भर्खरै :

‘चिलीमा फासीवादको प्रतिरोध’ बारे चर्चा

नेपाल क्रान्तिकारी युवा सङ्‍घको ‘२९ औँ स्थापना दिवस’ को अवसरमा यसपटक दक्षिण अमेरिकाको एक लाम्चो देश चिलीको बारेमा पत्रकार समाज, नेपालद्वारा प्रकाशित ‘चिलीमा फासीवादको प्रतिरोध’ पुस्तकको अन्तरक्रिया गरेर सुुसूचित हुने प्रयास गर्‍यौँ । कोभिड–१९ का कारण खुला कार्यक्रम गर्न असजिलो भएको अवस्थामा प्रविधिको सदुपयोग गर्दै युवा साथिहरूमाझ ‘जूम’ मार्फत चिलीमा अमेरिकी साम्राज्यवादको सहयोगमा विकसित फासीवाद, त्यसबाट विश्व राजनीतिमा परेको प्रभाव र नेपालको राजनीतिबारे तुलनात्मक अध्ययन गर्ने अवसरको रूपमा लियौँ ।
सन् १५३६ मा स्पेनियालीहरूले पाइला राखेदेखि सन् १६४० सम्म स्पेनको उपनिवेश रहेको चिलीका जनताले सन् १८१७ मा चर्किएको मुक्तियुद्धमा लडेपछि चिलीलाई स्वतन्त्र बनाउन सफल भएका थिए । चिली स्वतन्त्र हुन नपाउँदै एउटा ढोकाबाट स्याल बाहिरिएर अर्को ढोकाबाट ब्वाँसो पसेझैँ चिलीका जनतालाई अमेरिकी एकाधिकार पुँजीले आफ्नो पन्जामा पारेर हैकम चलाउन थाल्यो ।
सन् १९७० सेप्टेम्बर ४ मा भएको राष्ट्रपतिको चुनावमा माक्र्सवादी नेता साल्भाडोर एयेन्डे वैधानिक निर्वाचनबाट ३६.२ प्रतिशत मत प्राप्त गरी अग्रस्थान हासिल गर्न सफल हुन्छन् । माक्र्सवादी नेता एयेन्डेलाई निर्वाचित हुन नदिन अमेरिकी साम्राज्यवादले ठूलो चलखेल गर्‍यो । चिलीको निर्वाचनमा प्रभाव पार्न अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का निर्देशक हेनरी किसिन्जरको नेतृत्वमा ‘कमिटी अफ ४०’ नामको समिति नै गठन गर्‍यो । चिलीमा विकास भइरहेको कम्युनिस्टहरूको प्रभाव र माक्र्सवादी नेता एयेन्डेले जित्ने सम्भावना देखेपछि हेनरी किसिन्जरले भने– “मलाई थाहा छैन, कुनै एउटा देश कम्युनिस्ट बन्दै गरेको हामी कसरी सहन र टुलुटुलु हेरेर बस्न सक्छौँ र यो त त्यहाँका जनप्रतिनिधिको गैरजिम्मेवारी हो ।” यो भनाइले साम्राज्यवादीहरूले कम्युनिस्टप्रति कस्तो दृष्टिकोण राख्छन् भन्ने छर्लङ्ग हुन्छ ।
संयुक्त राज्य अमेरिका विश्वका कुनै पनि देश आफ्नो निर्देशनमा मात्र चलोस् भन्ने चाहन्छ । कम्युनिस्टले सत्ता सम्हालेको देशले आफूलाई स्वाधीन राख्नको लागि कुनै पनि साम्राज्यवादी देशको थिचोमिचो सहँदैन । त्यसको विरोध गर्छ । माक्र्सवादी नेता एयेन्डेको नेतृत्वमा निकट भविष्यमा चिली पनि अमेरिकी साम्राज्यवादको विरुद्ध खरो उत्रने सम्भावना निश्चित थियो । यसकारण, अमेरिका एयेन्डे र उनले नेतृत्व गरेको ‘पपुलर युनिटी’ पार्टीलाई कसैगरी पनि हराउन चाहन्थ्यो ।
चिलीको निर्वाचनमा एयेन्डेविरोधी प्रचारबाजीको लागिमात्र अमेरिकी काङ्ग्रेसले किसिन्जर नेतृत्वको ‘कमिटी अफ ४०’ लाई ३ लाख अमेरिकी डलर बजेट निकासा गर्‍यो । त्यस्तै एयेन्डेका प्रमुख राजनीतिक विपक्षी उम्मेद्वार ‘जोर्ज एलेसान्द्रो’ को प्रचार अभियानमा पनि मनग्ये रकम खर्च गर्‍यो । चिली कङ्ग्रेसमा हुने मतदान प्रभावित पार्नमात्रै पनि अमेरिकी राजदूतमार्फत २ लाख ५० हजार अमेरिकी डलर निकासा गर्‍यो । (नेपालको निर्वाचनमा पनि साम्राज्यवादीहरूले आफ्ना दलालहरूलाई जिताउन मनग्य पैसा खर्च गर्ने गरेका छन्) यसरी अमेरिकाले एयेन्डेलाई रोक्ने हरसम्भव चाल गर्‍यो । ल्याटिन अमेरिकामा एयेन्डेले नेतृत्व गर्न सके अमेरिकाविरोधी आन्दोलन फिडेल क्यास्ट्रोेले नेतृत्व गरेको आन्दोलनभन्दा अझ प्रभावकारी हुनसक्ने मत हेनरी किसिन्जरको भएकोले एयेन्डे र उनको नेतृत्वमा रहेको ‘पपुलर युनिटी’ देखि अमेरिकालाई निकै  डर थियो । अमरिकी साम्राज्यवादीहरूको निर्देशनमा चल्ने फासीवादीहरूका अनेक हतकण्डा र प्रयास हुदाँहुदै पनि एयेन्डे औपचारिकरूपमा चिलीका राष्ट्रपति बने र क्युवासँग कूटनीतिक, व्यापारिक एवम् सांस्कृतिक सम्बन्ध पुनः स्थापना गर्ने घोषणा गरे । यसबाट अमेरिका झन् चिढियो ।
अमेरिकाले चिलीको निर्वाचनमा एयेन्डे र उनले नेतृत्व गरेको पार्टीलाई परास्त गर्नदेखि एयेन्डेलाई राष्ट्रपति हुनसमेत रोक्न हरसम्भव चाल जारी राख्यो । एयेन्डे राष्ट्रपति बनिसकेपछि पनि उनको अधिकार कटौति गरेर कमजोर पार्न चिली कङ्ग्रेसमा संविधान संशोधनको प्रस्तावसमेत लगियो । संशोधन प्रस्तावले राजनीतिक दल, शिक्षा, प्रेस र सेनामा सरकारी नियन्त्रण सीमित गरेर एयेन्डेलाई कमजोर बनाउने कोसिस गरियो । यी सबै गतिविधिमा अमेरिकी गुप्तचर विभाग ‘सीआईए’ को हात थियो ।
एयेन्डेले सरकारको लगाम हातमा लिइसकेपछि भूमिसुधार कार्यक्रमलाई अगाडि बढाए । चिलीमा रहेको तामाखानीहरू राष्ट्रियकरण गर्ने निर्णय गरे । भूमिसुधार कार्यक्रम अगाडि बढाएपछि कृषि क्षेत्रका बुर्जुवावर्गले तत्काल कृषि उत्पादनमा निषेध गरे । पुँजीपतिवर्गले बजारमा कृत्रिम अभाव सृजना गरिदिए । तामाखानी राष्ट्रियकरण गरिसकेपछि अन्तर्राष्ट्रिय सङ्गठनहरूले चिली सरकारलाई दिँदै आएको ऋण सहायता अमेरिकाको निर्देशनमा साम्राज्यवादीहरूले बन्द गरी चिलीको अर्थतन्त्रलाई ध्वस्त पार्ने प्रयत्न गरे । वास्तवमा एयेन्डे सत्तामा आउनुपूर्व नै चिलीको अर्थतन्त्र टाट पल्टिसकेको थियो । ओरालो लागेको अर्थतन्त्रलाई एयेन्डेको सरकारले सुधार्न खोज्दा प्रतिक्रियावादीहरूले अनेक बाधा व्यवधान तेस्र्याइदिए ।
सन् १९७३ सेप्टेम्बर ११ मा ‘सीआईए’ ले चिलीमा सैनिक विद्रोह गरायो । सेनाभित्र घुसपैठ गराएर विद्रोह गराउने तयारी वर्षौँ अगाडिदेखि गरिएको थियो । एयेन्डेकी छोरी ‘बीट्रिज एयेन्डे’ भन्छिन्– “सेप्टेम्बर ११ को सत्ताकब्जा अघिको झन्डै पूरा महिना हामी निरन्तरको निगरानीमा बस्यौँ । सैनिक विद्रोह र सत्ताकब्जाको हल्ला, चर्चा–परिचर्चा नभएको कुनै दिन हुन्थेन ।” एयेन्डेको समर्थन गर्ने सम्भावना भएका सबै सैनिक अधिकारीहरूलाई एकदिन अगाडि सेप्टेम्बर १० को राति नै गिरफ्तार गरिएको थियो । बाँकी चिली सेनाका धेरैजसो अधिकारीहरू साम्राज्यवादी प्रतिष्ठानबाट दीक्षित थिए । यसकारण पनि एयेन्डेले सैनिक विद्रोहलाई रोक्न असमर्थ रहे अथवा उनले त्यस्तो प्रतिक्रियावादी प्रयास रोक्न निर्मम प्रयास गर्नुपर्ने थियो, गरेनन् । त्यसमा उनी असफल रहे । अल्बानियाका समाजवादी नेता अनवर होक्सा भन्छन्– “प्रतिक्रान्तिकारी हिंसाको विरोध क्रान्तिकारी हिँसाबाट हुनुपर्छ भन्ने सिद्धान्त नै हरेक क्रान्तिको नियम हो । तर, राष्ट्रपति एयेन्डेले केही गरेनन् । केही कदम चालेनन् ।” आखिर सीआइए र चिलीका प्रतिक्रियावादीहरूद्वारा सत्ता कब्जाको दुष्प्रयास भएरै छाड्यो । उक्त दिन साम्राज्यवादी तथा फासीवादी सेनाले राष्ट्रपति भवनलाई चारैतिरबाट ट्याङ्क, हतियारबद्ध गाडीले घेरे भने आकाशबाट बमवर्षक लडाकु जेट विमानले आक्रमण गर्‍यो । त्यो आक्रमणको प्रतिकार गर्न एयेन्डे आफै फौजी पोशाक लगाएर बन्दुक बोकेर वीरतापूर्वक लडे । उनले आत्मसमर्पण गरेनन्, प्रतिक्रियावादी सेनासामु नझुकी असाधारण साहस प्रदर्शन गरे ।
राष्ट्रपति भवन घेर्न अत्याधुनिक हतियारसहित आएका २०० भन्दा बढी फासीवादी सेनाविरुद्ध जम्मा ४० जना एयेन्डेका समर्थकहरूले वीरतापूर्वक लडे । उनले युद्धका बीच राष्ट्रपति भवनबाट गरिएको आफ्नो अन्तिम सम्बोधनमा भने– “यो मातृभूमि र यति प्यारो सिद्धान्त जोगाउन म मेरो जीवन तिलाञ्जली दिनेछु । उनीहरूले हामीलाई ध्वस्त गर्न सम्भव छ तर भविष्य जनताकै हुनेछ, उत्तम जीवनको खोजीमा मानव जाति अगाडि बढिरहनेछ । चिली जिन्दावाद र श्रमिक जनता जिन्दावाद !” तर, एयेन्डे अमेरिकी साम्राज्यवादको दलाली गर्ने सेनासँग लड्दालड्दै सहिद भए । राष्ट्रपति भवनमाथि फासीवादीहरूले कब्जा जमाए । सत्ता पिनोचेको हातमा पुग्यो । उनको पार्थिव शरीर परिवारलाई हेर्नसमेत दिइएन । उनको शरीरमा १० भन्दा बढी गोली दागिएको थियो । उक्त घटनापछि पिनोचेको शासनकालाई चिलीका प्रगतिशील व्यवस्थाका पक्षधरहरू ‘चुक घोप्टिएको अन्धकारमय कालरात्री’ को संज्ञा दिन्छन् ।
एयेन्डेलाई सहयोग र समर्थन गरेको निहँुमा फासीवादीहरूले क्युवाली राजदूतावासमा समेत आक्रमण गरे, दुईपटक क्युवाली राजदूतावासमा गोलावारी भयो । क्युवालीहरूले पनि त्यसको डटेर सामना गरे । अमेरिकी साम्राज्यवादीको निर्देशनमा ‘पिनोचे’ को फासीवादी सेनाले अन्तर्राष्ट्रिय मूल्य मान्यताको ठाडो उल्लङ्घन गरे । सेप्टेम्बर ११ पछि कम्युनिस्ट समर्थक जनतालाई धरपकड गरियो । एयेन्डेको समर्थन गर्ने जनतालाई पक्राउ गरेर गोली हानियो । धेरै श्रमिकलाई पिनोचे सरकारले मार्‍यो । करिव ३ हजार चिली जनताको हत्या भयो भने ‘पपुलर युनिटी’ का नेता कार्यकर्तालाई अपराधीलाई जस्तै व्यवहार गरियो । पिनोचेको फासीवादी सेनाले प्रसिद्ध जनताका गायक ‘भिक्टर हारा’ लाई निर्दयताका साथ पाशविक तवरले हत्या गर्‍यो । भिक्टरको समाचार लेख्ने समाचार माध्यमलाई समेत धम्की दिइयो । भिक्टरबारे समाचार नलेख्न, नछाप्न उर्दी नै जारी गर्‍यो ।
‘पाब्लो नेरुदा’ चिलीका विश्वविख्यात लेखक हुन् । पिनोचे सरकारले उनका सम्पूर्ण साहित्यमाथि प्रतिबन्ध लगायो । कम्युनिस्ट विचारप्रति बलियो अडान भएका नेरुदाको समेत फासीवादीहरूले हत्या गरे । नेरुदाको निकट रहेका ‘अराया’ ले नेरुदालाई विषालु सुई दिएर हत्या गरेको रहस्योद्घाटन गरे । समयान्तरमा उनलाई विषालु सुई दिएर हत्या गरिएको प्रमाणित भयो ।
चिलीको घटनाबाट शान्तिपूर्ण ढङ्गबाट निर्वाचनमा बहुमत प्राप्त गरी समाजमा परिवर्तन ल्याउन सकिन्छ भन्ने संशोधनवादीहरूको भनाइ गलत प्रमाणित हुन्छ । अनवर होक्सा भन्छन्– “पुँजीपतिवर्गले सरकारी प्रशासनिक संयन्त्र सबै नियन्त्रणमा राख्ने अवस्थामा ‘संसदीय बहुमत’ ले देशको भाग्यमा परिवर्तन ल्याउने कुरा असम्भवमात्र होइन, अविश्वसनीय पनि छ ।” संसारमा कहीँ पनि पुँजीपतिवर्गले कम्युनिस्टहरूलाई संसद्मा बहुमत ल्याएर सरकार गठन गरी जनपक्षीय काम गर्न दिएको छैन । चिलीको घटनाले विश्व कम्युनिस्ट आन्दोलनलाई एउटा गतिलो पाठ सिकाएको छ । क्रान्तिकारी सङ्‍घर्षविना समाजमा आमूल परिवर्तन हुँदैन । त्यसको लागि सचेत जनताले कुनै न कुनै बेला हतियार उठाउनै पर्छ, पुँजीवादी मुकामलाई ध्वस्त बनाउनैपर्छ ।
नेपालमा शासक दलहरूले अब क्रान्ति जरुरी छैन, देशको आर्थिक प्रगतिको लागि हतियार उठाएर उपद्रव गर्नुहुन्न भनेर युवाहरूलाई भड्काउँदै छन् । उनीहरूमा भएको सङ्‍घर्षशील धारलाई भुत्ते बनाउने कोसिस गर्दै छन् । नेपालको सार्वभौमिकता धरापमा पारेर नेपाली जनतालाई नर्कमा पुर्‍याउने काम गर्दै छन् । तर, नेपाल क्रान्तिकारी युवा सङ्‍घ नेपाली युवाहरूमा भएको जोश र जाँगरलाई क्रान्तिकारी धारमा परिणत गराउन क्रियाशील छ ।
अमेरिकी साम्राज्यवादले नेपाली भूमिमा हस्तक्षेप गर्न ‘एमसीसी’ को जाल फ्याँकेको छ । नेपालको सबभन्दा ठूलो कम्युनिस्ट दावी गर्ने नेकपा पनि त्यो जालमा फस्दै छ । जनता झुक्याएर एमसीसी पास गराउन कम्युनिस्ट नामधारी पार्टी तथा नेताहरू लागिरहँदा देशभक्त जनता अचम्ममा परेका छन् ।
जनताका सामु ‘अमेरिकाको त्यति ठूलो सहयोग हामीले खेर फाल्न हुँदैन’ भनेर झुक्याउँदै छन् । साम्राज्यवादीले पनि विभिन्न बहानामा सहयोग गरेजस्तो गर्दै छ ! पछि फिडेल क्यास्ट्रोले भनेजस्तै नेपाललाई पनि साम्राज्यवादी दाँतले मज्जाले चपाउनेछ । यसर्थ नेपाल क्रान्तिकारी युवा सङ्‍घले साम्राज्यवादी र संशोधनवादीहरूको विरुद्धमा प्रतिरोध सङ्‍घर्ष गर्न जनतालाई सचेत र सङ्गठित पार्दै आएको छ । ज्ञानबर्धक पुस्तक प्रकाशन गरेर अध्ययन गर्ने मौका दिएकोमा ‘पत्रकार समाज, नेपाल’ लाई धन्यवाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *