भर्खरै :

महामारीले खाएको यसपालिको दसैँ !

प्रकृति हाँस्यो तर जीवन हाँसेन
हरेक वषझै यसपालि पनि वर्षा यामलाई बिदा दिँदै शरद ऋतु बैलैमा आइपुगेकै हो । डाँडा, पाखा, पखेरो जताततै रङ्गीबिरङ्गी पूmलहरू फूलेकै हुन् । फाँटहरूमा धानका पहेँला बाला पनि लहलह झुलेकै हुन् । कृषकहरूले समयमै धान भित्र्याउन थालेकै हुन् । पारिलो घाम, शितल हावाले वातावरण सुरम्य बनाएकै हो । प्रकृति आफ्नो गति र मतिअनुसार नचलेको पनि होइन ! तर, मानिस यो शरदमा समेत रम्न सकिरहेका छैनन् । खुसी हुन पाइरहेका छैनन् । धेरै मानिस अस्पतालमा जीवन–मरणको सङ्घर्ष गर्दै छन् । एकान्तवासमा कैद भई सासना भोग्दै छन् । एकथरी मानिस उपचारका सम्पूर्ण उपाय अपनाएर रातदिन नभनी ती सबैको जीवन जोगाउन खटिरहेका छन् । अरूको सुरक्षाका निम्ति, अरूको स्वास्थ्य रक्षाका निम्ति आफैलाई बलिदान गर्न पनि तयार छन् ।
मनमोहक प्राकृतिक दृश्यले पनि यो वर्ष पूर्णता नपाएझैँ र सार्थकता गुमाएझैँ धेरैले अनुभव गर्दै छन् । कस्तो अनौठो ! कस्तो विडम्बना ! एउटा अदृश्य भाइरसको प्रादूर्भाव र तत्पश्चात् यति ठूलो हलचल मानवजगतमा मच्चिने कसले पो अनुमान गरेथ्यो होला र ! नेपाल जस्तो भूपरिवेष्ठित मुलुकसमेत अन्य टापु या समुद्री देशहरूझैँ भाइरसबाट नराम्ररी प्रभावित हुन पुग्ला भनेर धेरैले अनुमानसमेत नगरेको प्रस्ट छ । आजको दूर्भाग्यपूर्ण स्थितिका निम्ति सरकारको लापर्वाही, अल्पदृष्टि तथा उदासीनता प्रमुखरूपमा जिम्मेवार भएकोमा भने कुनै आशङ्का छैन । खराब शासकबाट शासित हुनुपर्दा जनताले भोग्नुपर्ने दूर्भाग्यको स्थिति देशमा विद्यमान छ ।
हर्षोल्लास हराएको दसैँ
केही समयका लागि मात्रै किन नहोस् दुःख बिर्सेर खुसीयाली मनाउने र आ–आफ्नो कर्मक्षेत्रमा अझ जोशका साथ फेरि जुट्न उत्साह एवम् ऊर्जा बटुल्ने पर्व दसैँको आगमन पनि भयो । मेहनतको फल या अन्नबाली फल्दा या भित्र्याउन पाउँदाको आनन्द र खुसियालीको महाउत्सव भएर आउने दसैँको पर्खाइमा थिए धेरैधेरै नेपाली जन । तर, यो वर्ष विगतका दसैँमा भैmँ उमङ्ग, रौनक र हर्षोल्लास छाउन सकेन । मालश्री मङ्गल ध¬नले मानिसको मन खासै हर्न सकेन । पर्वका धेरैधेरै कुरा औपचारिकतामा सीमित गरिए । बाजागाजाको सुमधुर एवम् रोमाञ्चकारी आवाज गुञ्जिएन । नाचगानको रौनक खासै देखिएन । दिनहरू जतिसुकै घमाइला भए तापनि धेरैका निम्ति अपेक्षाकृत रमाइलो भने हुन सकेन र सरकारद्वारा कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन र नियन्त्रण गर्न नसक्दाको परिणाम भोग्न बाध्य छन् यतिखेर सारा नेपाली जनता ।
यो दसैँ पटक्कै दसैँजस्तो हुन नसक्नुमा मूलरूपमा वर्तमान सरकार नै दोषी छ । कोरोना भाइरस सङ्क्रमण पैmलिन नदिने, नियन्त्रण गर्ने अनेक उपाय हुँदाहुँदै सरकारले गर्न चाहेन या गर्न सकेन । सरकारमा इच्छाशक्तिको अभाव भएको उसको व्यवहारमा स्पष्ट झल्कियो । सरकारको विभाजित मनस्थितिका कारण जनताले दुःख पाउनु सह्य हुन सक्दैन, क्षम्य पनि कदापि हुन सक्दैन । सरकार केही धनाढ्य या पुँजीपतिवर्गको दबाब या प्रभावमा परेकै कारण आज सर्वसाधारण जनताले दुःख पाइरहेका छन् । चाडबाडमा समेत जनताको खुसी खोस्ने काम स्वयम् सरकारबाट हुनु लज्जाको विषय हो । त्यस्ता अधर्मी, निर्दयी, बैगुनी शासकलाई सत्तामा बसिरहने अधिकार छैन ।
सरकारले दसैँमा झनै रुवायो
दसैँकै सेरोफेरोमा मानिसले सरकारबाट केही सकारात्मक सन्देश या पहलका सुखद खबरको अपेक्षा गरेका थिए । बढ्दो सङ्क्रमणबाट आक्रान्त जनता कमसेकम यो चाडपर्वको समयमा सरकारबाट बुद्धिमत्तापूर्ण निर्णय, केही सान्त्वना या दीर्घकालीन हितका उपाय घोषणा हुने आशा गर्दै थिए । त्यसको ठीकविपरीत सरकारले सङ्क्रमितको उपचारबाट हात झिक्ने घोषणा ग¥यो । सरकारले उपचार खर्च नव्यहोर्ने, परीक्षणसमेत नागरिकले आफ्नै खर्चमा गर्नुपर्ने र सङ्क्रमितको मृत्यु हुँदा आफैले बन्दोबस्त गर्नुपर्ने सार्वजनिक सूचना जाहेर ग¥यो । सकभर अस्पतालसमेत नजान उर्दी जारी भयो सरकार स्वयम्बाट । लगत्तै केही निजी तथा सामुदायिक अस्पतालहरूले लाखौँ धरौटी नबुझाए उपचार नगर्ने सूचना सार्वजनिकरूपमा टाँसे । जनताबीच झन् बढी आतङ्क फैलियो । सर्वसाधारण नेपालीले असुरक्षाको अनुभव गरे । जनताको मनोबल घट्यो । जनताको घाउमा न¬नखुर्सानी दल्ने अपराध सरकारले ग¥यो । दसैँ मनाउने तर्खरमा रहेका जनताको मन सरकारले नराम्ररी रुवायो । जनताको मनोबल बढाएर कोरोना भाइरसविरुद्धको लडाइँमा विजय हासिल गर्न अग्रसर हुनुपर्ने र नेतृत्व गर्नुपर्ने सरकार स्वयम् कर्तव्यच्यूत बन्दा नेपाली जनताले अभिभावकविहीनताको स्थिति अनुभव गरे । फलस्वरूप, दसैँ झनै खल्लो बन्यो र दसैँमा सरकारप्रति जनताको आक्रोश बढ्यो । सरकारका निम्ति यो शुभसङ्केत अवश्य होइन ।
विश्व सेरोफेरोतिर एक दृष्टि
विश्व सेरोफेरोबारे घोत्लिइँदा यतिखेर विश्व एक्काइसाँै शताब्दीकै सबैभन्दा कठिन मोडमा उभिएको प्रस्ट हुन्छ । निश्चय पनि यो सामान्य विपत्ति होइन । आर्थिक, राजनीतिक, सामाजिक तथा सांस्कृतिक प्रभाव देखापरिसकेका छन् । मानव जगतमा यतिखेर बढ्ता सन्त्राश व्याप्त छ । मानिस आतङ्कित छन् । मानिस पीडाले छट्पटाइरहेका छन् । मानिसको दैनिक जीवनमा नकारात्मक असर परेको महिनौँभइसकेको छ । बहुसङ्ख्यक मानिस यतिखेर रोग, भोक र शोकले ग्रस्त छन् । गरिबी अकस्मात् बढेको छ । अशान्ति फैलिएको छ । प्रकृतिमा एउटा अदृश्य नयाँ भाइरस थपिएसँगै मानव समाजमा खैलाबैला मच्चिएको झन्डै एक वर्ष हँुदै छ । सामाजिक प्राणी भए तापनि मानिस अलग्ग बस्नुमा आरुनो सुरक्षाको सुनिश्चितता देख्न बाध्य छन् । पुराना मान्यता भत्काउँदै सामाजिक या भौतिक दूरी कायम गर्नु अनिवार्य भएको छ । प्रकृतिको सर्वोत्कृष्ट मानिने प्राणी मानिस र नयाँ कोरोना भाइरसबीच घनघोर लडाइँ चलिरहेको छ । यस क्रममा करिव एघार लाख पचास हजार मानिसले ज्यान गुमाइसकेका छन् । सबैभन्दा बढी मानवीय क्षति संरा अमेरिका, ब्राजिल, स्पेन, इटाली, भारतमा भएको तथ्याङ्कले बताउँछ । तिनै देशमा अत्यधिक सङ्क्रमित पाइएको छ । चार करोड पच्चीस लाख मानिस भाइरससँग प्रत्यक्ष जुझिरहेका छन् । यो अङ्क दिन प्रतिदिन उकालो चढ्दो छ । स्थिति भयावह तथा अनियन्त्रित भइसक्दासमेत ती देशका शासक जिम्मेवार बनिरहेका छैनन् । बरु, आफ्नो अक्षमता र कमजोरी लुकाउँदै अरूलाई दोषारोपण गर्दै छन् ।
विकासको चुचुरोमा पुगिसकेको दाबी गर्ने देश, समाज, समुदायहरू आज अस्तव्यस्त स्थितिमा पुगेका छन् । ‘लथालिङ्ग देशको भताभुङ्ग चाला, जो धनीमानी छ उसैको ज्यान जोगिएला’ तिनै पुँजीवादी देशको सन्दर्भमा लागु हुँदै छ । अत्याधुनिक हातहतियारले सुसज्जित मुलुक आज सामान्य मास्क, अतिआवश्यकीय स्वास्थ्य सामग्री या उपकरणको अभावमा छट्पटाइरहेका छन् । पुँजीवादी देशको व्यवस्थापकीय खोक्रोपन, नेतृत्वको कमजोरी र तिनको उद्देश्यमा रहेको खोट उदाङ्गिएको छ । यो स्थितिले विश्वयुद्धको झझल्को दिइरहेको मानिसहरू अनुभव गर्दै छन् । सभ्यताको चुली चुमिसकेको दाबी गर्ने र बाँकी विश्वलाई सभ्यताको पाठ पढाउँदै हिँडेको समाज या समुदायको अनुशासनहीनता, चरम लापर्बाही, गैरजिम्मेवारी, स्वार्थी प्रवृत्ति र अराजक शैली छताछुल्ल भएको छ । ती आपैmद्वारा आपैm निर्वस्त्र भएका छन् । यो कुनै संयोग मात्र जरुर मान्न सकिन्न । कोरोना भाइरस नआएको भएपनि अर्को कुनै कारणबाट पुँजीवादी व्यवस्था उदाङ्गिने नै थियो । फरक यति हो कि कोरोनाले त्यसलाई अलि अगाडि ल्यायो र पुँजीवादी व्यवस्थाभित्रका खराबी तथा कमीकमजोरी ज्वालामुखीको लाभाझैँ भित्रभित्र गुम्सिरहेको थियो, यतिखेर विष्फोट भयो र फोहरलाई मखमलको कपडाले छोप्दैमा नगन्हाउने हो र १
विजयउन्मुख समाजवाद
गम्भीर राजनीतिक विश्लेषकहरूले पुँजीवाद पतनउन्मुख व्यवस्था हो र एक्काइसौँ शताब्दी समाजवादको शताब्दी हुने धेरै अगाडि नै सगर्व घोषणा गरेका थिए । त्यसबारे लामो छलफल तथा बहस पनि चल्यो । आज त्यो साकार हुने सम्भावना प्रबल बन्दै गइरहेको स्पष्ट छ । पुँजीवादी देशहरू सङ्कटमा फसिरहँदा महामारीको नियन्त्रण गरी मानवीय जीवन रक्षामा पाएको अभूतपूर्व सफलता र तत्पश्चात् समाजवादी देशहरूले जनस्वास्थ्यको क्षेत्रमा अन्तर्राष्ट्रिय जगतमै निर्वाह गरेको उल्लेखनीय भूमिकाले समाजवादी व्यवस्थाको राम्रो परिचय पुनः विश्वसामु प्रस्तुत गरिसकेको छ । कोभिड– १९ विरुद्धको खोपको विकास छिटोभन्दा छिटो गरी मानव समुदायको उत्कृष्ट सेवा गरेर समाजवादले विश्वका मानिसको विश्वास जित्नेमा कुनै शङ्का छैन । त्यसपछि समाजवादको पुनः विजयको शङ्खघोषको दिन पनि त्यति टाढा हुने छैन । पुँजीवाद खराब भएर मात्र होइन समाजवाद असल र युगकै क्रान्तिकारी तथा वैज्ञानिक विचार भएकैले यो विजयउन्मुख बन्दै छ । समसामयिक विश्व परिवेशले यसको पुस्टि गर्दै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *