भर्खरै :

चिन्ता देश र जनताको कि मन्त्रीको !

नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीच मन्त्रिमण्डल पुनर्गठन गर्ने सम्बन्धमा आन्तरिक सहमति नभएको कारण मन्त्रालयअन्तर्गतका काम कारबाहीमा बाधा पुगेको छ । मन्त्रीहरूको हेरफेरसँगै नयाँ मन्त्रीहरू नआउँदा र हालका मन्त्रीहरूले कार्य नगर्दा उक्त समस्या देखिएको हो । हाल कार्यरत मन्त्रीहरू रहने या नरहने निश्चित छैन । कुन–कुन मन्त्रीहरू कायम हुने हो, त्यो पनि यकिन छैन । त्यही कारण मन्त्रीहरू मन्त्रालय धाएका छैनन् या धाउने काममा कमी आएको छ । सत्तारुढ दलका नेता र मन्त्रीहरू शीर्ष नेताहरूको चाकडीमा व्यस्त छन् । नेकपाका अध्यक्षद्वय ओली र दाहालबीच पटक–पटक कुराकानी भए पनि टुङ्गोमा नपुगेपछि मन्त्रिमण्डलको हेरफेर अझै अनिर्णित र अनिश्चित छ ।
मन्त्री बन्ने आशामा पर्खिरहेका सांसदहरू ‘भगवान’ सँग पुकार गर्दै छन् । हाल कार्यरत मन्त्रीहरू निन्याउरो अनुहार बनाउँदै आफ्नो कार्यकालको दिनगन्ती गर्दै छन् । नयाँ बन्ने मन्त्रीका अनुहार र पुराना मन्त्री हुन लागेका मन्त्रीहरू विगतको आफ्नो कामको समीक्षा गर्दै छन् । मन्त्री बनाउने शीर्ष नेता र मन्त्री बन्ने आशामा रहेका सांसदहरूलाई देश र जनताको चिन्ता होइन, कम्युनिस्ट पार्टीको सिद्धान्त र विचारको होइन आफ्ना पक्षधर या नजिकका सांसदलाई मन्त्री बनाउने चिन्ता छ । यही गुटगत स्वार्थको कारण मन्त्रिमण्डल गठनमा ढिलाइ भएको हो । यो नेकपाको आन्तरिक मामिला भए पनि यसले देश र जनताको काममा बाधा पुगिरहेको छ । सत्तारुढ दलको यो देश र जनताप्रति खेलवाड हो, बेवास्ता हो ।
यसअघि दुई अध्यक्षबीचको विवाद महिनौँ लम्बिएको थियो । चरमोत्कर्षमा पुगेको त्यो विवाद देशभरका कार्यकर्ता र जनप्रतिनिधिहरूले थुक्ने देखेर, धर्ना दिने डरले शिथिल भयो । त्यो विवाद सेलाउन नपाउँदै फेरि मन्त्रिमण्डल हेरफेरबारे दुई अध्यक्षबीच तनाव बढेको छ । एकले अर्काको कुरा मान्न दुवै जना तयार देखिंदैन । को भन्दा को कमको अभिमानी दुवैले गरिरहेका छन् । सत्तारुढ दलका दुई नेताहरूको यो शेखी अन्त्य हुनेछैन । दुवै नेता पद र पैसाका निम्ति लालायित छन्, भागबन्डा नगरी उनीहरूलाई दिनरात चैन हुनेछैन । एमाले र एमाओवादी मिलेर नेकपा बने पनि वास्तवमा दुई दल नै कायम रहेको जस्तो व्यवहारले देखाइरहेको छ ।
मन्त्रिमण्डल हरेफेरसम्बन्धी निर्णय चाँडै गराउन, आन्तरिक विवाद चाँडै सेलाउन पहिलेझैँ जिल्ला–जिल्लाबाट दबाब दिनुपर्ने हो कि ¤ ओली पक्षधरले पहिले सडक प्रदर्शन गरेझैँ गर्नुपर्ने हो कि ¤ सिद्धान्त र विचारको राजनीति नगरिएसम्म कम्युनिस्ट पार्टीको सिद्धान्त र विचारलाई व्यवहारमा लागू गर्ने काममा अघि नबढेसम्म पद, पैसा र भागबन्डाको राजनीति अन्त्य हुने छैन । नेकपाले सिद्धान्त र विचारको राजनीति गर्नुपर्छ । समाजवाद र पुँजीवादबारेको भिन्नताबारे जनतालाई बुझाउनुपर्छ । नेकपा देश र जनताको सेवामा जुट्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *