चालु राख्ने आदेश पाएपछि पो काम सुरु गरेको, नत्र कार्यालय गएर सोध्नू” भन्छन् । अफिसमा हाकिम र मेयर भेट्नै घण्टौँ लाग्छ र तत्काल अर्को काममा जानुपर्ने हुन्छ ।
ठूल-ठूलो स्वर र बिना विराम बोलीरहँदा खोकी लाग्छ र बोतलको पानी एक दुई घुट्को पिएर फेरि बोल्न थाल्छ- “घर निर्माण गर्ने साहु-महाजन, व्यापारी, वकिल, डाक्टर, इन्जिनियर, मध्यमवर्ग वा वडाध्यक्ष नै किन नहोस् दुई इन्च भएपनि सार्वजनिक जग्गा मिच्न चाहन्छन् । करोडौँ मूल्य पर्ने घरको निर्माणमा पनि निर्माणकर्ताहरू र इज्जतदार साहु-महाजनले किन जनताको दुई अङ्गुल जग्गा मिच्ने ?”
“भन्न त तिनीहरूको पछाडि तपाईँ सहभागी मित्रहरूले पनि देशका गरिबको शोषण र थिचोमिचो गरेरै धनीहरू धनी भएका हुन्छन् भन्नुहुन्छ । सुँगुरले फोहर खाएजस्तै फाइदा भएपछि जे पनि गर्छन्, नि ¤ तर, पढेलेखेका र विश्वविद्यालयका प्रमाणपत्रधारीहरू किन चुप लाग्छन्, थाह छैन !”
“ट्राफिक प्रहरीले नगरका सडक र आवास क्षेत्रहरूमा भएका सबै दुर्घटनाहरूमा नगरपालिकाका इन्स्पेक्टर र वडा निरीक्षकहरूलाई दोष दिन्छन् । निर्माण कार्य भइरहेकै बेला नगरपालिकाले सडक वा बाटो मिचेर घर बनाउँदा रोकेको भए सडक साँगुरो वा मोड सानो हुने थिएन । हरेक हप्ता, होइन भने हरेक महिना त्यही मोडमा कसरी मोटरसाइकल, मोटर वा सवारी साधन एक अर्कासँग ठोकिन्छ ? किनकी, घरधनीले ५—६ फिटको जग्गा मिचेर घर बनायो, पेटी बनाउनुपर्ने जग्गामा घर बनाउँदा नै दुर्घटनाहरू भए ।”
एकछिन सम्झेजसरी बोल्छ – “सत्य के हो भने, पञ्चायतकालमा मनोनीत मेयरले त्यो घरधनीको सहपाठी र आफ्नै चोकको युवक भएको हुँदा आफू पदमा बस्दा सडक मिच्न दिएको थियो । जाँचकीहरू मिलेर घर बनाउन रोक्नैपर्ने जिकिर गर्दा मेयरले मुख खोल्यो- २-४ महिनामा निर्वाचन हुँदै छ, हाम्रो टोलमा उसका जातिका मानिसको जनसङ्ख्या बढी छ, निर्वाचनमा सहयोग गर्ने वचन दिएको हुँदा मैले आँखा चिम्लिदिएको हुँ ।”
“मेयरहरू नै अर्को चुनाव हेर्ने, आफ्नो मान्छे हेर्ने, आफ्नो भाइ र साथीको नाताले विश्वसम्पदा क्षेत्र र सांस्कृतिक क्षेत्रमा नक्सा पास गरिदिने भएपछि इन्स्पेक्टर र टोलटोल हेर्ने निरीक्षकहरूले के गर्ने ? मेयरले आफ्नो घर बनाउँदा विशेष परिस्थिति लागु गर्न मिल्छ ? दोष कर्मचारीलाई मात्रै दिनु भएन, निर्वाचित सदस्य र वडाअध्यक्षहरूले नै नक्सा पास नगरी घर बनाउन दिएपछि कर्मचारीको के लाग्छ ? जुवाडे, जँड्याहा र गुन्डाहरूको डरले ऐन-कानुन नलाग्ने हो भने के गरिब र आफ्नो भन्ने कोही नहुने साधारण जनतालाई मात्रै ऐन-कानुन लाग्ने ? के मेयरले नक्सा पास नगरी घर बनाउनु हुन्छ, के अनियमित घरमा रेस्टुराँ खोल्न दिनु हुन्छ ?”
“दाजुभाइ, दिदीबहिनीहरू ! मलाई मानिसहरू पागल भन्छन्, मैले अवकास पाएको १० वर्ष भयो, हिजो मलाई र मेरा सहयोगी वडा निरीक्षकहरूलाई दोष दिन्थे । वडा निरीक्षक वा वडा जाँचकीमात्र प्रवेशिका उत्तीणर् कर्मचारी हुन्, तिनीहरूको निम्ति कुनै कक्षा सञ्चालन र तालिम छैन, करोडौँको घर निर्माण हुन्छ, केही गल्ती-कमजोरी भयो भने दोषी वडा निरीक्षक र इन्स्पेक्टर हुन्छन् । इन्जिनियर र आर्किटेक्ट (वास्तुकलाविद्) चाहिने पदमा साधारण कर्मचारीले कसरी काम गर्न सक्छन् ? के यसबारे योजना आयोग, उपत्यका नगर विकास आदि संस्था र सरकारलाई थाहा छ ?”
झन्डै सानो जनसभाजस्तो ठाउँमा क्यामरा भएका टीभी पत्रकारहरू पुग्छन् र फोटो खिच्न थाल्छन् । दर्शक र स्रोताहरूसँग सोध्छन्, कुराकानी गर्छन् । टीभी पत्रकारहरू माइक लिएर ॅइन्स्पेक्टर’ सँग सोध्छन्, “के म तपार्इँसँग केही प्रश्न सोध्न सक्छु ?”
“अवश्य !” मानौँ कुनै राजनैतिक कार्यकर्ताले जस्तै उत्तर दिन्छ ।
“नगरपालिकाहरूका भ्रष्टाचारको जड नै ॅइन्स्पेक्टर’ र जाँचकी बताइन्छ के यो साँचो हो ?”
“असत्य ! सेवाग्राहीहरू आफूले जानेर वा नजानेर विराम गर्छन्, जाँचकीले पक्राउ गर्‍यो भने पैसा खल्तीमा राखेर मुक्त हुन खोज्छन् । पहिलो, जनतालाई नक्सा पास गर्नुपर्ने कारण थाहा छैन । जसलाई थाहा छ, तिनीहरूले सरकारको कानुनी कमजोरीबाट फाइदा उठाउँछन् । कानुन बनाउने सांसदहरूलाई राजमार्ग, साधारण सडक, सहरी र कृषि सडक, नगर र आवास क्षेत्रबारे तथा त्यहाँका सडक र बाटाहरूबारे जानकारी छैन । किन ?”
“ऐन कानुनमा आवास क्षेत्रमा राजमार्गमा चल्ने १५—२० टन बोक्ने र ठूल-ठूला गाडीहरू चल्दैन भन्ने बन्दोबस्त छैन । अनि ट्राफिक र प्रहरी एवम् जनतालाई पनि थाहा हुँदैन । सांसदहरूलाई समेत थाहा छैन भने अरूलाई के भन्ने ? मन्त्री र प्रधानमन्त्रीहरूले यसबारे कहिल्यै जनतालाई शिक्षित गरेको हामीलाई थाहा छैन ।”
मानिसहरूले ताली बजाए, पत्रकारहरू अचम्भित भए र उत्साहित देखिए अनि प्रश्न गरे— “यहाँ तपाईँलाई पागल भन्छन् नि ¤ तपार्इँ के भन्नुहुन्छ ?”
सद्दे मानिसहरू साँचो बोल्न डराउँछन्, आफ्नो स्वार्थ हेर्छन्, सार्वजनिक जग्गा आफ्नो नाममा गर्छन् र त्यसैकारण मलाई पागल भनेर आफ्नो अपराध लुकाउँछन् ।”
भीडमा हो – हल्ला भयो र प्रहरी आइपुग्यो । कोरोनाले दुःख दिएको बेला भीड जम्मा हुनुहुन्न । सामाजिक दुरी कायम गर्न तपाईँहरू टाढा – टाढा बस्नुहोला भन्दै प्रहरीले मानिसलाई हटाउँछन् । दुई चार जना विद्यार्थी मिलेर ॅइन्स्पेक्टर’लाई गल्लीतिर लगे ।
तर, ऊ कराउँदै थियो -“मलाई छोरा-छोरीले समेत भ्रष्टाचारी, नातावाद, क्रिपावादको पक्ष लिने समाजविरोधी, धनीहरूको अगाडि झुक्ने, नागरिक भावनाहीन व्यक्ति र नगरलाई कुरूप बनाउने समूहका एक सदस्य भन्छन् ।”
“गुहार, गुहार !”

Leave a Reply

Your email address will not be published. Required fields are marked *