भर्खरै :

पुँजीवादी गणतन्त्रको विकल्प समाजवादी गणतन्त्र

गणतान्त्रिक यो देशमा यदाकदा केही युवाहरूले ‘राजा आऊ देश बचाऊ’ भन्दै प्रदर्शन गर्न थालेका छन् । पूर्वराजा ज्ञानेन्द्र आफै राजतन्त्र छोडेर साधारण नागरिक भएका छन् र गणतन्त्रलाई आत्मसात गरिसकेका छन् । पूर्वराजतन्त्रवादीहरूले पनि गणतन्त्रलाई स्वीकारिसकेका छन् । निरङ्कुश राजतन्त्र देशको लागि आवश्यक नभएरै जनताले बलिदान गरेर, रगतको खोलो बगाएर राजतन्त्र फालेका थिए । अब राजतन्त्र फर्काउने कुरा समय सान्दर्भिक छैन । राजाले देश जोगाउन नसकेको कुरा विगतको इतिहासले देखाइसकेको छ । राजाले देश बचाउन सक्दैन । देश बचाउने जिम्मा आम जनताको हो, देशका सबै दलहरूको हो ।
गणतन्त्रको विकल्प राजतन्त्र होइन । गणतान्त्रिक सरकार, नेकपा या अन्य कुनै प्रजातान्त्रिक सरकारले गल्ती ग¥यो, देश ऋणमा डुबाउन खोज्यो या सरकारले लापरबाही ग¥यो, दलगत र व्यक्तिगत स्वार्थ हे¥यो भनेर राजतन्त्रको माग गर्नु अर्काे प्रतिगामी कदम हो । सरकारले गरेको जनविरोधी, देशघाती कार्यको खबरदारी गर्नुपर्छ, जनतामाझ सुसूचित पार्नुपर्छ । समाज जहिल्यै अघि बढ्नुपर्छ । प्रतिगामी कदम जनतालाई स्वीकार्य हुनेछैन । अबको माग या जनताको चाहना भनेको समाजवादी गणतन्त्र हो । समाजवादी गणतन्त्रको निम्ति जनतालाई तयार गर्ने हो । पुँजीवादी गणतन्त्रले बहुमत जनताको सेवा गर्दैन । यो कुरा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि मात्रै अनुभूति गरेको कुरा होइन । यसबारे सबैले नबुझ्नु या कति दलका नेताहरूले थाहा नहुनु अर्काे कुरा । नेमकिपाले त पहिले नै या लोकतान्तिक गणतन्त्र स्थापनाअघि र स्थापनालगत्तै यो पुँजीवादी गणतन्त्र हो, यसले बहुमत जनताको सेवा नगर्ने बताएकै हो । नेकपाको सरकारले शोषित पीडित जनताको सेवा नगरेकोमा कुनै आश्चर्य छैन । नेकपाले कम्युनिस्ट पार्टी नाउँ राख्नुको कारण लोकाचार या लोकपत्यारको लागि हो, जनताको विश्वास जित्न हो । यो कुरा नेकपाको सरकार र नेकपाले गरिरहेको कार्यशैलीले पुष्टि गरिसकेको छ ।
देशका कुनै पनि दल बहुमत या श्रमजीवी वर्गको पक्षमा छ भने, उनीहरूको हित हेर्ने हो भने समाजवादी गणतन्त्र आवश्यक छ । राजासहितको व्यवस्थाले जनताका मौलिक र राजनीतिक अधिकार लुटेको थियो । त्यसबेला पनि भ्रष्टाचार भएकै थियो, देशको सीमा भारतले मिचेकै थियो, अन्तर्राष्ट्रिय मूल्य र मान्यताविपरीत भारतीय पक्षले बाँध तथा तटबन्ध बनाएको थियो । बोल्ने अधिकार थिएन, प्रदर्शन गर्ने अधिकार थिएन । यही कारण गणतन्त्र स्थापना भएको हो । तर, यो पुँजीवादी गणतन्त्रले बहुमत जनताको हित नहेरेको हुँदा अब समाजवादी गणतन्त्र स्थापना गर्नुपर्छ, स्थापना गर्न अघि बढ्नुपर्छ । समाजवादी गणतन्त्र स्थापनाको लागि तयारी गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *