भर्खरै :

जीवनप्रति उत्साहित बनाउने ‘रन ब्वाई रन’

 

सुर्लिकले कुनै अपराध गरेको थिएन । भर्खर किशोरवय टेक्दै गरेको उसलाई मानिस–मानिसबीचको विभाजनबारे हेक्का समेत थिएन । उनीहरू बस्ने नगरको बिस्कुट कारखानामा काम गर्ने महिला स्टानियाक र आफूबीच (जातीय) भिन्नता भएको कुरा समेत उसलाई के थाहा ! पानीजस्तै चुलबुल केटाहरू हुल बाँधेर स्टानियाकको पसलमा गएर बिस्कुट चोरेर उन (स्टानियाक) लाई हैरान पार्थे । तर, समयको एउटा मात्र अपरिवर्तनशील चरित्र भनेको उसको परिवर्तनशीलता हो । परिवर्तनशील समयले सबै कुरालाई आफूसँगै लपेटेर लान्छ र परिवर्तन गरिदिन्छ । सुर्लिक हुर्किंदै गएसँगै पोल्यान्डमा फैलिंदै जान्छ–हिटलरको जगजगी । कुरो हो– दोस्रो विश्व युद्धको समयको ।
सुर्लिकको परिवार पोल्यान्डको राजधानी वार्साको झोपडपट्टी बस्तीमा बस्थ्यो । सन् १९३९ को सेप्टेम्बर महिनामा पोल्यान्डमाथि जर्मनीले हमला ग¥यो । जर्मनीमा त्यत्तिबेला फासीवादी शासक हिटलरको शासन थियो । पोल्यान्डमाथि फासीवादी सेनाले कब्जा जमाएपछि जर्मनीमा जस्तै त्यहाँ पनि यहुदीहरूविरुद्ध दमन नीति लागू भयो । जर्मनहरू नै संसारमा सबभन्दा ‘शुद्ध रगत’ भएको समुदाय भन्ने अन्धराष्ट्रवादी विचार बोकेको हिटलरको सेनाले यहुदीहरूलाई छानी–छानी मारिरहेको थियो किनभने नाजीवादी जर्मनहरूको निम्ति यहुदीहरू भनेका ‘अशुद्ध रगत’ का सन्तान हुन् । यहुदी हुनु नै अपराधी मानिने त्यो समयमा सुर्लिकको परिवार पनि हिटलरको सङ्गीनको निशानामा पर्छ । सुर्लिकका बुबा आफ्नो परिवारको लागि सुरक्षित बासस्थानको खोजीमा थिए । एना फ्रान्कको परिवारजस्तै आफ्नो परिवारको लागि कुनै सुरक्षित थलो भेटाउन उनी भौंतारिएका थिए । त्यही क्रममा जर्मन सेनाले सुर्लिककी आमालाई गिरफ्तार गर्छ । जर्मन सेनाको कोपभाजनबाट भाग्दै आएको सुर्लिकको भेट एउटा पुलमुनिको ढ्वाङमा आफ्नै बुबासँग हुन्छ । ढ्वाङको अँध्यारोमा भेटिएको छोरोलाई बुबाले ‘जसरी भए पनि बाँच्न, दरिलो हुन, कतै जर्मन प्रहरीका कुकुरले पछ्याए नजिकै खोला वा पोखरी तर्न र आफ्नो यहुदी थर लुकाएर (झुटो) पोलिस थर स्टानियाक भन्न’ सल्लाह दिन्छन् । अनि सुर्लिकका पिता आफू एकातिर दौडेर जर्मन सेनाको ध्यान खिच्दै सुर्लिकलाई अर्कोतिरबाट भगाउँछ । पुलमाथि बसेका जर्मन सिपाहीँले बुबाको त्यहीं हत्या गर्छ ।
विचारा, सुर्लिक अब कहाँ जाओस् ¤ न आमा, न बुबा, न घर न आफन्त । जताततै आतङ्क थियो । यहुदी भन्नासाथ मानिस तीन कोश पर भाग्ने समय थियो । त्यो परिस्थितिमा जङ्गल नै सुर्लिकको लागि सबभन्दा सुरक्षित बासस्थान बन्यो । मृत्युजस्ता जर्मन फासीवादी सेनाबाट भाग्दै–भाग्दै उनी जङ्गलै जङ्गल यात्रा गर्छन् ।

प्रतिकूलताका हजार परीक्षाबीच मानिसले बाँच्ने जीजिविषा र जीवनप्रतिको आशावादी सोच त्याग्न नहुने सुर्लिकको भूमिकाको सन्देश देखिन्छ । कठिनाइ र प्रतिकूलताको हिसाबकिताब राख्ने हो र त्यही कारण जीवनप्रति निराश हुने हो भने सुर्लिकले जीवनप्रति मोह त्याग्नुका मनग्य कारण छन् ।

कतिबेला स–साना गाउँ भेटिन्थे । ती गाउँमा केही काम पाइने र भोक मेटाउने आशाले सुर्लिकले गर्ने अधिकांश प्रयास विफल हुन्थे । सुर्लिकले मानिसहरूलाई सुरुमै आफ्नो थर स्टानियाक भएको भन्थ्यो । तर, कति मानिसहरू उसको कुरा पत्याउँथे भने कति उसले ढाँटेको कुरा सहजै थाहा पाउँथे । कतिका ढोका बन्द हुन्थे भने कति घरका मानिस एक जना भर्खरको केटोको यस्तो दुरावस्था देखेर सद्भाव राख्थे अनि केही दिनको लागि खाना र काम दिन्थे । भोको सुर्लिकलाई हिउँले चुटेर बेहोस अवस्थामा आफ्नो दैलोमा भेटाएकी एक महिलाले उसलाई तीन दिन उपचार गरेर आफ्नै घरमा लुकाएर राख्छिन् । तिनी महिलाका पति र छोरा भूमिगत हुन्छन् । सुर्लिकको अनुहारमा आफ्नो छोरोको छवि देखेर उनले उसलाई मद्दत गर्ने निधो गर्छिन् । तर, जर्मन सेनाको चापाचाप बढेपछि सुर्लिकलाई चाहेर पनि धेरै दिन उनले घरमा राख्न सक्दिनन् । न्यानो कपडा र केही खाने कुरा दिएर एक दिन सुटुक्क बिदा गर्नुको तिनीसँग कुनै विकल्प थिएन ।
त्यसपछि सुर्लिक जङ्गलै जङ्गल त्यसरी नै एउटा गाउँबाट अर्को गाउँमा काम र माम खोज्दै हिँड्छन् । एउटा गाउँको जमिन्दारीमा काम गर्ने क्रममा उसको हात मेसिनले च्यापिन्छ । उसलाई अस्पतालमा लगिन्छ । तर, ऊ यहुदी भएको थाहा पाएर चिकित्सकले शल्यक्रिया पनि गर्न मान्दैछन् । उसलाई अस्पतालको कोठाबाट बाहिर लबीमा बेवारिसे छोडिन्छ । मृत्यु पर्खेर बसेको सुर्लिकलाई एक जना वरिष्ठ चिकित्सक जोखिम उठाएर उपचार गर्न अघि सर्छन् । ढिलो शल्यक्रिया गर्दा सुर्लिकले ज्यान त गुमाएन तर एउटा हात गुमाउँछ ।
अस्पतालमा एक जना यहुदी केटोको उपचार भइरहेको खबर पाएर नाजी सेना गिरफ्तार गर्न आइपुग्छ । तर, जेनतेन ऊ एक जना सहयोगीको सहायतामा भाग्न सफल हुन्छ । फेरि उसको बास हुन्छ–जङ्गल । जङ्गलै जङ्गल हिँड्ने क्रममा ऊ आपूmलाई शरण दिई उपचार गर्ने महिलाकै गाउँमा पुग्छ । तर, यो पटक भने केटो गाउँमा आएको छनक पाएको जर्मन सेनाले पूरै गाउँमै आगो लगाइदिन्छ । आफूलाई जोगाउन पूरै गाउँ सखाप भएकोमा पछुताउँदै ऊ यात्राको अर्को गन्तव्य खोज्दै जान्छ ।
प्रतिकूलता र कठिनाइको उत्कर्षमा पुगेर पनि उसले बाँच्ने जीजिविषा त्याग्न सक्दैन । उसको कानमा सधैँ गुञ्जिरहेको हुन्छ बुबाका शब्दहरू–‘तिमीले बाँच्नुपर्छ ।’ जीवन रक्षाको निम्ति उसले आफू पोलिस भएको भनी ढाँटेर पनि कतिपय घरमा समय व्यतीत गर्छ । तर, एकै ठाउँमा धेरै समय नबस्न उसलाई मायाले उपचार गर्ने महिलाको सल्लाह मान्दै उसले ठाउँ फेरिरहेको हुन्छ ।
मानिसहरू उसको मायालु र अबोध अनुहार हेरेर ऊ यहुदी नभएको कुरा पत्याइदिन्छन् । तर, जान्ने सुन्ने मानिसहरू उसको पिसाब गर्ने अङ्गमा घाउ देखेपछि यहुदी भएको पक्का गर्थे । (यहुदीहरूले बच्चैमा पिसाब गर्ने अङ्गमा घाउ पार्ने गर्छन् ।) एउटा जर्मन सैनिक शिविरमा सेनाको कमाण्डरले त्यही आधारमा उसलाई मार्ने निधो गरिसक्छन् । मुस्किलले बाँच्छन् ।
जीवन जोगाउने यात्रामा हिँड्दै गर्दा एउटा कामी परिवारमा त्यसरी नै आफ्नो वास्तविक परिचय लुकाएर बसेको हुन्छ–सुर्लिक । त्यो गाउँमा वार्सा कब्जा जमाएर बसेका नाजीहरूलाई हमला गर्न सोभियत सेनाहरू मोर्चा खोलेर बसेका हुन्छन् । सोभियत सेनाका मायालु व्यवहारले सुर्लिक र कामीकी छोरी उनीहरूलाई निकै मन पराउँछन् । हिटलरको अन्त्य नजिकिएको उनीहरू अनुमान गर्थे । त्यही क्रममा एकदिन गाउँमा युद्ध सकिएको समाचार आइपुग्छ । खुशीले सारा गाउँले नाचगानमा रमाइरहेको बेला सुर्लिक गाउँको गिर्जाघरको घण्टी बजाउन दौडिन्छ । ऊ त्यही गाउँमा खुसी थियो । उसलाई युद्ध सकिएपछि अब लुकी लुकी कतै भाग्नु थिएन । जङ्गल–जङ्गल चहार्नु थिएन । झन्डै तीन वर्षको भागाभागबाट अब ऊ मुक्त भयो ।
एक दिन एक जना अपरिचित व्यक्ति सुर्लिकलाई लिन आउँछन् । उनी युद्धले विस्थापित भएका यहुदी बालबालिकालाई सुरक्षित ठाउँमा राख्ने एउटा यहुदी सङ्गठनका प्रतिनिधि हुन्छन् । कामी परिवारले सुर्लिकलाई यहुदी नभएको जोड दिए पनि अन्ततः उसलाई आफ्नो सुरुवाल खोल्न भन्दा ऊ हार खान्छ । नचाहेर पनि त्यो परिवारले उसलाई बिदा गर्छ । सुर्लिक यहुदी बालबालिकाको निम्ति स्थापना भएको अनाथालयमा जान्छ । त्यही उसले आफ्नो पढाइलाई निरन्तरता दिन्छ । त्यत्तिञ्जेल ऊ चौध वर्षको भइसक्छ । उसले अरूले गर्नेभन्दा आधा अवधिमा आफ्नो स्नातक तहको पढाइ पूरा गर्छ । उसलाई गणितमा उच्च शिक्षा अध्ययन गर्न छात्रवृत्ति हात लाग्छ । सन् १९६२ मा ऊ इजरायलमा गएर घरजम गर्छ ।
योराम फ्रिम्यानको वास्तविक जीवनमा आधारित युरी ओर्लोभले लेखेको उपन्यास ‘रन ब्वाई रन’ (सन् २०००) मा आधारित यो चलचित्र सन् २०१३ मा बनेको थियो । १ घण्टा ४६ मिनेट लामो यो चलचित्र नाजी फासीवादको क्रुर अनुहार संसारसामु देखाउन सफल छ । चलचित्रको एउटा रोचक कुरा के हो भने एक जोडी जुम्ल्याहा केटाहरूले चलचित्रको एउटै मुख्य भूमिका खेलेका छन् । एन्डे«ज टिकोज र कमिल टिकोजले त्यो भूमिका खेलेका छन् ।
प्रतिकूलताका हजार परीक्षाबीच मानिसले बाँच्ने जीजिविषा र जीवनप्रतिको आशावादी सोच त्याग्न नहुने सुर्लिकको भूमिकाको सन्देश देखिन्छ । कठिनाइ र प्रतिकूलताको हिसाबकिताब राख्ने हो र त्यही कारण जीवनप्रति निराश हुने हो भने सुर्लिकले जीवनप्रति मोह त्याग्नुका मनग्य कारण छन् । हरेक ढोकाबाट पाउने तिरस्कार, असफलता, जर्मन सेनाको रूपमा सधैं लखेटिरहेको मृत्यु, जङ्गलको भयग्रस्त एकान्तपन सबै सबै प्रतिकूलताबीच उसको कानमा लगातार गुञ्जिरहेको एउटै आवाज हो, ‘तिमीले बाँच्नुपर्छ ।’ त्यही कारण ऊ जीवनको कठिन यात्रामा पनि अघि बढिरह्यो । समय परिवर्तनशील छ र परिवर्तनशील समय परिवर्तन भएपछि परिस्थिति अनुकूल हुने आशाले उसलाई सधैँ डो¥याइरहेको थियो ।
राजनीतिक परिस्थिति जतिसुकै भयानक भए पनि मानिसभित्रको मानवता कहिले नमर्ने चलचित्रका धेरै दृश्यले दर्शकलाई सम्झाइरहेको हुन्छ । एकथरी मानिस प्रवाहसँगै बगेर विपत्तिमा परेकालाई ढोका बन्द गर्ने गर्छन् भने समाजमा त्यस्ता अर्कोथरी मानिस पनि हुन्छन् जसले विपत्तिमा परेकालाई जोखिम मोलेर प्रवाहविपरीत ढोका र मन खोल्न सधैं तयार हुन्छन् ।
धर्मलाई केही विद्वान्हरूले ‘पीडित आत्माको क्रन्दन’ भनेका छन् । युद्धले सबैतिर त्यत्तिकै भयले राज गरिरहेको त्यो समयमा हिटलरको यहुदीमाथिको कोपभावनाले धेरै मानिसलाई ‘पीडित आत्मा’ बनाएको थियो । त्यस्तो बेला मानिसहरूले धर्मलाई आत्म सान्त्वनाको माध्यम बनाउने गर्छन् । चलचित्रमा धर्मप्रतिको आस्थालाई त्यही ‘पीडित आत्माको क्रन्दन’ को रूपमा प्रस्तुत गरिएको छ ।
यो वर्ष दसैँमा भीडभाडमा नजानु होला । घर बस्दाको फुर्सदको समय जीवन बाँच्न उत्साहित गर्ने यो चलचित्र हेर्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *