भर्खरै :

साथीलाई चिठी

  • मंसिर १४, २०७७
  • श्यामकृष्ण खुलिमुली
  • साहित्य

प्यारो साथी,
खोइ के लेखुँ ? तिमी त सञ्चै हौला तर यहाँ देश बिरामी छ । आशाको धिपधिपे दियो चहकिलो हुनसकेको छैन । सपनाको बीउ टुसाउन सकेको छैन ।
हो, तिमी विदेश गयौ । तीन करोडको यो भूमिमा देश निर्माण गर्ने सक्रिय शक्ति आज लाहुर पसेको छ । साठी लाख बढी युवा आफ्नो देश होइन, अर्काको देश बनाउन गएका छन् । त्यसैले आज मेरो देशको कुना, कन्दरा, गाउँ, टोल विरहको गीत गाउँदै छ । गाउँ युवाविहीन छन् । वृद्धवृद्धा, बालबालिका र महिलामात्र छन् । यतिसम्म कि हरेक घरमा जो लाहुर पसेको छैन त्यसलाई मानिसले हेर्ने नजर नै फरक छ । मलाई पनि भन्छन्, “विदेश गएर पैसा कमाउने हुति हुनुपर्यो नि । यहाँ बरालिएर हिँडेर के पाइन्छ ?” यहाँ मलामी बोक्ने युवा छैन, बाटो खन्ने परिश्रमी पाखुरी छैन, बाँझो पल्टाउने बलशाली हात छैन । सब रित्ता छन् । मात्र एउटा आशाको झिल्को ।
म्यानपावरले कामदारलाई ठग्यो, भनेअनुसारको काम दिएन । विदेशमा नेपाली युवा दुर्घटनामा परी म¥यो, निस्सासियो, मेसिनमा बेरियो । वर्षौँ बित्दा पनि लास आइपुगेन । युवतीहरू बेचिए, हिंसाका शिकार भए । हरेक दिन दुई तीन वटा लासको बाकस आउँछ । यस्ता सपनाको फूल टिप्न जानेहरूको दुःखद शीर्षकले हरेक दिन पत्रिका भरिन्छ । त्यही सपनाको पूmल सजाउँछु भनेर बसेका उनका परिवार कति पीडा भयो होला ? बाबुआमाको थाँक्रो भाँचियो,श्रीमतीको सिन्दुर पुछियो, हाँसो गुम्यो, छोराछोरीको जून छुने आशाको भ¥याङ भाँचियो ।
देश अस्तव्यस्त छ । हातमा प्रमाणपत्र भएर के गर्नु काम छैन । कुनै सीप भएर के गर्नु ? गरिखान पनि दिँदैन । अनि बाध्यताको चङ्गुलमा फसेर आधुनिक दास बन्नैपर्छ, आपैmलाई बेचिनु पर्छ । योभन्दा ठूलो विडम्बना के हो ? मेरो देश विदेशीको लागि कामदार पूर्ति गर्ने खानी बनेको छ । रगत बेच्छ, पसिना बेच्छ, हात बेच्छ, खुट्टा बेच्छ, जवानी बेच्छ, यौवन बेच्छ, सबका सब बेच्छ ।
सात, छत्तीस, छयालीस, बैसट्ठी त्रिसट्ठी सालमा कसले हुँकार बोल्यो ? युवाले । देश परिवर्तनका संवाहक को हुन् ? युवा । माक्र्सले युवा हुँदा मानव मुक्तिको घोषणापत्र तयार गरे । युवा लेनिन, स्टालिनले सोभियत रुस बनाए, युवा आइन्स्टाइनले संसार हल्लाए । युवा माओले चीन बनाए, युवा चेले क्युवा मुक्त गरे । तर, हाम्रा युवाहरू जवानी बेचेर भविष्यको सपना साँच्दै छन् ।
घुम्ने कुर्सीमा बस्नेहरू गणतान्त्रिक राजसी ठाँटले बाँचिरहेका छन् । उनीहरू राजाको जीवन नक्कल गरिरहेछन् । एउटा राजा हटेर के भो, नयाँ महाराजाहरू जन्मिएका छन् । एउटा युवराज हटेर के भो ? दसौँ युवराजहरूको चुरीफुरी छ । युवालाई विदेश लखेटेर (बेचेर) शासन गर्नेहरू उनीहरूकै रगत पसिनामा डुबुल्की मारिरहेछन्, मिष्ठान्न भोजन गरिरहेका छन् । अनि आनन्दको निद्रा सुतिरहेका छन् । किन ? किनकि अब कुनै डर छैन । कुनै भय छैन । राजालाई घोडाबाट झार्ने युवाहरू सब विदेश छन् । अब उनीहरूलाई कसले झार्न सक्छ र ? अब उनीहरूको विरुद्धमा कसले सडक तताउन सक्छ र ? अब उनीहरूको विरुद्धमा कसले आगो ओकल्न सक्छ र ? सबका सब युवा विदेश (लाहुर) पसेपछि तिनकै रेमिटेन्स डकारेर बसेका बादशाहहरू दङ्ग छन् । उनीहरू अझै युवा बेच्ने धन्दा कुशलतापूर्वक सञ्चालन गर्दै छन् । संसार सामान उत्पादन गरेर बेच्छन् तर नेपाल बालक जन्माएर युवा बनाई तिनलाई विदेशमा बेच्छन् । दास युगको आधुनिक संस्करण । चेलीबेटी बेच्छन्, खाडी पठाउँछन्, बेपत्ता पार्छन् । देह व्यापारको नयाँ क्लोनिङ ।
साथी, चिन्ता लागेको छ । तिमीजस्ता युवा जोश सब विदेशमा भासिँदा अब देश कसले चलाउँछ ? अब नेपालमा कसले पसिना बगाउँछ ? जग्गा जमिन बाँझै छ । मलिलो माटोमा आधुनिक कङ्क्रिटका घरहरू ठडेका छन् । जग्गा दलालहरूको चुरीफुरी छ । सिंहदरबार, संसद भवन, बालुवाटार शीतलनिवास सबका सब मस्त निन्द्रामा छन् । युवालाई स्वदेशमै रोजगारी दिन नसक्नेहरू भए जतिका युवालाई विदेशमा लगेर बेच्नका लागि नयाँ नयाँ गन्तव्य खोज्दै छन् । देशलाई उँभो लाएर अगाडि बढ्न नसक्नेहरू तिम्रै श्रम पसिनाको कमाइले विदेशी वस्तुको बिलासिता किनिरहेका छन् । अनि देश सधँै घुमिरहेछ उल्टो दिशामा ।
प्यारो साथी । आऊ तिमी फर्केर आऊ । देशलाई तिम्रो खाँचो छ । सरकार नाङ्ले पसल थाप्दै मानव निर्यात गर्दै छ– अरबको तातो मरुभूमिमा, इजरायलको युद्धभूमिमा, इराकको मृत्युको कुवामा । देशलाई तिम्रै खाँचो छ । परिवर्तनका निम्ति आवाज उठाउनेको खाँचो छ । नव बादशाहलाई घोडाबाट खसाल्न सक्ने तिमी नै हौ । देशमा समृद्धिको सपना रोप्ने पनि तिमी नै हौ । त्यसैले आऊ । देशले तिमीलाई कुरिरहेको छ, वृद्धा आमाबुबा तिम्रो बाटो हेर्दै छन्, बालबच्चाहरू तिम्रो सहारा खोजिरहेका छन्, दिदीबहिनीहरू तिम्रो साथ खोजिरहेका छन् ।
उही तिम्रो साथी

Leave a Reply

Your email address will not be published. Required fields are marked *