भर्खरै :

चाडपर्वमा बजार अनुगमन बढाइयो

बनेपा, २६ कार्तिक । तिहार पर्व नजिकिएसँगै बजार अनुगमनलाई प्राथमिकताका साथ अगाडि बढाइएको छ ।
काभ्रेपलाञ्चोकस्थित बजार अनुगमन टोलीले चाडपर्व लक्षित विशेष बजार अनुगमन सुरू गरेको हो । टोलीले खाद्यान्न, इन्धन, लत्ताकपडा, माछामासु, तरकारी, फलफुल, मिठाइलगायतका थोक तथा खुद्रा पसलमा अनुगमन गर्नेछन् ।
चाडपर्वको समयमा व्यापारीहरूले जथाभावी मूल्य लिने, म्याद गुज्रिएका अखाद्य वस्तुलाई बेच्नेलगायतका समस्या देखिने गरेकाले तिहार निजिकिएसँगै बजार अनुगमनलाई सक्रियरूपमा अगाडि बढाएको हो । काभ्रेपलाञ्चोकको मुख्य बजार बनेपास्थित चारदोबाटो आसपासमा रहेका मिठाइ तथा होटलहरूको सोमबार अनुगमन गर्दै टोलीले स्वास्थ्य मापदण्डको पालना गर्दै आवश्यक स्वास्थ्य सामग्रीको प्रयोग गरेरमात्रै पसल तथा होटल सञ्चालन गर्न निर्देशन दिएको छ ।
टोलीले अनुगमनको क्रममा मिठाइ बनाउने ठाउँ फोहोर रहेको, बनाउँदा मजदुरले मास्क र फेस शिल्ड प्रयोग नगरेको, सफा ठाउँ र भाँडामा पकाउने नगरेको तथा राख्ने ठाउँ सफा नभएको पाइएकोले त्यस्ता पसल तथा होटल सञ्चालकलाई तत्काल सुधार गर्न निर्देशन दिएको घरेलु तथा साना उद्योग काभ्रेपलाञ्चोकका प्रमुख केशवप्रसाद पुडासैनीले जानकारी दिनुभयो । उहाँका अनुसार अनुगमनको क्रममा प्रायजसो मिठाइ पसल तथा क्याफेहरूको किचेन कोठा सफा नभएको पाइएको छ ।
“अनुगमन गरेका पसलहरू सबैजसोका बाहिर सेवाग्राही बस्ने ठाउँ ठीक रहे पनि भित्र पकाउने ठाउँमा धेरै सुधार गर्नुपर्ने देखिएको छ”, उहाँले भन्नुभयो । सो क्रममा उद्योग व्यवसाय सञ्चालन गर्नेहरूले घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता गरेर सञ्चालन गर्नुपर्ने भएकाले सम्पूर्ण दर्ता, नविकरणको कामलाई समेत ध्यान दिन सुझाव दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *