विकास निर्माणलाई अघि बढाउँदा ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक सम्पदाको संरक्षणलाई विशेष प्राथमिकता दिनुपर्ने
- असार ७, २०८३
काठमाडौँ, २२ कार्तिक । सत्तारुढ दल नेकपाको एकता दयनीय अवस्थामा पुगेको छ । सचिवालय बैठक राख्न अञ्जुली फैलाएर प्रधानमन्त्री ओलीसमक्ष गएका नेकपाका पाँच जना सचिवालय सदस्यलाई उनले लोप्पा खुवाएर फर्काएका छन् । प्रस्टै दुई खेमामा विभाजित देखिएको नेकपाका दुवै खेमाले एक अर्कालाई गुटबन्दीको दोषारोपण लगाइरहेका छन् । खासमा दुवै पक्ष कुनै पनि बेला पार्टी फुट्ने निष्कर्षसाथ आफ्नो पल्ला भारी बनाउन गुटबन्दीलाई बलियो बनाउन लागिरहेका छन् । बालुवाटार पुगेका नेकपाका पाँच सचिवालय सदस्य प्रधानमन्त्रीसामु लाचार भएर दुई दिनको अल्टिमेटम दिएर फर्के ।
नेकपाका नेताहरूका यस्ता चालामाला देख्दा ‘…लाई भन्दा देख्नेलाई लाज’ भइरहेको छ । विगतमा काङ्ग्रेसहरू ३६ से र ७२ रे गुटमा विभाजित थिए । उनीहरू आपसमा सत्ताको लागि झगडा गर्थे र खुट्टा तानातान गर्थे । उनीहरूको यस्तो झगडाले जनताका समस्या कहीं कतै सम्बोधन हुँदैनथ्यो । उनीहरूका लागि जनता भनेका निर्वाचनको बेला मत दिएर आफूलाई सत्तामा पु¥याउने भ¥याङमात्र थिए । सत्ता, पद र पैसा नै उनीहरूको झगडाको मूल विषय हुन्थ्यो । काङ्ग्रेसको सत्ता सङ्घर्षको कारण प्रजातन्त्र र समाजवादका कुरा देखाउने दाँतमात्र सावित भयो । काङ्ग्रेसीहरूले आफ्नो पार्टीको कुनै सिद्धान्त छ भन्ने कुरा नै भुलेका थिए । पार्टीभित्रको अर्को गुटलाई पछार्नु र आफू सत्ताको नजिकमा पुग्नु नै उनीहरूले बुझेको राजनीति थियो । जसले राजनीतिलाई त्यसरी बुझ्यो, ऊ काङ्ग्रेसमा टिक्न सक्यो । अरू क्रमशः पाखा लाग्दै गए । सबै पुँजीवादी दलमा हुने यही हो ।
आज नेकपाको अवस्था योभन्दा भिन्न छैन । नेताहरूको लागि जनताको समस्या र सिद्धान्तको कुरा तपसिलका कुरा बने । कसरी सत्तामा आफ्नो अंशियारी बढाउने भन्ने विषय केन्द्रीय विषय बनेको छ । कम्युनिस्ट पार्टीका कार्यकर्तामा हुनुपर्ने अनुशासन र जुझारु चरित्र आज नेकपामा खोज्नु मरुभूमिमा पानी खोज्नु जस्तै भएको छ । सिद्धान्तलाई त्यागेर सत्ता र लाभको लागि एकता गर्दा राजनीतिक दलले भोग्नुपर्ने नियति यही हो । यसमा कुनै आश्चर्यको कुरा छैन । राजनीतिक पार्टी, विशेषतः कम्युनिस्ट पार्टी स्थापना र एकताको आधार नै सैद्धान्तिक र वैचारिक जग हो । कुनै निश्चित राजनीतिक परिस्थितिमा साझा सङ्घर्ष गर्नुपर्ने अवस्थामा राजनीतिक दलबीच कार्यगत एकता गर्ने अभ्यास पनि छ । तर, सिद्धान्त र विचारमा एकरुपता नहुँदासम्म कम्युनिस्ट पार्टीबीचको एकताको कुनै अर्थ हुँदैन । त्यस्ता सिद्धान्तहीन एकता अन्ततः बिसर्जन र निराशामा परिणत भएको छ ।
एमाले र माओवादी केन्द्रबीच वैचारिक र सैद्धान्तिक मेलको आधारमा एकता भएको थिएन । बरु दुवै मिल्दाको अङ्कबाट सत्ता हासिल हुने हिसाब निस्केपछि सत्ताकै लागि यो एकता भएको थियो । केही नेताहरूले जतिसुकै वैचारिक जलप लगाउन खोजे पनि उनीहरूको एकतामा सिद्धान्तको कुनै माने थिएन । सत्ताको लागि भएको सङ्घर्ष अन्ततः सत्ताको भागबन्डा नमिल्दा विग्रह हुनु कुनै आश्चर्यको विषय होइन । आज नेकपामा भइरहेको विभाजनको खिचातानी यसैको परिणाम हो । यसमा न त कम्युनिस्ट न माक्र्सवाद–लेनिनवाद न जनताका समस्याको कुनै लिनुदिनु नै छ । यो लुछाचुँडी विशुद्ध सत्ता र सुविधाको भाग नमिल्दा चर्र्किएको झगडा हो । नेकपा फुटे पनि सत्ताकै लागि फुट्नेछ र जुटे पनि सत्ताकै लागि जुट्नेछ । यसमा नेपाली जनताका समस्या र चासोसँग कुनै सम्बन्ध छैन ।
विडम्बना ! नेकपाका नेताहरूका यस्ता लज्जास्पद गतिविधिले नेपालमा कम्युनिस्ट आन्दोलन बदनाम भइरहेको छ । नामकै आधारमा नेकपालाई कम्युनिस्ट पार्टी हो भन्ने भ्रम अझै धेरै नेपालीमा बाँकी नै छ । सत्तालोभी नेताहरूलाई कम्युनिस्टको नाम दिएर यस्ता गतिविधि गराउँदै नेपालमा कम्युनिस्ट आन्दोलनलाई सदाको लागि बदनाम गर्ने पुँजीपति वर्गको चाहना आज नेकपाले पूरा गरिरहेको छ ।
Leave a Reply