भर्खरै :

हिमाली महाभूल – ३४, नाम्का चू खोलाको लडाइँ

(सन् १९६२ को चीन–भारत युद्धबारे चिनियाँ कैदमा परेका ब्रिगेडियर जेपी डाल्भीको प्रसिद्ध पुस्तक ‘हिमाली महाभूल’ (Himalayan Blunder) को सङ्क्षिप्त अध्ययन)
जानकारीबाट वञ्चितहरूको तीतोपिरो ठूलो थिएन । तर, सैन्य नेतृत्वले यस्तै बोल्न पुगेका थिए । अक्टोबर २० को बिहान पनि सजिलो थिएन । नाम्का चूको लडाइँबारे जनरल कौल बफादारीपूर्वक उनको सेवा गर्नेहरूमाथि नै खनिए । नाम्का चूका रक्षकहरूको शिरमाथि तरबार खसिरहेको बेला जनरल कौलले भने, “मैले साक्षीहरूको बयानबाट थाहा पाएँ, ब्रिगेड हेडक्वाटरले प्रभावकारी तयारी गरेको थिएन । प्यारासुटलाई झाडीहरूमाथि राखेर पानी पर्दा ओत लाग्ने आवास बनाइएको थियो । थोरैमात्र टे«न्च खनिएको थियो र कुनै प्रतिरक्षात्मक स्थान लिइएको थिएन ।”
बिहान ५ देखि साढे ८ बजेबीच ब्रिगेड हेडक्वाटरमा भारी मात्रामा गोलाबारी गरिएको थियो । धेरै रुखहरू छियाछिया भएका थिए । तैपनि हेडक्वाटरमा त्यति क्षति भएको थिएन । दुईजना सैनिक मारिएका थिए र सातजना घाइते भएका थिए । ती सबै कार्पोला १ सम्म हिँडेका थिए । ब्रिगेड हेडक्वाटर राम्ररी खनिएको हुँदैनथ्यो भने त्यहाँ बसेको पूरै टोली एकै चिहान हुने थियो । जनरल कौल नै ब्रिगेड ७ का विधाता थिए । यस्तो अन्यायपूर्ण र असान्दर्भिक टिप्पणीपछाडिको उनको स्वार्थ थाहा पाइनसक्नु छ । उनी ब्रिगेडमाथि दोष थोपर्ने स्थानमा थिएनन् । बरु त्यसो गर्ने उनी अन्तिम व्यक्ति हुनुपथ्र्यो । कौललाई थाहा थियो, ब्रिगेड ठूलो बाक्सामै राखिएको भए पनि हार्ने निश्चित थियो । २० हजार चिनियाँहरूलाई १ हजार भारतीय सैनिकले लड्न सक्ने थिएनन् ।
आफ्नो आत्मसंस्मरणमा जनरल कौलले आफूलाई सही र अरू सबैलाई गलत देखाएका छन् । उनले नेफाको अपजस्याहा जिम्मेवारी लिएका थिए तर त्यसको दोष लिन तयार छैनन् । सकिन्न भन्ने जान्दाजान्दै पनि उनले चिनियाँहरूलाई धपाउने काम लिएका थिए तर उनले सेनाका कमीकमजोरी र अभावबारे ‘गलफती गर्न’ चाहेनन् । आफ्नो योजना धरासयी भएपछि उनले ‘गलफती’ नगरेको भए जाती हुने थियो ।
आफ्नो विफलताको लागि प्रम नेहरूदेखि मोर्चाका कमान्डरमाथि दोष थोपरेकोमा भारतीय छापामा जनरल कौलको ठूलो आलोचना भयो । आफ्नो विवेकको खिलाफमा गएर आफूलाई पराजय भोग्न बाध्य पारिएको भन्दैमा कुनै जनरल जिम्मेवारीबाट पन्छिन मिल्दैन । कमान्डरसामु दुइटा विकल्पमात्र हुनसक्थे । एक, पूरै विफलताको जिम्मेवारी लिने, जस्तो १९४२ को जून–जुलाईका मरुभूमिका लडाइँहरूमा पराजित भएपछि मार्शल अकले प्रम चर्चिललाई पत्रमा लेखेका थिए । त्यसमा लेखिएको थियो, “केही महिनादेखिका लडाइँहरूमा पछि हट्नुपरेकोमा म खेद प्रकट गर्छु र त्यसको पूरा जिम्मा लिन्छु ।” भद्रजनका भद्र भावना अनुकरणीय हुन्छन् ।
दोस्रो विकल्प आदेश नमान्ने हुनसक्थ्यो । लडाइँमा जाँदै गरेका जनरल सेडलिजले भनेका थिए, “लडाइँपछि राजाले चाहे मेरो टाउको काटे पनि हुन्छ तर लडाइँको बेला उहाँले मलाई आफ्नो बुद्धि प्रयोग गर्न दिनुपर्छ ।” जनरल कौलले न त आफ्नो बुद्धि प्रयोग गरे न त गलत आदेश शिरोपर गरेको जिम्मेवारी लिए । त्यसैले मोर्चामा आफ्ना स्रोतसाधनको उपयोग गरी आदेश पालन गर्ने सिपाहीहरूको टाउकोमा दोष थोपर्न मिल्दैन ।
सुरूदेखि नै सैनिक आँखाले नहेरिएको घटनालाई जनरल कौलले सैन्य तवरले छोप्न विभिन्न चरणमा सैन्य तर्कहरू अघि सारेनन् । त्यसले गर्दा १९६२ का घटनाहरूमा प्रभाव नै पार्न नसक्ने अफिसरहरू घटनामा मुछिए । त्यसमाथि उनले केही व्यक्तिहरूलाई भारतीय सेना र त्यसको दक्षतामाथि प्रश्न उठाउने ठाउँ दिए ।
डाल्भीले जनरल कौलप्रति आफ्नो मनमा मैलो नभएको उल्लेख गर्छन् । बरु एक जाँगरिला व्यक्तिको क्रूर पतनमा शोक व्यक्त गर्छन् । कौलले ठूलो सम्मान हासिल गर्नसक्थे तर उनले आफ्नो त्यो अवसर जुवाको खालमा राखे । उनी अमरताको आशा देखाएको चञ्चल भाग्यका शिकार बनेका थिए जसले एकै दोधारे झट्कामा उनलाई ध्वस्त पा¥यो । १५ वर्ष लगाएर बनाएको जनरल कौलको व्यक्तित्व १५ दिनमा धुलिसात भयो । यसको साक्षी समयले डाल्भीलाई बनाएको थियो । यो डाल्भीका लागि सुखद दृश्य थिएन । डाल्भीले आक्रोश भन्दा पनि आफ्नो कमान्डको सम्मानमा प्राण दिने सैनिकहरूको दुःखको पैरवी गर्नुपरेको (अर्थात् पुस्तक लेख्नुपरेको) उल्लेख गर्छन् ।
चिनियाँ सेनाको हातमा
नाम्का चूको लडाइँ टुङ्गिएको थियो । डाल्भी आफ्नो हेडक्वाटरका स्टाफ र अन्य सैनिकहरूसँगै एउटा साँघुरो बाटोबाट निस्कँदै थिए । यत्तिकैमा पछाडिबाट गोलाबारीको आवाज आयो । प्रत्येक ७०–८० सेकेन्डमा लुक्दै अगाडि बढ्नुपर्ने भयो । यसकारण डाल्भीको टोली तितरबितर भयो । हेडक्वाटरको टोली ससाना समूहमा टुक्रिन पुग्यो । मुख्य टोलीसँग पनि सम्पर्क बिच्छेद भयो ।
दिउँसो १ बजेपछि चिनियाँ गोलाबारी रोकियो । उनीहरूको गोली सकिएको थियो वा प्रतिकार नै नगर्ने अन्तिम टोलीलाई गोली हान्दाहान्दा थाकेर उनीहरूले थप रक्तपात नगर्ने सोचेका थिए । पछि हट्दै गर्दा डाल्भीले तोपचालक मेजर निजार, गुप्तचरका कप्तान गुप्ता र उनको अफिसमा हिजोमात्र आइपुगेका कप्तान तलवारलाई भेटे । उनीहरू कमान्डरको टोलीको रूपमा डाल्भीसँगै अगाडि बढे । यस टोलीमा हेडक्वाटर र पुल ३ बाट आएका राजपुतहरू मिलाई ३७ जना सैनिकहरू थिए । टोलीको नेतृत्व हवल्दार ब्रिजपाल सिंहले गरिरहेका थिए ।
हेडक्वाटरबाट निस्कने क्रममा साङधर जानु सही होइन भन्ने डाल्भीले सोचेका थिए । उनका मेजरको विचार पनि यस्तै थियो । त्यसैले लुम्पुतिर जाने निधो भयो । साङधरका लडाकुहरू जोडतोडले लडिरहेका थिए । उनीहरूको प्रतिकारको स्वर टाढाटाढा गुञ्जिरहेको थियो । साङधर कब्जा गर्नुअघि चिनियाँहरूले दुईचोटि आफ्नो स्वरूप फेरेका थिए । त्यसपछि त्यहाँ राखिएका भारी बन्दुकका चालकहरूतिर लडाइँ मोडिएको थियो । त्यसमा ठूलो जिउडालका शिखहरू तैनाथ थिए । उनीहरूले अनुभवी पैदल सेनाजस्तै लडे । उनीहरूलाई डाल्भीको टोलीले ढोला र साङधरको खोल्सापारि लडिरहेको देख्यो । उनीहरूमाथि चिनियाँहरूले कम्तीमा चारचोटि प्रहार गरे । शिखहरूको गोली सकिएपछि मात्र चिनियाँहरूले सङ्गीन आक्रमण गरे र जिते । त्यो लडाइँ मध्याह्नदेखि साढे ३ बजेसम्म चलेको थियो । अन्तिम गोली ४ बजे पड्केको थियो । त्यो प्रतिरोधको अन्तिम चिह्न थियो । त्यो थागलाको अन्तिम लडाइँ थियो ।
डाल्भीले पञ्जाबी र ग्रेनाडियरहरू हाथुङलामा अडिन सकेका होलान् भन्ठाने । यो बाटोमा चिनियाँहरू नहुन् भनी उनले प्रार्थना गरे । उनी चिनियाँ नियतबारे अनुमान गर्दै थिए । अक्टोबर १९ सम्म ठूलो केही होला भन्ने सोचिएको थिएन । तर, कति ठूलो ? डाल्भीले आफँैसँग तर्क गरे । उनीहरूको न्यूनतम उद्देश्य साङधर, हाथुङला र द्रोकुङ साम्बा पुल समेट्ने गरी बढ्नु हुनसक्थ्यो । उनीहरूको बुझाइमा म्याकमाहोन रेखा त्यहीँ टुङ्गिन्थ्यो । साङधर नष्ट गरेपछि ब्रिगेडको आपूर्ति रेखा नष्ट गर्ने उनीहरूको सोच हुनुपर्छ भन्ने डाल्भीले अनुमान गरे । चिनियाँहरू त्यहाँभन्दा पनि अगाडि बढ्लान् भन्ने उनले सोचेनन् ।
डाल्भीले सेरखिम जाने निधो गरे । त्यहाँ ग्रेनाडियरहरूको एउटा कम्पनी थियो । अफिसरले अन्तिमसम्म नेतृत्व गर्नुपर्ने नियमअनुसार यो एउटामात्र आशालाग्दो स्थान थियो । सेरखिम पुग्न ढोलाको १८,५०० फिट उचाइ उक्लिनुपथ्र्यो । अरू उपाय थिएन । त्यसबेला डाल्भी एक जोर सामान्य गमबुट, कोट र एउटा पुरानो ट्राउजरमा थिए । जाडोबाट बच्न उनीसँग बुबाले उपहार दिएको छालाको पञ्जामात्र थियो । सेनामा पाएको ऊनीको पञ्जा हिमाली जाडोमा काम लाग्दैनथ्यो ।
डाल्भीको टोली दिउँसो ४ बजेसम्म ठाडै उकालो लाग्यो । चिसो एकदम बढेपछि र साँझको अँध्यारोका कारण टोली रोकियो । उकालोभरि गुराँसका बाक्ला बुट्यानहरू थिए । गुराँसको अनकन्टार बुट्यानबीच हिँड्नु बाँसघारीभन्दा थोरैमात्र सहज थियो । ठाउँ–ठाउँमा खाल्डाखुल्डी हुनाले होसियारीपूर्वक हिँड्नुपथ्र्यो । एउटा पाइला गलत ठाउँमा परेमा वा चिप्लेमा हिउँ जमेको भीरबाट तलै पुगिन्थ्यो । १७,००० फिटको उचाइमा टोलीले ससानो गुफा भेटायो र झमक्क रात नपर्दासम्म त्यहीँ विश्राम गर्ने निधो ग¥यो । सानो गुफामा त्यति धेरै मान्छे जसोतसो अटाए । त्यसले गर्दा उनीहरूको शरीर तात्यो । सुत्ने कुरै थिएन । जाडोबाट बचे धेरै हुन्थ्यो । मध्य अक्टोबरमा हिमालयको जाडो बयान गरी साध्य हुन्न ।
गुफामा अटेसमटेस बसेपछि टोलीलाई अघिल्लो साँझदेखि केही नखाएको सम्झना भयो । भोकभोकै २४ घण्टा बितेको थियो तर उनीहरूलाई युगौँदेखि खाना नखाएझैँ लाग्यो । डाल्भीले अघिल्लो साँझ दुइटा सुक्खा रोटी र एक मुठी मटर खाएका थिए । अर्को समस्या ग्रेनाडियरहरूलाई भेट्नुभन्दा अगाडिसम्म के खाई यात्रा चालू राख्ने हो भन्ने थियो । त्यस भेगमा सर्भे गर्ने टोली नपठाइएकोले बाटोको नक्सा थिएन । सबैजना डाल्भीको भौगोलिक अनुमानको भरमा हिँडिरहेका थिए ।
मेजर निजार स्वस्थ थिएनन् र चिन्तित थिए । उनलाई नाम्का चू पठाउनु हुँदैनथ्यो । उनको हिम्मत भने ठूलो थियो । उनले एकचोटि पनि आफ्नो पीडाबारे गुनासो गरेनन् । उनले डाल्भीको ब्रिफकेस बोक्न जिरह गरे । डाल्भीले यो सैन्य शिष्टाचार ख्याल गर्ने समय होइन भने तापनि उनले ब्रिफकेस नबोकी नछोड्ने अड्डी लिए । बाँचुञ्जेल कमान्डरलाई भार उठाउन नदिने उनको तर्क थियो । मेजर निजारलाई डाल्भीले अक्टोबर १७ पछि मात्र चिनेका थिए ।
एक ठाउँमा थकाइ मारेको बेला एकजना जवान डाल्भीनिर आएर भने, “साहेब, मैले तपाईँलाई देखेको छु । तपार्इँ खुब चुरोट पिउनुहुन्छ । मसँग केही चुरोट छन्, लिनुस् । सस्तो भएमा माफ गर्नुहोला ।” यो कुराले डाल्भीको मन छोयो । अर्का एक जवानले डाल्भीलाई आफ्नो सलाईको बट्टा दिए । कष्टदायी र खतरापूर्ण घडीमा यस्ता क्षणले डाल्भीलाई भावविह्वल तुल्याए । कठिन समयमा समेत सैनिकहरूले आफ्नो स्वाभाविक अनुशासन पालन गरे र आपसी सद्भाव कायम राखे ।
डाल्भीको टोलीले भोलिपल्ट बिहान साढे तीन बजे गुफा छोड्यो । १८,५०० फिट उचाइ पुग्न कैयन् ज्यानमारा चट्टान र गहिरा धाँजाहरू पार गर्नुपथ्र्यो । सैनिकहरू स्याँस्याँ गरिरहेको हुनाले छोटो अन्तरालमा थकाइ मार्नुपर्ने हुन्थ्यो । पहाडीमा यो राम्रो लक्षण थिएन । बिस्तारै अगाडि बढ्न नसक्ने व्यक्तिहरू पछि छुट्दै गए । चिनियाँहरूभन्दा पहिले सेरखिम पुग्नका लागि चाल बढाउनुपर्ने थियो । दिउँसोपख मेजर निजारलाई सास फेर्न समस्या भयो । चिसोले कप्तान गुप्ताका खुट्टा सुन्निएका थिए । पेट दुखेर तलवार हैरान थिए । जति चक्की औषधि खाए पनि निको हुने छाँट देखिन्नथ्यो । सबैमध्ये बुढा डाल्भीलाई मात्र कुनै समस्या देखिएको थिएन । समयमै ठाउँमा पुग्न टोली बाँडिनुपर्ने देखियो । डाँडामा अनेक टाकुरा थिए तैपनि हाथुङला–लुम्पु मार्गमा सेरखिमनिर पुगिने आशामा सबैजना हिँडिरहेका थिए ।
दिउँसो साढे १ बजे टोली लुम्पु–कार्पोला १ बाटोमा पुग्यो । डाल्भीको टोली घटेर १२ जनाको बन्न पुगेको थियो । उनको अनौपचारिक अर्दली पछाडि छोडिएको थियो । उसले डाल्भीको रेडियो पछि मात्र दिने भनेर आफूसँगै राखेको थियो । ८ दिनपछि (चिनियाँ कैदमा) उसले सामानहरू जम्मा गर्ने ठाउँमा ब्रिगेडको मेजरलाई सोधेको थियो, “ब्रिगेडियर साहेब खै ? उहाँलाई रेडियो दिन चाहन्थेँ ?” यो अफिसरप्रतिको भारतीय जवानको मायाको अर्को नमुना थियो । मेजर निजार र कप्तान गुप्ता त्यो दिन हिँड्न सकेनन् । उनीहरूको कमजोरीलाई खानपानको अभावले झन् कष्टकर बनाइदिएको थियो । डाल्भीले सजिलो भएपछि हिँड्न भनेर उनीहरूसँग केही मान्छे छोडे । कप्तान तलवारले आफू बिरामी भए तापनि डाल्भीलाई छोड्न मानेनन् ।
मेजर निजार र गुप्ताबारे डाल्भीले दुवैतिरबाट सोचेका थिए । उनीहरू समातिन सक्थे वा चिसो र भोकले मर्न सक्थे । उनीहरू लुम्पु–कार्पोला १ को बाटो अगाडि बढे । चिनियाँहरू अगाडि होलान् भन्ने उनीहरूले सोचेका थिएनन् । लुम्पु पुग्दा त्यो चिनियाँहरूको कब्जामा थियो । त्यहाँबाट बल्लतल्ल ज्यान बचाएर उनीहरू भुटानको बाटो लागे ।
तलवार र डाल्भी सातजना बलिया स्वयम्सेवकसँगै अगाडि बढे । टोलीको अगुवाइ ब्रिजगोपालले नै गरिरहेका थिए । टोली सीधै एउटा खोल्सोतिर लाग्यो । डाल्भीले त्यो खोल्सोले सेरखिम पु¥याउने अनुमान गरेका थिए । टोली चिप्लिँदै र भिर देख्दा पछि फर्किँदै अगाडि बढ्यो । ठाउँ–ठाउँमा फड्किँदै खोल्सोको वारपार गरिरहनुपथ्र्यो । लेउले ढाकेको हुँदा किनार चिप्लो थियो । एउटा गलत पाइलाले ज्यान जान सक्थ्यो । घाइतेलाई कसैले बोक्ने सम्भावना थिएन । सघाउ भावनाले लामो दुरी छिचोल्न सकिन्नथ्यो । सबैजना लखतरान र भोकै थिएन । डाल्भी भिरमा चिप्लिहाले । ३० फिट तल गएपछि उनले अडिने ठाउँ पाए । देहरादूनको सैन्य तालिममा उनले चिप्लाई रोक्ने कला सिकेका थिए ।
छिट्टै अँध्यारो हुँदै थियो र अघि बढ्न सम्भव हुने थिएन । नचाहँदा नचाहँदै पनि डाल्भीले एउटा चट्टानहरूको थुप्रोमुनि अडिने निधो गरे । खोल्सोको किनार ओसिलो र लेउले ढाकेको थियो । चिसो बढ्दै थियो । भिरबाट खस्दा डाल्भीको ट्राउजर च्यातिएको थियो । अप्ठेरो नगरी बस्न मिल्दैनथ्यो । उनीहरूले शरीर तताउन ओसिला दाउरा सल्काए । तर, आगोलाई निभ्न नदिन हम्मे भयो । भोकभोकै हिँडेको दुई दिन भएको थियो । पानी त भेटिएको थियो तर जमेको पानी निल्न गा¥हो थियो । शरीरमा पानी थिएन । भोलिपल्ट अक्टोबर २२ को बिहान ४ बजे टोली अगाडि बढ्यो । ठाउँ–ठाउँमा घाउ लागेका, जमेका र थकित सैनिकहरू सेरखिमतिर लागे । गति मन्द थियो । डाल्भीलाई आफूले बाटो बिराएजस्तो लाग्यो । यसको दण्ड मृत्यु हुने थियो । खानपिनबिना कति अगाडि बढ्न सक्ने हो भन्ने निश्चित थिएन । नखाएको र नसुतेको ६० घण्टा भइसकेको थियो ।
उनीहरू ओरालो झरिरहे । बिहान ६ बजेतिर उनीहरू आरामका लागि रोकिए । यत्तिकैमा चिनियाँहरूको एउटा लामो लाइन उनीहरूभन्दा ठीक तलबाट गइरहेको देखियो । नाम्का चूबाट हिँडेदेखि डाल्भीले बल्ल चिनियाँहरूले म्याकमाहोन रेखा पार गरे भन्ने थाहा पाए । चिनियाँहरूको लाम निकै लामो थियो । कम्तीमा एक बटालियन सेना थिए । उनीहरू हाथुङला पार गरेर सेरखिमतिर लागेको हुनुपर्छ भन्ने डाल्भीको अनुमान थियो । त्यसपछि उनीहरू मुख्य आपूर्ति मैदान रहेको लुम्पु जाने डाल्भीको अड्कल थियो । लुम्पु हातबाट गुमेमा भारतले तवाङमाथि पूरै न्यामजाङ चू खोलाको दून छोड्नुपर्ने हुन्थ्यो । बीचमा थामिन सक्ने अर्को स्थान थिएन । लुम्पु असुरक्षित थियो । डाल्भीको टोली अब वास्तविक सङ्कटमा प¥यो । उनले पञ्जाबी र ग्रेनाडियरहरूलाई के भएको होला भनी सोचे । उनीहरू चिनियाँ जालोमा परे वा भागेर सेरखिम वा लुम्पुमा जम्मा भए भन्ने प्रश्न थियो । पुल १ बाट लुम्पुतिर हट्दै गरेको ग्रेनाडियरहरूको झन्डै एक कम्पनीलाई चिनियाँहरूले नष्ट गर्दै गरेको डाल्भीले नाम्का चूमा छँदै देखेका थिए ।
डाल्भीले तत्काल जिमिथाङको डिभिजन हेडक्वाटर जाने निर्णय गरे । न्यामजाङ चूमा तैनाथ रक्षकहरूले शत्रुलाई द्रोकुङ साम्बा पुल तर्न नदिएका होलान् भन्ने उनको अनुमान थियो । पुल भत्काएको खण्डमा नयाँ पुल नबन्दासम्म नदी तर्न गा¥हो थियो । चिनियाँ जालबाट फुत्किने यो एकमात्र सम्भावनाको केन्द्र थियो । डिभिजन हेडक्वाटर अक्टोबर २१ मै खाली गरिएको डाल्भीलाई थाहा थिएन । चिनियाँहरू अक्टोबर २० मा खिनजेमानेबाट हिँडेपछि हेडक्वाटर खतरामा परेको थियो । हेडक्वाटर असुरक्षित पनि थियो । त्यस रात चिनियाँहरू जिमिथाङबाट दुई माइलको दुरीमा थिए । अक्टोबर २० र २१ मा जनरल कौलको अनुपस्थितिमा कमान्ड प्रमुख जिमिथाङ आउने र सेनालाई पछि हट्ने आदेश दिने कार्यक्रम थियो । तर, उनी आएनन् । उनले चिनियाँ आक्रमणलाई यो त डिभिजन वा कोरको लडाइँ हो भन्ठानेका होलान् । (जनरल सेनलक्षित डाल्भीको व्यङ्ग्य !)

Leave a Reply

Your email address will not be published. Required fields are marked *