भर्खरै :

कोरोना महामारी र गैरजिम्मेवार सरकार

हाल विश्व नै कोभिड– १९ (कोरोना भाइरस) महामारीबाट नराम्रोसँग प्रताडित भइरहेको छ । करीब १ वर्ष अगाडि चीनको उहान सहरमा देखिएको नोबेल कोरोना भाइरस १ वर्ष यता आइपुग्दा दोस्रो चरणको महामारीको रूपमा पुनः संसारभर व्याप्त भइरहेको छ । यो लेख लेखिरहँदा युरोप अमेरिकातिर दोस्रो चरणको लकडाउन सुरू भइरहेको छ । भाइरसका लक्षण फरक–फरक देखिएकाले संसारमा कसैले पनि औषधि पत्ता लगाउन सकिरहेको अवस्था छैन । यो हिउँदमा यसले झन् विकराल समस्या ल्याउने आकलन भइरहेको छ । संसारभर क्रमशः सङ्क्रमित सङ्ख्या झनै बढ्दै छ भने मृत्यु हुनेको सङ्ख्या पनि बढिरहेको छ । अहिलेसम्म नेपालमा यो महामारीबाट थुप्रै मानिसहरू सङ्क्रमित भइरहेका छन् भने मृत्यु हुनेको सङ्ख्या पनि बढिरहेको छ । नेपालमा सुरुको अवस्थामा खासै कोरोना सङ्क्रमणमा थिएन । हामी सुरक्षित नै थियौँ । संसारमा कैयाँै देशहरू जोखिम क्षेत्र (रेडजोन) हुँदा हामी सुरक्षित क्षेत्र (ग्रीन जोन) मै थियौँ । तर, हाम्रो छिमेकी देश भारतमा यसको सङ्क्रमण दु्रतगतिमा बढ्दै गयो । भारतमा थुप्रै नेपालीहरू कर्मभूमि बनाएर बसेका छन् । ती सबै नेपालीहरू त्यहाँ सङ्क्रमित हुने डरले अव्यवस्थितरूपमा अनौपचारिकरूपमा नेपाल भित्रिए । तिनीहरूमा कैयौँ सङ्क्रमित पनि थिए । उनीहरू भारतबाट भित्रिएका नेपालीहरूबाट नैै नेपालमा भुसको आगो सल्केझँै सामुदायिकरूपमै कोरोना सङ्क्रमण आगोझैँ सल्कियो ।
नेपाल सरकार त्यहाँ कोरोना सङ्क्रमणको लडाइँमा नराम्रोसँग चुक्यो । कम्तीमा भारतबाट आएका नेपालीहरूलाई औपचारिकरूपमै भारत सरकारसँग संवाद गरेर नेपाल भिœयाई १४ दिन क्वारेन्टिनमा राख्ने व्यवस्था गरेको भए तिनीहरूको सङ्क्रमण परीक्षण गरेर सङ्क्रमितलाई अस्पताल पठाउने र अरूलाई घर पठाईदिएको भए अहिले देखिएको समस्या आउने नै थिएन । तर, अब अहिले निकैै ढिला भइसकेको छ । हाल कोरोना झन्डै देशभर समुदाय स्तरमा फैलिरहेको छ । अब जोकोहीलाई कोरोना लाग्न सक्ने अवस्था सिर्जना भएको छ । अब नियतिजस्तै भइरहेको छ–कोरोना सङ्क्रमण । कसको मृत्यु हुने हो सहनु पर्ने स्थिति देखिएको छ ।
नेपालमा यो रोगलाई अतिरञ्जना गर्ने, अति डर देखाउने व्यक्तिहरू पनि छन् । अनि अर्कोतिर यो रोग केही पनि होइन भनेर सारै हलुका तरिकाले लिने प्रवृत्ति पनि देखिएको छ । यी दुवै प्रवृत्ति गलत हुन् । हामी त्यति धेरै डराउनुपर्ने छैन भने सचेत हुनुपर्ने अवस्था पनि छ । हेलचेक्र्याइ गर्दा धेरै ठूलो घटना हुनसक्छ, यो सबैले ख्याल गर्नुपर्दछ । सरकारले यस सम्बन्धमा स्पष्टरूपमा कुनै योजना बनाएको छैन । जनतालाई ढुक्क बनाउन सक्ने योजना नबनाउँदा नेपालीहरूले आफैँ दुःख पाउनुपर्ने अवस्था छ । सरकारले यसलाई महामारी भनेको छ । तर, सङ्क्रमित आफैँले महँगो शुल्क तिरेर अस्पताल भर्ना गर्नुपर्ने स्थिति छ । हुने–खानेले त उपचार गर्लान् । तर, गरिबले कसरी उपचार गर्नसक्छन् ? परिणामतः पैसा नहुने मान्छे सङ्क्रमित भए उपचार गर्न नसकी मर्नुपर्ने स्थिति छ । यो समस्यामा सहयोग गर्ने राज्यको दायित्व होइन र ? प्रदेशका मन्त्रीहरूले सांसद विकास कोषको पैसा लिएर अन्य क्षेत्रमा खर्च गरिरहेका छन् । यो अवस्थामा राज्यको पहिलो प्राथमिकता के हुनुपर्दथ्यो ? राज्यले यति कुरा नबुझे भोलि जनता नै नहुने स्थितिमा कसका निम्ति राजनीति गर्ने सोच बनाएका छन् नेता, मन्त्रीहरूले ? कस्तो गैरजिम्मेवार सरकार ¤ राम्रो काम गरेर भोलि फेरि जनताबाट निर्वाचित हुनु छैन यिनीहरूलाई ? कि हामीहरूबाहेक अरू विकल्प छैन, जे गरे पनि हुन्छ भनेर फाइदा उठाइरहेका हुन् ¤
संसारका सबै देशका सरकारहरूले यो महामारीलाई केन्द्रबिन्दुमा राखेर काम गरिरहेका छन् । छिमेकी देश चीनले त झन्डै पूर्णरूपमा यसको रोकथामको सफलता पाइसकेको छ । यहाँ त यसको सामान किन्दा पनि भ्रष्टाचार गर्ने सरकारका मन्त्रीहरूलाई झन् रमाइलो भएको छ । अर्थतन्त्र डामाडोल छ । उद्योगधन्दा व्यापार सबै ओरालो लागेको छ । सिमान्तकृत वर्गहरू खान पनि नपाउने अवस्थामा छन् । यो त समस्या नै होइन सरकारको ! यसरी कसरी चल्छ देश ? कसरी खुसी हुनसक्छन् जनता ? तर, पनि यो महामारीबाट हामी जनता सुरक्षित हुन जरुरी छ । यसबाट पार पाउन जरुरी छ । हामी आफैँ सचेत रहन जरुरी छ । यसबाट बच्नका लागि विज्ञहरूले दिएको सुझावहरूको पालना गर्न जरुरी छ । यदि कोरोना लागिहालेमा पनि नअत्तालिऔँ । यसलाई परास्त गर्न सकिन्छ । आफ्नो रोगप्रति प्रतिरोधात्मक क्षमता बढाउने प्रयत्न गर्ने त्यसैअनुसारको खानपान, जडीबुटीको प्रयोग डाक्टरको सल्लाहअनुसार प्रयोग गर्नुपर्दछ । कुनै पनि व्यक्तिले यो रोग लागिरहेका बिरामीहरूलाई अपहेलना गर्ने, उनीहरूको मानसिक अवस्था कमजोर बनाउने खालको व्यवहार गर्नुहुँदैन । उनीहरूलाई त झन् ढाडस दिनुपर्दछ । यो महामारीले अब केही समय हामीलाई दुःख दिन्छ नै । तर, रातपछि नयाँ बिहानीसँगै अर्को दिन आउँछ भनेझैँ यो कोरानारूपी रात पनि अवश्य हटेर जानेछ । फेरि मानवले खुलेर एक अर्कालाई भेट्न पाउनेछन्, हाँस्न पाउनेछन् । हामी आशावादी हुनैपर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *