भर्खरै :

‘चिलीमा फासीवादको प्रतिरोध’ बारे अन्तरक्रिया

भक्तपुर, १८ कार्तिक । नेपाल क्रान्तिकारी युवा सङ्घ चाँगुनारायण नगर समितिले ‘पत्रकार समाज नेपाल’ ले प्रकाशित गरेको ‘चिलीमा फासीवादको प्रतिरोध’ पुस्तकको अनलाईनमार्फत सोमबार अन्तरक्रिया कार्यक्रम गरेको छ ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टी भक्तपुर जिल्ला समितिका अध्यक्ष न्हुछेभक्त फोजूले पठन संस्कृतिको विकास गरेर कार्यकर्ताहरूको सांस्कृतिक विकास गर्न अन्तरक्रिया सहयोगी हुने बताउनुभयो । उहाँले साम्राज्यवादीहरूले विरोधीलाई सखाप पार्न न्वारानदेखिको बल लगाउने कुरा ‘चिली’ को घटनाबाट स्पष्ट भएको धारणा राख्दै निर्वाचनबाट समाजवाद स्थापना हुन नसक्ने बताउनुभयो ।
पुस्तकबाट ‘शत्रुको अगाडि झुक्न नहुने’ शिक्षा प्राप्त हुने उल्लेख गर्दै उहाँले ‘नेकपा’ को सरकार ‘एमसीसी’ मार्फत अमेरिकी साम्राज्यवादसामु घुँडा टेक्न खोजेकोले युवाहरू प्रतिरोधको लागि तयार हुनु जरुरी रहेको बताउनुभयो ।
नेपाल क्रान्तिकारी युवा सङ्घ भजिसका अध्यक्ष मिनबहादुर बाटाले अमेरिकी गुप्तचर विभाग ‘सीआइए’ ले सन् १९७३ सेप्टेम्बर ११ मा चिलीमा सैनिक विद्रोह गराएर जनताबाट निर्वाचित राष्ट्रपति ‘एयेण्डे’ को हत्या गरिएको प्रसङ्गले कामदार जनताविरुद्ध साम्राज्यवादीहरू क्रूर र निर्मम हुने धारणा राख्नुभयो । उहाँले साम्राज्यवादी शक्तिविरुद्ध विश्वका कामदार जनता एकजुट हुनु आजको आवश्यकता रहेको बताउनुभयो ।
नेपाल क्रान्तिकारी युवा सङ्घ चाँगुनारायण नगर समितिका अध्यक्ष आर. साखकर्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेक्रायुसङ्घका अर्जुन काफ्ले, सरोज दुलाल, सङ्गीता नेपाली, लक्ष्मीनारायण लिगल र रामेश्वर रानामगरले पुस्तकबारे आ–आफ्नो विचार राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *