भर्खरै :

कोभिड–१९ सङ्क्रमण र एकान्तवासका २३ दिन

भदौ ३ बुबाको मुख हेर्ने दिन । कोभिड–१९ समुदायस्तरमा फैलिन नदिन भन्दै काठमाडौँ उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले तीनै जिल्लामा भदौ ४ देखि ११ गतेसम्म निषेधाज्ञा जारी ग¥यो । भक्तपुर नगरपालिकाले पनि कोरोना सङ्क्रमण व्यापकरूपमा फैलिन सक्ने खतरालाई ध्यानमा राखी विभिन्न चाडपर्व तथा सामाजिक व्यवहारहरू औपचारिकतामा सीमित गर्ने आग्रहसहित सूचना जारी ग¥यो । निषेधाज्ञाको कारण आफू कार्यरत संस्था पनि भदौ ४ गतेबाट बन्द हुने सूचना जारी ग¥यौँ ।
बुबाको मुख हेर्ने दिन भएकोले घरमै व्यस्त भएँ । व्यस्तताले दिनभरि केही असजिलो महसुस नभए पनि साँझतिर रुघा लाग्ने हो कि भनी शङ्का लाग्यो । बुबाको मुख हेर्ने कार्यक्रम सामान्य रूपमा सकाएँ । त्यही रात अकस्मात् ज्वरो आए पनि ‘सामान्य होला’ भनेर सधैँझैँ बिहान एकछिन हिँड्डुल गरेँ । ज्वरो रोक्ने लक्षण नदेखिएकोले आराम गर्न त्यो दिन चाँडै घर फर्केँ र दिनभर आराम गरेँ ।
लकडाउनको कारण कोरोनाको समाचार सामाजिक सञ्जालमा व्याप्त थियो । ज्वरो नरोकिएकोले कोभिड–१९ को आशङ्का लागेर सजगतास्वरूप आफँै एकान्तवासमा बस्न सुरु गरेँ । ज्वरो नाप्ने र झोल पदार्थ सेवन गर्ने कार्य नियमितरूपमा गरियो । शरीरको तापक्रम अधिकतम १०१.१ डिग्रीसम्म पुगे पनि प्रायः ९९ र १०० डिग्रीको बीचमा सीमित रह्यो । जिउ दुख्ने र टाउको दुख्ने लक्षण देखिएकोले कोरोना लागेको हो कि भनेर शङ्काले मन चिसो भयो । भदौ ४ र ५ गते आराम गरेपछि तेस्रो दिन बिहान ज्वरो निको भएजस्तो लागे पनि टाउको दुखेकोे निको भएन । तैपनि भदौ ६ गते बिहान सिद्धपोखरीसम्म पुगेँ । भदौ ७ गते बिहानसम्म पनि निको नभएकोले सोही दिन खाना खाएर स्वाब परीक्षणको लागि भक्तपुर अस्पताल पुगेँ । त्यसपछि ज्वरो सामान्य भयो र टाउको दुख्नेक्रम पनि रोकियो । ज्वरोको कारण भदौ ४ गतेदेखि खाने गरेको सिटामोल भदौ ७ गतेपछि खान छोडेँ ।
कन्ट्याक्ट ट्रेसिङ र व्यस्त जीवन
स्वाब परीक्षणको रिपोर्ट भदौ ११ गते साँझ ६ बजे प्राप्त भयो । भक्तपुर अस्पतालको एक जना स्टाफ साथीबाट आफूलाई कोरोना पोजेटिभ भएको खबर पाए पनि पत्यार लागेन । किनकि शरिरमा रोगको कुनै लक्षण थिएन । भक्तपुर अस्पतालकै अर्काे साथीमार्फत रिपोर्टबारे बुझ्न अनुरोध गरेँ । उहाँले रिपोर्ट पोजेटिभ नै भएको जानकारी दिनुभयो र विस्तृत रूपमा बुझ्न भक्तपुरको लागि कोरोना फोकल पर्सनको मोबाइल नम्बर उपलब्ध गराउनुभयो । उहाँले आइसोलेसनमा बस्न सल्लाह दिनुभयो । आफू भदौ ३ गतेदेखि घरमै एकान्तवासमा बस्दै आएको र सबै बन्दोबस्त मिलाएको जानकारी उहाँलाई गराएँ । मेरो अवस्थाबारे थप बुझ्न भक्तपुर नगरपालिकाबाट सञ्चालित जनस्वास्थ्य सेवा केन्द्र र भनपा वडा नं ९ का वडा अध्यक्ष रवीन्द्र ज्याख्वले फोन गर्नुभयो । उहाँहरूलाई पनि घरमै आइसोलेसनमा बसिरहेको जानकारी गराई आफूलाई केही समस्या नभएको बताएँ ।
जनस्वास्थ्य सेवा केन्द्रबाट कन्ट्याक्ट ट्रेसिङको लागि सम्पर्क भयो । भदौ ४ गतेबाट आफूलाई ज्वरो आएको र ७ गते भक्तपुर अस्पतालमा स्वाब परीक्षणको लागि गएको जानकारी दिएँ । जनस्वास्थ्य केन्द्रका सम्बन्धित चिकित्सकले ४ दिनअगाडि नै भाइरस सक्रिय भएको हुनसक्ने र भाइरस सक्रिय हुनुभन्दा १४ दिनअगाडि नै शरीरमा भाइरस प्रवेश गरेको हुनसक्ने जानकारी दिनुभयो । त्यसैले साउन १६ गतेदेखि आफूसँग सम्पर्कमा रहेका सबैको कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने सुझाव दिनुभयो । उक्त अवधिमा आफू १५ वटा बैठक तथा कार्यक्रमका साथै विभिन्न भेटघाटमा सहभागी भएको रहेछु । जनस्वास्थ्य सेवा केन्द्रका प्राविधिकहरूले उक्त अवधिमा मसँग सम्पर्क भएका ५३ जना व्यक्तिहरूको स्वाब परीक्षण गर्नुपर्ने निष्कर्ष निकाल्नुभयो र सोहीअनुसार मेरो सम्पर्कमा रहेकाहरूको स्वाब सङ्कलन भक्तपुर नपा वडा नं ४ को वडा कार्यालय र जनस्वास्थ्य सेवा केन्द्रमा भदौ १४ गते गरियो । उक्त सङ्कलित स्वाबको रिपोर्ट भदौको २० गते आएको जानकारी पाएँ । उक्त रिपोर्टअनुसार ३ जनाबाहेक सबैको रिपोर्ट नेगेटिभ थियो । पोजेटिभ रिपोर्ट आएका ३ जनामध्ये दुई जनाको पुनःकन्ट्याक्ट टे«सिङबाट थप १० जनाको पोजेटिभ रिपोर्ट देखियो ।
एकान्तबासको जीवन
हल्का ज्वरो आएदेखि नै एकान्तवासको बसाइ सुरु गरेको थिएँ । बिहान झिसमिसेमा टहलिने र दिनभरि कोठामा बस्ने दैनिकी बन्यो । भदौ ११ गते रिपोर्ट आएपछि १५ दिनसम्म घरबाटै निस्किएन । रिपोर्ट आएपछि मेरोबारे साथीभाइ–शुभचिन्तकहरूमा खबर फैलियो । शुभचिन्तक साथीभाइ र आफन्तहरूको फोन दिनप्रतिदिन बढ्न थाल्यो । दुई दिन त फोनमा नै व्यस्त भयो । धेरै शुभचिन्तकहरूबाट सद्भाव तथा निदानका सुझाव पाएँ । कोरोनाबाट निको भएका साथीहरूले आफ्ना अनुभवहरू सुनाउनुभयो । शुभचिन्तकहरूबाट प्राप्त सुझावले मन हलुका र चञ्चल अनुभव गरेँ, कोरोनाको सामना गर्न पर्याप्त मात्रामा आत्मबल प्राप्त भयो । कहिलेकाहीँ साथीभाइबाट प्राप्त विविधखाले सुझावले आफू अलमलमा परेँ । सबै सुझावहरू कार्यान्वयन गर्न दिनभरको समय पनि अपुग हुनेजस्तो देखियो ! तर, आफूलाई शारीरिक असजिलो केही भएकै थिएन– अघिपछि जस्तै स्वस्थ र फूर्तिलो महसुस भइरहेकै थियो, केही उपचारको आवश्यकता पनि महसुस हुँदैनथ्यो । तर, पनि निदानका उपायहरू नगर्दा केही हुने पो हो कि भन्ने तर्कना हुन्थ्यो । आफू कुनै उपचार नगरी कोरोनालाई जित्ने अठोटमा थिएँ । दैनिकरूपमा नियमित खाना, तातोपानी र झोलीय पदार्थबाहेक केही सेवन गरिएन । आफ्नो शरीरमा कुनै रोगको लक्षण नदेखिएको हुँदा नानाथरीका उपायहरू अपनाइएन । आफू स्वस्थ रहेको आत्मबलले साथ दिइरह्यो ।
समाजमा फैलिएको गलत हल्ला र तिरस्कार
कोरोनाको बारेमा समाजमा व्याप्त त्रासले गर्दा समाजमा विभिन्न हल्लाहरू फैलिए । टोलका केही मानिसहरू मलाई र मेरी श्रीमतीलाई कोरोना लागेको कारण अस्पतालमा भर्ना गरिएको र घरमा केटाकेटीमात्र रहेको मनगढन्ते कुरा गरिरहेका थिए । एकजनाले त निको भएर नफर्केसम्म भन्न भ्याए ।
त्यस्तै टोलकै एक बुढीआमा न्यास्रो लागेर आफ्ना छोराहरूलाई भेट्न गइन् । उनी आएको उनकी बुहारीले झ्यालबाटै देखिन् र झ्यालबाटै कराउन थालिन् रे, “रोक्नुस् आमा, उता टोलको पुरुषोत्तम दाइलाई कोरोना भएको छ । तपार्इँ पनि उतै बस्नुहुन्छ, त्यसैले तपाईँलाई पनि कोरोना भएको हुनसक्छ । दुई–चार दिन यता नआनुहोला ।” बुहारीको बोलीले बुढीआमाले चित्त दुखाइन् र “अब तिमीहरूको घरमा कहिल्यै पाइला टेक्दिनँ” भनेर बुढी आमा फर्केको कुरा टोलका साथीहरूबाट पछि सुन्न पाइयो ।
त्यस्तै अर्काे एउटा घटना भयो । मेरा एक अभिन्न मित्र आफ्नी विवाहिता भाञ्जीको घरमा काम विशेषले गएकी रहेछन् । सोही कामको लागि भाञ्जीकी आमा पनि छोरीको घरमा पुगेकी रहछन् । मलाई कोरोना भएको हल्ला तत्काल साथीको भाञ्जाले जानकारी पाए । उनले आफ्नो दिदीकोे घरमा गएकी आमालाई तत्काल फोन गरेर भने, “आमा, मामाको साथी पुरुषोत्तम काकालाई कोरोना भएको छ रे !अब मामाको पनि स्वाब परीक्षण गर्नुपर्ने भयो, तपाईँ अहिले मामासँग हो भने मामाको नेगेटिभ रिपोर्ट नआएसम्म केही दिन घर नआउनुस् ।” यतिभन्दा आमा–छोराबीच एकछिन फोनमै चर्काचर्की भएछ । छोरीको घरमा गएको चौथो दिनमा मात्र मेरा मित्रको स्वाब सङ्कलन भयो र स्वाब सङ्कलन गरेको ६ दिनपछि त्यसको नेगेटिभ रिपोर्ट आयो । त्यसले गर्दा छोरी भेट्न गएकी आमा १० दिनसम्म छोरीकै घरमा क्वारेन्टिनमा बस्नुभएछ । १० औँ दिनमा रिपोर्ट आएपछि छोराले फोन गरेर घर फर्किन अनुरोध गर्दा आमाले झोकमा घर नफर्कने जवाफ फर्काएपछि आमालाई लिन छोरा आफैँ दिदीको घरमा पुग्दा पनि छोरासँग फर्किनन् र त्यसको दुई दिनपछि आमा आफँै फर्किछन् ।
एकदिन म घरमै आइसोलेसनमा बसेपछि घरको छतमा कपडा सुकाउन गएकी मेरी जहानलाई एक छिमेकी बुढीआमाले सा¥है चिन्ता व्यक्त गर्दै सोधिन्, “अहिले बाबुलाई कस्तो छ ? के गर्ने सानोमा पनि सा¥है बिरामी पर्ने मान्छे ।” हातले इसारा गर्दै “थोरै–थोरै भात खान्थ्यो । अहिले खान खायो कि खाँदैन ?” अतिरञ्जनापूर्ण प्रचारले गर्दा बुढीआमाले म सिकिस्त नै भएको सम्झिछन् । मेरी जहानले त्यस्तो केही नभएको र अघिपछि जस्तै सामान्य नै रहेको बताइन् ।
एकजना अर्काे छिमेकी आमाले त म गम्भीर बिरामी भएको भन्ठानेर घरमा फलफूल नै पठाइन् ।
मेरो एकजना अर्का मित्र पनि मेरो कोरोना रिपोर्ट पोजेटिभ आएपछि समस्यामा परेछन् । मेरो कन्ट्याक्ट ट्रेसिङमा परेका उनको पनि क्वारेन्टिनमा बसेको ४ दिनपछि स्वाब सङ्कलन भयो र स्वाब सङ्कलन भएको ६ दिनपछि नेगेटिभ रिपोर्ट आयो । तर, संयुक्त परिवारमा बस्ने मेरा मित्रलाई नेगेटिभ रिपोर्ट आएको धेरै दिन पछिसम्म भान्छामा पस्न दिइएन । साथीले यसबारे जिज्ञासा राख्दा उनी मसँग निकै नजिक भएर हिँड्ने गरेको हुनाले अझै केही दिन भान्छामा जान नदिने कुरा गरेको सुन्न पाइयो । नेगेटिभ रिपोर्ट आएपछि पनि परिवारले भेदभाव गरेकोमा साथीको चित्त दुखेको रहेछ ।
आफूलाई सामान्य रुघाखोकी लाग्नेबित्तिकै आफँै एकान्तवासमा बसेँ र २३ दिनको एकान्तवासपछि स्वास्थ्यकर्मीको सल्लाहमा मात्र म घरबाट बाहिर निस्केँ । सामान्यरूपमा कोरोना पोजेटिभ भएकाहरू १४ दिनको आइसोलेसनपछि बाहिर हिँड्डुल गर्ने गर्दछन् । तर, रोगबाट मुक्त भई २४ औँ दिनमा बाहिर निस्कँदा पनि केही ‘बुझक्कड’ साथीहरू मबाट तर्केर हिँड्ने र सकेसम्म भेट्न नखोज्ने गर्नथाले । सामानहरू किनमेल गर्दा पनि पैसा र सामानको लेनदेनमा भिन्नै व्यवहार गरेको महसुस भयो । समाजमा जान्ने–बुझ्ने भनाउँदाहरूबाटै यस्तो व्यवहार हुुने हो भने समाजका सामान्य मानिसहरूबाट कस्तो व्यवहारको अपेक्षा गर्ने ? यसबारे सम्बन्धित निकाय तथा सामाजिक अभियन्ताहरूको ध्यान जानु आवश्यक छ ।
कोरोनाबाट जुरेको अवसर
आफ्नो व्यक्तिगत काम तथा अन्य विभिन्न कार्यको सिलसिलामा बिहानदेखि बेलुकासम्म घरभन्दा बाहिर रहने बानी परेको थियो । कोरोनाले गर्दा मेरो यस प्रकारको दैनिकीमा व्यापक परिवर्तन भयो । घरमै आइसोलेसनमा बसेपछि बाहिर निस्कने कुरै भएन । त्यसैले एकान्तवासको भरपर्दाे साथीको रूपमा दराजका केही पुस्तकहरूले मलाई साथ दियो । यस अवधिमा केही पुस्तकको अध्ययनले थोरै भए पनि ज्ञान आर्जन गर्ने अवसर मिल्यो ।
सागरचन्द र निर्भिकजङ रायमाझीद्वारा सम्पादित एवम् इन्डिगो इङ्क प्रा.लि. द्वारा प्रकाशित पुस्तक ‘सी चिनफिङ ः जीवन र सङ्घर्ष’ ले राष्ट्रपति सीको जीवनीमात्र होइन, जनगणतन्त्र चीनको स्वतन्त्रतादेखि समृद्धिको यात्रासम्म कसरी अगाडि बढ्यो भन्ने जानकारी मिल्दछ । वास्तवमा चिनियाँ जनता ‘अध्यक्ष माओले चीनलाई स्वतन्त्रता दिलाए, देङले चीनलाई धनी बनाए र सीले चीनलाई विश्वस्तरमा पु¥याउने अभ्यास गर्दै छन्’ भन्ने कुरामा विश्वस्त रहेको कुरा पुस्तकको विभिन्न प्रसङ्गमा पढ्न पाइन्छ । चीनको गौरव फर्काउने उद्देश्यले २००० वर्ष पुरानो रेशम मार्गलाई ब्युँताउने अभिलाषासहित राष्ट्रपति सीले अगाडि सारेको ‘बेल्ट एन्ड रोड इनिसियटिभ’ तथा यससँग जोडिएको एसियाको भविष्यबारेमा पुस्तकमा उल्लेख भएको पाइन्छ । चिनियाँ जनता र विश्वका श्रमजीवी जनताको हितको लागि चीनले विगत वर्षमा सम्पन्न गरेका अनेकौँ योजना तथा आगामी दिनमा गर्नुपर्ने योजनासहितका कार्यक्रमहरूबारे उक्त पुस्तकमा उल्लेख छ ।
“खुसी हामीले कल्पना गरेजस्तै आकाश वा स्वर्गबाट वर्षने कुरा होइन, यो त हामै्र समुन्नत कर्म, सोचाइ र कठिन परिश्रमबाट प्राप्त हुने वस्तु हो, यसरी प्राप्त गरिएको खुसीको मूल्य नै सर्वश्रेष्ठ हुन्छ” सी चिनपिङको यो भनाइ मार्मिक एवं गर्विलो छ । यो पुस्तक सीका यस्ता उत्कृष्ट विचारले भरिएको भन्दा अतिशयोक्ति नहोला । त्यसैले यो पुस्तक पठनीय छ ।
एकान्तवासकै समयमा पत्रकार समाज नेपालद्वारा प्रकाशित ‘चिलीमा फासीवादको प्रतिरोध’ पुस्तक सार्वजनिक भयो । यो पुस्तक अनुवाद साहित्य भए पनि अत्यन्त सरल र बुझ्ने भाषाशैलीको छ । पुस्तकमा क्युवाका दिवङ्गत राष्ट्रपति फिडेल क्यास्ट्रोले चिलीको संसद्मा फासीवादी सेनाले गरेको आक्रमणको बारेमा हवानामा दिनुभएको भाषण अध्ययन गर्दा चिलीमा भएको फासीवादी आक्रमण चलचित्रको दृश्यजस्तै आफ्नै आँखा अगाडि घटेको घटनासरि स्मरण भयो ।
लोकप्रिय गायक भिक्टर हाराकी श्रीमती जोएन हाराले लेख्नुभएको ‘फासीवादी सत्ता कब्जाको दिन र त्यसपछिका दिनहरूबारे’ लेख पनि अत्यन्त मन छुने खालको छ । भिक्टर हारा मरेको खबर लिएर एकजना अपरिचित कमरेड भेट्न आउनु, उसले भिक्टर हाराको लास भएको स्थानमा लग्दा चारैतिर लासैलासहरू छरपस्ट रहेको कुराको वर्णन र रङ्गशालामा अमानवीय यातना दिइएका ५,००० भन्दा बढी कैदीको कारुणिक चित्रण पढ्दा मन नै चसक्क भयो ।
ब्रह्म शमशेरले लेखेको ‘नेपालको महाभूकम्प १९९०’ पुस्तक पनि पढ्ने मौका मिल्यो । विसं १९९० सालमा गएको भूकम्पबाट भएको धनजनको क्षति विवरण, त्यस ताकाको नेपालको आर्थिक तथा सामाजिक स्थिति, त्यसबेलाको राज्यले गरेका विभिन्न गतिविधि आदि समेटेर प्रकाशित गरिएको यो पुस्तक पठनीय नै छ । उक्त भूकम्पमा त्यसबेलाको सरकारले खेलेको भूमिका हेर्दा अहिलेको महामारीको सङ्कटमा कर्तव्यच्युत भएको हालको दुईतिहाइको सरकारले खेलेको भूमिका तुलना गर्न नमिल्ने देखिन्छ ।
बाटोघाटो तथा सञ्चार सुविधा नभएको तत्कालीन अवस्थामा समेत छोटो अवधिमा क्षतिको विस्तृत विवरण सङ्कलन गरी राहत वितरण तथा पुनःनिर्माणको कार्यलाई तत्कालीन सरकारले चुस्तरूपमा अगाडि बढायो । बेलायतलगायत विभिन्न देशले तत्काल गर्न चाहेको सहयोगसमेतलाई अस्वीकार ग¥यो । बरु आफ्नै स्रोत र साधन परिचालन गरी तत्कालीन राणाशाहीले जनतालाई सक्दो राहत प्रदान ग¥यो । सञ्चारले संसारलाई फन्को मारिरहेको वर्तमान अवस्थामा सरकारको कार्यसँग दाँज्ने हो भने त्यसबेलाको तत्परता र सुझबुझपूर्ण कार्य उत्कृष्ट देखिन्छ । जहानियाँ शासन र निरङ्कुशताको विरोधमा आन्दोलन गरी स्थापित प्रजातान्त्रिक भनिएका वर्तमान सरकारका शासकहरूसँग तत्कालीन शासकहरूसँग देशभक्तिको भावना नभएको कुरा पुस्तकबाट जानकारी मिल्दछ ।
शताब्दी पुरुष सत्यमोहन जोशीद्वारा लिखित पुस्तक ‘कलाकार अरनिको’ पनि अध्ययन गर्ने अवसर एकान्तवासले जुराइदियो । अरनिकोबारे नेपाली वास्तुकला चीनमा प्रचार गर्ने, विभिन्न शैलीका नेपाली वास्तुकलाहरू चीनमा निर्माण गरेको आदि सुनेको थिएँ । उक्त पुस्तक पढेपछि अरनिकोबारे थप जानकारी प्राप्त भयो । अरनिकोले चिनियाँ सम्राट कुब्लाइ खाँसमेतलाई प्रभावित तुल्याई धेरै कीर्तिहरू निर्माण गरेको पुस्तकमा उल्लेख छ । यही प्रतिभाको कारण अरनिकोलाई विभिन्न मानपदवीले सम्मान गर्नुका साथै जीवित छँदै उनलाई मन्त्रीसरहको दर्जा ‘तासथु’ र मरणोपरान्त पनि ‘कोङ खाई फू यी सान स थाई स’ (प्रथम श्रेणीका भारदारलाई प्रदान गरिने उपाधि) प्रदान गरिएको थियो ।
त्यसबेला सम्राट कुब्लाइ खाँले वरिपरिका छिमेकी मुलुकलाई आक्रमण गरी दिग्विजयी भइरहेका थिए । त्यसैले त्यसबेला सम्राट कुब्लाइ खाँ छिमेकी मुलुक र टाढाका मुलुकमा समेत सम्राटको युद्धपिपासु दृष्टि र युद्धको मार नपरेको ठाउँ कमै होला । त्यहीबेला उनले नेपालको बाटो भएर भारतमा समेत आक्रमण गर्ने योजना बनाएका थिए । तर, त्यतिबेलाका भारदार र राजगुरुले अरनिकोको प्रभावको कारण सम्राटलाई उक्त योजना परित्याग गर्न अनुरोध गरे । सम्राटले पनि आफ्नो अत्यन्त प्रिय कलाकारको देशका जनतालाई कष्ट हुने कुरालाई मनन गरी उक्त योजना परित्याग गरे र नेपालको शान्ति खल्बलिन पाएन । यसरी विलक्षण प्रतिभाका धनी अरनिकोबारे यस्ता अनगिन्ती किस्साहरू यस पुस्तकमा पढ्न पाइन्छ ।
डा. अरूणा उप्रेतीको ‘खाना खानुभयो ?’ जनकवि दुर्गालाल श्रेष्ठको ‘ताईभाभा’ किताबका साथै ‘मजदुर–किसान’ तथा ‘जनताको साहित्य’ को नयाँ अङ्क पनि अध्ययन गरेँ । पुस्तक तथा पत्रपत्रिका अध्ययनले गर्दा १५–२० दिन समय गएको पत्तै पाइएन ।
प्रभाव र समस्या
कोरोना रोग सोचेजस्तो सरल होइन रहेछ । कोरोना सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएका सबैलाई यो रोग सङ्क्रमण हुने सम्भावना भएकोले यसको नियन्त्रणमा सरकार÷समुदायको धेरै लगानी पर्नेरहेछ । यो रोग एक्लो व्यक्तिसँग मात्र सम्बन्धित नभई समुदायमा सङ्क्रमण हुने खतरा रहेकोले धेरै सजग हुुनु जरुरी छ । आफ्नो सानो कमजोरीले समुदायलाई सङ्क्रमित गर्ने काम नगरौँ । कोरोनाको रोकथाम सम्बन्धमा सरकारले जारी गरेका निर्देशनहरू पालना गरी कोरोना नियन्त्रण गर्न सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग एवम् समझदारी अपनाऔँ । यसैमा बुद्धिमानी हुनेछ ।

One response to “कोभिड–१९ सङ्क्रमण र एकान्तवासका २३ दिन”

  1. उत्तम कर्माचार्य says:

    याे अनुभवबाट के सिक्ने ? समाजमा जनसम्पर्ककाे जिम्मेवारीमा रहेकाहरू रूघाखाेकि र जराे अाउदा सचेत भएर स्व एकान्तवास बस्नुपर्याे । नकि स्वाब दिईसकेपछि प्रभातफेरिमा निस्किने । घरभित्र एकान्तवास बस्ने रे अनि बाहिर भेटघाट तिब्रता दिदा प्रत्यक्ष भेटघाट हुनेगरी बैठक नबस्न अनुराेध भईरहदा पनि १५ वटा बैठकमा सहभागी हुन भ्याएछ । के सामाजिक अगुवाहरूका यस्ता व्यवहार बिराेधाभाषपूर्ण रहेन ? झन् काेराेना संक्रमित पुष्टि भएपछि विहान झिसमिसेमा मर्निङ वाक जाने र दिउंसाे एकान्तवास बस्ने भन्ने दैनिक देखेर अाश्चर्य लाग्याे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *