भर्खरै :

ख्वप बहुप्राविधिक अध्ययन संस्थानमा अभिमुखीकरण

भक्तपुर, १५ मङ्सिर । भक्तपुर नपाबाट सञ्चालित ख्वप बहुप्राविधिक अध्ययन संस्थानमा शैक्षिक सत्र २०७७÷७८ मा सिभिल इन्जिनियरिङ विषय अध्ययनका लागि भर्ना भएका नवआगन्तुक विद्यार्थीहरूको अभिमुखीकरण कार्यक्रम भौतिक दुरी कायम गरी सोमबार भयो ।
कार्यक्रममा कलेज सञ्चालक समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले प्राविधिक शिक्षाको महŒवलाई मनन गर्दैै मुलुकमा प्राविधिक जनशक्तिको उत्पादन बढाउन यो विषयलाई प्राथमिकता दिइरहेको बताउनुभयो । प्राविधिक शिक्षाले विद्यार्थीको क्षमता अभिवृद्धि गर्नुका साथै रोजगारीको अवसर पनि सिर्जना गर्ने बताउँदै प्रमुख प्रजापतिले देशको योजनाबद्ध दिगो विकासको निम्ति प्राविधिक शिक्षाले महŒवपूर्ण भूमिका खेल्ने बताउनुभयो । प्राविधिक ज्ञानको सही सदुपयोगले देशको विकास निर्माणले तीव्रता पाउने बताउँदै उहाँले वर्तमान समयमा नैतिकवान र इमानदार नयाँ पुस्ताको आवश्यकता रहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाले अन्तर्राष्ट्रिय जगतमा प्रतिस्पर्धा गर्न सक्षम युवा जनशक्ति तयार गर्न ख्वप विश्वविद्यालय सञ्चालनको निम्ति आवश्यक तयारीमा जुटिरहेको बताउँदै उहाँले विद्यार्थीहरूलाई आफ्नो शैक्षिक योग्यताका साथसाथै व्यवहारिक र सैद्धान्तिक ज्ञानको एकीकृत शक्तिले सफल र अब्बल तुल्याउँछ भन्नुभयो ।
ख्वप बहुप्राविधिक अध्ययन संस्थान सञ्चालक समितिका सदस्य एवम् भनपा ९ नं. का वडाध्यक्ष रवीन्द्र ज्याख्वले नगरपालिकाद्वारा सञ्चालित कलेजहरूमा उच्च शिक्षा हासिल गर्न विभिन्न जिल्लाबाट विद्यार्थीहरू सहभागी हुनु सुखद पक्ष रहेको बताउँदै आफूमा भएको सीप तथा ज्ञान देश र समाजप्रति इमानदारीपूर्वक उपयोग गर्न मार्गनिर्देश गर्नुभयो ।
भक्तपुर नपा वडा नं. ८ का वडाध्यक्ष महेन्द्र खायमलीले कामदार वर्गका विद्यार्थीहरूलाई उच्च शिक्षा प्रदान गर्ने उत्कृष्ट थलोको रुपमा स्थापित भक्तपुर नपाद्वारा सञ्चालित कलेजहरूले स्थापनाकालदेखि भक्तपुरको शैक्षिक, सामाजिक, शैक्षिक र सांस्कृतिक स्तर उकास्न मद्दत पु¥याइरहेको छ भन्नुभयो ।
भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले स्थापनाकालदेखि स्थानीय सरकारको अभ्यास गरिरहेको भक्तपुर नपाले देशभरिका स्थानीय तहहरूको लागि शिक्षा, क्षेत्र तथा विकास निर्माणलगायतको क्षेत्रमा मोडलको रूपमा कार्य गरिरहेको र ख्वप विश्वविद्यालय स्थापनाको लागि आवश्यक पूर्वाधार विकासको क्रममा रहेको बताउनुभयो ।
ख्वप बहुप्राविधिक अध्ययन संस्थानका प्रमुख रत्नसुन्दर लासिवाले संस्थान स्थापनाको उद्देश्यबारे चर्चा गर्दै प्रतिस्पर्धाको युगमा विद्यार्थीहरूलाई नयाँ नयाँ खोज र अनुसन्धानमूलक शिक्षा प्रदान गर्न संस्थान प्रयत्नशील रहेको बताउनुभयो ।
कार्यक्रममा सिभिल विभागका विभागीय प्रमुख रमेश सुवालले प्राविधिक शिक्षा क्षेत्रमा संस्थानले गरिरहेको योगदानबारे प्रस्ट पार्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *