भर्खरै :

नेकपाबाट सामन्तवादको म्याउँ

इतिहासमा भएका कमजोरी सच्याउन आजको सरकारसमक्ष मनग्य अवसर थियो । राजनीतिक शक्तिको हिसाबमा बितेका केही दशकयताका कुनै पनि सरकारको तुलनामा आजको सरकार शक्तिशाली छ । संसद्को अङ्कगणितमा मात्र होइन, राज्यका तीन तहमा सत्तासीन दलको बलियो राजनीतिक बहुमत छ । संसदीय व्यवस्थामा सरकारको काममा अवरोध गर्न सक्ने शक्ति भनेको प्रमुख प्रतिपक्ष हो । तर, प्रमुख प्रतिपक्ष आज यति कमजोर छ, उसले सरकारका कुनै पनि काममा अवरोध गर्नसक्ने अवस्था छैन ।
कुनै पनि सरकारसमक्ष चुनौती भनेको अवसर पनि हो । कोभिड–१९ महामारी नेकपा सरकारसामू तेर्सिएको सबभन्दा प्रमुख चुनौती हो । यो चुनौतीसँगै सरकारसमक्ष अवसर पनि देखापरेका थिए । विभिन्न देशमा रोजगारीको लागि गएको नेपाली कर्मठ युवाहरू कोभिड–१९ महामारीबाट जोगिन नेपाल फर्के । विदेशी प्रविधि र विकाससँग परिचित र अभ्यस्त नेपाली युवाहरूलाई देशभित्रै बसेर देश निर्माणमा योगदान गर्ने अवस्था सरकारले बनाउन सक्थ्यो । त्यसो हुँदा शासक दलका नेताहरूले चुनावी भाषणमा बोलेजस्तै देशको काँचुली फेर्न ठूलो टेवा पुग्ने थियो । नेपालका दुर्गमभन्दा दुर्गम गाउँ ठाउँमा विदेशी विकास र प्रगतिको हावा खाएका युवाहरूलाई आफ्नो ठाउँमा विकासको लागि हौस्याउन सक्दा वास्तवमै देशमा ‘समृद्धि र विकास’ को लहर उठ्ने थियो ।
भारतका विभिन्न क्षेत्रमा पसिना बगाउने नेपाली युवाहरूलाई आफ्नै भीरपाखा खन्न सरकारले प्रोत्साहन र हौसला दिन सकेको भए कोरोनाको भयले लामो पैदल यात्रा गरेर देश फर्केका नेपालीहरू फेरि दक्षिण लाग्ने थिएनन् । पौरख गर्ने क्षमता भएका नेपाली पाखुराहरू भारततिर लाखौँ लाखको सङ्ख्यामा बाहिरिएपछि देशमा विकासको कुरा नराम्रो सपनाभन्दा केही होइन । देशमा केही नहुने देखेर नै त आज आर्थिक गतिविधिमा सामेल हुनसक्ने नेपालीहरू विदेशतिर ओइरिरहेका छन् । नेपाली माटोमै विकास र प्रगतिको नयाँ लहर ल्याउने अवसरबाट सरकार वञ्चित बनेको छ । काम गर्ने युवाहरू स्वदेशमा केही नहुने देखेर विदेश जानु सत्तासीन दलको ‘विकास र समृद्धि’ को नारा कार्यान्वयनको अवरोध हो ।
सरकारको व्यवहारले भने वास्तवमा ‘विकास र समृद्धि’ को नारा चुनावमा मत बटुल्ने माझीको जालमात्र भएको प्रस्ट हुन्छ । विकास र समृद्धिका आधार युवाहरू (जो महामारी छल्न स्वदेश फर्किसकेका थिए) लाई यही अड्याउनुको सट्टा फेरि पनि विदेशतिरै धकेल्नुले सरकार वास्तवमा देशको विकास चाहँदैन भन्ने पुष्टि गर्छ । विदेशी दाताहरूको सहायता, दान र ऋण झर्दासम्म मात्र ‘विकास’ को नाटक हुने प्रथा यो सरकारले पनि फेरबदल गर्न सकेन ।
राजनीतिक स्थायित्वको लागि मत मागेको नेकपालाई जनताले मागेअनुसार चुनावी परिणाम दिएका थिए । तर, नेकपाभित्रकै गुटगत झैझगडाको कारण बहुमत प्राप्त सरकारले राजनीतिक स्थायित्व ल्याउने कुरालाई पनि गलत साबित गरेको छ । शासक दलभित्रका दलहरूबीचको खोसाखोस र भागबण्डाको कारण बहुमत पाएर पनि सरकारले शक्तिअनुसारको प्रस्तुति दिन सकेन । बरु, नेकपाका नेताहरूबीचको झैँझगडाको कारण जनता वाक्कदिक्क भइसकेका छन् । जनताले आज ‘जुन जोगी आए पनि कान चिरेको’ को दिक्दारी अनुभव गरिरहेका छन् ।
शासक दलका नेताहरूको नियत र उद्देश्य नै फरक भएपछि जस्तोसुकै बर्कोभित्र लुकाए पनि म्याउँ नै गर्ने पक्का छ । नेकपाका नेताहरूले कम्युनिस्ट पार्टीको आवरणभित्र आफूलाई आकर्षण देखाउने जालझेल गरे पनि आखिरमा उनीहरूले ऐनमौकामा सामन्तवादको म्याउँ नै गरेको सुनियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *