भर्खरै :

तराईमा छठ

वीरगञ्ज छपकैयाकी २९ वर्षीया सेवकीदेवी कांखे आफ्नो बालक च्यापेर एकाबिहानै घण्टाघरमा देखापर्छिन् । उनीसँगै अरू एक हुल बालिका पनि हुन्छन् । सबैको हातमा बाँसले बनाएको ढाकी, सुपा, कोनिया हुन्छ । आस्था, विश्वास र लोकपर्वको रूपमा रहेको छठपर्व मनाउन उनीहरूले चन्दा माग्दै हिँड्ने गरेका छन् । हिन्दूहरूको आस्थाको पर्वका रूपमा रहेको यो पर्वअन्तर्गत भिक्षा मागेर छठपर्व गर्नेहरूको सङ््ख्या प्रत्येक वर्ष बढ्दै गएको देखिएको छ । यस पर्वप्रति आस्था र विश्वास गर्नेहरू यसरी भिक्षा मागेरै भए पनि पर्व मनाउने गरेको परम्परा रहिआएको छ ।
लोक आस्था, विश्वास र श्रद्धाको पर्वको रूपमा रहेको छठको तयारी अहिले द्रुतगतिमा थालिएको छ । गरिब या धनी सबैले श्रद्धापूर्वक मान्ने यो पर्वमा दलित, गरिब, असहायले भिक्षा मागेरै भए पनि परम्परा धान्ने गरेका छन् । छठीमाताको भाकल गर्ने पनि चलन रहेकाले यस्ता महिलाले चन्दा मागेर भए पनि यो पर्व गर्दै आएका छन् । अहिले बजारमा छठपर्वको लागि चन्दा माग्ने महिला तथा बालिकाहरू देखिन्छन् । व्यापारी तथा बटुवाले आफ्नो गच्छेअनुसार छठीमइयाको नाममा चन्दा दिने गरेको देखिन्छ ।
तराईमा छठको आफ्नै तथा अलग्गै महत्व रहेको छ । मिथिलाञ्चलको पौराणिक महत्व बोकेका सरोवरहरू घडिअर्वा, नगवापोखरी, छपकैया, श्रीपुर, रानीघाट, रामगढवालगायतका ग्रामीण क्षेत्रमा रहेका पोखरी तथा तलाउ सरसफाइ गरी सजाउने काम भइरहेको छ । स्थानीयवासीको विशेष सक्रियतामा सरसफाइ सुरु भएको देखिएको छ ।
स्थानीयवासीका अनुसार प्रत्येक वर्ष छठ मनाउनेहरूको सङ्ख्यामा पनि वृद्धि भइरहेकोले देखिन्छ । छठपर्व आउन अझै धेरै दिन बाँकी रहे पनि छठका लागि आवश्यक पर्ने सामान किनमेल गर्नेहरूको बजारमा अहिल्यैदेखि भीड देखिन थालेको छ । स्थानीयवासीका अनुसार विगतभन्दा यस वर्ष कोभिड–१९ को त्रास देखिए पनि यो पर्व गर्नेहरूको सङ्ख्यामा भने कमी आउने देखिँदैन, बरु बढ्दै गएको छ । छठपर्वका लागि आवश्यक पर्ने सामानको जोहो महिना दिन पहिल्यैदेखि सुरु हुन्छ । छठमा प्रयोग हुने सामानको मूल्य निकै चर्को भए पनि यसको जोहो गर्नैपर्ने र तयारी थाल्नैपर्ने भएको स्थानीय विजय पण्डितले बताउनुभयो ।
यस वर्ष मङ्सिर ४ गते छठपर्वअन्तर्गत खरना विधि अपनाइन्छ । सो दिनलाई षष्ठी भनिन्छ । सोही दिन विधिपूर्वक साँझको अघ्र्य दिने भए पनि यसको मुख्य विधि तीन दिनअगावैदेखि निष्ठापूर्वक सुरु हुन्छ । अहिले गाउँघरमा अहिले छठपर्वको गीत गुञ्जिन थालेको छ । सूर्याषष्टीलाई छठपर्व प्रारम्भ हुने दिनको रूपमा लिइन्छ । छठको पहिलो दिन व्रतीहरू नहायखाय गरी छठपर्व आरम्भ गर्छन् ।
मङ्सिर ४ गते पञ्चमीको दिन खरना विधि गरिन्छ र सोही दिनदेखि मिथिलाञ्चलमा रहेका भाइबहिनीबीचको पवित्र पर्व सामा चकेवा पर्व पनि सुरु हुन्छ । छठपर्वअन्तर्गत गरिने विधि खरनालाई पापको क्षय हुने दिन पनि भनिन्छ । खरनाका दिन राति गाईको गोबरले घरआँगन लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरेर व्रतीहरू दिनभरि उपवास बस्ने गर्छन् ।
बेलुकीपख चन्द्रमाको दर्शन गरेपछि माटोको नयाँ चुल्होमा र माटोकै नयाँ भाँडोमा सख्खर, दूध र चामलको खिर पकाइन्छ । यस्तो खिर केराको पातमा राखेर छठीमातालाई चढाइन्छ र व्रतीले प्रसादको रूपमा ग्रहण गर्छन् । यो प्रसादलाई परिवारका अन्य सदस्यले पनि प्रसादको रूपमा ग्रहण गर्ने चलन छ । अर्काे दिन बेलुकी अस्ताउँदो सूर्यलाई अघ्र्य दिन व्रतालुहरूले रातभरि जागाराम बसी भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई फेरि अघ्र्य दिएर व्रत समाप्त गर्ने गरिन्छ । सो दिनलाई छठको पारन भन्ने गरिन्छ । पारिवारिक सुख, शान्ति, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठपर्वका अवसरमा भीड लाग्ने गर्छ ।
ज्योतिषशास्त्रका आधारमा छठपर्वको समयमा ब्रह्माण्डमा सूर्य दक्षिणायन हुने भएकाले कन्या राशी समय पर्ने र यस बेलाको सूर्यको प्रकाश प्रभावकारी र मानव स्वास्थ्यका लागि पनि फलकारी हुने मानिएको छ ।
छठको तयारीमा रहेका श्रद्धालुहरूले एक महिनादेखि नै बजारमा किनमेल सुरु गर्ने गर्छन् । छठपर्वको मुख्य प्रसादको रूपमा रहेको केरा फलफुल, मिठाइ, अदुवा, उखुको हरियो पात, मुला, भोगटे कागतीलगायत बाँसबाट बनेका अन्य सामग्रीको किनमेल गर्ने गरेको पाइन्छ ।
छठ पूजाका लागि नगर क्षेत्रमा विशेष सुरक्षा व्यवस्था मिलाइएको छ । छठघाटमा सुरक्षाका लागि थप प्रहरी परिचालन गरिने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । चार दिनसम्म मनाइने यो पर्वमा व्रती महिलाले भोजनमा माछा, मासु, लसुन, प्याज, कोदो, मसुरो, आदिको सेवन गर्नुहँुदैन । महाभारत ग्रन्थका अनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञात बासमा रहँदा उक्त गुप्तबास सफल होस् भनी सूर्य देवतालाई आराधना गरेको उल्लेख गरिएको छ । उक्त समयमा पाण्डवहरू मिथिलाको किराँत राजाका राज्यमा वास बसेको पनि बताइन्छ । लोकगाथाअनुसार गुप्तवास सफल भएपछि सोही समयदेखि छठपर्व मनाउने परम्परा चलिआएको देखिन्छ ।
त्यस्तै सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिका पत्नी अनसुइयाले छठव्रत गरेपश्चात् अटल शौभाग्य र इच्छा पूरा भएपछि त्यही दिनदेखि छठपर्वको सुरुवात भएको तर्क रहिआएको छ । सातौँ शताब्दीमा श्रापबाट पीडित प्रसिद्ध कवि मधुर भट्टले सूर्यको उपासनापश्चात् सुन्दर र कञ्चन शरीर पुनः प्राप्त गरेकाले त्यही दिनदेखि सूर्यको आराधना प्रारम्भ भएको जनविश्वास रहेको छ ।
छठपर्व मनाउनुको पछाडि धार्मिक मान्यता, वैज्ञानिक, ज्योतिषसम्बन्धी तत्वहरू पनि त्यत्तिकै महत्व राख्दछ । जसअनुसार सूर्य तत्वबाट आफ्नो ज्ञानको अभिवृद्धि गरी जनकल्याणका लागि महत्वपूर्ण ठानिन्छ ।
छठपर्वलाई लक्षित गरी व्यापारीहरूले भारतबाट केरा तथा स्याउ आयात गरेका छन् । यस पर्वमा मुख्यरूपमा उखु, केरा, स्याउ, भोगटे, बेसारको हरियो झारपात, अदुवा, मुला, सिंगहारा, विभिन्न प्रकारका मिठाइ र विभिन्न प्रकारका पकवान चढाइन्छ भने बाँसले बनाएको विभिन्न प्रकारका ढाकीहरू प्रयोग गरिन्छ । यसैगरीे माटाका भाँडाको अनिवार्यरूपमा प्रयोग गरिन्छ । छठीमइयालाई अनिवार्यरूपमा चढाइने यी सामग्रीको बजार मूल्य चर्को भए पनि लोक आस्थाको पर्वको रूपमा रहेको छठपर्व हिन्दू धर्मावलम्बीका लागि महत्वपूर्ण भएकाले यो पर्वको तयारी एक महिना पहिलेदेखि सुरु गरिन्छ । सहरी क्षेत्रमा तडकभडकका साथ यो पर्व मनाइए पनि सुदूर ग्रामीण क्षेत्रमा यो पर्व विशिष्ठरूपमा मनाइने गरेकोले यसको मौलिकता अझसम्म कायमै रहेको छ ।
विश्वव्यापीरूपमा फैलिएको कोरोना सङ्क्रमणका कारण लामो समयदेखि सीमानाका बन्द हँुदा यसपटक सूर्य उपासनाको पर्वको रूपमा रहेको छठपर्व निकै महँगो हुने व्रतालुहरू बताउँछन् । विगत लामो समयदेखि नेपाल–भारत सीमानाका बन्द रहेका कारणले पर्वको लागि चाहिने आवश्यक सामग्रीसमेत पर्याप्त मात्रामा नआएपछि यसपटकको छठ महँगो हुनसक्ने अनुमान गरिएको छ ।
सूर्य उपासनाको पर्वको रूपमा रहेको छठपर्व तयारी मिथिलाञ्चल क्षेत्रमा एक महिना पहिलेदेखि सुुरु भएको छ । व्रतालुहरू अहिले छठको तयारीमा जुटेका छन् भने बजारमा किनमेल गर्नेहरूको पनि घुइँचो लाग्न थालेको छ । यसपटकको छठ भने महँगो हुनसक्ने स्थानीयवासीको कथन छ । विगत वर्षको तुलनामा यसपटक सामानको मूल्य पनि बढेकोले महँगोमै सामान किन्न स्थानीयवासी बाध्य भएका छन् । अधिकांश सामानहरूको मूल्य आकाशिएको छ । सीमाका नाकाहरू छठको अवसर पारेर खुकुलो बनाए पनि बजारमा पर्याप्त सामान नआएकाले सामानहरूको मूल्य आकाशिएको हो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *