भर्खरै :

नैतिकता र चरित्रको ख्याल नगर्ने !

एक समय एमालेकै शीर्ष नेताहरूबाट एक नम्बरको भ्रष्टाचारी मानिएका नेकपाका उपाध्यक्ष गौतमले अर्थमन्त्रीमात्र होइन कुनै पनि मन्त्रीको माग गर्नु नैतिक र चारित्रिक हिसाबले ठीक होइन । प्रतिनिधिसभा निर्वाचनमा पराजित नेता गौतम मन्त्री बन्नकै निम्ति राष्ट्रियसभा सदस्य पनि बन्नु हुँदैनथ्यो । नेकपाका नेता या सरकार प्रमुखहरूले मन्त्री प्रस्ताव राखे पनि नेता गौतमले स्वीकार्नु हुँदैनथ्यो । तर, नेता गौतम पद र पैसामा भुले, आफ्नो दललाई सच्चा कम्युनिस्ट पार्टी बनाउनेतर्फ कहिल्यै सोचेनन्, सिद्धान्तनिष्ठ राजनीति गर्न कहिल्यै अघि बढेनन् । राष्ट्रियसभा सदस्य बनेको बेला नै विवाद भएका नेता गौतम मन्त्री हाँकेपछि झन् जनतामाझ बदनाम भए ।
सर्वाेच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष एवम् नवनियुक्त राष्ट्रियसभा सदस्य वामदेव गौतमलाई सदस्यको योग्यतासम्बन्धी विवाद निरुपण नभएसम्म कुनै थप संवैधानिक जिम्मेवारी नदिने आदेश गरेको छ । अदालतले आदेश नदिए पनि मन्त्री बन्ने कुरा सार्वजनिक गर्नु नेता गौतमको निम्ति बुद्धिमानी हुनेछैन । स्मरणीय छ, नेता गौतमलाई नेकपाको निर्णयअनुसार सरकारले भदौ २९ गते राष्ट्रियसभा सदस्यमा सिफारिस गरेको थियो भने असोज १ गते राष्ट्रपति विद्या भण्डारीले मनोनीत गरेकी थिइन् । राष्ट्रियसभा सदस्य बनेपछि अधिवक्ताद्वय बद्रीराज भट्ट र दिनेश त्रिपाठीले सर्वाेच्च अदालतमा मुद्दा दायर गरेका थिए ।
प्रतिनिधिसभा सदस्य बन्न दुई वर्ष पनि पर्खेर बस्न नसक्ने नेता गौतम राष्ट्रियसभा सदस्य बनेर किन मन्त्री बन्न हतारिएका हुन् ? उनीसँग के जादु भएर उनी मन्त्री बन्न इच्छुक भएका हुन् ? उनको योग्यता र क्षमता होइन नैतिकता र चरित्र हेर्ने हो । हाल सरकारमा रहेका मन्त्रीहरू उनीभन्दा कुनै पनि मन्त्री कम्तीका छैनन् । मन्त्री भएर देशको मुहार फर्ने उनको इच्छा छ भने आफ्नै दलका नेता, मन्त्री र सांसदहरूलाई सल्लाह सुझाव दिन सकिन्छ, दलको बैठकमा सुझाव दिन सकिन्छ । आफ्नो दलको नेतृत्वमा सरकार रहेको बेला देशको मुहार फेर्न नेता गौतम नै मन्त्री बन्नुपर्ने ? गौतमभन्दा केपी ओलीमा के कुराको कमी छ र ¤ सिद्धान्त र विचारमा खिया लागेर पो देशले प्रगति गर्न नसकेको, बहुमत जनताले राहत नपाएको । नैतिकता र चरित्रको ख्याल नगर्ने, बहुमत जनताको सेवामा पार्टी अघि बढाउन मतलब नराख्ने गौतम किन पैसा र पदमुखी राजनीतिमा हामफालेको !

Leave a Reply

Your email address will not be published. Required fields are marked *