भर्खरै :

नेकपाले रातो झन्डा खसाल्न रातो झन्डा उचालिरहेको छ

(नेपाल पब्लिक अनलाइनका वरिष्ठ उपसम्पादक सिर्जना दुवालसँग नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले दिनुभएको अन्तर्वार्ता प्रस्तुत छ ।)
अचेल कता व्यस्त हुनुहुुन्छ ? सञ्चारमाध्यममा पनि खासै देखिनुहुन्न !
कोभिड–१९ को सङ्क्रमण नेपालमा फैलिएदेखि म घरैमा छु । टेलिभिजन, रेडियो कार्यक्रम वा सभा–सम्मेलनमा नजान चिकित्सकको सल्लाहअनुसार घरैमा बसेको छु ।
साउनको पहिलो हप्तासम्म म विभिन्न कार्यक्रममा सहभागी हुँदै थिएँ र पत्रपत्रिका, रेडियो र टेलिभिजनमा पनि अन्तर्वार्ता चल्दै थियो ।
साउनको दोस्रो हप्तामा तिलगंगा अस्पतालमा डा. रुइतबाट आँखाको सामान्य शल्यक्रिया भयो । एक महिनासम्म आराम र पढ्ने–लेख्ने काममा कमी आयो ।
काठमाडौँ उपत्यकामा कोरोनाको सङ्क्रमण बढेसँगै भेटघाट सबै बन्द भयो । तर, भदौको दोस्रो हप्तादेखि इन्टरनेट वा जूम कार्यक्रममार्फत ‘चिलीमा फासीवादको प्रतिरोध’ पुस्तकको अन्तरक्रिया, २०४५ साल भदौ ९ गतेको ‘कालो दिवस–भक्तपुर काण्ड’ को भत्र्सनालगायत त्यस्तै अन्य कार्यक्रमहरूमा घरैबाट सहभागी भएँ ।
२० भदौको दिन बिहान ७ः३० बजे पोखराको ‘रेडियो बाराही’ मा गोविन्द सुवेदीसँगको अन्तर्वार्तामा टेलिफोनबाटै कुराकानी भयो । त्यस्तै भदौ ९ पछि महिला, विद्यार्थी, शिक्षक वा कलेजहरूको जूम कार्यक्रमहरूमा घरैबाट भाग लिएँ ।
तपाईँले आफ्नो पार्टीलाई भक्तपुरबाट देशका अन्य भूगोलमा विस्तार गर्नसक्नुभएन है, किन होला ?
‘भूमिगतकाल’ मा केही जिल्लामा हामीले निर्माण गरेको पार्टी सङ्गठन २०४५ सालको ‘भक्तपुर काण्ड’ को समयमा नेमकिपामाथि सरकारको दमनको कारण कमजोर भयो । ‘कम्युनिस्ट’ नामका ‘मित्र दल’ अथवा ‘वाम पार्टीहरू’ कै कारण नेमकिपाले केही जिल्लाका पार्टीे समिति विघटन ग¥यो ।
तत्कालीन नारायणी तथा कर्णाली अञ्चलमा वर्गशत्रुबाट भन्दा ‘कम्युनिस्ट’ भनिने दलहरूबाटै नेमकिपाको सङ्गठन भत्काउने काम भयो । पञ्चायतकालमा वर्गशत्रुको दमनबाट बाँकी भएको सङ्गठनले एमाले, एमाओवादी र पूर्व जनमोर्चाको पद, पैसा, लोभ–लालच, जात–जाति, भाषिक र क्षेत्रीय साम्प्रदायिक आक्रमणविरुद्ध अहिले पनि सङ्घर्ष गरिरहेको छ ।
हाम्रो पार्टी र वर्गीय सङ्गठनहरूको जूम कार्यक्रमहरूमा कर्णाली, भेरी, लुम्बिनी, नारायणी, काभ्रे, सिन्धुपाल्चोक र तराईका साथीहरूको पनि सहभागिता थियो ।
यस अर्थमा नेमकिपाको सङ्गठन भक्तपुरमा मात्रै केन्द्रित छ भन्ने होइन ।
अहिले पनि कर्णाली र दुर्गम क्षेत्रमा नेकपा र नेपाली काङ्ग्रेसले आ–आफ्नो पार्टीको महाधिवेशनको निम्ति नयाँ–नयाँ सदस्यता प्रदान गर्दै छन् । रक्सी खुवाउँदै, पैसा दिँदै, टिको लगाउँदै र अबिर दल्दै सदस्य बनाउँदै छन् । कोभिड–१९ को यो हाहाकारमा सभाभवन र होटलहरूमा यस्ता कार्यक्रम चलाउँदा अन्य जनता आश्चर्यमा छन्– ती पुँजीवादी दलहरूको चर्तिकलाले ।
भक्तपुरको सांस्कृतिक एकता जोगाउन तपाईँले खेलेको भूमिकाको प्रशंसा हुने गर्छ । के गर्नुभएको छ त्यस्तो ? कसरी गर्नुभयो ?
शिक्षा, स्वास्थ्य, साहित्य, नाचगान, पत्रकारिता आदि सांस्कृतिक फाँटमै आउँछन् । प्राचीन कला–संस्कृति एवम् सम्पदा (मूर्त एवम् अमूर्त) र नाचगानको संरक्षणको काम कामदार जनतासँगै मिलेर जनप्रतिनिधिहरूमार्फत हुँदै छ भने प्रगतिशील साहित्य, कला तथा पत्रकारिताको विकासको निम्ति पार्टी कार्यकर्ता साथीहरू नै क्रियाशील छन् ।
अहिले सरकारको कामलाई कसरी विश्लेषण गर्नुहुन्छ ?
पञ्चायतकालदेखि सुरू भएका अनियमितता, पक्षपात, नातावाद र क्रिपावाद चालु छ । सार्वजनिक सम्पत्ति एवम् सेवा निजीकरण गर्ने काम पञ्चायतले भन्दा बढी नेपाली काङ्ग्रेसका सरकारहरूले गरे, त्यसैको पदचिह्नमा एमालेका सरकारहरू लागे । एमाले एमाओवादी (नेकपा) को सरकार त्यही काम गर्दै छ । पञ्चायतका तीस र प्रजातान्त्रिक एवम् गणतन्त्रका सरकारको तीस वर्षमा जति देशको अर्थतन्त्र र विकास निर्माणमा अनियमितता र अन्योल कायम भयो, वर्तमान सरकारले विगत दुई वर्षमा उति नै गरेको देखियो ।
यो अवधि देशको निम्ति दुर्भाग्यपूर्ण रह्योे । यो ‘कम्युनिस्ट’ व्यवस्थालाई बदनाम र निन्दा गराउने अवधि सावित भयो ।
दुई ठूला कम्युनिस्ट पार्टी मिलेर नेकपा बनेको छ । अग्रज कम्युनिस्ट नेताको हिसाबमा यसलाई कसरी लिनुभएको छ ?
नेकपाले ‘रातो झन्डाको विरोध गर्न रातो झन्डा उचाल्ने’ काम गर्दै छ । नेकपा नामले कम्युनिस्ट तर कामले पुँजीवादी पार्टी नै हो । नेकपाको विचार र व्यवहार बुझ्ने मानिसले नेकपालाई घृणाको दृष्टिले हेर्दै छन् । संवेदनशील समुदाय उनीहरूको ‘कम्युनिस्ट’ र ‘प्रगतिशील’ विचारबाट निराश छन् ।
पछिल्ला समय कम्युनिस्ट पार्टीप्रति नै नागरिकको निराशा बढेको बुझिन्छ । किन यस्तो भयो होला ?
वचनको उल्टो कामहरू गर्नथालेपछि जनतामा विस्तारै विश्वास घट्दै जानु स्वाभाविक हो ।
देशको विकासलाई पछि पार्ने विश्वासघाती ठेकेदारहरू, बिचौलिया, विदेशी एजेन्ट र कालाबजारियाहरूको मात्रै हित हेरेपछि जनताले सरकारलाई कसरी विश्वास गर्छन् ?
नेकपाको केन्द्रीय समिति र मुख्य–मुख्य समितिका बैठकहरू महिनौँ बस्दा बिनानिर्णय स्थगित हुन्छन्, समाचारमा कार्यशैली, पद र सरकारको जिम्मेवारीमा हेरफेरबारे छलफल भनी प्रचार हुन्छ । तर, व्यवहारमा उनीहरू विश्वविद्यालय, ठेकेदारी र सरकारको विभिन्न संवैधानिक अङ्ग र प्राधिकरणहरूका पदहरूमा कुन गुटको के कति राख्नेजस्ता विषयमा सारा समय खर्च गर्छन् ।
झूट बोल्नुको पनि एउटा सीमा हुन्छ । त्यसले जनतामा सरकार र शासक दलहरूमाथि विश्वास घट्दै जान्छ र निराशा बढ्छ ।
प्रमुख प्रतिपक्ष दल भनिएको नेकाले पनि पदीय र योजनाहरू अथवा ठेक्काको भागबन्डामा भाग लिएपछि सरकारको विरोध गर्ने साहस कहाँबाट आउँछ ?
नेपाली कम्युनिस्ट आन्दोलनलाई थप उचाइमा लैजान के गर्नुपर्ला ?
नेकपाद्वारा जिल्ला–जिल्लामा भत्काइएका नेमकिपाका जगहरू बनाउन समय लाग्नेछ । शासक पार्टीहरू महाधिवेशनको तयारीको नाममा पश्चिम नेपालका केही जिल्लामा टिको लगाई, रक्सी खुवाउँदै भोजभत्तेर र पैसा बाँडेर जसलाई पनि पार्टी सदस्य बनाउने नयाँ ‘नङ्गानाच’ देखाउँदै छन् । नेपाली काङ्ग्रेस पनि आफ्नो नाम जोगाउन पैसा र पदको होली खेल्दै छ ।
नेमकिपा सरकारमा गएर काम गर्दैन तर विरोधमात्रै गर्छ भन्ने आरोप छ नि !
नेमकिपाले प्रखर प्रतिपक्षको भूमिका इमानदारीपूर्वक निर्वाह गर्दै आएको छ । नेमकिपा पद र पैसाको भागबन्डाको भाँडभैलोमा भाग लिँदैन । आलोचनालाई विरोध सम्झने विडम्बना पनि छ ।
कोरोना महामारी नियन्त्रणमा सरकारले खेलेको भूमिकालाई कसरी टिप्पणी गर्नुहुन्छ ?
२० प्रतिशत सफल र ८० प्रतिशत असफल गाईजात्रै छ ।
अहिले एमसीसीको विषय विवादित छ । यसमा नेमकिपाको धारणा के हो ?
एमसीसी त संरा अमेरिकी साम्राज्यवाद र फासीवादी भाजपा सरकार मिलेर दक्षिण एसिया अर्थात् हिन्द महासागर किनारका देश र प्रशान्त महासागर वरिपरिका देशहरूलाई आर्थिक र सैन्य गठबन्धनमा बाँधी समाजवादी चीनविरोधी आक्रमण गर्ने योजनामा नेपाललाई फसाउँदै छ । नेमकिपा त्यसको विरोधमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *