भर्खरै :

विद्यालय र कलेज कहिले खोल्ने ?

देशैभरि कोभिड–१९ सङ्क्रमण दर बढिरहे पनि समाजका लगभग सबै क्षेत्र अहिले खुला भइसकेका छन् । बजार, उद्योग–कलकारखाना, कार्यालय, यातायातका साधनहरूसमेत सुरु भइसकेका छन् । तर, गत वर्षको चैतमा बन्द भएका शैक्षिक निकायहरू भने अझै बन्द छन् । सरकारले तत्कालै खोल्ने कुनै सङ्केत दिएको छैन । सबै क्षेत्र खुला भए पनि विद्यालय र कलेजहरू किन बन्द छन् भन्ने प्रश्नको जवाफ न सरकारसँग छ न विद्यालयका शिक्षक र सञ्चालकहरूसँग नै । अनलाइन कक्षामार्फत विद्यार्थीको पढाइ चालू रहेको भनिए पनि अन्तर्राष्ट्रियरूपमा अनलाइन कक्षा विद्यालय तहमा प्रभावकारी नभएको धेरै अनुभव सार्वजनिक भइसकेका छन् । नेपालमा अनलाइन कक्षा न प्रभावकारी बन्न सकेको छ न सबै विद्यार्थीलाई नै यसले समेट्न सकेको छ ।

सरकारले प्रस्ट दिशानिर्देश नगर्दा विद्यालय र कलेजहरू अन्योलमा छन् । सरकारले स्पष्ट बाटो नदेखाई शिक्षक र विद्यालय सञ्चालकहरू विद्यालय खोल्दा आइपर्ने जोखिम झेल्न तयार छैनन् । तर, यो अन्योलको सबभन्दा ठूलो मारमा विद्यार्थीहरू परेको देखिन्छ । झन्डै एक वर्षदेखि उनीहरूको सिक्ने प्रक्रिया रोकिएको छ वा प्रभावकारी बन्न सकेको छैन । अनलाइन कक्षा धेरै हदसम्म झाराटार्ने प्रक्रियाजस्तै बनिरहेको छ । न शिक्षकले चित्त बुझ्दो गरी पढाइरहेका छन्, न विद्यार्थीले नै प्रभावकारी ढङ्गले सिकिरहेका छन् । निजी विद्यालयहरू बन्द हुँदा त्यहाँ काम गर्ने लाखौँ शिक्षक–शिक्षिकाहरूले आफ्नो नियमित आम्दानी गुमाएका छन् ।

लामो समयसम्म विद्यालय बन्द हुँदा पश्चिम नेपालका विभिन्न जिल्लाका विद्यार्थी झोलाझम्टा बोकी आफ्ना अभिभावकसँग भारत पसेको समाचार आइरहेका छन् । विद्यालय सञ्चालन नहुँदा विद्यार्थीहरू शिक्षाबाट वञ्चितमात्र भएका छैनन्, बरु श्रम शोषण, कुलत, विकृतिमा फस्दै गएको जानकारी युनेस्कोले दिएको छ । नेपालको अनुभव पनि यसबाट खास फरक छैन ।
सरकारले प्रस्ट दिशानिर्देश नगर्दा विद्यालय र कलेजहरू अन्योलमा छन् । सरकारले स्पष्ट बाटो नदेखाई शिक्षक र विद्यालय सञ्चालकहरू विद्यालय खोल्दा आइपर्ने जोखिम झेल्न तयार छैनन् । तर, यो अन्योलको सबभन्दा ठूलो मारमा विद्यार्थीहरू परेको देखिन्छ । झन्डै एक वर्षदेखि उनीहरूको सिक्ने प्रक्रिया रोकिएको छ वा प्रभावकारी बन्न सकेको छैन । अनलाइन कक्षा धेरै हदसम्म झाराटार्ने प्रक्रियाजस्तै बनिरहेको छ । न शिक्षकले चित्त बुझ्दो गरी पढाइरहेका छन्, न विद्यार्थीले नै प्रभावकारी ढङ्गले सिकिरहेका छन् । निजी विद्यालयहरू बन्द हुँदा त्यहाँ काम गर्ने लाखौँ शिक्षक–शिक्षिकाहरूले आफ्नो नियमित आम्दानी गुमाएका छन् ।
विभिन्न देशका अभ्यास हेर्दा नेपालले अब विद्यालय सञ्चालनमा विलम्ब गर्नु हुन्न । युरोपमा सङ्क्रमणको कारण आंशिक वा पूर्णरूपमा लकडाउन गरिएका देश र सहरमा समेत विशेष सावधानीका साथ विद्यालयहरू सञ्चालनमा छन् । सीमित विद्यार्थीमात्र विद्यालयमा उपस्थिति हुने गरी समय मिलाएर, कक्षाकोठा व्यवस्थापन गरेर, सामाजिक दुरी, स्यानिटाइजर, मास्कको प्रयोग गरेर आधा दिन वा साताका केही दिन विद्यालय सञ्चालनमा ल्याइएका अन्तर्राष्ट्रिय अनुभव छन् । केही देशले सङ्क्रमण दरको आधारमा सहर र क्षेत्रको वर्गीकरण गरी अति प्रभावित क्षेत्रमा अनलाइन, मध्यम प्रभावित क्षेत्रमा अनलाइन र भौतिक कक्षा तथा न्यून प्रभावित क्षेत्रमा भौतिक कक्षा नै सञ्चालन गरिएको अभ्यास पनि देखिन्छ । केही देशमा केही समय विद्यालय सञ्चालनमा ल्याउँदा सङ्क्रमण दरमा कस्तो प्रभाव पर्छ भन्ने आधारमा विद्यालय सञ्चालन गर्ने–नगर्ने कुराको निक्र्योल गर्ने गरिएको छ । नेपालले पनि यस्ता अभ्यास र अनुभवबाट सिक्दै विद्यालय सञ्चालनको दिशामा अग्रसर हुनुपर्छ ।
समाजका अन्य सबै क्षेत्र खुला गरेर विद्यालयमात्र बन्द गर्दा विद्यार्थीलाई विद्यालय नजाँदा अझ जोखिमपूर्ण बन्दै गएको छ । विद्यालयमा पूर्वसावधानीका नियम पालना गरेर पठनपाठन सुरु गरे विद्यार्थीहरू अझ बढी सुरक्षित हुने छन् । त्यसकारण विद्यालय र कलेजहरू सावधानीका सबै उपाय अपनाएर सञ्चालन गरिनुपर्छ । अति प्रभावित सहरमा केही समयको लागि यो सम्भव नभए पनि अन्यत्र विद्यालय र कलेज सञ्चालन गर्नुपर्छ । तर, आजको अन्योलपूर्ण अवस्थाको अन्त्य गर्न राज्यले अग्रसरता देखाउनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *