भर्खरै :

प्रधानमन्त्रीका तीन “भारदार” को गैरजिम्मेवारी

‘मौकामा हीरा फोड्नुपर्छ’ भन्ने नेपालीमा निकै पुरानो आहान छ । सरकार र शक्तिको नजिक बसेर सत्ताको न्यानो ताप्ने बानी परेका, चाकडी र चाप्लुसी गर्ने बानी परेका मानिसहरू त्यस्ता ‘हीरा फोड्ने’ मौका कहिल्यै छोड्ने गर्दैनन् । उनीहरूको लागि ‘मौकामा हीरा फोड्नु’ को आशय आफ्नो स्वार्थपूर्तिको लागि आफ्नो पद र हैसियतको दुरुपयोग गरी लाभ उठाउनु हो । कोही त्यस्ता हिरा फोडुवाहरू ठूलठूला हीरा फोड्छन् भने कोही त स–साना हिरा पनि फोड्ने मौका छोड्दैनन् । प्रसङ्ग, प्रधानमन्त्रीका तीन सल्लाहकारहरूको हो ।
प्रधानमन्त्रीका तीन जना सल्लाहकार विष्णु रिमाल (प्रमुख सल्लाहकार), डा.राजन भट्टराई (परराष्ट्र सल्लाहकार) र सूर्य थापा (सञ्चार सल्लाहकार) कोभिड सङ्क्रमित भएको जनताले उनीहरूले नै आ–आफ्ना सामाजिक सञ्जालमा लेखेपछि थाहा पाए । दैनिक हजारौँको सङ्ख्यामा कोभिड सङ्क्रमित भइरहेको समयमा प्रधानमन्त्रीका सल्लाहकारहरू पनि सङ्क्रमित हुनु कुनै आश्चर्यको कुरा होइन । न त आजभोलि कोही सङ्क्रमित भयो भनी त्यो विषयलाई अनावश्यक उछाल्नु नै मानवोचित व्यवहार हो । परीक्षणबाट कसैमा कोभिड पोजिटिभ आए सरकारको सम्बन्धित निकाय र विश्व स्वास्थ्य सङ्गठनले बनाएका निश्चित अनुशासनको पालना गरी कोभिडविरुद्ध लड्नुको आज कसैसँग केही विकल्प छैन । राज्य र समाजमा जिम्मेवार पदाधिकारीहरूले यस्ता अनुशासनको अझ इमानदारीका साथ पालना भए जनतालाई पनि ती नियम पालनामा हौसला प्राप्त हुन्छ । हजारौँ हजार जनता आज आइसोलेसन केन्द्र वा होम आइसोलेसनमा राज्यले बनाएका तिनै नियमको पालना गरी बसेका छन् । प्रधानमन्त्रीका सल्लाहकारहरूबाट पनि ती नियमको पालना हुने अपेक्षा स्वाभाविक हो । सरकारको नियमअनुसार आरटी–पीसीआर पोजिटिभ आएको व्यक्तिले रोगको लक्षण नदेखिएको वा सामान्य लक्षण देखिएको अवस्थामा घरमै वा घरमा उपयुक्त नभए तोकिएका आइसोलेसन केन्द्रमा एकान्तवास बस्नुपर्ने नियम बनाएको छ–चौध दिन । यसरी दुई साता अरू कोही पनि व्यक्तिबाट अलग बसेपछि रोगका लक्षण नष्ट भए वा कम हुँदै गएको अवस्थामा साधारण जीवनमा फर्किन सक्ने स्वास्थ्य मन्त्रालयको निर्देशिकामा उल्लेख छ । बढ्दो सङ्क्रमणसँगै परीक्षण स्वास्थ्य सामग्रीको अभाव हुनसक्ने व्यवहारिकतालाई ध्यानमा राखी चौध दिनको एकान्तवासपछि थप परीक्षण गराउन नपर्ने चिकित्सकहरूले सार्वजनिक सञ्चारमाध्यममार्फत भन्दै आएका छन् । सरकारको यो नियम सबै नागरिकको लागि समानरूपमा लागु हुन्छ ।
तर, प्रधानमन्त्रीका तीन सल्लाहकारहरूले यो नियमको उल्लङ्घनमात्र गरेनन् बरु आफ्नो यस्तो कृत्यको गौरवसाथ घोषणा पनि गरे । तीनै जना प्रधानमन्त्रीका सल्लाहकारहरू सरकारले जारी गरेको सूचनाअनुसार चौध दिन एकान्तवास बसेनन् । उनीहरू सङ्क्रमण पुष्टि भएको हप्ता दिन पनि एकान्तवासमा नबसी सरकारी प्रयोगशालामा परीक्षण गरी ‘नेगेटिभ’ परिणाम भएको भन्दै आफ्नो नियमित जीवनमा फर्के । खेदजनक कुरा त उनीहरूले यसरी सरकारी नियमविपरीत गरेका गल्ती ‘सगौरव’ सार्वजनिक जानकारीमा राखेका छन् ।
राणा र राजाको शासनमा सरकारका नियम कानुन शासकलाई लाग्दैनथ्यो । जोर्ज अर्वेलले आफ्नो उपन्यास ‘एनिमल फार्म’ मा भनेका छ, “सबै पशु समान हुन् । तर, केही पशु भने अझ बढी समान हुन्छन् ।” राणा र राजाको शासनकालमा कानुनसामु सबै समान हुन् तर शासक र शक्ति केन्द्रहरू भने त्यस्ता कानुनभन्दा माथि मानिन्थ्यो । उनीहरूलाई कानुनले होइन, कानुनलाई उनीहरू आफूले बाँध्ने मान्यता राख्थे । राणा र राजाको त्यही विभेदकारी व्यवहारप्रति विमति राख्दै जनताले आजको जनप्रतिनिधिमूलक शासन व्यवस्था स्थापना गरेका हुन् । यो व्यवस्थामा जनताले चुनेर पठाएका प्रतिनिधि जनताप्रति जिम्मेवार हुने र सबैलाई समान खालको कानुन लागु हुने अपेक्षा नै जनताको मूल अपेक्षा हो । विडम्बना ¤ आजका शासकहरूले पनि हिजो राजा र राणाहरूबाट हुने गरेजस्तो विभेदकारी व्यवहारलाई निरन्तरता दिइरहेका छन् । नियम उल्लङ्घनमा शक्ति र बहादुरी देखाउने शासक चिन्तनबाट आजका भारदारहरू पनि मुक्त हुनसकेका छैनन् ।
झट्ट हेर्दा यो विषयलाई सामान्यरूपमा लिनुपर्ने धारणा राख्ने पनि होलान् । तर, शासनको जिम्मेवार ओहदामा बस्ने पदाधिकारीबाट भएका यस्ता व्यवहारले उनीहरूमा अझै पनि
व्याप्त कानुन र नियमभन्दा आफूलाई माथि ठान्ने भारदारी सोच उजागर भएको छ । कानुन र नियम भनेको जनतालाई शासन गर्न बनाइएको र आफू जनताभन्दा माथि भएको उनीहरूको व्यवहारले नेपाली राज्यसत्तामा अझै पनि बाँकी रहेको राणा र राजतन्त्रको भूततर्फ सङ्केत गरेको छ ।
सरकारको नियमअनुसार चौध दिन एकान्तवासपछि आफूलाई शङ्का लागे आफ्नो निजी खर्चमा आरटी – पीसीआर परीक्षण गर्नसक्छ । तर, सङ्क्रमण पुष्टि भएको हप्ता दिन पनि नबित्दै परीक्षण गराउनु र चौध दिन एकान्तवासको नियमको धज्जी उडाएर प्रधानमन्त्रीका तीन सल्लाहकारले आफूलाई नियमभन्दा माथि भएको देखाएका छन् । उनीहरूको यस्तो बडप्पन सामन्ती चिन्तनको परावर्तन हो । यसले ‘एक जना राजा उखेल्यौँ, सयौँ राजालाई पालिरहेका छांँै’ भन्ने जनभावनालाई अझ बल दिइरहेको छ ।
राजनीतिको मूल आधार भनेको नैतिकता र अनुशासन हो । राजनीतिको बागडोर सम्हाल्ने मानिसहरू नै नैतिकताको परिधिभन्दा बाहिर अनुशासनहीन बनिदिन्छन् भने राजनीति र शासन फोहोर बन्ने गर्छ । जति उच्च पदमा पुगिन्छ, उति अनुशासित, नैतिकवान र जिम्मेवार बन्नुपर्नेमा प्रधानमन्त्रीका सल्लाहकारहरूको व्यवहारले कोभिड नियन्त्रणसम्बन्धी स्वास्थ्य मन्त्रालयको नियमलाई रद्दीको टोकरीमा मिल्काइदिएको छ । अगुवा नै गैरजिम्मेवार भएपछि के यस्तो सरकारप्रति जनताको विश्वास धेरै दिन टिक्ला !

Leave a Reply

Your email address will not be published. Required fields are marked *