भर्खरै :

असल शासक नहुँदा देशमा समस्या

सत्तारुढ दल देशको आवश्यकताअनुसार होइन आफ्नो आवश्यकताअनुसार चलेको हुँदा देश सत्तारुढ दलका नेताहरूको कचिङ्गलको देश बनेको छ, पद, पैसा, सत्ता र भागबन्डा गरी खाने देश बनेको छ । सत्तारुढ दलका नेता, कार्यकर्ता पाल्ने देश बनेको छ । सत्तारुढ दलको विगतदेखिको कार्यशैली, अभिव्यक्ति र निर्णयले यही कुरा देखाइरहेको छ । विगतको सरकारले ५५ सदस्यीय मन्त्रिमण्डल बनाएकै थियो, तीन चार जना उपप्रधानमन्त्री बनाएको थियो । अझ सरकारले पहिले निर्वाचनमा प्राप्त मतको आधारमा पार्टीले तलब असुल्ने या देशको राजस्व लिने असफल प्रयास गरेकै थियो । सांसदहरूको घरसम्म पुग्ने बाटो नभए पनि गाडी सुविधा लिने निर्णय भएको थियो । देशलाई ठगी खाने भाँडो बनाउने काम अद्यापि चालू छ ।
भागबन्डाको राजनीति त दलको आन्तरिक कुरा भयो । तर, दलको आन्तरिक विवाद, कलह मिलाउन आफ्नो आवश्यकताअनुसार मन्त्रीको सङ्ख्या बढाउने, आफ्नै दलका नेता कार्यकर्ता पोस्ने नीति तथा कार्यक्रम बनाउने, विदेशबाट आयात हुने सामानमा भाग खाने, ठेकेदारलाई योजना दिएबापत भाग पाउने काम सत्तारुढ दलले अहिले पनि छोडेको छैन । सत्तारुढ दलका नेताहरू दलको आन्तरिक विवादमा फसेर एकातिर सरकारले देशको गर्नुपर्ने काम गर्न सकिरहेको छैन भने अर्काेतिर देशको राजस्वमा रजाइँ गर्ने काम गरिरहेको छ । कोरोना भाइरस जनसमुदायमा फैलिनु सरकारकै बेवास्ता हो । कोरोना सङ्क्रमित र मृतकहरूको सङ्ख्या बढ्नु सरकारले पर्याप्त सङ्क्रमितको स्वास्थ्य परीक्षण नगर्नु र स्वास्थ्योपचार नगर्नु नै हो । आन्तरिक विवादमा फसेरै, भागबन्डाको राजनीतिमा लागेरै रासायनिक मल ल्याउनेतर्फ ध्यान नै दिन सकिएन ।
कहिले कमिसन, कहिले अनियमितता, कहिले भागबन्डा त कहिले मन्त्रिमण्डल हेरफेरमै सत्तासीन नेताहरूको अधिक समय बितेको छ । सत्तारुढ दलको सरकार एकातिर पार्टी अर्कोतिर भइरहेको छ । पार्टीको कुरा सरकारले बेवास्ता गर्ने र सरकारको कुरा पार्टीले मतलब नराख्ने स्थिति नेकपाभित्र देखिरहेको छ । जसले जसको कुरा नसुने पनि, नमाने पनि तिनीहरूले आ–आफ्नो पदअनुसार आचरण निर्वाह गरिरहेका छैनन् । पदअनुसारको व्यवहार नगर्नु पदको दुरुपयोग हो । पदको दुरुपयोग गर्नुको अर्थ कर्तव्य पालना नगर्नु हो । कति नेता, मन्त्री र सांसदहरू पदको दुरुपयोग गरी अकुत सम्पति कुम्ल्याउँछन् । सरकार आफ्ना नेता, मन्त्री, सांसद, कार्यकर्ता र आसेपासेले पदको दुरुपयोग गरी अकुत सम्पति कुम्ल्याए पनि मतलब राख्दैन, अझ भाग पाउनको निम्ति त्यस्ता आपराधिक कामलाई हौस्याउँछ । यस्तो कार्य हिजो थियो, आज पनि छ । असल शासक, असल नेता, असल मन्त्री, असल सांसद र कार्यकर्ता भएका भए यस्ता क्रियाकलाप हुने छैनन । कसैले जानीनजानी काम गरेमा तुरून्तै विरोध हुन्छ,
कारबाही हुन्छ । तर, देशमा असल शासक छैन । यही देशको दुर्भाग्य हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *