भर्खरै :

भक्तपुर नगरपालिकाको काठ, इँटा र झिङ्गटी खरिद अनुदानसम्बन्धी कार्यविधि २०७५ः एक चर्चा

‘पुर्खाले सिर्जेको सम्पत्ति हाम्रो कला र संस्कृति’ भक्तपुर नगरपालिकाको नारा हो । निश्चय पनि भक्तपुर नगरपालिकाभित्र धेरै सम्पदाहरू छन् । यहाँको संस्कार, कला, चाडपर्व, चलन पनि हाम्रो सम्पदा हो । विदेशी पर्यटकहरू यहि कला, संस्कृति, भाषा, संस्कार, चाडपर्व, चलनलगायत मूर्त र अमूर्त सम्पदा हेर्न आउँछन् । ङातापोल, पचपन्न झ्याले दरबार, सुनको ढोका, वत्सला मन्दिर, दरबार स्क्वायर, सिद्धपोखरी, रानीपोखरी, भाज्या पोखरी, दत्तात्रय मन्दिर, टेराकोटा झ्याल, टोल–टोलमा रहेका पाटी, ढुङ्गेधारा, पोखरीहरू हाम्रा सम्पत्ति हुन् र धरोहर हुन् । धरोहर नै पर्यटकहरूको आकर्षणको केन्द्र भएको छ । भक्तपुर नगरपालिकाको प्रमुख आम्दानीका स्रोत पनि यही सम्पदाहरू नै हुन् । प्राचीन दरबारहरू पनि पर्यटकीय केन्द्र हुन् । कोरोना महामारीको कारणले केही हदसम्म पर्यटकहरू घटे पनि भक्तपुर नगरपालिकाको दीर्घकालीन आम्दानीको स्रोत पर्यटकहरू नै भएकोले हाम्रो कला, संस्कृति, चलन, चाडपर्व, संस्कार, सम्पदाको महत्व रहिरहने नै छ । त्यसैले युवा पिँढीले यसको संरक्षण र संवद्र्धनमा महत्वपूर्ण भूमिका निभाउनुपर्दछ ।
नेपालको संविधान, २०७२ को धारा ३२ ले भाषा र संस्कृतिको हक प्रदान गरेको छ । यसअनुसार प्रत्येक व्यक्ति र समुदायलाई आफ्नो भाषा प्रयोग गर्ने हक हुनेछ । त्यस्तै प्रत्येक व्यक्ति र समुदायलाई आफ्नो समुदायको सांस्कृतिक जीवनमा सहभागी हुन पाउने हक हुनेछ । नेपालमा बसोबास गर्ने प्रत्येक समुदायलाई आफ्नो भाषा, लिपि, संस्कृति, सांस्कृतिक सभ्यता र सम्पदाको संवद्र्धन र संरक्षण गर्ने हक हुनेछ । यस संवैधानिक हकले प्रत्येक नागरिक र समुदायलाई आफ्नो सभ्यता, संस्कृति र सम्पदा बचाउने हक दिएको छ । यो राम्रो बन्दोबस्त हो ।
नेपाल मजदुर किसान पार्टी केन्द्रीय निर्वाचन परिचालन समितिले प्रकाशित गरेको स्थानीय तहको निर्वाचन घोषणापत्र २०७४ मा ‘नगरको कला–संस्कृति र सम्पदा संरक्षण गरी पर्यटन उद्योगलाई प्रोत्साहित गर्ने तथा सांस्कृतिकरूपले महत्वपूर्ण र विश्व सम्पदा क्षेत्रका निजी घरहरू पुनःनिर्माण गर्न आवश्यक जनशक्ति तालिम दिने र निर्माण सामग्री सहुलियतमा उपलब्ध गराइने’ उल्लेख छ । नेपाल मजदुर किसान पार्टी स्थानीय तह निर्वाचन, भक्तपुर नगरपालिकाको घोषणापत्र २०७४ मा ‘भक्तपुर नगरलाई सांस्कृतिक नगर घोषणा गराउने’ उल्लेख छ । त्यस्तै त्यही घोषणापत्रमा ‘भक्तपुरलाई सफा, स्वच्छ सांस्कृतिक नगर, पर्यटकीय गन्तव्य र शिक्षाको केन्द्र बनाउने’ उल्लेख छ । ‘पुर्खाले सिर्जेको सम्पत्ति, हाम्रो कला र संस्कृति’ नारालाई सार्थक बनाउने र भक्तपुरको कला र संस्कृतिलाई व्यवसायीकरण गर्ने पनि उल्लेख छ । घोषणापत्रमा पुरानो नगर क्षेत्रको निजी घर पुनः निर्माणलाई आवश्यक निर्माण सामग्री खरिदमा आर्थिक सहयोग दिने पनि उल्लेख छ ।
नेपाल मजदुर किसान पार्टीले आफ्नो घोषणापत्रमार्फत आफ्ना जनप्रतिनिधिहरू निर्वाचित भएमा कला, संस्कृति र सम्पदालाई संरक्षण गर्ने स्पष्ट उल्लेख छ । नेपालको संविधानले पनि संस्कृति र सम्पदा बचाउने हकलाई प्राथमिकतामै राखेको देखिन्छ । नेपाल मजदुर किसान पार्टीका उम्मेदवारहरू भक्तपुर नगरपालिकामा शतप्रतिशत जितेको सर्वविदित्तै छ । पार्टीका जनप्रतिनिधिहरू घोषणापत्रमा उल्लेखित प्रतिबद्धताहरू पूरा गर्न क्रियाशील छन् । नेमकिपा र नेमकिपाका उम्मेदवारहरूले भक्तपुरलाई पुरानै ढाँचा कायम राखी सङ्ग्रहालयको रूपमा विकास गर्न प्रयासरत छ ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०२ ले दिएको अधिकार प्रयोग गरी भक्तपुर नगरपालिकाको तेस्रो नगरसभा २०७५ बाट काठ, इँटा र झिङ्गटी खरिद अनुदानसम्बन्धी कार्यविधि – २०७५ पारित गरेको थियो । भक्तपुर नगरपालिकाको भौतिक पूर्वाधार तथा निर्माण मापदण्डअनुसारको विश्व सम्पदा क्षेत्र तथा पुरानो नगर क्षेत्रमा परम्परागत शैलीका घर तथा भवन निर्माण गर्न नगरवासीहरूलाई प्रोत्साहनस्वरूप निर्माण गर्ने क्रममा गरिने काठ, इँटा र झिङ्गटी खरिदको लागि नगरपालिकाले अनुदान दिनेसम्बन्धी भनपाको २०७४ साउन १३ को नगर कार्यपालिकाको निर्णय कार्यान्वयनमा सरलता र सहजताका लागि भक्तपुर नगरपालिकाको तेस्रो नगर सभाले यो कार्यविधि बनाई लागू गरेको छ । घोषणापत्र कार्यान्वयनको लागि भक्तपुर नगरपालिकाले यो कार्यविधि कार्यान्वयनमा ल्याएको हो । घोषणापत्रमा नगर क्षेत्रको निजी घर पुनःनिर्माणलाई आवश्यक निर्माण सामग्री खरिदमा आर्थिक सहयोग गर्ने प्रतिबद्धता पूरा गर्न पनि यो कार्यविधि कार्यान्वयनमा ल्याएको हो । यस कार्यविधिको कार्यान्वयनले निश्चय नै भक्तपुर नगरलाई सांस्कृतिक नगर कायम गरिराख्न र पुर्खाले सिर्जेको सम्पत्ति, हाम्रो कला र संस्कृति भन्ने नारालाई कार्यान्वयन गर्न धेरै सहयोग पुग्दछ । पर्यटनको विकास र यहाँका जनताको क्रयशक्तिमा वृद्धि गर्न पनि धेरै सहयोग पुग्नेछ । भक्तपुर नगरपालिका सम्पदा पुनःनिर्माण र कला, संस्कृतिलाई मौलिकरूपमा कायम राख्न अरू स्थानीय पालिकाहरूको लागि नमुना नगरपालिकामा गनिएको छ ।
यस कार्यविधिको दफा १.१.२ ले भक्तपुर नगरपालिकाको भौतिक पूर्वाधार तथा निर्माण मापदण्डअनुसारको विश्व सम्पदा क्षेत्र र पुरानो नगर क्षेत्रमा मात्र यो कार्यविधि लागू हुने व्यवस्था गरेको छ । आव २०७४।०७५ मा नक्सा पास गरी र सोपछि निर्माण सम्पन्न प्रमाणपत्र पाउने निर्माणकर्ताले मात्र यो कार्यविधिअनुसार अनुदान माग गर्न पाउने व्यवस्था गरेको छ । यस कार्यविधिअनुसार अनुदान पाउनको लागि निवेदकले नागरिकता प्रमाणपत्रको प्रतिलिपि, जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि, पास नक्सासँग सम्बन्धित सम्पूर्ण कागजातको प्रतिलिपि, मालपोत बुझाएको रसिदको प्रतिलिपि, घरजग्गा कर चुक्ताप्रमाणपत्रको प्रतिलिपि, निर्माण सम्पन्न प्रमाणपत्रको प्रतिलिपि र सफाइ कर बुझाएको रसिदको प्रतिलिपिसहित दर्खास्त निवेदन भनपा नक्सा उपशाखामा पेश गर्नुपर्दछ । यसरी निवेदन पेश भएपछि नक्सा उपशाखा प्रमुखबाट मातहतका प्राविधिक कर्मचारीलाई आवश्यक कारबाहीका लागि तोकिनेछ । उक्त प्राविधिकले प्रतिवेदन र मूल्याङ्कन तयार गरी नक्सा शाखा प्रमुखसमक्ष पेश गर्नेछ । यसरी प्राप्त फाइलमा नक्सा शाखा प्रमुखले सिफारिस गरेपछि प्रमुखबाट स्वीकृत गरिने व्यवस्था गरेको छ ।
यस कार्यविधिको दफा १(५) ले भवन निर्माणको लागि मोहदातर्फ लाग्ने दाचि अप्पा, बुटा अप्पा र झ्याल ढोकाको लागि लाग्ने काठ, बरण्डातर्फ लाग्ने काठ, छाना र पाखाको लागि लाग्ने झिङ्गटी भक्तपुर नगरपालिकाको न्यूनतम दररेटअनुसार कार्य मूल्याङ्कन गरी सोको ३५ प्रतिशत बराबर अनुदान सहयोग दिने व्यवस्था गरेको छ । अनुदान प्राप्त गर्ने भवनको अनिवार्यरूपमा निर्माण सम्पन्न प्रमाणपत्र लिएको हुनपर्दछ । निर्माण सम्पन्न प्रमाणपत्र लिई हेरफेर गरेको अवस्थामा अनुदान दिइने छैन । भक्तपुर नगरपालिकाको भौतिक पूर्वाधार तथा निर्माण मापदण्डअनुसारको पुरानो नगर क्षेत्र र विश्व सम्पदा क्षेत्रमा निर्माण हुने घर भवनलाई मात्र अनुदान दिने व्यवस्था रहेको छ । संस्थागत भवन निर्माणको हकमा नगरपालिकाको नगर कार्यपालिकाको बैठकले गर्ने व्यवस्था छ । कसैले अनुदान लिई भवन निर्माण हेरफेर गरेको अवस्थामा नपाबाट दिइने सेवा सुविधा सम्पूर्ण रोकी अनुदान रकम लगत राखी असुलउपर एवं क्षतिपूर्तिसमेत भराई लिइने व्यवस्था पनि गरेको छ । हालसम्म यस निर्देशिकालाई टेकेर भक्तपुर नगरपालिकाले आर्थिक वर्ष ०७५।०७६ मा १२ जना घर धनीलाई रु. २१,५२,२२३ र आर्थिक वर्ष ०७६।०७७ मा ५ जनालाई रु. १४,४६,८६३ गरी रु. ३५,९९,०८६ आर्थिक अनुदान दिइसकेको छ ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *