भर्खरै :

बिहे र व्रतबन्धका विज्ञापन पनि दिने कि !

मृतकका परिवारप्रति साथीभाइ, छरछिमेकी, नाताकुटुम्ब र इस्टमित्रहरूले सान्त्वना दिनुपर्छ, सान्त्वना दिनु मनासिब कुरा हो । नेपाली समुदायमा मृतकको घरमा गएर सान्त्वना दिने चलन नै छ । पीडामा डुबिरहेका शोकाकुल परिवारलाई सान्त्वना दिएर उत्साहित गर्नुपर्छ, बगिरहेको आँसु पुछ्नुपर्छ । पीडा या चिन्ता भयो भनेर जहिल्यै चिन्तै चिन्तामा डुबिरहनु ठीक होइन । मनोविश्लेषक, मनोविज्ञानका शास्त्रीहरू मनोरोगले पेलेमा निको नहुने बताउँछन् । दुर्घटना हुँदा, घाइते हुँदा अनेक रोगको उपचार हुन्छ तर मानसिक रोग निको पार्न कठिन हुन्छ । यसकारणले पनि नेपाली समुदायको अन्य जनजातिमा झैँ नेवार समुदायमा पनि सान्त्वना दिन जाने चलन छ । अझ नेवार समुदायमा मरेको चौथो दिन लक्च (लोकाचार) भनी नाता कुटुम्बदेखि वरपरका र अन्य चिनेजानेका दाजुभाइ तथा साथीहरू मृतकको घर आँगनमा भेला हुने परम्परा नै छ ।
साथीभाइ तथा छरछिमेक र नाताकुटुम्बहरूको उक्त उपस्थिति देखेर मृतकका परिवारका सदस्यहरूमा हौसला बढ्छ, पीडा हट्छ र मन शान्त हुन्छ । यसरी नै मृतकको नाउँमा साथीभाइ, नाताकुटुम्ब तथा छरछिमेकहरूले फोटोसहित श्रद्धाञ्जली व्यक्त गर्ने या समवेदना दिने बानी सुरू भएको छ, यो सकारात्मक पक्ष हो । ‘मजदुर’ दैनिकमा झन्डै हरेक दिनजसो नै समवेदना दिइरहेको देखिन्छ । मृतकप्रति समवेदना दिने कामलाई निरन्तरता दिइरहनुपर्छ ।
जसरी मृतकप्रति श्रद्धाञ्जली दिने बानी बसेको छ त्यसरी नै कसैको विवाह हुँदा, व्रतबन्ध गर्दा, आफ्ना सन्तानको न्वारान गर्दा, अन्नप्राशन्न गर्दा या समारोहहरू गर्दा पनि पत्रिकामार्फत, जानकारी दिने काम भयो भने एकपन्थ दोकाज हुनेछ । यस कार्यमा पनि निरन्तरता दिने बानी बसाल्नुपर्छ । विवाह र व्रतबन्धको बेलामात्र होइन कसैले कुनै विषय या शिक्षामा डिग्री हासिल गर्दा, विज्ञ बन्दा, वैज्ञानिक बन्दा पनि पत्रिकामार्फत समाजमा जानकारी दिने बानी बसाल्नुपर्ने देखिन्छ । हो, अहिले कुनै सङ्घ संस्थामा, समितिको उच्च पदमा पुग्दा पनि बेलाबखत हार्दिक बधाई पत्रिकामा आएको देखिन्छ । यसले समाजका कुनै प्रतिष्ठित व्यक्तिहरू उच्च पदमा पुगेको जानकारी समाजले पाउनेछ । यस्ता क्षेत्रमा पनि बधाईका सन्देशहरू दिनेतर्फ समुदायका नागरिकहरूको ध्यान जानुपर्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *