भर्खरै :

कीर्तिपुरमा एङ्गेल्सको सम्झना

काठमाडौँ, १७ मंसिर । सर्वहारा वर्गका महान् गुरु एङ्गेल्सको दुई शतवार्षिक जन्मदिवसको अवसरमा मङ्गलबार नेपाल क्रान्तिकारी शिक्षक सङ्घ, कीर्तिपुर नगर समितिको आयोजनामा एक अन्तरक्रिया भयो ।
मङ्गलबार नै प्रकाशित ‘श्रमिक’ साप्ताहिकमा एङ्गेल्स सम्बन्धित तथा अन्य विभिन्न आलेखबारे अनलाइन अन्तरक्रिया गरिएको थियो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईले माक्र्सवाद भन्नु नै माक्र्स र एङ्गेल्सको शिक्षा भएको बताउनुभयो । उहाँले माक्र्सवाद सशस्त्र सङ्घर्षको सिद्धान्त हो भन्दै मजदुर वर्गले राज्यसत्ता कब्जा गरी सर्वहारा वर्गको अधिनायकत्व कायम गर्ने सिद्धान्त प्रतिपादन गर्न एङ्गेल्सको भूमिका अत्यन्तै महत्वपूर्ण भएको धारणा राख्नुभयो ।
उहाँले संसार चिन्ने र व्याख्या गर्नेमात्र होइन, विश्वलाई बदल्ने कामको निर्देशक सिद्धान्त नै माक्र्सवाद हो भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले भारतले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरिआएको हुँदा नेमकिपाले भारतीय विस्तारविरुद्ध सङ्घर्ष गर्दै आएको बताउनुभयो । उहाँले चीन–नेपाल दुईपक्षीय सम्बन्धमा आपसी सैनिक सहकार्यको सन्दर्भमा भारतका सञ्चारमाध्यमले अतिरञ्जना फैलाएको धारणा राख्नुभयो ।
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य नारायणबहादुर दुवालले एङ्गेल्सको जीवनका सङ्घर्षबाट सिक्नुपर्ने भन्दै माक्र्स र एङ्गेल्सको मित्रता अनुपम भएको चर्चा गर्नुभयो ।
नेक्राशिसङ्घका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिले राज्य शिक्षाको जिम्मेवारीबाट पछाडि हटेको धारणा राख्नुभयो । उहाँले देशभर ६० हजारभन्दा बढी शिक्षक दरबन्दी अपुग भएको तर भएको दरबन्दी पूर्ति गर्न सरकारले अनुमति नदिएको विचार राख्नुभयो ।
आयोजक समितिका अध्यक्ष रामचन्द्र महर्जनको सभापतित्वमा भएको कार्यक्रममा शिक्षकहरू श्रीकुमार महर्जन, मेरिना महर्जन, विश्वक डङ्गोल, मनहेरा श्रेष्ठ, जितबहादुर महर्जन, सुनयना महर्जनलगायतले बोल्नुभएको थियो ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *