भर्खरै :

भक्तपुर अस्पतालमा बुधबारबाट पीसीआर परीक्षण सेवा

भक्तपुर, २४ कात्र्तिक । भक्तपुर अस्पतालले बुधबारबाट कोभिड–१९ को आरटी–पीसीआर परीक्षण सुरु गर्ने भएको छ । बागमती प्रदेश सरकारको सहयोगमा अस्पतालमा ल्याइएको परीक्षण मेसिनबाट हाल प्रारम्भिक परीक्षण भइरहेको र बुधबारबाट औपचारिक रूपमा परीक्षणको थालनी गरिने भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.सुमित्रा गौतमले जानकारी दिनुभयो ।
“प्रारम्भिक परीक्षणका नतिजा राम्रो आइरहेका छन्”, गौतमले भन्नुभयो ।
बुधबार अस्पतालमा आयोजना गरिने एक कार्यक्रमबीच प्रदेश सरकारका स्वास्थ्य मन्त्री युवराज दुलालले पीसीआर सेवाको उद्घाटन गर्नु हुनेछ ।
हाललाई परीक्षणमा प्रदेश प्रयोगशाला धुलिखेलका कर्मचारीहरूले सहयोग गर्नेछन् भने भक्तपुर अस्पतालका कर्मचारीहरूलाई पनि तालिम दिने काम भइरहेको गौतमले भन्नुभयो ।
प्रदेश सरकारको कार्यक्रमअनुुसार अस्पतालमा निःशुल्क पीसीआर परीक्षण गरिनेछ । अस्पतालमा पीसीआर परीक्षणको व्यवस्था गर्न भक्तपुरका स्थानीय तह र जनताले पहल गर्दै आएका थिए । भक्तपुर अस्पतालसहित भक्तपुर जिल्लामा पीसीआर परीक्षण सेवा भएका अस्पताल दुई पुगेको छ । यसअघि मध्यपुर थिमि नपाद्वारा सञ्चालित नेपाल–कोरिया मैत्री नगरपालिकाका अस्पतालले पनि सो सुविधा दिंदैआएको थियो । भक्तपुर अस्पतालमा हाल १७ शय्याको कोभिड आइसीयु पनि सञ्चालनमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *