भर्खरै :

हिमाली महाभूल – ३३, नाम्का चू खोलाको लडाइँ

(सन् १९६२ को चीन–भारत युद्धबारे चिनियाँ कैदमा परेका ब्रिगेडियर जेपी डाल्भीको प्रसिद्ध पुस्तक ‘हिमाली महाभूल’ (Himalayan Blunder) को सङ्क्षिप्त अध्ययन)
ईश्वरीय उन्मादको अन्त्य
आधिकारिक चिनियाँ दस्तावेज नपाउँदासम्म चिनियाँ तैनाथीबारे गरिने सबै कुरा अनुमानमात्र हुन् । उनीहरूले कम्तीमा दुई डिभिजन सेना प्रयोग गरेको हुनुपर्छ । एक डिभिजन सेना जगेडा राखेको हुनुपर्छ, जम्माजम्मी २० हजार सेना । ढोला क्षेत्रमा राजपुत र गोर्खालीहरूलाई एकैचोटि दुई ब्रिगेड सेनाले आक्रमण गरेका थिए । एक ब्रिगेड सेना साङधर क्षेत्रमा प्रयोग भएको थियो । अर्को ब्रिगेड खिनजेमानेमा प्रयोग भएको थियो । केही चिनियाँ सैनिक पुल १ र पुल २ बाट भाग्न सक्ने भारतीय सैनिकको बाटो छेक्न हाथुङलामा प्रयोग भएको थियो । एउटा चिनियाँ टोली न्यामजाङ चू हुँदै तवाङलाई पश्चिमबाट घेर्न गइरहेको थियो । अर्को ठूलो चिनियाँ टोली बुम्लाको बाटो तवाङ जाँदै थियो ।
चिनियाँ आक्रमणको केही मिनेटपछि ब्रिगेड ७ को आपसी सम्पर्क चुँड्यो । बाहिरबाट सहयोगमा कुनै सेना आउने थिएन र सम्पर्क लाइन काटिएकोले सम्पर्कको सम्भावना थिएन । बटालियन कमान्डरले आआफ्ना कम्पनीका कमान्डरसँग पनि कुरा गर्नसक्दैनथे । वायरलेसका अपरेटरहरूले पनि चिनियाँ बन्दुकधारीहरू अघि बढेपछि मोर्चा सम्हाल्नुपर्ने भयो । चिनियाँहरूले दुइटा साना र एउटा ठूलो परिचालनपछि ब्रिगेड ७ लाई घेरा हाले । राजपुतहरूमाथि आक्रमण गर्नुअघि चिनियाँहरूले एक बटालियन सेना गोर्खाली र राजपुतहरूबीच पसेर उनीहरूलाई अलग्याए । राजपुतहरू दुईतिरबाट घेरिए । उनीहरू जालमा परे ।
नाम्का चूमा सबै टोलीहरू ससाना जालोमा परेजस्ता भएका थिए । उनीहरूको जालो ज्यानमारा थियो । घेराउमा परेकै भए पनि सबै टुकडीले बहादुरीपूर्वक लडे । त्यसमध्ये राजपुत र गोर्खालीहरूले भारी हतियारको अभावमा ३ घण्टासम्म ठूलो वीरता देखाए ।
कर्नेल रिखको हेडक्वाटर पुल ४ मा तैनाथ थियो । उनीसँग एक राइफल कम्पनी र एउटा विशेष पल्टन थियो । चिनियाँ गोलाबारीको केही मिनेटमा रिखको सञ्चार बङ्कर नष्ट भयो र उनका सबै सञ्चार प्राविधिकहरू मारिए । त्यसपछि उनका तोप सञ्चालकहरू मारिए । चिनियाँहरूका दुई आक्रमणलाई पुल ४ को टोलीले पछि धकेल्न सक्यो । तेस्रो आक्रमणमा पूरै पल्टन ध्वस्त भयो । वरपरका सबै टोलीहरू मेजर गुरदयाल सिंहले कमान्ड गरिरहेका थिए । उनले बचेखुचेको शक्ति लगाएर आक्रमण थाले । धेरै बहादुरहरू मारिए । गुरदयाललाई चिनियाँहरूले बन्दी बनाए । अन्तमा कर्नेल रिखको बङ्कर बाँकी थियो । त्यसलाई चिनियाँहरूले घेरा हाले र रिखलाई आत्मसमर्पण गर्न भने । रिखले मानेनन् । उनीहरूले शत्रुलाई व्यस्त राखिरहे । चिनियाँहरूले मेसिनगनबाट बङ्गरमा गोली हानिरहे । यस्तैमा एक चिनियाँ घिस्रिँदै गएर एउटा हाते ग्रिनेड फाले । कप्तान भाटिया मारिए र रिख घाइते भए । चिनियाँहरूले दौडिँदै गएर बङ्कर कब्जा गरे ।
प्रतिरोधका यस्तै घटना धेरै पल्टन र कम्पनीमा देखिए । अस्थायी पुलमा नायक रोशन सिंहको टोली अन्तिम मान्छे नमरुञ्जेल लड्यो । सुबेदार दशरथ सिंहको पल्टनमा सातजना सैनिकमात्र बाँचे । चिनियाँहरूको तीनपटकको आक्रमणको प्रतिकारमा सबै गोलाबारुद सकियो । चौथो आक्रमणलाई उनको टोलीले सङ्गीनको भरमा रोक्न खोज्यो । घम्साघम्सीमा थप चारजना राजपुतहरू मरे । बाँकी तीनजना सैनिक गम्भीर घाइते भए र समातिए । जम्दार बोसको पल्टनमा चिनियाँहरूको तीनपटकको आक्रमणको प्रतिकार गर्दासम्म दसजना व्यक्तिमात्र बाँचे । उनले पनि सङ्गीनको लडाइँमा आफ्नो टोलीसँगै ज्यान गुमाए । जम्दार बोसकै नियत भोग्ने जम्दार विश्वास पनि बङ्गाली नै थिए ।
मेजर बीके पन्तको नेतृत्व बहादुरीको अर्को नमुना थियो । चिनियाँ गोलाबारी सुरु भएपछि उनी वरपरका सबैलाई गोलबन्द गरे र चिनियाँहरूले आक्रमण गर्ने बताए । त्यसपछि उनले सबैलाई राजपुतहरूको बहादुरीको परिचय दिनुपर्ने घडी आएको भन्दै हौसला बढाए । यसो गरिरहँदा उनको खुट्टामा चोट लागिसकेको थियो । तैपनि कहिल्यै गोलाबारी नभोगेका आफ्ना सैनिकलाई ढाडस दिन जरुरी थियो । त्यसैले गोलाबारीको बीचमै उनले अन्तिम व्यक्ति बाँचुञ्जेल लड्नुपर्ने बताइरहे । कम्पनीले चिनियाँहरूको आक्रमणलाई तीनचोटिसम्म रोकिरह्यो । त्यसबेलासम्म पन्तको पेट र दुवै खुट्टामा चोट लागिसकेको थियो । तैपनि उनले आफ्ना सैनिकहरूको हिम्मत बढाइरहे । यसले गर्दा चौथो आक्रमण निस्तेज भयो । पन्तको रगत बगेको बग्यै थियो । उनी भने रोकिएनन् । राजपुतहरूले हिम्मत हार्दैनन् भनी चिच्याउँदै गर्दा उनले ज्यान गुमाए । चिनियाँ मेसिनगनको आक्रमणमा परी मेजर पन्तलगायत उनको टोलीका ११२ सैनिकमध्ये ८२ जना मारे र अन्य घाइते भए । चिनियाँहरूले पछि एकजना भारतीय बन्दीलाई भनेअनुसार नेफाको लडाइँमा उनीहरूको सबैभन्दा धेरै मानवीय क्षति पहिलो लडाइँमा भएको थियो । राजपुत २ बटालियनसँगको लडाइँमा धेरै चिनियाँहरू हताहत भएका थिए ।
गोर्खालीहरूले कर्नेल आलुवालियाको नेतृत्वमा बहादुरीपूर्वक लडे । पछि उनीहरूलाई भारत सरकारले सम्मानित पनि ग¥यो । पञ्जाबीहरू हाथुङलाको बाटो फर्किने क्रममा ठूलो सङ्ख्यामा मारिए । ग्रेनाडियरहरूको पनि उस्तै स्थिति रह्यो । यी दुवै युनिटले लड्ने मौका पाएनन् ।
साङलेमा रहेका पञ्जाबी र गोर्खालीहरू सबैभन्दा कठिन अवस्थामा थिए । उनीहरूसँग प्रतिरोध गर्ने हातहतियार थिएन । व्यवहारिक बनेर उनीहरू भुटानको बाटो हुँदै भारत फर्के । पहिलो लडाइँको दृश्य यस्तो थियो ।
पौने ८ बजे चिनियाँहरूले ढोला क्षेत्र आफ्नो बनाउने निश्चित भइसकेको थियो । गोर्खालीहरू साङधरतिर फर्किन बाध्य पारिएकोले रोङलास्थित ब्रिगेड हेडक्वाटर घेराबन्दीमा पर्दै गयो । राजपुतहरू दबिसकेका थिए । त्यसैले मोर्चा खुला भयो । तीन घण्टामा दुई बटालियन भारतीय सेना नष्ट भएका थिए । थागलाका धेरै ससाना लडाइँहरूको स्थिति अज्ञात नै रहनेछ किनभने त्यसको कथा सुनाउनेहरू बाँकी रहेनन् । बचेखुचेकाहरूलाई सेनाबाट गलहत्याएर निकालियो । राम्रो खानपान, लुगाफाटो र हातहतियारबिना उनीहरूले बिरानो पहाडबीच देखाएको बहादुरी भारतमा धेरैलाई थाहा भएन । गोर्खाली, राजपुत, शिख, डोग्रा, बङ्गाली, ग्रेनाडियरका मुसलमान, अहिरहरू, दक्षिण भारतीय प्राविधिक र अन्य धेरै भारतीयहरूले सेनाको गौरव राखे । सैनिकको रूपमा सबैभन्दा ठूलो देन भनेको प्राण दिनु हो र उनीहरूले आफ्ना प्राण दिए । ५१३ जना राजपुतहरूमध्ये पछिल्ला साङधर, लुम्पु र तवाङमा बसेका टोलीबाट ६० जनामात्र बाँच्न सके ।
चिनियाँहरूले आफ्नो ध्यान साङधरतिर केन्द्रित गरे । अघिल्लो रात अस्थायी पुल र पुल ५ बाट नाम्का चूवारि आइसकेका चिनियाँहरूले बिहान ९ बजे आक्रमण गरे । साङधरमा साङले जान थालेका दुई गोर्खाली कम्पनी थिए र दुई टोली बन्दुकेहरूको थियो । सदाझैँ एकाबिहानै आपूर्तिका सामान लिएर एउटा विमान आएको थियो र चिनियाँ गोलाबारी देखेर फर्केको थियो । कसैले पनि वायुसेनालाई आक्रमण सुरू भएको जानकारी गराउन आवश्यक ठानेको थिएन । थल र वायु सेनाबीच मनमुटावको स्थिति थियो ।
त्यस्तै अर्को निश्चिन्त भ्रमणमा डिभिजन सञ्चार विभागका दोस्रो दर्जाका कमान्डर मेजर राम सिंह एक पाइलटसहित आएका थिए । त्यो हेलिकप्टर गोलाबारीमा प¥यो र नष्ट भयो । डिभिजन प्रमुखले आफ्नो वचनअनुसार बिहानै नाम्का चू जाने बताएका थिए । तर, चिनियाँ आक्रमणमा परेर सञ्चार सञ्जालले काम नगरेपछि राम सिंहले आफू पहिले गएर स्थितिको जाँचबुझ गर्ने बताए । जनरल प्रसादको ज्यान जोगाउन दुई अफिसरले प्राण दिए । सञ्चार विभागका प्रथम कमान्डरलाई चिनियाँहरूले समातेका थिए भने दोस्रो कमान्डर मारिए । डिभिजनको सञ्चार विभाग कमान्डरविहीन भयो ।
बटालियनहरूले नाम्का चूमा सक्दो प्रतिकार गरेका थिए । उनीहरूको दुरवस्थाको जिम्मेदार उनीहरू थिएनन् । सङ्ख्याको हिसाबले २० चिनियाँलाई १ जना भारतीय थियो । सैनिकहरूले हतियार नरित्तिँदासम्म लडेका थिए । (सङ्ख्याको अनुपात डाल्भीको आकलन थियो । नेभिल म्याक्सवेलका अनुसार पूरै युद्धमा चिनियाँ र भारतीय तैनाथीमा सङ्ख्यात्मक हिसाबले ठूलो अन्तर थिएन । जहाँसम्म भारतीय जवानको बहादुरीको कुरा छ भारतमा “१०–१० को १ ने मारा” भन्ने आहान पछिसम्म पनि प्रचारमा रह्यो ।)
चिनियाँहरूलाई देखेर भारतीय जवानहरू भागेका थिए भन्ने हल्ला पनि भारतमा चल्यो । उनीहरूले जवानलाई दोष दिनुभन्दा वर्षौँको भारतको अयोग्य राजनीतिक र सैन्य नेतृत्वको बेवास्तातिर हेर्नुपथ्र्यो । इतिहासमा फेरि एकचोटि साधारण र सुगठित किसानहरूको बहादुरीलाई उचित सैन्य बन्दोबस्तीको अभावमा खेर फालिएको थियो ।
बिहान ८ बजे डाल्भीले साङधरतिर जाने र गोर्खालीहरूसँग मिलेर लडाकु दल बनाउने विचार गरे । राजपुतहरू घेरामा परिसकेका थिए । डाल्भीले आफ्नो क्षमताले भ्याएसम्म आसपासका कम्पनीहरूको नेतृत्व गरेका थिए । चिनियाँहरूले बायाँतिरको पाटो नष्ट गरेर पछाडि गएपछि डाल्भीले साङधर जाने मन बनाएका थिए । नाम्का चूबाट पछि हट्नुपरेको खण्डमा आफू साङधर जाने डाल्भीले जनरल प्रसादलाई बताइसकेका थिए र उनले हुन्छ पनि भनिसकेका थिए । तैपनि यसबेला पछि हट्ने कुरा कागजी थियो । यतिबेला राजनीतिक आवश्यकता र जनमतको हुँकारले चिनियाँहरूलाई रोक्न सक्दैनथ्यो । डाल्भीले मेजर खरबन्दालाई साङधर जाने आदेश दिए । कमान्डरको टोली सवा ८ बजे र मुख्य टोली साढे ८ बजे निस्कियो । ब्रिगेड मेजर खरबन्दाले गोप्य कागजपत्र जलाउन केही समय लिए । त्यतिञ्जेल उनी र अर्का मेजर पेरीरा शान्त थिए । ब्रिगेड हेडक्वाटर त्यसबेलासम्म नष्ट भइसकेको थिएन । काम सकिएपछि हेडक्वाटरको मुख्य टोली व्यवस्थितरूपमा निस्कियो । टोली साङधर नपुग्दै चिनियाँहरूले ब्रिगेड हेडक्वाटर कब्जामा लिइसकेका थिए ।
कामेङ क्षेत्रको सीमा लडाइँ यही सकियो । प्रधानमन्त्री जवाहरलाल नेहरूको चिनियाँहरूलाई ‘बाहिर खेद्ने’ ईश्वरीय उन्माददेखि सुरु भएको त्रासद एक हप्ता निर्धा सैनिकका फर्किने बाटाहरू बन्द गरेर सकियो । एक इन्च जमिन नछोड्ने भनिएको थियो तर हजारौँ माइल छोड्नुप¥यो । वर्षौँको सहज विश्वास र बेवास्ताको मूल्य चुकाइएको थियो । हजारौँ घाउहरूबाट रगत बगाएर ब्रिगेड ७ नष्ट भएको थियो तर भारतले वर्षौँसम्म रगत बगाउन बाँकी थियो ।
चिनियाँ पक्ष
के चिनियाँहरू बाहुबली थिए ? चिनियाँहरूले अपनाएको युद्धकला हेर्दा उनीहरूले नयाँ केही गरेका थिएनन् । उनीहरू हतियारले सुसज्जित थिए र प्रतिबद्धतासाथ लडेका थिए । उनीहरू लडाइँमा होमिन डराउँदैनथे । उनीहरू प्राविधिकरूपमा बलिया थिए र न्यानो पोशाक लगाएका थिए । यता भारतमा उनीहरूसँग पर्याप्त हतियार नभएको र मरेका सिपाहीहरूको हतियार खोज्दै लडेको कथा फैलेको थियो । यो आफैँलाई भ्रममा राख्ने भारतीय प्रवृत्तिको पराकाष्ठा हो ¤
चिनियाँहरूको बलियो पक्ष उनीहरूको अचुक गोलाबारी थियो । गोलाबारीको आडमा उनीहरू अचुक निशाना लगाउँथे । अघि बढ्ने हिम्मतको उनीहरूले मूल्य चुकाउनुप¥यो । उनीहरू राम्रा विद्यार्थी थिए र विख्यात रसियालीहरूबाट अचुक गोलाबारी र निशानेबाजी सिकेका थिए । तिब्बतस्थित चिनियाँ सेनालाई राम्रो तालिम दिइएको थियो । उनीहरू तन्दुरुस्त थिए र रातको लडाइँमा पोख्त थिए । चिनियाँहरूको वास्तविक सफलताको कारण उनीहरूको हाइ कमान्ड वा सैन्य नेतृत्व थियो । उनीहरूले थागला घटनाको योजना चलाखीपूर्वक बनाएका थिए र त्यसलाई चिनियाँ जवानहरूले दक्षता र उन्मादपूर्वक लागू गरेका थिए । यो नै युद्धको मानक थियो ।
आफूहरू निर्दोष भएको बताएर चीनले घाउमा नून छर्कियो । भारतले लडाइँभन्दा अगाडि जोडजोडले छाती पिटेको हुनाले यो मौकाबाट चीनले लाभ उठायो । चिनियाँहरूले विश्वलाई सुनाए, “अक्टोबर २० मा पेइचिङको समयअनुसार बिहान ७ बजे भारतीय आक्रमणकारीहरूले घातक गोलाबारीबीच चिनियाँ सीमाबलविरुद्ध काचिलेङ खोला (नाम्का चूको चिनियाँ नाम) र खिनजेमानेको नाकामा भीषण आक्रमण ग¥यो ।” आत्मरक्षामा राखिएका ४०० गोलीसहितका दुई पारागन बन्दुकले भीषण गोलाबारी सम्भव थिएन । यस विषयमा एक अखबारले लेखेको थियो, “भारतीय सैन्य मिसन सामरिक अडानभन्दा पनि राजनीतिक अडानको रक्षक थियो । नाम्का चू खोलाको किनारै किनार मारिएका सैनिकहरू पातलो सङ्ख्यामा छरिएका थिए । उनीहरूलाई राम्रो आपूर्ति थिएन र उनीहरूले प्रतिरोध गर्न सम्भव थिएन ।”
नयाँ आवरणमा पीडितलाई आरोपी बनाइने ब्वाँसो र भेडाको कथा दोहो¥याइएको थियो । विडम्बना । भारतको छाती पिटाइले यसपालि चिनियाँहरू पीडित देखिन पुगेका थिए ।
दोष जति जवानहरूलाई
भारतमा थागलाको पराजयको दोष जति त्यहाँ तैनाथ सैनिकहरूको निष्क्रियतातिर मोड्दै जनआक्रोश मत्थर पार्ने प्रयास गरियो र ती जवानहरूको बहादुरीलाई तुच्छ देखाउने दुस्प्रयास गरियो ।
दिल्ली र बम्बईमा हुने ककटेल पार्टीमा अर्धनग्न महिलाहरूबाट यस्तै आक्षेप सुनेपछि डाल्भी चिढिएका थिए । एक महिलाले भनिन्, ‘ब्रिगेडियर, चिनियाँहरूविरुद्ध लड्दा तपार्इँ ठिटाहरूलाई के भएको थियो ?’ यस्ता महिलाहरूका लोग्ने पैसावाल हुन्छन् । उनीहरू आफैँ भने थोरै काम गर्छन् । यी रवाफिला भलादमीहरूको एउटै समस्या भनेको तस्करीबाट प्राप्त मालको पार्टपुर्जा भारतीय बजारमा नपाउनु, भरपर्दो रक्सी तस्कर नपाउनु, नोकरचाकरको चर्को खाँचो र बेकामे र धेरै तनखा लिने सैन्य अफिसरहरूको लागि उच्च कर तिर्नु हो ।
(त्यतिबेला भारतले औद्योगिकरण गर्दै थियो र भारतमा विदेशी मालसामानको तस्करीले आकाश छोएको थियो ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *