भर्खरै :

चीनमा छ जना अमेरिकीहरू

समकालीन विश्व राजनीतिमा सर्वाधिक चर्चाको विषय हो–चीन र संरा अमेरिकाबीचको द्वन्द्व । अर्को महिना संरा अमेरिकामा राष्ट्रपति निर्वाचन हुँदै छ । निर्वाचन प्रचारको क्रममा उम्मेदवारहरूले चर्चा गर्ने गरेका धेरै विषयमध्ये प्रमुख विषय बनेको छ – चीनसँगको सम्बन्ध । डोनाल्ड ट्रम्प राष्ट्रपति बनेयता चीनसँग संरा अमेरिकाको सम्बन्ध अझ चिसो बन्दै गएको छ । ट्रम्प सत्तासीन भएयता हिन्द–प्रशान्त रणनीतिको आक्रामकता, व्यापार युद्ध हुँदै हुवावे प्रकरणसम्मका अनेकन रङमा दुई देशबीचको द्वन्द्व गहिरिंदै छ । नोभेम्बरको चुनावमा रिपब्लिकन दलको तर्फबाट उम्मेदवार बनेका ट्रम्पले आफ्ना चुनाव प्रचार सभाहरूमा चीनको बद्ख्वाइँ गर्न छोडेका छैनन् । उनी आफ्ना असफलताको सबै दोष चीनमाथि थोपरेर आफू साखुल्ले बन्ने प्रयासमा लागेको देखिन्छ ।

मा हाइडे


सन् १९८९ मा सोभियत सङ्घ विघटन भयो । सोभियत सङ्घको अवसानसँगै संसारमा संरा अमेरिका नेतृत्वको पश्चिमा विश्वको एकध्रुवीय शासन स्थापित भयो । केही पश्चिमा बुद्धिजीवीहरूले सोभियत सङ्घको विघटन हुनुलाई नै समाजवादको पराजयको रूपमा अथ्र्याएर समाजवादी व्यवस्था सधैँको लागि संसारबाट बिदा भएको घोषणा गरे । उनीहरूले कहिल्यै पनि संसारमा फेरि कुनै देश समाजवादको झन्डा बोकेर उदाउने कल्पनासमेत गरेनन् । तर, विशेषतः नयाँ शताब्दीको सुरुवातसँगै एसियाली देश चीनको गतिवान उदयले पश्चिमा संसारलाई झस्कायो । संसारकै महाशक्ति कहलिएको संरा अमेरिकाका शासक र व्यापार केन्द्रका मालिकहरूको निद्रा नराम्ररी बिथोलियो । चीनको उदय समयमै रोक्न नसके संसारमा आफ्नो प्रभुत्व सधैँको लागि गुम्ने भयबाट ग्रस्त संरा अमेरिकी शासक वर्ग चीनको अग्रप्रस्थान रोक्न हरप्रयासमा लाग्यो । चीनलाई चारैतिरबाट घेर्ने र युद्धमा फसाउने, चीनकै आन्तरिक द्वन्द्वलाई उछालेर उसलाई इन्तु न चिन्तु बनाउने, व्यापार सम्बन्धमा विफल बनाउने, मानव अधिकार र प्रजातन्त्रको नाममा चीनलाई बदनाम गर्ने आदि सबै दण्डनीति संरा अमेरिकाबाट प्रयोग भयो । यसको निम्ति संरा अमेरिकी व्यापार मालिकहरूले यस्तो राजनीतिक नेतृत्व आवश्यकताबोध गरे, जो विवेक र तर्क होइन, आफ्नो जिद्दी र अल्पज्ञतालाई सत्य ठान्दछ ।

एडगर स्नो


डोनाल्ड ट्रम्प उनीहरूको उत्कृष्ट छनोट थियो । विडम्बना ! आज उनीहरूले छानेको ट्रम्प नै अमेरिकी व्यापारीहरूको लागि भष्मासुरलाई बरदानसिद्ध हुँदै छ । ट्रम्पको विवेकहीनसामु त्यहाँका बुद्धिजीवी, चिन्तक र सचेत जनता त आजित छन् नै, उनलाई राष्ट्रपति बनाउन लागेका सहकर्मी र सहयोगीहरू निधारमा हात राखेर घोसेमुन्टो लाग्न बाध्य छन् । कुनै बेला सबै देशले पृथ्वीका सबै कुनामा आफ्नो सामान बेच्न पाउनुपर्ने विश्वव्यापीकरणको चर्को वकालत गर्ने अमेरिका आज चीनको उदयसँगै अमेरिकाको कुनाकुनामा चिनियाँ सामान देखेर व्यापार संरक्षणवादको पक्षपाती बनेको छ । अमेरिका आज पनि शीतयुद्धपछि आफ्नो एकछत्र प्रभुत्वमा चलेको विश्वको धङधङीबाट मुक्त हुनसकेको छैन ।
यो हो आजको चित्र 
तर, दोस्रो विश्व युद्धताका चीन र संरा अमेरिकाबीचको सम्बन्धको स्वरुप निकै फरक थियो । पर्ल हावरमा जापानी सेनाको हमलापछि त्यत्तिञ्जेल दोस्रो विश्वयुद्धमा लडिरहेका देशलाई हतियार बेचेर नाफा कुम्ल्याइरहेको संरा अमेरिका आफैँ युद्धमा होमिन बाध्य भयो । फासीवादी मोर्चालाई पराजित गर्नुपर्ने निष्कर्षसहित संरा अमेरिकाले फासीवादी देशविरुद्ध लडिरहेका शक्तिहरूसँग सहकार्यको हात बढायो । सन् १९४५ सम्म चीनको अधिकांश भूभागले जापानी उपनिवेशवादी शासन झेलिरहेको थियो ।

अन्ना लुई स्ट्रङ


सन् १९३६ मा चीनको सियानमा कोमिन्ताङ पार्टीका नेता च्याङ काई सेकलाई उनकै सेनाका जर्नलहरूले कैद गरी कम्युनिस्ट पार्टीसँग मिल्न सहमत बनाएपछि जापानी उपनिवेशवादविरुद्ध कम्युनिस्ट र कोमिन्ताङको सेना लडिरहेका थिए । तथापि, च्याङ काई सेक र उनको सेना जापानी उपनिवेशवादीप्रति भन्दा कम्युनिस्टहरूप्रति बढी असहिष्णु थियो । त्यसकारण माओ त्सेतुङ नेतृत्वको चिनियाँ कम्युनिस्ट पार्टीको आठौँ मार्ग सेना र नयाँ चौथो सेनाले एकातिर जापानी उपनिवेशवादविरुद्ध मुक्ति युद्ध लडिरहेका थिए भने अर्कोतिर कोमिन्ताङ प्रतिक्रियावादीहरूसँग समानान्तर लडाइँ लडिरहेका थिए । जापानलाई कमजोर बनाउने लक्ष्यसहित अघि बढिरहेको संरा अमेरिकाले त्यत्तिबेला जापानविरुद्ध लडिरहेको जनमुक्ति सेनालाई सहयोग गर्न युद्धक विमानबाट आफ्ना लडाकुहरू कम्युनिस्ट पार्टीका आधार क्षेत्रमा परिचालन गरेको थियो ।
तत्कालीन चीन पश्चिमा संसारको लागि त्यत्ति परिचित भूमि थिएन । त्यसको एउटा मूल कारण चिनियाँ भाषा र संस्कृति पनि थियो । आर्थिक केन्द्र भएकोले अधिकांश विदेशीहरू साङ्घाईलाई नै आधार बनाउँथे । पेइचिङमा पनि विदेशीहरूको सङ्ख्या निकै पातलो थियो । त्यसकारण चीनको वास्तविक अवस्थाबारे पश्चिमा विश्व अपरिचित थियो । पश्चिमा सहरमा निस्कने पत्रपत्रिका चीनबारे अनुमानको भरमा लेख्थे अथवा सोभियत सञ्चारमाध्यममा भर पर्थे । यस्तो परिस्थितिमा केही अमेरिकीहरू चीनको भुइँतहको वास्तविकता बुझ्न चीन पुगेका थिए । चीनमात्र होइन, उनीहरू तत्कालीन चीनमा प्रभावशाली बन्दै गरेको कम्युनिस्ट पार्टी र त्यसको नेता माओ खोज्दै चीनको भित्री भूभागको यात्रामा निस्के । उनीहरू कोही पत्रकार थिए, कोही चिकित्सक थिए भने कोही अमेरिकी सिपाहीँ र कोही लेखक थिए । उनीहरू कम्युनिस्टहरूको आधार क्षेत्र येनान पुगे । येनानमा उनीहरूले जे देखे, त्यसले चिनियाँ कम्युनिस्टप्रति संसारमा भइरहेको प्रचार कति असत्य थियो भन्ने कुरा आफ्नै आँखासामु देखे । येनानका पहाड खोपेर बनाइएका स्थानीय प्रविधिअनुसारको साधारण घरमा बसेका क्रान्तिकारी नेताहरूका विचार सुनेर उनीहरू ताजुब परे । पहाड र खोँच बसेका चिनियाँ नेताहरूको विश्व राजनीतिबारेको विराट दृष्टिकोणबाट ती अमेरिकीहरू कायल भए ।

जोसेफ वारेन स्टिलवेल


क्रान्तिमा होमिएका नेतादेखि सेना र साधारण जनतासम्म नयाँ समाज निर्माणको अभियानमा दिलोज्यान दिएर लागेको देखेर उनीहरूले वास्तवमै नयाँ चीन बन्दै गरेको अनुभव गरे । निकै विशिष्ट त्यो भावनालाई उनीहरूले ‘येनान भावना’ (येनान स्पीरिट) को नामकरण गरे ।
उनीहरूमध्ये कति जना पहिले नै कम्युनिस्ट विचारबाट प्रभावित थिए । केहीले सोभियत सङ्घको समाजवादी व्यवस्था देखेका थिए र चीनमा उदाइरहेको नयाँ समाजवादबारे उत्सुक थिए । येनानमा पुगेर कम्युनिस्ट पार्टीको क्रान्तिकारी सेनालाई नजिकबाट नियालेका उनीहरूमध्ये जो लेखक र पत्रकार थिए, उनीहरूले लेखेर संसारसामु चीनमा हुर्किरहेको नयाँ व्यवस्थाबारे जानकारी गराए । विशाल चीनका चिनियाँ जनतामध्ये धेरैले माओ त्सेतुङ पनि चिनेका थिएनन् । चु तेह र चाओ एन लाईबारे उनीहरूलाई थाहा थिएन । यस्तो अवस्थामा अमेरिकी पत्रकार र लेखकहरूले लेखेका पुस्तक र लेखमार्फत आफ्नो देशको उदयीमान नेतृत्व चिनियाँ जनताले चिनेका थिए ।

इभान्स फोर्डेस


चीनमा हुर्कंदै गरेको क्रान्तिबाट आकर्षित भएर सन् १९२७ मा साङ्घाई पुगेका न्युजिल्यान्डका रेवी एल्लीले त्यसपछिका सबैजसो समय चीनमै बिताए । उनले चिनियाँ क्रान्ति र समाजबारे धेरै पुस्तक र कविताहरू लेखे । चिनियाँ क्रान्तिको समयमा कम्युनिस्टहरूले मुक्त गरेका आधार क्षेत्रमा स्थानीय उद्योग खोलेर आत्मनिर्भर बनाउने परियोजना ‘कुङ हो’ मा उनी सक्रिय थिए । चिनियाँ क्रान्तिमा यसरी सघाउने क्रममा आफूजस्तै क्रान्तिलाई मद्दत गर्ने उद्देश्य बोकेर आएका अमेरिकीहरूमध्ये ६ जनाको जीवनीसहित सन् १९८५ मा रेवीले ‘सिक्स अमेरिकन्स इन चाइना’ (चीनमा छ जना अमेरिकी) नामको पुस्तक प्रकाशन गरे ।
पुस्तकमा चिकित्सक जर्ज हमित (मा हाइडे), पत्रकार एडगर स्नो, अर्का पत्रकार अन्ना लुई स्ट्रङ, लेखक एग्नेस स्मेल्डी, अमेरिकी सैनिक कमान्डर जोसेफ वारेन स्टिलवेल र अमेरिकी सेनाका गुप्तचर इभान्स फोर्डेस कार्लसनका जीवनी समावेश छन् ।
जर्ज हमित लेवनानी मूलका अमेरिकी चिकित्सक थिए । चिकित्साशास्त्रको पढाइ सकेर उनी ‘भाग्य जाँच्न’ चीनको साङ्घाईमा पुगेका थिए । साङ्घाईमा उनको सम्पर्क चिनियाँ कम्युनिस्ट र प्रगतिशीलहरूसँग भयो । उनीहरूकै विचारबाट प्रभावित बनेर उनी कम्युनिस्टहरूको आधार क्षेत्रमा गए । कम्युनिस्टहरूको क्रान्तिलाई उनले एक जना चिकित्सकको रूपमा सेवा गरे । नयाँ चौथो सेनासँग उनले चीनमा विभिन्न क्षेत्रको भ्रमण गरे । चीनमा क्रान्तिको सफलतापछि उनले स्वास्थ्य क्षेत्रको नीति निर्माणमा योगदान गरे । विभिन्न देशमा चीनको तर्फबाट प्रतिनिधित्व पनि गरे । चीनमै उनको विवाह भयो । चीनको क्रान्तिमा चिकित्सकको रूपमा योगदान गर्ने क्यानाडाका डा. नर्मन बेथुन, भारतका डा.कोटनिसकै नामावलीमा डा. माको पनि नाम जोडिन्छ । क्रान्तिपछि विशेषतः चीनका जनजातिको स्वास्थ्य सुधारमा उनले काम गरे ।
एड्गर स्नो पेइचिङ विश्वविद्यालयमा भाषा शिक्षण गर्थे । उनी सुरुमा पत्रकारको रूपमा चीनमा आएका थिए । त्यही क्रममा उनले येनान जाने अवसर पाए । येनानमा उनले माओसँग भेटे । येनानबाट फर्केपछि उनले माओको जीवनी लेखे । ‘चीनको आकाशमा रातो तारा’ नाम दिइएको सो पुस्तकले नै चीनमा कम्युनिस्टहरूले बनाउँदै गरेको नयाँ समाजबारे संसारलाई जानकारी दियो । चीनमा जनवादी व्यवस्था स्थापनापछि संरा अमेरिकासँग सम्पर्क स्थापना गर्न एड्गर स्नोले महत्वपूर्ण भूमिका खेले । चीनको पक्षमा बोल्ने र लेख्ने गरेकाले संरा अमेरिकी सरकारले स्नोलाई दुःख दिएपछि उनले स्वीट्जरल्यान्डमा जीवनका आखिरी दिन बिताए । उनको उपचारको लागि माओले चिनियाँ चिकित्सकहरूको टोली स्वीट्जरल्यान्ड पठाएका थिए ।
अन्ना लुई स्ट्रङ अमेरिकी पत्रकार थिइन्, जसले लामो समय सोभियत सङ्घ बसेर स्तालिनकालीन सोभियत समाजवादको नजिकबाट अध्ययन गरिन् । सन् १९२७ तिर चीनको क्वाङचाओमा भएको मजदुर आन्दोलनको समाचार सङ्कलन गर्न पहिलोपटक चीन गइन् । त्यसपछि उनले पटक–पटक चीनको भ्रमण गरिन् र येनानमा पुगेर माओसँग अन्तर्वार्ता लिइन् । सन् १९४५ मा संरा अमेरिकाले जापानको हिरोसिमा र नागासाकीमा परमाणु बम हमला गरेपछि संसार अन्योलको अवस्थामा थियो । त्यही बेला अन्नाले लिएको अन्तर्वार्तामा माओले ‘परमाणु बम कागजी बाघ हो र हरेक परिवर्तनको नेतृत्व जनताले गर्ने’ धारणा राखे । माओको त्यो अभिव्यक्ति नै संसारमा त्यत्तिबेला उपनिवेशवाद र साम्राज्यवादविरुद्ध लडिरहेका क्रान्तिकारीहरूको लागि ऊर्जा साबित भयो ।

एग्नेस स्मेल्डी


एग्नेस स्मेल्डी अमेरिकाको विपन्न परिवारमा जन्मेर अनेकन प्रतिकूलता सामना गर्दै विश्वविद्यालय शिक्षा हासिल गरेकी ‘बलिया महिला’ थिइन् । विश्वविद्यालय अध्ययनको सिलसिलामा उनको भेट भारतीय स्वतन्त्रता आन्दोलनका नेता लाला लाजपात रायसँग भयो । उनी भारतीय स्वतन्त्रता आन्दोलनबाट प्रभावित बनिन् र सहयोग गर्ने निधोमा पुगिन् । सोही क्रममा बर्लिनमा उनको भेट वीरेन्द्रनाथ चट्टोपाध्यायसँग भयो । वीरेन्द्र निकै तेजिला क्रान्तिकारी थिए । बर्लिनको उनको घर संसारका क्रान्तिकारीहरूको लागि मक्का थियो । उनी धेरै भाषा जान्दथे । बर्लिनमा एग्नेस र वीरेन्द्रको विवाह भयो । वीरेन्द्रनाथले एग्नेसलाई चिनियाँ क्रान्ति र सोभियत समाजवादबारे बताए । सन् १९२८ मा उनीहरू दुई जना छुटिए र वीरेन्द्रकै सल्लाहअनुसार एग्नेस सोभियत सङ्घ हुँदै चीनमा पुगिन् । चीनमा उनले साङ्घाईमा बसेर चीनको क्रान्तिमा सहयोग गरिन् । त्यहाँ उनको सङ्गत लुसुन, माओ तुनजस्ता प्रगतिशील लेखकहरूसँग भयो ।
सन् १९३६ मा सियानको घटना हुँदा उनी संयोगले त्यही थिइन् । उनले विभिन्न सञ्चारमाध्यममार्फत सियानको वास्तविक अवस्थाबारे संसारलाई जानकारी दिइन् ।
एग्नेस अमेरिकी सेनाका कमान्डरहरूसँग पनि नजिकको सम्पर्कमा थिए । चीनका क्रान्तिकारीहरूबारे अमेरिकी सेनाको धारणा बनाउन उनले भुइँतहबाट दिने गरेका जानकारीले पनि भूमिका खेलेको थियो । उनले चीनको क्रान्ति र त्यहाँको अवस्थाबारे पुस्तकहरू लेखेका छन् । तर, जनमुक्ति सेनाका नेता चु तेहको जीवनी लेख्ने चाहना भने पूरा नहुँदै उनको निधन भयो ।
जोसेफ वारेन स्टिलवेल अमेरिकी सेनाका कमान्डर थिए । विशेषतः उनी बर्मा र चीनमा जापानलाई कमजोर बनाउने अमेरिकी सैनिक रणनीतिकार थिए । उनले च्याङ काई सेकको सेनाभित्रको भ्रष्ट चरित्र राम्ररी बुझेका थिए । त्यसकारण कम्युनिस्टहरूसँगको सहकार्यले मात्र अमेरिकी सेना आफ्नो लक्ष्यमा सफल हुनसक्ने मान्यताका उनी पक्षपाती थिए । कोमिन्ताङ सेनासँग उनको मतभेद थियो । उनी चिनियाँकम्युनिस्टहरूप्रति सद्भाव राख्थे र प्रभावित थिए ।
इभान्स फोर्डेस कार्लसन खासमा पेशाले अमेरिकी गुप्तचर थिए । तर, उनी येनानमा पुगेर त्यहाँ बन्दै गरेको नयाँ समाजबाट प्रभावित बने र चिनियाँ क्रान्तिलाई मद्दत गर्ने सोचमा पुगे । कम्युनिस्टहरूको आधार क्षेत्रलाई आत्मनिर्भर बनाउन स्थानीय उत्पादनका उद्योग खोल्ने कुङ हो परियोजनामार्फत उनले चीनको क्रान्तिलाई योगदान गरे । उनले मुक्त क्षेत्रका धेरै भूभाग लेखक रेवी ऐलीसँग पैदलै नापे ।
निःसन्देह अमेरिकी शासकहरूको जन्ड स्वभावको कारण आज चीनसँगको उसको सम्बन्ध चिसो छ । विशेषतः अमेरिकाको एकाधिकारवादी सोच नै यसको निम्ति दोषी छ । तर, आजको विश्वका दुई शक्तिशाली देशहरूबीचको सम्बन्ध सेतु जोड्न इतिहासमा आफ्नो जीवन र योग्यताको योगदान दिने योद्धाहरू आजको परिस्थितिमा पनि स्मरणीय छन् । चीन र संरा अमेरिकाबीचको सम्बन्ध व्यापार र प्रविधिको मात्र होइन, यो भावना र बलिदानको जगमा उभेको सम्बन्ध हो भन्ने कुरा ६ जना अमेरिकीहरूको जीवनीबाट थाहा हुन्छ । चीनको क्रान्तिको सफलताको निम्ति चीनका जनतासँगै अमेरिकीमात्र होइनन्, संसारका अरू पनि देशका योद्धाहरूले आफ्नो रगत र पसिना बगाएका छन् । चिनियाँ जनताले पक्कै पनि चिनियाँ क्रान्तिको सफलताको लागि योगदान गर्ने संसारका सपुतहरूलाई कदापि भुल्ने छैनन् । साथै तिनै व्यक्तिहरूले बनाएको ऐक्यबद्धता र सद्भावको भावनाले आजको संसार पनि चल्दा संसार अझ सुुन्दर र बाँच्नलायक स्थान बन्ने छ ।
६ जना अमेरिकीहरूको जीवनी पढ्दा मानिसले कुनै पनि प्रतिकूल परिस्थितिमा न्यायको पक्ष लिनुपर्ने अनुभव हुन्छ । ६ जना अमेरिकीहरूका फरक–फरक पृष्ठभूमि भए पनि सही विचार र न्यायपूर्ण बाटोको पक्षधरताले नै उनीहरूलाई चीन पु¥यायो, चीनका हरेक प्रतिकूलताको सामना गर्ने साहस प्रदान ग¥यो । रेवी एलीले ती ६ जना अमेरिकीसहित चिनियाँ क्रान्तिमा योगदान गर्ने सबै न्यायका योद्धाहरूलाई अमर बनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *