भर्खरै :

अरूको स्वर्ग नचोर

छ्या ! तिम्रो त मुटु नै छजस्तो लाग्दैन । नभए त कसरी जिउँदो हुनु ? तर, तिम्रो मुटु त चल्लाको भन्दा सानो रहेछ । सायद यसमा पक्का पनि रातो रगत बग्दैन । तिम्रो कलुषित विचार, तर्क र सोच भएको सफ्टवेयरले यसलाई प्रमाणित गर्छ ।
त्यसैले, पुर्खाको व्याजले अबको समय चल्दैन । वीर गोर्खालीको भजन गाएर वीरताको आत्मरतिमा रमाउने हामी वीर छौँ तर बुद्ध छौँ । इतिहासको वीरता वंशानुगत हुँदैन । त्यो कुनै सफ्टवेयर हैन इन्स्टल गर्र्नेबित्तिकै चल्ने । हिजोको युद्धलाई खुकुरीले निर्धारण ग¥यो । अब आजको युद्धलाई तर्क र विचारले हाँक्नुपर्छ । अबको युद्ध कूटनीतिको हो अन्यथा हामीसँग न हिङ बाँकी रहन्छ न त टालो नै ।
हामी किन कमजोर छौँ ? अरूको कारणले होइन । उसले हस्तक्षेप गरेर होइन । हामी ऐरेगैरे बाबासँग लम्पसार पर्छाैँ, तुच्छ प्रोफेसरसँग शिक्षा र प्रवचन लिन्छौँ । नाथे दूतसँग भीख माग्छौँ । हामी एक थान छात्रवृत्तिको लागि देशको लालपुर्जा बेच्छौँ । एकथान जागिरको लागि नक्सा बेच्छौँ, ‘रअ’ को तलबी पचाएर सुराकी गर्छौँ । कमजोर मानसिकता बोकी गरुडको अगाडि सर्पझैँ लल्याकलुलुक हुन्छौँ । बस भन्दा बस्छौँ, उठ भन्दा उठ्छौँ, खा भन्दा खान्छौँ, नखा भन्दा भोकै बस्छौँ । आफ्ना कमजोरी खुलस्त पारी मन हलुका बनाउँछौँ । अन्ततः त्यही हलुका मन भारी बन्छ ।
सार्वभौमसत्ता चाहे ठूलो भूगोल होस् या सानो सबको बराबर हुन्छ । इतिहासले पढाएका अशोक सम्रात, चङ्गेज खाँ, सिकन्डर, पृथ्वीनारायणले भूगोल बढाए– खुकुरीको आडमा, तरबारको भरमा, बन्दुकको सहारामा, अब भूगोल बढाउने होइन, बलियो बनाउने हो, रक्षा गर्ने हो । सानो हुँदैमा कमजोर हुने ठूलो हुँदैमा शक्तिशाली हुने भए सिकन्डरको रोम नटुक्रिनुपर्ने थियो, बेलायतमा सूर्य नडुब्नुपर्ने थियो, हिटलरले कायरतापूर्वक आत्महत्या गर्नु नपर्ने थियो, भियतनामबाट अमेरिका पुच्छर लुकाएर भाग्न नपर्ने थियो, उत्तर कोरियाको अस्तित्व नरहनुपर्ने थियो ।
पटक–पटकको हस्तक्षेपले हामी आक्रान्त छौँ । सत्तासीनहरू मौन छन्, सुस्तरी आवाज भुइँमा झर्ला कि भनेर खुसामद गर्छन् । रोटीबेटीको सपना सुनाएर हाम्रै माटो चोर्छन्, हाम्रै पानी लुट्छ, हाम्रै बाटो अवरोध खडा गर्छ । मित्रताको मन्त्र जपी विष पिलाउँछ ।
तिम्रो लागि हामी ‘बहादुर’ भयौँ । यदि बहादुर नभएको भए काश्मीर कसले जोगायो ? हामी कटारो थाप्दैनौँ, पसिना बेच्छौँ, रगत बगाउछौँ । माग्ने त तिमी हौ, सबथोक माग्छौ, फकाउँछौ, धम्काउँछौ, लुट्छौ । माग्नेभन्दा माथि उठेर नङ्ग्रा गाड्छौ, मुख बाउँछौ । हामीले सबथोक दिएका छौँ तिमीलाई । हामीले वाल्मिकी दियौँ तर तिमीले रामराज्यमा द्वेषको विष छ¥यौ, हामीले बेदव्यास दियौँ तर तिमी कौरब बन्यौ, हामीले हिन्दूका आराध्यदेव महादेव दियाँै तर तिमीले धर्मलाई व्यापार र राजनीति बनायौ, हामीले योग प्रवर्तक शिव दियौँ तर तिमी मुक्त हुन सकेनौ, लोभलालच त्याग्न सकेनौ, हामीले बुद्ध दियौँ तर तिमीले अहिंसाको फसल रोप्यौ, हामीले जनक तर अष्टावक्र दियौँ तर तिमीले दर्शन होइन असहिष्णुता र अभिमानको बीउ छ¥यौ । तिमीले संसारलाई के दियौ ? बरू उत्कृष्ट मानव, आर्यको रगतको नाममा हिटलरको आत्मा आफ्नो मुटुमा कलमी ग¥यौ, मुसोलिनीको प्रेत जगायौ ।
तिमीलाई ठूलो हुने खुबै रहर छ, महान् भारत वर्ष निर्माण गर्ने इच्छा छ । त्यस्तो इच्छा अङ्ग्रेज साम्राज्यले देखेकै थियो, जसलाई तिमीले लखेटेकै थियौ, रोमले पनि देखेकै थियो आजकहाँ हरायो रोम ? नेपोलियन, चंगेज खाँ, हिटलरले देखेकै थिए, कुन माटोमा पुरिएको तिनका इच्छा र रहरहरू ?
हो, हामी शरणको मरण गर्दैनाँै, मित्रताको नाममा गंगटो बनी घाँटी ङ्याक्दैनौँ । चीनसँग पुच्छर लुकाएर भाग्दा कालापानीमा तिमीलाई शरण दिएका थियौँ । आज त्यही माटोमा तिमी बुट बजार्दै छौ, परेड खेल्दै छौ र आफ्नो भन्दै छौ । हामीले कुमाउ, गढवाल, सिक्किम, दार्जिलिङ, टिस्टा, काँगडा माग्यौँ र ?
तिमीले कति चाँडै आफ्नो इतिहास बिर्सन सक्छौँ र ? अङ्ग्रेजी साम्राज्यको बुटमुनि बस्नुपर्दा कति पीडा भोगेका थियौ ? कति अपमान (कुकुरलाई भन्दा पनि बढी) सहेका थियौ ? तिमीले अङ्ग्रेजलाई त धपायौ तर त्यो साम्राज्यको धङ्धङ्ती अझै बाँकी रहेछ । तिम्रो भूगोलबाट अङ्ग्रेज त गयो तर तिम्रो आत्माभित्र साम्राज्यको बीउ रोपेर गयो । जसका कारण तिमी भड्किन्छौ, छिमेकीलाई सताउँछौ, तीखो नङ्ग्रा गाड्छौ । सिक्किम निल्दा तिमीभित्र साम्राज्यवादले दिएको पीडा दुखेन ? काश्मीर गाभ्दा अङ्ग्रेजको गुलामी चह¥याएन ? अरूमाथि नङ्ग्रा विस्तार गर्दा तिम्रो नैतिकता कहाँ गयो ? जे भोग्यौ, त्यही सिक्यौ । जे जान्यौ, त्यही ग¥यौ ।
तिमीले हस्तक्षेपका असङ्ख्य अध्यायहरू लेखेका छौ । सीमा अतिक्रमण, राजनैतिक हस्तक्षेप, असमान सन्धि, नाकाबन्दी, बाधा अड्चन तिम्रा विषय सूची हुन् । अन्यथा कुर्सी हल्लिन्छ, धर्ती काँप्छ, मुटु थर्थराउँछ ।
तिमीले सिक्किमको आत्मा खाएर आफूमा समाहित ग¥यौ । भुटानलाई समोहित गर्दै छौ । नेपालको छाती चिरी लिम्पियाधुरामा सडक बनायौ । त्यो तिम्रो मन शान्त पार्ने मानसरोवर जाने मार्ग होइन, ट्याङ्क गुडाउने सडक हो । तर, याद गर त्यही सडक तिम्रो मृत्यु रेखा बन्नेछ, जहाँबाट तिम्रो हेडक्वार्टर हान्न ट्याङ्कहरू कुद्ने छन् ।
हाम्रो शरणलाई तिमीले हाम्रो कमजोरी ठान्यौ । जुन थालमा खायो त्यही थालमा फोहोर ग¥यौ तिमीले । दक्षिण एसियामा हामी जन्मँदा तिम्रो नामोनिसान थिएन । आकारले ठूलो हुँदैमा पछि मात्र कोखमा आएको तिमीले ठुल्दाइ प्रवृत्ति देखायौ । ठुल्दाइ त हामी हौँ । तर, हामीले त्यसो भनेनौँ, समभाव राख्यौँ, मित्रताको व्यवहार ग¥यौँ ।
भाषामा हस्तक्षेप, संस्कृतिमा हस्तक्षेप, अर्थतन्त्रमा हस्तक्षेप, व्यापारमा हस्तक्षेप, शिक्षामा हस्तक्षेप, कर्मचारीतन्त्रमा हस्तक्षेप, राजनीतिमा हस्तक्षेप । नङ्गानाचहरू । नेपालमा हस्तक्षेप, पाकिस्तानमा हस्तक्षेप, बङ्गलादेशमा हस्तक्षेप, श्रीलङ्कामा हस्तक्षेप । रक्ताम्मे नङ्ग्राहरू । फुटाऊ र शासन गर ।
तिमी आर्यको शुद्ध रगत ¤ धर्मको कुरा गर्छौ तर नाजीवादको बाटो पछ्याउँछौ, असहिष्णुताको ब्रह्मास्त्र प्रहार गर्छौ । तिमी शान्तिका दूत अशोकका चेला तर मान्छेलाई जालमा फसाई भूमि कब्जा गर्छौ । तिमी चाणक्य पुत्र र त कुटिल चाल चाल्छौ । तिमी लोकतन्त्रवादी तर अधिनायकवादको अभ्यास गर्छौ । तिमी आफ्नो अनुहार ऐनामा हेर । विशाल समुद्रको सफा पानीमा नियाल । त्यहाँ भोका नाङ्गाहरूको दर्दनाक दृश्य देख्नेछौ, माग्नेहरूको विद्रुप रूप देख्नेछौ । आत्महत्या गरेका गरिब र ऋणले थिचिएका किसानका अतृप्त आत्माहरू भुनभुन गरिरहेको देख्नेछौ । तर, तिमीले त भ्रष्टहरूको हाँसो देख्छौ होला, कर्पोरेटहरू र व्यापार टाइकुनहरूको तधको सगरमाथा देख्छौहोला ।
म तिम्रो नैतिकता नाप्न चाहन्छु । तिम्रो न्यायको तराजु जोख्न चाहन्छु । आध्यात्मिक उन्नतिको नाममा समाधि पुग्ने तिम्रो मार्ग हेर, कति विकृत छ ।
हामी कसैको नुन सित्तैमा खाँदैनौँ । स्वाभिमानसँग मातृभूमि साट्दैनौँ । तिमीलाई त अरूको दोक्लाम पनि दुख्छ, चाइनाअक्साइ पोल्छ, काश्मीर पिर्छ, कालापानीमा ¥याल चुहिन्छ तर आफ्नै देशभित्रको बागी आवाज सुन्दैनौ, विद्रोहको आगो बलेको देख्दैनौ । भोकको काव्य पढ्दैनौ । सुन ती आवाज निभाऊ, त्यो आगो, पढ भोकको काव्य । सक्छ शान्तसँग बस, आफ्नो देश बनाऊ, असल मित्रता कायम गर । सक्दैनौ हस्तक्षेप नगर अर्काको स्वाभिमानमाथि प्रहार नगर, आत्मसम्मानमा चोट नपु¥याऊ । तिम्रो विद्वेष, तुच्छ गाली, गोयबल्सका भूत, असहिष्णुता, प्रभुत्व र तीखा नङ्ग्रालाई बगाइ देऊ गंगामा र पवित्र पार । स्वर्ग त्यही झर्नेछ । अरूको स्वर्ग नचोर ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *