भर्खरै :

दोस्रो दिन भाइटीकासँगै सकियो तिहार

काठमाडौँ, २ मङ्सिर (रासस) । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयाका दिनसम्म मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आज दोस्रो दिन किजापूजा गरेसँगै समाप्त भएको छ । नेवार समुदायको केही समूहमा कार्तिक शुक्ल द्वितीयामा सूर्योदय भएका दिन नै भाइटीका लगाउने कूल परम्परा रहेकाले सो समूहका दाजुभाइले आज दिदीबहिनीबाट टीका लगाएका हुन् । नेवार समुदायका केही समूहका दिदीबहिनी र दाजुभाइले श्रद्धा, र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइदिएका छन् ।
दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता छ । यसैगरी दिदीबहिनी एवं दाजुभाइ नहुनेले भाइटीकाका अवसरमा दर्शन गर्ने रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिर आज पनि बिहानदेखि नै खुला छ । यमपञ्चक भने सोमबार नै सकिएको हो ।
यसपटक पाँच वर्षअघिको भूकम्पले क्षतिग्रस्त मन्दिर पुनःनिर्माण सम्पन्न भएपछि तिहारमा पहिलो पटक खुलेको हो । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक भाइटीकाका अवसरमा मात्र खुल्छ । दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् । पाँच वर्षपछि खुलेको बालगोपालेश्वरमा मङ्गलबार पनि भक्तजनको भीड लागेको थियो ।
यसैगरी जयबागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि दिदीबहिनी नहुने दाजुभाइले पूजा तथा दर्शन गरी टीका लगाउने प्रचलन रहेको संस्कृतिविद् डा. गोविन्द टण्डनले बताउनुभयो ।
भाइटीकाका अवसरमा मङ्गलबार पनि सरकारले सार्वजनिक बिदा दिएको थियो । सोमबारदेखि नेपाल संवत् अनुसारको नयाँ वर्ष ११४१ पनि सुरु भएको छ । एक हजार १४१ वर्ष अघि शङ्खधर साख्वाले नेपाल संवत्को शुरुआत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *