भर्खरै :

सघन कक्षमा शय्या खाली नहुँदा आकस्मिक कक्षमा सङ्क्रमित

काठमाडौँ । काठमाडौँ उपत्यकामा सक्रिय सङ्क्रमितको सङ्ख्या १६ हजारभन्दा बढी हुँदा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक पाँचदेखि सात जनासम्म नयाँ बिरामी आइसीयूमा भर्ना भइरहेको छ । हरेक दिन भेन्टिलेटर र आइसीयूका बिरामीलाई राम्रो हुँदा आइसोलेसनमा झार्ने गरिएको र त्यस ठाउँमा गम्भीर खालका नयाँ बिरामीको उपचार गरिँदै आएको अस्पताल निर्देशक डा. सागर राजभण्डारीले बताउनुभयो । उहाँका अनुसार बिहानदेखि गम्भीर समस्या भएका सङ्क्रमित अस्पतालको आकस्मिक कक्षमा कुरिरहेका हुन्छन् । उहाँले भन्नुभयो, “शय्या खाली हुनु पहिले नै पालो कुरेका बिरामीलाई मिल्नासाथ आइसीयूमा सार्ने गरिएको छ ।”
अस्पतालको आइसोलेसन र आइसीयू अधिकांश समयमा सङ्क्रमितले भरिरहेको निर्देशक डा. राजभण्डारीले बताउनुभयो । अस्पतालमा दैनिकजसो नै सङ्क्रमित डिस्चार्ज भएर जानासाथ आकस्मिक कक्षमा रहेकालाई त्यहाँ सारिने गरिएको छ । उहाँका अनुसार आइसियुमा रहेका बिरामीलाई समस्या कम भएपछि केही दिनसम्म आइसोलेनमा राखेर रिपोर्ट नेगेटिभ आएपछि मात्रै डिस्चार्ज गरिँदै आएको छ । अस्पतालमा गम्भीर समस्या भएका र अक्सिजन दिनुपर्ने बिरामीलाई राखिने गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “लक्षणसहितका अरू बिरामीले पनि अस्पतालमा भर्ना हुन चाहे पनि हामीले गम्भीर बिरामीमात्रै लिने गरेका छौँ ।”

“शय्या खाली हुनु पहिले नै पालो कुरेका बिरामीलाई मिल्नासाथ आइसीयूमा सार्ने गरिएको छ ।”

उपत्यकामा सङ्क्रमितको सङ्ख्या बढिरहँदा अस्पताललाई त्यसको व्यवस्थापन गर्न गाह्रो भएको निर्देशक डा. राजभण्डारीले बताउनुभयो । उहाँका अनुसार अस्पतालले केही शय्या बढाउन लागेको भए पनि अस्पतालको क्षेत्र नै साँघुरो भएकाले धेरै बढाउनसक्ने अवस्था छैन । अरु समस्या हुँदा जस्तो नभएर कोभिडका बिरामीलाई दूरी कायम गरेर राख्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ । अस्पतालमा केही समयपहिले दुई भेन्टिलेटर थपिएको थियो । अहिले छ आइसोलेसन शय्या, चार आइसीयू र एक भेन्टिलेटर थप गर्न लागिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले सम्भव भएसम्म बेड थपिरहेका छौँ ।”
अस्पतालमा परीक्षण गराएर पोजेटिभ रिपोर्ट आएपछि धेरै सङ्क्रमितले मलाई यही राख्नुपर्छ भन्दै झगडा गर्ने गरेको निर्देशक डा. राजभण्डारीले बताउनुभयो । अस्पतालले अक्सिजन नै चाहिने प्रकृतिका सङ्क्रमितमात्रै राख्ने बताएपछि उनीहरू झगडा गर्न आउने उहाँको भनाइ छ । कतिपयले अस्पतालमा स्वास्थ्यकर्मीलगायत कर्मचारीसँग झगडा गर्न आउने गर्छन् । अस्पतालले भर्ना गर्ने भनिएका प्रकृतिका गम्भीर बिरामीलाई समेत भन्नासाथ लिन सकिने अवस्था नभएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “कतिपय सिरियस बिरामीलाई पनि बेड मिलाउनै नसक्दा अरू अस्पतालमा लैजानुहोस् भन्दा हामीलाई पनि राम्रो लाग्दैन ।”
एकातिर अस्पतालका सबै शय्यामा खचाखच बिरामी र अर्कातिर कार्यरत कर्मचारीलाई पनि समय – समयमा सङ्क्रमित हुँदा व्यवस्थापन गर्न कठिन भइरहेको निर्देशक डा. राजभण्डारीले बताउनुभयो । भर्ना भएका सबै बिरामीलाई हेर्नुपर्ने भए पनि जनशक्ति कम भएको उहाँले बताउनुभयो । अस्पतालमा अहिले तालिम प्राप्त नर्सको कमी छ । एउटा भेन्टिलेटरमा एकजना नै तोकिएको मान्छे राख्नुपर्ने उहाँले बताउनुभयो । एउटै व्यक्तिले नियमित गर्न नसक्दा फरक सिफ्टका लागि फरकफरक जनशक्ति चाहिन्छ । कर्मचारीलाई सङ्क्रमण भएर आइसोलेनमा हुँदा त्यो ठाउँमा अर्काे कर्मचारी खटाउनुपर्छ । उहाँले भन्नुभयो, “सबै कुरा मिलाएर गर्न अहिले सजिलो अवस्था छैन ।”
नेपालमा कोभिड–१९ को सङ्क्रमण सुरु भएसँगै यो अस्पतालमा परीक्षणका लागि आउनेको पनि भीड छ । कहिले घरबेटीले घरमा फर्कन नदिएकोले त कहिले कार्यालयमा जानका लागि नागरिक परीक्षणका लागि आउने गरेका छन् । अस्पतालले ‘क्राइटेएरिया’ मिलेकाको मात्रै परीक्षण गर्दै आएको छ । कोभिडसँग मिल्दा लक्षण भएका वा स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत फ्रन्टलाइनमा बसेर काम गर्ने व्यक्तिको परीक्षण गरिँदै आएको उहाँले जानकारी दिनुभयो । ‘कन्ट्याक ट्रेसिङ’ मा परेका व्यक्तिको भने वडा कार्यालयको समन्वयमा परीक्षण हुँदै आएको छ । कतिपय व्यक्ति कागजका लागि रिपोर्ट चाहिएकोले गर्न आउँदा भने पैसा तिरेर परीक्षण गर्न सक्ने व्यवस्था गरिएको छ । उहाँले भन्नुभयो, “अहिले धेरै जना लोक सेवा, प्रहरीमा भर्ना हुन वा विदेश जान भन्दै परीक्षणका लागि आइरहेका छन् ।”
सरकारी अस्पताल भएकोले र सबैलाई सहज पहुँच भएकोले सङ्क्रमित यहीँ उपचारका लागि आउन चाहने धेरै छन् । आर्थिकरूपमा विपन्न व्यक्तिले विशेषगरी लामो समयसम्म उपचार गर्नुपर्ने भएकोले यहीँ आउन चाहेको अस्पतालले जनाएको छ ।
अस्पताल कोभिड–१९ को उपचारमा केन्द्रित हुँदा अरू किसिमका सरुवा रोगमा त्यसको असर परेको निर्देशक डा. राजभण्डारीले बताउनुभयो । यहाँ उपचारका लागि आउने अरू सरुवा रोगका बिरामीलाई अरू अस्पतालमा सारिएको छ । एचआत्ी एड्स, क्षयरोग, डेङ्गु, कालाजारलगायत सरुवा रोगका औषधि खाइरहेका बिरामीले अहिले यहाँबाट उपचार पाएका छैनन् । अरु सरुवा रोग लागेका व्यक्तिलाई कोभिड देखिँदा मात्रै यहाँ उपचार हुन्छ । अरू सरुवा रोगका नियमित औषधि खाइरहेका व्यक्ति, पनि जोखिम वर्गमा पर्ने उहाँले बताउनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *