भर्खरै :

हरिबोधनी एकादशी भीडभाड नगरी मनाऔँ

नेपाल चाडपर्व, रीतिरिवाज, भेषभूषा र परम्परामा विश्वकै धनी देशमध्ये एक हो । वैशाख १ गते नयाँ वर्षको नव उमङ्ग , उत्साहसँगै बुद्ध जयन्ती, साउने सङ्क्रान्ति, कुशे औँसी, जनैपूर्णिमा, गाईजात्रा, कृष्णाष्टमी, तीज, इन्द्र जात्रा, दसैँ, तिहार, नेपाल संवत्, छठ, हरिबोधनी एकादशी, माघे सङ्क्रान्ति, सरस्वती पूजा, शिवरात्री, फागुपूर्णिमा आदि पर्व पर्दछन् । यी चाडहरू विभिन्न जाति र वर्ग विशेषले कुनै समष्टिगतरूपले मान्छन् । बहुल जातजाति, भाषा, संस्कृति भएको हाम्रो मुलुकमा आ–आफ्नै चालचलन विद्यमान छन् । आत्मीयता र सद्भावको पर्वका रूपमा भव्यरूपमा मनाइने दसैँ, तिहारलगत्तै आउने ‘हरिबोधनी एकादशी’ को आफ्नै गरिमा र महिमा छ ।
‘हरिबोधिनी’ को अन्तर्य:
यस वर्ष ‘मलमास’ को कारणले दसैँ–तिहारलगायत ‘हरिबोधिनी एकादशी’ एक महिना पछाडि सरेको छ । यो अपवाद हो । कार्तिक शुक्ल पक्षको एकादशी तिथिलाई ‘हरिबोधिनी एकादशी’ भनिन्छ ।
‘हरि’ भन्नाले विष्णुलाई बुझाउँछ तथा ‘बुध’ धातुबाट बनेको ‘बोधिनी’ शब्दले निद्राबाट जागा हुने भन्ने कुरा बुझाउँछ । आषाढ शुक्ल पक्षको एकादशीदेखि चार महिनासम्म क्षीरसागरमा शेषनागरूपी शय्यामा विश्राम गरी भाद्र शुक्ल एकादशीमा दायाँतर्फ कोल्टे फेर्ने र आजकै दिनमा जाग्ने भन्ने कुरा धर्मशास्त्र, इतिहास तथा पुराणमा उल्लेख गरेको पाइन्छ ।
यसरी विष्णु शयन गर्ने, कोल्टे फेर्ने र शयनावस्थाबाट जागा हुने तिथिलाई क्रमशः हरिशयनी, हरिपरिवर्तिनी र हरिबोधिनी एकादशी भनिन्छ । यी दुई हरिशयनी र हरिबोधिनी एकादशीलाई ‘ठूलो एकादशी’ पनि भनिन्छ । धार्मिक आस्था हुनेहरूले यो दिनलाई भगवान हरिको स्मरणस्वरूप उपासना गर्ने चाडको रूपमा लिइन्छ । चतुर्मासभरि शयन गर्ने विष्णुलाई ‘भलमास’ को कारणले तिथि नसरेमा बाहेक, कार्तिक शुक्ल द्वादशीको दिनमा देहायअनुसारको मन्त्र उच्चारण गरी निद्राबाट जगाउनुपर्छ भन्ने मान्यता छ । साथै, सो चतुर्मासभरि शुभ र माङ्ग लिक कार्य गर्न निषेध गरिएको पाइन्छ । जस्तैः गृह–निर्माण, विवाह, व्रतबन्ध, बर–पिपलको विवाह आदि कार्यहरूको सञ्चालनले शुभ फल प्राप्त नहुने कुरा ज्ञात हुन्छ । जागा गराउने मन्त्र – उत्तिष्ठोत्तिष्ठ गोविन्द त्यज निद्रा जगत्पते त्वयि सुप्ते जगत्सुप्त–मुत्थिते चोत्थितं जगत् । (अर्थ – हे गोविन्द भगवान हजुरले निद्रा छोडी उठनु प¥यो किनकि हजुरको सुताइमा संसारै सुत्छ र हजुर जागा हुँदा यो चराचर जगत्, ब्रह्माण्ड नै उठ्छ । अतः जगतलाई जगाउने हजुर जागा हुनुप¥यो ।)
एकादशीको महत्व:
भगवान श्री हरि (दामोदर) र भगवती तुलसीको शुभ विवाह कार्य जागा हुनासाथ गरिन्छ । आषाढको शुक्ल पक्ष, हरिशयनी एकादशीको दिनमा स्नान गरी तुलसीको बिरुवा रोपेर हुर्काई बढाएपछि तुलसीरूपी कन्यालाई सत्यनारायणको हातमा सङ्कल्पसहित हातको जल अभिषेक गर्दै सुम्पेर मुक्ति पाउन आग्रह गरिन्छ र १०८ हवन गरी दक्षिणा प्रदान गरिन्छ । व्रत बस्ने क्रममा ज्ञानेन्द्रिय र कर्मेन्द्रिय वशमा राखी आत्मानुशासन पालन गर्ने हुनाले यसको गरिमा पृथक छ ।
अन्त्यमा, पहिल्लेको एकादशी जात्रा, भीडभाड र आफन्तजनसँग भेटघाट त्यागेर, सामाजिक दुरी कायम गर्नु, सतर्कता अपनाउनु, लापरबाही नगर्नु, घरमै चाडपर्व मनाइ न्वागीको स्वाद लिनु बुद्धमानी होला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *