भर्खरै :

मखमलीभित्रको मित्रता

मानव जीवन प्रकृतिको अमूल्य देन हो । मानिसलाई बाँच्नको लागि विभिन्न कुराको आवश्यकता पर्दछ । भौतिक चिजहरूसँगै मानिसलाई जीवित राख्न विभिन्न भावनात्मक कुराहरूको पनि आवश्यक हुन्छ । खान र लगाउन पाएरमात्र मानिस खुसी हुनसक्दैन । जो मानिस भावनात्मकरूपमा सुखी र खुसी हुन्छ उसैको चौतर्फी विकास हुने गर्दछ । अब हामीलाई खुसी कसरी प्राप्त हुन्छ भनेर मनन् गर्ने हो भने खुसी त हामीभित्रै हुन्छ त्यसलाई बाहिर ल्याउन आफ्ना प्रिय मानिसको आवश्यकता पर्दछ । यसैले होला, हामी नेपालीहरू विभिन्न समयमा विभिन्न किसिमका चाडपर्व र जात्राहरू मनाउने गर्दछौँ । आफ्ना आमा बुबा, गुरुलगायतका मान्यजनलाई हामी विशेष रूपमा पुज्ने गर्दछौँ । हामी आफ्ना दाजुभाइलाई पनि विशेष रूपमा पुज्ने गर्दछौँ । दिदी भाइको विशेष पर्वको रूपमा हामी भाइटीका पर्वलाई मान्दछौँ । यो पर्व सम्पूर्ण नेपालीको लागि विशेष पर्वको रूपमा मनाइदै आएको छ । वास्तवमै दिदी, भाइ वा दाजु बहिनीबीचको सम्बन्ध निकै नै पवित्र हुन्छ । आमाको काखदेखि खेल्दै सुरू भएको हाम्रो नाता मरणोपरान्तसम्म रहने गर्दछ । आफ्ना हरेक दुःखसुखलाई हाँसोखुसीसँग साट्दै बितेको त्यो बालापनको सबैभन्दा मिल्ने साथी नै दाजुभाइ हुन् । त्यसैले दाजुभाइलाई हामी अभिभावकको साथै मिल्ने साथीको रूपमा हेर्ने गर्दछौँ ।
आफूलाई परेको समस्याको बारेमा खुलेर आफ्ना दाजुभाइसँग कुरा गर्ने गरिन्छ । समस्या सानै भए पनि त्यसले धेरै क्षति गर्नसक्दछ । यसैले त विवाहित छोरी चेलीहरू आफ्नो घरमा रहेका तनावबाट केही समय मुक्त हुन आफ्ना जन्मघर जाने गर्दछन् । अहिले पनि हाम्रो समाजमा बुहारीले जति नै घरको भलाइ सोचे पनि उनलाई अरूको घरबाट आएकी भनेर नराम्रो व्यवहार गर्ने गरिन्छ । आधुनिकतासँगै समाजमा केही परिवर्तन आए पनि कतिपय कुरीति र कुपरम्परालाई अहिलेसम्म आत्मसात गर्नेहरूको कमि छैन यहाँ । समय–समयमा आउने पर्वले वास्तवमै मानव जीवनलाई जीवन्त बनाउने गर्दछ । भाइटीकाले पनि दाजुबहिनी र दिदी भाइबिचको सम्बन्धलाई अझ बलियो बनाउने कार्य गरेको छ । दिदी बहिनीले यसै दिन दाजुभाइलाई पूजा गरी दाजुभाइ दीर्घायुको कामना पनि गर्दछन् ।
यसै सम्बन्धमा एउटा किंवदन्तीअनुसार एकपटक एउटी चेलीले आफ्नो दाजुलाई टीका लगाउँदै गर्दा यमराजको दूत उनको दाजुलाई लिन आइपुगेछन् । यमदूतका अनुसार उनका दाजुको उमेर पुगिसकेको थियो साथै मृत्यु पनि निश्चित थियो । ती चेली आफ्नो दाजुलाई पूजा गर्दै रहेकीले पूजा नसकेसम्म पर्खन आग्रह गर्छिन् । पूजाकै क्रममा ती चेलीले यमदूतहरूलाई पनि आफ्नो दाजुसँगै राखेर पूजा गर्छिन् उनको पूजाबाट प्रसन्न भई यमदूतहरूले उनलाई बरदान मागभन्दा ती चेलीले आफ्नो दाजुलाई नलानु भनी बरदान मागी दाजुको जीवन बचाएकी थिइन् त्यसैले आजसम्म चेलीको माया, आस्था र भक्तिबाट दाजुभाइको मृत्युसम्म टर्छ भन्ने जनविश्वास रहँदै आएको छ । यसै दिन यमराजले आफ्नी बहिनी यमुनाको हातबाट भाइटीका लगाउँदा बहिनी यमुनाले हरेक वर्ष यसरी नै यमपञ्चकको पाँचाँै दिन आफ्ना दाजुलाई टीका लगाउन पाउँ भनी बरदान मागेकीले भाइटीकाको चलन रहेको मानिन्छ । यसै भाइटीकाको अवसरमा दिदीबहिनीहरूले आफ्ना दाजुभाइलाई आफ्नो रितअनुसार पूजा गरी कहिले नओइलाउने मखमलीको माला लगाई, दैलामा ओखर फुटाई पूजा गरी, विभिन्न किसिमका मसला, मिठाइ दिने गरिन्छ । यसै अवसरमा यमराजका प्रतीकस्वरूप बिमिरोको पनि पूजा गरिन्छ । दिदीबहिनीले आफ्ना दाजुभाइ सदासर्वदा भलो र हितको कामना गरिरहेका हुन्छन । दाजुभाइले पनि आफ्ना दिदीबहिनीहरूलाई हरेक समयमा साथ र सहयोग गरिरहेका हुन्छन् । यसरी कहिले नओइलाउने मखमलीभित्रको मित्रता सदियौँदेखि चलिआएको छ । हाम्रो पितृसत्तात्मक समाज रहेको हुनाले छोरीचेली विवाहपछि आफ्नो पतिको घरमा जानुपर्ने चलन रहँदै आएको छ । विवाहपछि पनि दाजुभाइ र दिदीबहिनीको सम्बन्ध अझै प्रगाढ रहने कुरा नेपाली समाजको अध्ययन विश्लेषणबाट थाहा पाउन सकिन्छ । विवाहित चेलीलाई दाजुभाइले हरेक चाडपर्वमा बोलाउने चलन रहेको छ । त्यसैले हरेक चाडपर्वले हामीबीचको माया प्रेम, सदभाव र आस्थालाई अझ गाढा बनाउँदै लगेको छ ।
नेपाली समाज विस्तारै आधुनिकतातर्फ अगाडि बढ्दै गइरहेको छ । यसको प्रभाव हरेक चाडपर्वमा देखिन थालेको छ । तिहारकै प्रसङ्गमा पनि पहिला पहिला प्रत्येकका घरघरमा माटोको पालामा दियो बाली लक्ष्मीको स्वागत गरिन्थ्यो । अहिले त इलेक्ट्रिक बत्ती सबैतिर छाएको छ । नेपालको पैसा विदेशिँदै छ । आत्मनिर्भर बन्नुपर्नेमा हामी दिनप्रतिदिन परनिर्भर बन्दै गइरहेका छौँ । यस्तै तिहारमा प्रयोग हुने भाइमसलामा पनि १५ प्रतिशत हाम्रो उत्पादनले धानेको छ भने ८५ प्रतिशत त भारत, कम्बोडिया, अस्ट्रेलिया आदि देशबाट आयात हुने गरेको छ । कतिपय मसला जस्तैः काजु, पेस्टा, यहाँ उत्पादन हुँदैन । ती त आयात गर्नैप¥यो । तर, कतिपय यहाँ उत्पादन हुने मसला पनि कममात्र उत्पादन गरिनाले हामी बढी मात्रामा विदेशी बजारमा निर्भर बन्न पुगेका छौँ । यसपालि कोभिडको महामारीले गर्दा भाइमसला आयातको प्रतिशत निकै कम रहेको कुरा व्यवसायी बताउँछन् । यसरी आयात कम हुनुमा कोभिडका कारण धेरै लामो समयदेखि होटल व्यवसाय बन्द हुनाले त्यहाँ प्रयोग गरिने मसलाहरू जस्तैः काजु, किसमिस, पेस्टा इत्यादि स्टकमा थुप्रिएका कारणले पनि भाइमसला आयातमा कमि आएको व्यवसायीहरू बताउँछन् । आफ्नो परम्परागत संस्कृतिको जगेर्ना गर्नु हाम्रो परम दायित्व हो । यो कुरा सबैले मनन गर्नु जरुरी छ । त्यसैले चाडपर्व साधारण हिसाबले आफ्नो मौलिक परम्परालाई अँगाल्दै मनाउनुपर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *