भर्खरै :

एक जना स्वयम्सेविकाको अनुभव

महिला स्वास्थ्य स्वयम्सेविका कसैको लागि अनौठो होइन । यो नाम प्रायशः सबैले सुनेकै हुनुपर्छ । स्वास्थ्यसम्बन्धी टोल–टोलमा जनचेतना जगाउन स्वेच्छिकरूपमा कार्यरत महिला कार्यकताहरू नै महिला स्वास्थ्य स्वयम्सेविका हुन् । महिला स्वास्थ्य स्वयम्सेविकाहरू ७७ वटै जिल्लामा छन् । त्यसमध्ये मैले पनि भक्तपुर नगरपालिकामा स्वयम्सेविका भएर काम गरिरहेकी छु । म भक्तपुर नगरपालिकाको वडा.नं. ६ भोलाछेँमा बस्छु र त्यही वडाको महिला स्वास्थ्य स्वयम्सेविकाको रूपमा काम गर्दै छु ।
मैले २०६८ जेठ १९ देखि २०६८ जेठ २७ सम्म सञ्चालित पुनर्जागरण महाशाखा र राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रबाट निर्धारित पाठ्यक्रमअनुसारको महिला स्वास्थ्य स्वयम्सेविकाको नौ दिनको आधारभूत तालिम लिएकी थिएँ । नौ दिनको सो तालिममा मैले धेरै रोगहरूको बारेमा जान्ने मौका पाएँ । तालिमपछि मैले महिलाहरूमा देखिने पाठेघर क्यान्सर, स्तन क्यान्सरबारे प्रशिक्षण लिने मौका पाएँ । साथै क्षयरोगबारे पनि जान्ने मौका पाएँ । पहिले हामीले क्षयरोगबारे छ महिनाको एकचोटि प्रशिक्षण लिने गथ्र्यौँ र हामी घर–घरमा गएर त्यसबारे जानकारी गराउँथ्यौँ । यसै प्रशिक्षणकै क्रममा हामीले हात्तीपाइले रोगबारे पनि प्रशिक्षण लियौँ । हात्तीपाइले रोगबारे घरघरमा सेवा भावनाले जानकारी गराउन जाँदा धेरै गुनासा तथा नकारात्मक कुराहरू हामीले सुन्नु परेको थियो । हामीले घर–घरमा गएर सचेत पार्न तथा हात्तीपाइले रोगको औषधि खुवाउन जाँदा कति घरका सदस्यहरूले घरको ढोकासम्म पनि खोल्न मानेका थिएनन् । हाम्रै एक स्वयम्सेविका साथीलाई औषधि खुवाउन जाने क्रममा घरको माथिबाट पानीले समेत छ्यापेको घटना याद आउँछ । त्यो घटना अहिले पनि हाम्रो मनमष्तिष्कमा ताजा नै छ । कतिपय घरका मान्छे यसबारे जान्न चाहँदैनन् । कसै कसैले ‘हाम्रो घरको सदस्यलाई हात्तीपाइले भएको छैन, हामीलाई औषधिको जरुरत छैन’ भनेर पठाएका छन् । यो सब नकारात्मक सोच हुनुको मुख्य कारण शिक्षाको कमी तथा तालिम र प्रशिक्षण नदिई औषधि वितरण गर्नु थियो ।

पोषण सप्ताह दिवसमा स्वास्थ्य स्वयम्सेविकाहरू


हामी स्वयम्सेविका हुनुभन्दा पहिले कुनै प्रशिक्षण नै नलिएका स्वयम्सेवकहरूले घर–घरमा गई औषधि वितरण गरेका रहेछन् । न्यूनतम जानकारी नभएका व्यक्तिहरूले औषधि वितरणको कारण सर्वसाधारणमा अरू स्वास्थ्य समस्या देखिएको थियो । हात्तीपाइलेको औषधि जसले पायो त्यसले सेवन गर्न नहुने औषधि हो । यो औषधि सुत्केरी हुँदा, मधुमेह, उच्च रक्तचाप र अरू रोगको औषधि सेवन गरिरहेका व्यक्तिले खान हुँदैन । पर्याप्त जानकारी नहुँदा यो औषधि प्रायलाई खुवाइएको रहेछ । पछि त्यसको असरले धेरै मानिसमा अनेक स्वास्थ्य समस्या देखियो । त्यसै कारण हामी घरदैलोमा जाँदा पनि मान्छेहरूले फेरि पनि त्यस्तै औषधि खुवाएर उल्टो बिरामी परिएला भनेर हामीलाई कतिले गाली पनि गरेका रहेछन् । तर, हामीले धेरैलाई औषधिबारे जानकारी गरायौँ । यो औषधि कस्तो मान्छेले खाने अनि कस्तो मान्छेले नखाने भनेर त्यसरी सम्झाए पछि धेरैले यसलाई सकारात्मकरूपमा लिन थाले । अहिले हात्तीपाइले रोग उन्मूलन भइसकेको छ । यस्तै हामीले बच्चाहरूको लागि भिटामिन ‘ए’ खुवाउने कार्यक्रम तथा पोलियो थोपा खुवाउने विषयमा पनि प्रशिक्षण लिएका थियौँ । अहिले यो पोलियो पनि उन्मूलन भइसकेको छ भने हाल भिटामिन ‘ए’ र बालभिटाको राष्ट्रिय कार्यक्रम बाँकी नै छ । यो कार्यक्रम हरेक ६÷६ महिनामा हुने गरेको छ । प्रशिक्षणकै शिलशिलामा २०६८ फागुन २१ गते भक्तपुर क्यान्सर अस्पतालको १७ औँ वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित एक दिने ‘क्यान्सर सचेतना’ सम्बन्धी अभिमुखीकरणमा पनि सहभागी हुने अवसर पाएँ । पहिले धेरै रोगहरूको बारेमा प्रशिक्षण दिने गरिन्थ्यो भने पछि यो प्रशिक्षण दिने कार्यक्रम सुस्ताउँदै गयो । त्यसैले स्वास्थ्य स्वयम्सेविकाहरूलाई पहिलाजस्तै समय–समयमा पुनःताजकीकरण कार्यक्रम गर्न आवश्यक छ । यसबाट हामी स्वयम्सेविकाहरू पनि नयाँ–नयाँ रोगबारे जानकारी पाउनेछौँ ।
महिला स्वास्थ्य स्वयम्सेविकाहरू प्रत्येकले २५ सदस्यीय आमा समूह बनाइरहेका छौँ । ती समूहमा हामीले जानेका विभिन्न रोगहरूको बारेमा छलफल गर्ने गर्छौँ । यस्तै विभिन्न रोगहरूको स्वास्थ्य शिविरमा सहभागी भई काम गर्ने अवसरहरू पनि पाएँ । शिविर कार्यक्रमले गर्दा धेरैलाई फाइदा पुगेको छ । घरको आर्थिक अवस्था कमजोर भई अस्पताल जान नसकेकाको लागि शिविरबाट धेरै फाइदा भएको छ । यस्तै शिविर राख्दा घटेको घटना म राख्न चाहन्छु ।
वडामा राखिएको स्वास्थ्य शिविरमा महिलाहरूको पाठेघर क्यान्सर र स्तन क्यान्सरबारे जाँच भएको थियो । शिविरमा धेरै महिलाहरूले सेवा प्राप्त गरे । त्यसमा पनि धेरै वृद्धहरूको जाँच भएको थियो । कति वृद्धा आमाहरूले लजाएर परीक्षण पनि नगराएको देखियो । तर, त्यस्ता आमाहरूलाई स्वास्थ्यकर्मी र स्वयम्सेविकाले सम्झाएर परीक्षण गराउँदा कतिको स्तन क्यान्सर र कतिको पाठेघरका मुखको क्यान्सर भएर शल्यक्रिया गर्न हतार भइसकेको देखियो । त्यस्ता बिरामीलाई शल्यक्रियाको लागि क्यान्सर अस्पतालमा पठाइएको थियो ।
एक जना वृद्धा आमालाई आमा भइसकेर पनि पाठेघर जचाउन लजाउनुको कारण सोध्दा पहिले अस्पतालमा गएर बच्चा जन्माउने चलन नभएको, बच्चा घरमै जन्माउने गरेको र घरमै बच्चा पाउने हुँदा पाठेघर जँचाउन लाज लागेको बताइन् । त्यसमा पनि बिहे नभएको मान्छेले जाँच्ने हुँदा आमाहरूलाई झनै अप्ठ्यारो हुनेरहेछ । पाठेघर जचाउन नमान्दाको कारण सोध्दा एक आमाले भन्नुभयो, “म कहिले बच्चा पाउन अस्पताल गएकी छैन । सबै बच्चा घरमा नै पाएकी हुँ । त्यही भएर मलाई यहाँ सबैको अगाडि जचाउन लाज लाग्छ ।” तर, जब उहाँको रिपोर्ट नराम्रो आयो अनि उहाँले भन्नुभयो, “आज मैले जाँच नगरेको भए क्यान्सरले मर्ने थिएँ । तपार्इँहरूले गर्दा आज म क्यान्सरजस्तो रोग लाग्नबाट बचेँ ।”

स्वास्थ्य शिविरमा रक्तचाप परीक्षण गरिंदै


यस्तै घटना एक जना महिलामा स्तन क्यान्सर भयो । हामी लजाएर आफ्नो रोग लुकाउँदा आफूलाई ठूलो हानि हुने गर्छ । समयमा उपचार नपाउँदा ज्यान नै जोखिममा पर्नसक्छ । आफूलाई लागेका रोगबारे सबैसँग खुलेर बोल्नुपर्छ अनि आफूलाई लागेको रोगको बारेमा सबै कुरा खुलस्त भन्नुपर्छ । तर, अहिले पनि कति महिलाहरू आफूलाई लागेको रोगबारे लाजले लुकाएर बसेको हामीले पाएका छौँ । उनीहरू विभिन्न स्त्री रोगका बिरामीहरू हुन्छन् ।
रोग लुकाउनेमध्ये पहिला क्षयरोग पनि हो । पहिले क्षयरोग लाग्ने व्यक्तिलाई घृणाको व्यवहार गरिन्थ्यो । शिक्षाको कमीले त्यसो भएको हुनुपर्छ । यो एउटा सरुवा रोग पनि भएकोले सबै जना यो रोगदेखि डराउने र आफूलाई यो रोग लागेपछि कसैलाई नभनी लुकाएर बस्ने गरिन्थ्यो । यसरी रोग लुकाउँदा कतिको परिवारमा नै रोग सरेको पाइयो किनकि यो रोग लागेपछि उसले अरूलाई पनि सार्ने गर्छ । यो रोग लागेपछि घरको सदस्यले हेर्ने दृष्टिकोण पनि फरक हुनेगथ्र्यो ।
क्षयरोगबारे हामीले घरदैलो गरेका थियौँ । त्यो बेला पनि कतिले यो रोगबारे भन्नै चाहेनन् । अनि हामीले यसको कारण सोध्यौँ । उहाँहरूले भन्नुभयो, “यो रोग लागेको कसैले थाहा पायो भने हामीलाई व्यवहार गर्ने नै फरक हुन्छ ।” हामीले भन्यौँ, “यो क्षयरोगको औषधि नियमित खानुभयो भने तपाईँ क्षयरोगबाट मुक्त हुनुहुनेछ ।” उहाँहरूले फेरि भन्नुभयो, “थाहा छ र औषधि पनि खाएको थिएँ । तर, बीचैमा मैले औषधि खान छोडेँ । त्यसपछि फेरि मलाई क्षयरोगले सतायो । त्यसपछि मैले फेरि औषधि खान सुरु गरेर पूरा औषधि खाएपछि मलाई क्षयरोग पूरा निको भयो ।”

घरदैलो नर्सिङ सेवाले धेरैजसो अशक्त तथा ज्येष्ठ नागरिकहरूलाई सजिलो भएको छ । घरदैलो नर्सिङ कार्यक्रम नियमित गरेको खण्डमा वडावासीहरूलाई धेरै सजिलो र सहज हुनेछ ।
महिला स्वास्थ्य स्वयम्सेविका भएर काम गर्दा हामीले धेरै कुरा सिक्न र सिकाउने मौका पाएका छौँ । हामी आफूले सिकेको कुरा टोलवासीलाई सिकाउन पायौँ । यस्तै सिक्ने र सिकाउने क्रममा हामीले डेङ्गुको महामारीमा पनि जुट्यौँ । टोलमा डेङ्गुको महामारी फैलिएको बेला हामीले टोलमा विभिन्न जनचेतनामूलक कार्यक्रमहरू प्रस्तुत ग¥यौँ । ती कार्यक्रमले डेङ्गु भएका बिरामी तथा डेङ्गुको लक्षण देखिएका मान्छेहरूलाई धेरै फाइदा भयो भने कतिलाई डेङ्गु रोग र यसको लक्षण थाहा नभएर घरमै डेङ्गु रोगसँग लडिरहेको पनि पायौँ ।

कुनै पनि रोगको औषधि पूरा मात्रामा सेवन नगर्दा फेरि त्यही रोगबाट ग्रसित हुन पर्नसक्छ । अहिले पनि क्षयरोगका बिरामी नभएका होइनन्, धेरै छन् तर मान्छेहरू भन्न लजाउँछन् क्षयरोगबारे । यसरी रोग लुकाउनुको मुख्य उद्देश्य जनचेतनाको कमीले हो । त्यसैले हामीले समाजमा जनचेतनामूलक कार्यक्रमको आयोजना गर्न सकेको खण्डमा धेरैले आफ्नो रोग लुकाउन अनि आफूलाई परेको समस्याबारे खुलस्त भन्न नडराउने तथा नलजाउने हुन्छ ।
महिला स्वास्थ्य स्वयम्सेवकहरूले अहिले घरदैलो नर्सिङ सेवा पनि प्रदान गर्दै आएको छ । यसले वडाका सबै वडावासीहरूमा सजिलो भएको छ । हामी यसरी घरदैलो जाँदा कतिले सकारात्मकरूपमा हामीलाई व्यवहार गरेका छन् भने कतिले नकारात्मकरूपमा व्यवहार पनि गरे । कतिले हामीलाई घरदैलो गरी घर–घरमा सेवा दिएकोमा धेरै सुविधा र सजिलो भएको अनुभव गरे । जसको घरमा उच्च रक्तचापका बिरामी अनि कोही दुर्घटना भएर घरमा नै बसेर उपचार गर्नुपर्नेहरूको लागि धेरै सजिलो भएको छ । किनकि घरदैलो जाँदा हामीसँग स्टाफ नर्स पनि सँगै हुन्छन् ।
घरदैलो नर्सिङ सेवाले धेरैजसो अशक्त तथा ज्येष्ठ नागरिकहरूलाई सजिलो भएको छ । घरदैलो नर्सिङ कार्यक्रम नियमित गरेको खण्डमा वडावासीहरूलाई धेरै सजिलो र सहज हुनेछ ।
महिला स्वास्थ्य स्वयम्सेविका भएर काम गर्दा हामीले धेरै कुरा सिक्न र सिकाउने मौका पाएका छौँ । हामी आफूले सिकेको कुरा टोलवासीलाई सिकाउन पायौँ । यस्तै सिक्ने र सिकाउने क्रममा हामीले डेङ्गुको महामारीमा पनि जुट्यौँ । टोलमा डेङ्गुको महामारी फैलिएको बेला हामीले टोलमा विभिन्न जनचेतनामूलक कार्यक्रमहरू प्रस्तुत ग¥यौँ । ती कार्यक्रमले डेङ्गु भएका बिरामी तथा डेङ्गुको लक्षण देखिएका मान्छेहरूलाई धेरै फाइदा भयो भने कतिलाई डेङ्गु रोग र यसको लक्षण थाहा नभएर घरमै डेङ्गु रोगसँग लडिरहेको पनि पायौँ । हामीले चेतनामूलक कार्यक्रमको प्रस्तुतिपछि वडावासीले आफूमा देखाएका सबै लक्षण डेङ्गुको भएको थाहा पाएर उपचारको लागि अस्पताल पुगेका छन् । हामीले डेङ्गुबारे भिडियो प्रदर्शनी कार्यक्रम चलाउँदा–चलाउँदै पनि कति जना हामीले बताएको लक्षण आफूमा पाएपछि कार्यक्रम नै छोडेर अस्पतालमा उपचारको लागि गएको पनि थाहा पायौँ ।
यो डेङ्गुको महामारी फैलिनु भन्दा पहिले एउटा घटना भएको थियो । सुरूमा टोलमा डेङ्गुका बिरामी एक–दुई जना देखिन थालेको थियो । त्यही क्रममा एक जना बिरामी जाँच्नको लागि अस्पताल पुगेको रहेछ । त्यो डेङ्गुका बिरामीको उपचार गर्ने अस्पताल थियो । आफूलाई डेङ्गु लागेको कसैलाई थाहा नहोस् भनेर लुकेर गएको रहेछ । आफ्नो रोग लुकाउनुको मतलब डेङ्गु रोग लागेपछि समाज अनि घर–परिवारले छिःछिः र दुरदुर गर्ला भन्ने डर थियो । तर, हामीले उनको भ्रम हटाउन वडामा बैठक राख्यौँ । आफैँ डेङ्गुका बिरामीलाई सहभागी बनायौँ र त्यस बैठकमा हामीले डेङ्गुका लक्षण र यसको उपचारका विषयमा छलफल ग¥यौँ । डेङ्गु भएका बिरामीलाई समेत आफूलाई डेङ्गु हुँदा कस्ता लक्षण देखाप¥यो अनि कसरी यसको उपचार भयो, सबै कुरा बैठकमा प्रस्तुत गर्न लगायौँ । हामीले बैठकमा ज्ञानमूलक कुरा पनि प्रस्तुत ग¥यौँ । हामीले ‘आफूलाई लागेको कुनै पनि रोग लुकाउन नहुने, रोग कसैलाई पनि लाग्न सक्छ, रोग लाग्यो भन्दैमा उनीहरूलाई घृणा हैन माया र सान्त्वना दिनुपर्छ’ भनी सम्झायौँ । रोग लागेका व्यक्तिले पनि आफूलाई लागेको रोगबारे अरूलाई जानकारी दिएर अरूलाई रोग लाग्नबाट बचाउनुपर्छ भन्ने कुराहरू प्रस्तुत ग¥यौँ । त्यसपछि तिनै बिरामीले “आफूले गल्ती गरेको महसुस गरी सबैलाई रोग लुकाएर नबस्न, आफूलाई लागेको रोगको बारेमा आफ्नो घर परिवार तथा आफ्नो मिल्ने साथीलाई भनेर समयमै उपचार गराउन आग्रह गरे । उनले आफ्नो रोग लुकाउँदा अकालमा मृत्युको शिकार हुनसक्ने बताए ।
हामीले धेरै रोगहरूको बारे विभिन्न ठाउँमा गएर प्रशिक्षण लिने मौका पायौँ । यसरी रोगहरूको बारेमा जानकारीको साथसाथै रक्तचाप नाप्ने सिक्न आवश्यक लाग्छ । घरदैलो जाँदा प्राय सबैको रक्तचाप नाप्नुपर्ने हुन्छ, त्यसको लागि हामीले स्टाफ नर्सको जरुरत पर्दछ । हामीले पनि प्रशिक्षण पाएको भए हामीले सजिलैसँग घरदैलो जाँदा सुविधा प्रदान गर्न पाउँथ्यौँ ।
अहिले विश्व नै कोभिड–१९ कोरोनाकै महामारीमा आक्रान्त छ । कोरोनाले लाखौँ मानिसको ज्यान लिइसकेको छ । यो रोगबारे पनि हामीले वडामा सामाजिक दुरी कायम गरी वडाका जनप्रतिनिधिको सहयोगमा जनचेतनामूलक कार्यक्रम ग¥यौँ । कोरोना रोग कसरी सर्छ भनेर वडामा भिडियोहरू देखाएर यसबाट कसरी बच्न सकिन्छ र रोग लागे कस्तो उपचार हुन्छ भन्नेबारे जानकारी गरायौँ । टोल–टोलमा पनि यस्तै कार्यक्रम गर्ने सोच थियो । तर, यो सम्भव भएन । टोलमा कार्यक्रम गर्दा धेरै मान्छेको भीड हुने हुनाले यो कार्यक्रम गर्न सकेनौँ । यदि कसैलाई कोरोना लागिहाले पनि त्यो मान्छेलाई अरू मान्छेले छुनेबित्तिकै अनि सँगै बस्दैमा यो रोग सर्दैन । यो रोग सर्ने भनेको कोरोनाको बिरामीसँगै धेरै बेर बसेमा उसको सिँगान, थुक वा ¥यालको छिटा परेमा सर्ने रोग हो । त्यसैले कोरोना भएका बिरामीसँग धेरै बेर नबसी सामाजिक दुरी कायम राखेको खण्डमा यो रोग सर्न पाउँदैन । तर, यो कोरोना रोग लागिहाले पनि हामीले त्यस्ता व्यक्तिहरूलाई छिःछिः र दुरदुर नगरी माया र हौसला दिनुपर्छ ता कि कोरोनाका बिरामीलाई आफू कोरोनाको बिरामी हुँ भन्ने महसुस पनि नहोस् ।
त्यसैले यस कोरोनाबाट आफू बचौँ र अरूलाई पनि बचाऔँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *