भर्खरै :

त्रिविको परीक्षा विद्यार्थीले पायक पर्ने ठाउँबाट दिन पाउने

काठमाडौँ, १९ कार्तिक । त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई पायक पर्ने परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था गरेको छ । बन्दाबन्दी (लकडाउन) को बेला हुन नसकेका परीक्षा त्रिविले विद्यार्थीलाई आफ्नो पायक पर्ने परीक्षा केन्द्रबाट दिने व्यवस्था मिलाएको हो । विद्यार्थी जहाँ छन् त्यहीँ नजिकको त्रिविले तोकेको परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था मिलाएपछि अब धेरै विद्यार्थीलाई काठमाडौँ आउनुपर्ने छैन । त्रिविको रजिष्ट्रार डा. पेशल दाहालले कोभिड–१९ को कारणले विद्यार्थीलाई सहज बनाउन आफूले पायक पर्ने परीक्षा केन्द्रबाट परीक्षा दिन पाउने व्यवस्था गरिएको बताउनुभयो ।
यसका लागि त्रिविले अनलाइन फारामबाट तोकिएको परीक्षा केन्द्र रोज्न भनेको छ । परीक्षा नियन्त्रण कार्यालय बल्खुको वेबसाइटमा गएर विद्यार्थीले आफूलाई पायक पर्ने ठाउँमा रहेको त्रिविले तोकेको परीक्षा केन्द्र रोज्न पाउनेछन् । सोही परीक्षा केन्द्रबाट परीक्षा दिनेछन् । त्रिविले यही मङ्सिर दोस्रो हप्ताबाट स्थगित भएका सबै तहको परीक्षा गर्ने तयारी गरेको छ । “हामीले परीक्षा केन्द्र तोकेका छौँ । अनलाइनमा आफूलाई नजिक पर्ने परीक्षा केन्द्र रोजेर परीक्षार्थीले परीक्षा दिने व्यवस्था गरेका छौँ, परीक्षा दिनका लागि अब काठमाडौँ आउनुपर्दैन । आफूलाई पायक पर्ने ठाउँबाट परीक्षा दिन पाउनेछन् ।” उहाँले भन्नुभयो ।
उहाँले प्रवेशपत्र पनि अनलाइनबाट आफैँ विद्यार्थीले प्रिन्ट गरेर लिनसक्ने व्यवस्था गरिएको बताउनुभयो । कोभिड–१९ को कारणले गत चैत ७ गतेदेखि त्रिविअन्तर्गतका सबै परीक्षा स्थगित भएको थियो । अत्यन्तै न्यून भएका परीक्षा भने त्रिविले अहिले पनि भौतिक दुरी कायम राखेर सञ्चालन गरिरहेको छ । रजिष्ट्रार डा. दाहालले एक दुई दिनभित्रमा सबै परीक्षाको कार्यतालिका प्रकाशन गरिने बताउनुभयो । त्रिविको वार्षिक परीक्षा पनिका र सेमेस्टर परीक्षा डीन कार्यालयले लिनेछन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *