भर्खरै :

कोरोना, ज्येष्ठ नागरिक र राष्ट्रपति चुनाव

भैरव रिसाल
सरकार भाषण गर्ने भाँडो हो कि कार्यान्वयन गर्ने संयन्त्र हो भन्ने गम्भीर प्रश्न उपस्थित भएको छ । गएको साता यस्ता मौका निकै जुरे । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस पनि परेछ गत साता नै । बस ! अब के चाहियो र ! हाम्रा प्रधानमन्त्रीज्यूलाई आफ्नो प्राज्ञिकता, आफ्नो ज्ञानको व्यापकता, अध्ययनको गाम्भीर्य, प्रौढता र यी सबै विषयउपर सूक्ष्म ज्ञानको राशि नै छ भन्ने स्पष्ट भयो ! कति गम्भीर विषय उठाउनुभएको छ प्रधानमन्त्री केपी शर्मा ओलीले । आफँै पितामहको उमेरमा लागिसक्नुभएको छ । सौभाग्य अझ उहाँ छोरो नै हुनुहुन्छ । किनकि आफैँ केपीका पिताजी झर्झराउँदै हुनुहुन्छ । किनकि बाबु–आमा जसको जीवितै हुनुहुन्छ, उहाँहरूमा एउटा अहम् हुन्छ । तर, त्यो अहम् घमण्डको रूपमा होइन गर्व र गौरवको रूपमा । कति राम्रो मूल्याङ्कन प्रधानमन्त्री ओलीको, ज्येष्ठ नागरिक ज्ञानका विश्वविद्यालय हुन् भन्ने । तर, विश्वविद्यालय भएरमात्र हुँदैन । विश्वविद्यालयकै बलेसीमा किराना पसल राखेर चुरोट, बिडी, खैनी बेच्ने थुप्रै मान्छे छन्, अझै छन् हाम्रो देशमा । विश्वविद्यालयहरूको पेटीमा खिचीमिचीका सामान बेच्ने पसले–पसल्नी अझै निरक्षर भेटिदै छन् । यसकारण विश्वविद्यालय हुनुमात्र सर्वोत्तम कुरा होइन, यसो भनेर विश्वविद्यालय चाहिँदैन केही होइन भन्न खोजिएको किमार्थ होइन । विश्वविद्यालयहरू त हुनैप¥यो । ज्ञानका, बौद्धिकताका यी जग हुन्, खम्बा हुन् । तर उचित प्रयोग भएन भने चुरो, बिडी, खैनी बेच्ने किराना पसल बराबर हुन्छन् भन्ने तथ्य हाम्रा प्रधानमन्त्री बेस्करी बुझ्नुहुन्छ ।
भनेर हुँदैन गरेरै देखाउनुपर्छ
कति ध्रुवसत्य कुरा सार्वजनिक गर्ने क्षमता छ, कला छ हाम्रो प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीमा । उहाँ भन्नुहुन्छ, “बाबु–आमाकै कारण हामी आज यस धर्तीमा छौँ, हामी जे छौँ उहाँहरूकै कारणले छौँ ।” उहाँ सल्लाह दिनुहुन्छ, “आमा–बाबुलाई हेला गर्नुहुँदैन, कसैले पनि हेला नगरौँ । हामीले एक सयबाट सुरू गरेको तीन हजार पु¥याएका छौँ । मैले आफ्नो कार्यकालमा पाँच हजार रूपैयाँ पु¥याउने भनेको छु ।” यो पक्का हो, नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष मनमोहन अधिकारी प्रधानमन्त्रीत्वको सरकारले २०५१ सालबाट ज्येष्ठ नागरिकलाई मासिक सय रूपैयाँ सहयोग दिन थालेको थियो । त्यो सरकारमा केपी शर्मा ओली गृहमन्त्री हुनुहुन्थ्यो । धर्तीको विकास, मानव जातिको विकास यहाँसम्म आइपुग्न हाम्रा पूर्वज, अग्रज र हाम्रा ज्येष्ठ नागरिकको योगदान छ । मेरो एउटा मित्रको छोराबुहारीले नानी पाए । बेलाबखतमा स्नातक गरेको छोरो, स्टाफ नर्स बुहारी के भनेर बधाई दिऊँ भन्ने लाग्यो र ‘सृष्टिलाई निरन्तरता दिएकोमा’ बधाई भनेँ । मेरो भनाइको आशय कति बुझे ? प्रधानमन्त्री ओलीले आफूले ज्येष्ठ नागरिककसँग कुरा गरेको छु भन्नुभएको छ । ज्येष्ठ नागरिकसँग भन्नुभएको छ, ज्येष्ठ नागरिक त उहाँ आफैँ हुनुहुन्छ । ज्येष्ठ नागरिकहरूसँग कुरा गर्दा राम्रो हुने थियो । ज्येष्ठ नागरिकहरूसँग भूगोलको, प्रणालीको, प्रशासनको, अर्थतन्त्रको, इतिहासको, संस्कृतिको ज्ञान छ भन्नुभएको छ । हो, कोभिड–१९ को खतरा ज्येष्ठ नागरिकलाई बढी छ । यो खतराबारेमा उहाँहरूलाई अवगत गराउनु जरूरी छ । राम्रा कुरा गरेरमात्र हुँदैन । काममा उतारेमात्र विश्वास गर्न सकिन्छ ।
ट्रम्पको घमण्ड नै समस्याको कारण
संसारभरकै उच्चतम घमण्डी मान्छे खोज्नुप¥यो भने अमेरिकी बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पाइन्छ । ट्रम्प कुन–कुन रसायनको समिश्रणबाट बनेका हुन् ? संसारका उच्चतम घमण्डीमध्ये उनी शीर्षमा पर्छन् । यथार्थ एउटा छ तर त्यो स्वीकार नगर्ने । कोरोना भाइरसको महामारी सुरूमा पत्याएनन् उनले । उनकै मुलुक अमेरिकामा कोरोनाले उग्ररूप लियो । ट्रम्पले पत्यार गरेनन् । जोगिनका लागि मास्क अनिवार्यरूपले लगाउने र एक व्यक्ति र अर्को व्यक्तिबीच सामाजिक दुरीको मर्यादा कायम गर्दा यस रोगका भाइरस सर्न सक्दैनन् भन्ने विश्व स्वास्थ्य सङ्गठनको परिभाषा पनि उनले मानेनन् । मास्क लगाउँदै लगाएनन्, एउटा मान्छे र अर्को मान्छेबीच दुरी तोकिएको थियो । त्यो पनि मानेनन् । विश्व स्वास्थ्य संस्थालाई दिनुपर्ने सहयोग पनि दिएनन् मात्र होइन उल्टो संस्था नै छोडे । अन्ततः कोरोना ट्रम्पभन्दा बलवान भएर आयो । कोरोनाले ट्रम्पलाई मात्र झम्टेन उनकी श्रीमतीलाई पनि झम्ट्यो । ट्रम्प त अस्पताल भर्ना भई उपचार गराउँदै छन् । आउँदो कार्तिक १८ गते अमेरिकामा राष्ट्रपति चुनाव छ । राष्ट्रपतीय उम्मेदवारबीचको सार्वजनिक छलफलको पहिलो चरण पनि पूरा भएको छैन । ७३ वर्षका हुन् क्यार ट्रम्प अस्पतालमा छन् । अब अमेरिकी निर्वाचन के हुन्छ स्पष्ट छैन । यता डेमोक्रेटिक उम्मेदवार जो बाइडेन पनि असमञ्जसमा छन् । के उपाय निकाल्छन् संविधानविद्हरूले त्यसकै प्रतिक्षा छ अहिले । ठूलो मुुलुक ठूलै समस्या । ट्रम्पमा अनावश्यक घमण्ड नै यी सबैका मूल कारण हुन् ।
पञ्चशीलको पक्षपातीको पक्षमा
संरा अमेरिकामा यही आउँदो कार्तिक १८ गते राष्ट्रपतीय निर्वाचनको निम्ति मतदान हुँदै छ । अमेरिकामा मत प्राप्त गर्न दुई जना उम्मेदवारबीच ‘डिबेट’ हुन्छ । जुन बहसका कारण एउटाले विजय हासिल गर्छ भने अर्कोले पराजय भोग्छ । यो बहसको चलन सुरू भएदेखि हार–जितको यो प्रवल कारण भएर आउने गरेको छ । यसपल्टको पहिलो बहस सकिएको छ । यस्ता अरू तीन वटा बहस हुनसक्छन् । तर राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना सङ्क्रमित भई अस्पतालको शय्यामा छन् । अटेरिका कारण उनी थला परेका हुन् । बहस निर्वाचनमा विजय–पराजयको ठूलो र निर्णायक भूमिका हुने भएकोले अबका बहस अरू अरू निर्णायक हुने थिए । तर ट्रम्प कसरी बहसमा उभिन्छन् ? बसेर बहस हुन्छ कि उठेर ? ट्रम्पको स्वास्थ्यले के गर्छ ? अमेरिकी मतदाता राष्ट्रपतिकी श्रीमती फस्ट लेडी (प्रथम महिला) को सौन्दर्य र अन्य कटाक्ष हेरेर पनि डेढ दुई प्रतिशत मतमा अन्तर पर्छ रे ! कोट कस्तो लाएको छ टलक टल्कने छ कि नटल्कने ? त्यसमा पनि मत प्राप्तिमा अन्तर पर्छ रे ! तसर्थ बहसमा जाँदा ठाँटिएर जाने गर्छन् रे ! यस्तो परम्परा रहेको मुलुकमा ट्रम्प–कोरोना र राष्ट्रपति निर्वाचन अरू जिज्ञासापूर्ण भएर उपस्थित छ । हामी नेपाली विकासोन्मुख मुलुकका नागरिक हौँ । विश्व शान्तिका निम्ति नेपालले ठूलो योगदान दिएको छ । हामी पञ्चशीलका पक्षपाती हौँ । तसर्थ यसका लागि प्रतिबद्ध रहने अमेरिकी राष्ट्रपति चाहिन्छ नेपालीलाई ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *