विश्वका धेरै भागमा डियगो म्याराडोनालाई फूटबलका एक प्रतिभाशाली खेलाडीका रूपमा मात्र याद गरिनेछ तर ल्याटिन अमेरिकामा ती अर्जेन्टिनीलाई प्रजातन्त्र र सामाजिक न्यायका लागि लड्ने एक अभियन्ताका रूपमा पनि याद गरिनेछ ।
सन् २०१४ मा ब्राजिलको साउपाउलो सहरमा फिफा विश्वकपको उद्घाटन समारोह भइरहेको बेला डियगो म्याराडोना केही पत्रकारहरूसँगै क्याविनमा बसिरहेका थिए । जब ब्राजिलका तत्कालीन राष्ट्रपति डिल्मा रुसेफ सम्बोधनका लागि उठिन्, त्यहाँ अति महँगो बक्स मायकहरूको प्रयोग गरी अत्यन्त होहल्ला मच्चाइयो । ती सुकिलामुकिला मानिस के भनेर चिच्याइरहेका हुन् भनी थाहा नपाएर म्याराडोनाले एक ब्राजिलियाली पत्रकारतर्फ फर्की सहयोग मागे । ब्राजिलका ती धनी मानिसहरू राष्ट्रपतिलाई हेला गर्ने उद्देश्यले अनेक गालीका साथै उहाँको लैङ्गिकता (महिला) को अपमान हुने गाली गरिरहेको थाहा पाएर म्याराडोनाले त्यही पत्रकार भेला गरेर त्यस होहल्लालाई – “यो वाहियात हो । मात्र वाहियात”, भनी निन्दा गरेका थिए । त्यसको केही महिनापछि जब दक्षिणपन्थीहरूको बहुमत पुगेको संसद्ले ब्राजिलका ती प्रथम महिला राष्ट्रपतिमाथि बिनाआधार महाअभियोग प्रस्ताव पारित ग¥यो, म्याराडोनाले रुसेफलाई फोन गरी – “मेरो हृदय (समर्थन) तपाईँको पक्षमा छ”, भनी सान्त्वना दिएका थिए ।
तिनै न्यायप्रिय म्याराडोनाको २५ नोभेम्बर २०२० बुधबारका दिन निधन भएपछि उनीप्रति श्रद्धाञ्जली प्रकट गर्ने क्रममा रुसेफले आफ्नो आँखा ओभानो राख्न सकिनन् । ती नेतृले भनिन् – “म्याराडोनाको निधन फूटबलप्रेमीहरूका लागि ठूलो क्षति हो । त्यसभन्दा बढी उनले जुन विचार बोके र जुन जीवनशैली बाँचे त्यसलाई आदर्श मान्नेहरूको लागि ठूलोे वेदना हो । ती अर्जेन्टिनी (म्याराडोना) लाई ल्याटिन अमेरिकी जनताको प्रजातान्त्रिक अधिकार रक्षाका लागि, ल्याटिन अमेरिका र क्यारिबियाली देशहरूको सार्वभौमसत्ता, प्रजातन्त्र र सामाजिक न्यायको पक्षमा उठाउको आवाजका लागि पनि सम्मान गरिनुपर्छ ।”

फिडेलसँग म्याराडोना
उनी ६० वर्ष पुगेको दिन अर्जेन्टिनाको समाचारपत्र एल क्लारिनलाई अक्टोबर ३० का दिन दिएको आफ्नो अन्तिम अन्तर्वार्तामा म्याराडोनाले आफ्नो निधनपछि पनि आफूलाई माया गरिने छ भन्ने कुरामा आश्चर्य प्रकट गरेका थिए । अहिले जब उनको निधनको खबर फैलियो सारा ल्याटिन अमेरिकी क्षेत्र शोकको सागरमा डुब्यो । ब्युनसआयर्सदेखि हवानासम्म, साउपाउलोदेखि सान्टियागो (चिली) सम्म टेलिभिजनका समाचार वाचकहरू र फूटबलका विश्लेषकहरू समेत उनलाई सम्झेर आँसु चुहाइरहेका छन् । विश्वका धेरै भागमा डियगो म्याराडोनालाई – ‘शताब्दीकै गोल’ गरेका फूटबलका एक प्रतिभाशाली खेलाडीका रूपमा मात्र सम्झिइनेछ वा उनको बिगारिएको बानी र व्यवहारको चर्चा गरिनेछ तर ल्याटिन अमेरिकामा उनलाई फरक ढङ्गले याद गरिनेछ । विश्वको यस भागमा डियगो (यतातिर उनको पहिलो नाम नै प्रेमपूर्वक लिइन्छ ।) लाई ‘फूटबलका भगवान’का रूपमा श्रद्धा गरिन्छ भने प्रजातन्त्र, सामाजिक र राजनीतिक न्यायका लागि लड्ने एक गम्भीर अभियन्ताका रूपमा पनि याद गरिनेछ ।
म्याराडोनाले धेरै समय अगाडि नै शानदार र सुन्दर फूटबल खेल्न छोडिसकेका थिए । तर, उनी कहिल्यै मानिसहरूको कल्पना र चासोको दायराभन्दा बाहिर गएनन् । आफ्नो अन्तिम अन्तर्वार्तामा पनि उनी आफ्नो गिर्दो स्वास्थ्यभन्दा आफ्नो देशमा विशेषतः गरिबहरूको माझमा फैलिएको कोभिड–१९ को महामारीलाई लिएर बढी चिन्तित थिए । उनले भनेका थिए, “म हाम्रो राष्ट्रपति (अल्वर्टो फर्नान्डेज) माथि विश्वास गर्छु । उहाँले यो अवस्था धेरै बिग्रिन नदिई सम्हाल्नुहुनेछ । म एकदम दुःख महसुस गर्छु जब खानेकुरा नपाएका केटाकेटी देख्छु । भोक के हो र भोकले कहाँसम्म पु¥याउँछ मलाई थाहा छ । बिना खानेकुरा कैयौँ दिन बिताएको अनुभव मेरो पनि छ । मेरो इच्छा भनेको अर्जेन्टिनी र विश्वकै जनता खुशी भएको, काम पाएर हरेक दिन खान पाएको हेर्नु हो ।”
बुधबारका दिन दक्षिण अमेरिकाको त्यो देश गहिरो दुःखको सागरमा डुब्यो र त्यहाँका सडकहरूमा शोकाकुलहरूको नटुङ्गिने लामले गर्दा सवारी जाम भयो । अनि, सोही दिन अर्जेन्टिनाका राष्ट्रपति फर्नान्डेजले राष्ट्रलाई सम्बोधन गर्ने क्रममा भने – “तिमीले हामीलाई विश्वकै उच्च स्थानमा पु¥यायौ । त्यसले हामीलाई अत्यन्तै खुशी बनायो । त्यो खुशी सबैभन्दा ठूलो खुशी थियो । तिमी हुनुको लागि नै धन्यवाद डियगो । हामी जीवनभर र सदासर्वदासम्म तिमीलाई सम्झिरहनेछौँ ।”
उपनिवेशीकरण र दासताको रगतले भिजेको ल्याटिन अमेरिकामा फूटबललाई धर्मभन्दा बढी गम्भीररूपमा लिने गरिन्छ । फूटबलका खेलहरू १९ औँ शताब्दीमा आएर गरिबहरूका लागि गरिबीबाट मुक्त हुने ‘टिकट’ बन्यो । त्यसले कैयौँ नयाँ पुस्तालाई आशा देखायो, विशेषगरी जो मूलधारबाट विपरीत किनारामा (गरिबी र तिरष्कारमा) जन्मेका हुन्छन् । आफ्नो खेल र अभिव्यक्तिको माध्यमले म्याराडोनाले साँच्चिकै सामाजिक तहमा सबैभन्दा तल्लो तहमा रहेकाहरूको प्रतिनिधित्व गर्थे ।

राष्ट्रपति नेश्चर क्रिश्चनसँग म्याराडोना
अर्जेन्टिनाको राजधानी ब्युनसआयर्सको काँठमा एक झुपड बस्तीमा जन्मेहुर्केका म्याराडोनाले नौ वर्षकै उमेरमा फूटबललाई आफ्नो लतका रूपमा थालेका थिए । उनले १६ वर्षकै उमेरमा अर्जेन्टिनाको प्रतिनिधित्व गर्दै खैल्न सुरु गरेका थिए । बाँकी कुरा (पुँजीवादीहरूका अनुसार) इतिहास मात्र हो । तर, उनी कहाँबाट आए त्यसलाई कहिल्यै नबिर्सौं ¤ त्यसलाई न उनले नै बिर्से तर उनी कहिल्यै पछाडि फर्केर अल्मलिएनन् । उनी गरिवतम् वर्गबाट राष्ट्रिय खेलाडी, अन्तर्राष्ट्रिय ख्याती र स्टारडमसम्म पुगे । आफूले खेलाडी जीवनबाट सन्यास लिइसकेपछि म्याराडोना सामाजिक र राजनीतिक अभियानमा सक्रिय भए । उनले कहिल्यै आफ्नो शब्द खेर फालेनन्, आफ्ना मित्रहरूको (सही पक्षको) प्रशंसा गर्नमा र शत्रुहरूको (तानाशाह र जनविरोधीहरूको) खेदो खन्नमा लगाए । आफ्नो ५० औँ जन्मदिनको दुईदिन अगाडि उनी अर्जेन्टिनाका वामपन्थी राष्ट्रपति नेस्टर क्रिस्चनको अन्तिम संस्कारमा सामेल भए, जससित उनले एक महिनाअगाडि मात्र भेटघाट गरेका थिए । त्यस समयमा उनले भनेका थिए – “उहाँ एक ग्लाडियटर (दासबाट उठेर वीरयोद्धा बनेका) हुनुहुन्थ्यो । उहाँले चे ग्वेभाराबाट धेरै कुरा सिक्नुभयो । चे ग्वेभारा मेरो पनि आदर्श हुन् ।”
म्याराडोनाले आफ्नो हृष्टपुष्ट दाहिने पाखुरामा चेग्वेभाराको टाटु खोपाएको कमैले बिर्सेका होलान् । उनले आफ्नो बायाँ खुट्टाको मांशपेशीमा क्युवाली क्रान्तिका नेता फिडेल क्यास्ट्रोको टाटु पनि खोपाएका छन् । तर, उनले कहिल्यै यी ल्याटिन अमेरिकाका आदर्शहरूलाई फेशनमात्र बनाएनन् । क्युवाको पटक – पटक यात्रा गरेका म्याराडोनाले फिडेल क्यास्ट्रोसित गहिरो व्यक्तिगत र राजनीतिक सम्बन्ध विकास गरेका थिए । आफूलाई बरोबर सुझाव दिएका, क्युवाको ढोका खुला गरेका र उपचारसमेत गरिदिएका हुनाले क्यास्ट्रोलाई उनी आफ्नो दोस्रो पिता भन्ने गर्थे । उनीहरूको मित्रता सन् १९८७ मा सुरु भयो जब विश्वकप जितेको एक वर्षपछि नै म्याराडोना पहिलोपटक त्यस टापु देशको यात्रामा गए । पछि इटालीमा रहँदै लागूपदार्थको नशामा परेपछि केही भएमा दोषको भारी थाम्न नसकिने देखी उनको उपचारका लागि अर्जेन्टिनाका अस्पताल र क्लिनिकहरू तयार भएनन् । उनी झन् निराश भए । त्यस्तो अवस्थामा फिडेल क्यास्ट्रोले हृदयदेखि नै क्युवाको ढोका खुला गरे र उनको सम्पूर्ण उपचार पनि गरिदिए ।
क्यास्ट्रोकै मार्गनिर्देशनमा म्याराडोनाले फूटबललाई भन्दा राजनीतिक र सामाजिक न्यायलाई महत्व दिई बढी मुखरित हुन थाले । उनले सन् १९९८ मा भेनेजुयलामा ह्युगो चाभेजको राष्ट्रपतीय उम्मेदवारीदेखि सुरु गरे र जब बढीभन्दा बढी दक्षिण अमेरिकी देशहरू वामपन्थतिर उन्मुख हुन थाले, तिनीहरूको पक्षमा बोल्न म्याराडोना व्यस्त हुन थाले । उनले एकपछि अर्को देशका निर्वाचन अभियानहरूमा समर्थन गर्नेदेखि सामाजिक न्यायका बारेमा पनि बोल्न थाले । नोभेम्बर २००५ मा अर्जेन्टिनाकै मारडेला प्लाटामा संरा अमेरिकाको निर्देशनमा भएको पुँजीवादी सरकारहरूको अमेरिकी शिखर सम्मेलनको जवाफमा भएको अर्को हाम्रो अमेरिकाको सम्मेलनमा भेनेजुयलाका राष्ट्रपति ह्युगो चाभेज र बोलिभियाका राष्ट्रपति इभो मोरालेससँगै तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यु बुशले लादेको अमेरिकी खुला व्यापार क्षेत्र सम्झौता (एफटीएए) को विरोधमा उभिए । एफटीएएले ल्याटिन अमेरिकी देशका कम्पनीहरूले कच्चा मालवस्तु मात्र उत्पादन गर्ने र अमेरिकी कम्पनीहरूलाई बेच्ने तथा अमेरिकी कम्पनीहरूसित तयारी मालवस्तु प्राथमिकता दिएर किन्नुपर्ने प्रावधान छ । त्यतिखेर उनी त्यस क्षेत्रमा संरा अमेरिकी मनपरीतन्त्र रोक्ने अभियानका एक बलिया आदर्श व्यक्तित्व बनेका थिए । उनको विरोधलाई रोक्न अमेरिकी सरकारले राखेको प्रस्तावको जवाफ दिँदै उनले भनेका थिए – “यस्तो सम्झौता असम्भव छ किनभने म पूर्णतयाः वामपन्थी हुँ ।”
तुलनात्मकरूपमा दक्षिण अमेरिकाले जति अरू कुनै महादेशले पनि फूटबलका प्रतिभाहरू जन्माउन सकेनन् । ती प्रतिभामध्ये अधिकांशको त्यस्तै जीवनकथा र वियोगान्तहरू छन् ः गरिबीमा जन्मेका, स–सानो नगरबाट खेलका तौरतरिका सिकेका, राष्ट्रिय रङ्गमा रङ्गिएका र चम्किएका, पछि युरोपेली क्लबहरूसित दसौँलाख डलरमा प्रतिबन्धित भएका र आफ्नो खुट्टा थकित भएपछि फूटबलको संस्थापनमा कुनै ठाउँ खोजिरहेका । तर, म्याराडोना त्यस्ता थिएनन् । उनले बरु खेल नै परित्याग गरे । तर, फिफाभित्रको विसङ्गगतिको विरोध गर्न र फिफालाई माफिया भन्न समेत बाँकी राखेनन् । धेरै अघिदेखि जरा गाडेर रहेको फिफाभित्रको प्रणालीगत भ्रष्टाचार २०१५ मा उदाङ्गो भयो । फूटबलका अरू महान् खेलाडीहरू पेले र जीकोले फूटबल र राजनीतिका संस्थापनविरुद्ध चुनौती त के कहिल्यै केही बोलेनन् तर म्याराडोनाले निरन्तर रूपमा खेलाडी र खेल क्षेत्रका कामदारहरूको हितको कुरा उठाउन छोडेनन् । उनले नाफामुखी क्लबहरूमा र खेलकुद सङ्घहरूमा खेलाडीहरूमाथि र कामदारहरूको हितमाथिको नियन्त्रणको पनि खुलारूपमै विरोध गरे । उरुग्वेका विख्यात लेखक इडुआर्दो गिलानोका अनुसार म्याराडोनाको आवाजले विश्वव्यापी रूपमा सत्ताहरूमाथि असजिलो प्रश्न उठाइदिएको थियो ।
हालैका वर्षहरूमा ब्राजिल, इक्वेडर, बोलिभियालगायत दक्षिण अमेरिकाका वामपन्थी सरकारहरू दक्षिणपन्थी राजनीतिद्वारा अपहरणमा पर्न थालेपछि म्याराडोनाले वामपन्थीहरूको रक्षा र दक्षिणपन्थीहरूमाथि आक्रमण गर्ने अवसर गुमाएनन् । उनको आफ्नै देश अर्जेन्टिनामा दक्षिणपन्थी नेता माउरिसियो म्याक्रीले नवउदारवादी नीति लागु गरे, जसबाट गरिब जनताको जीवनमा निकै नराम्रो असर पा¥यो । म्याराडोनाले कैयौँ पटक सञ्चारमाध्यम र सामाजिक सञ्जालहरूमा दक्षिणपन्थी नेताहरूसित टक्कर लिए र वामपन्थी आवाज मुखरित गरिरहे । गत वर्ष अल्वर्टो फर्नान्डेजसित चुनाव हारेका पूर्वराष्ट्रपति म्याक्रीको दोष केलाउँदै म्याराडोनाले भनेका थिए – “उनको (म्याक्रीको) निर्णयले पूरै दुई पुस्ताका अर्जेन्टिनीहरूको ज्यान लियो ।”
म्याराडोनाले आफूलाई अर्जेन्टिनामा मात्र सीमित गरेनन् । उनले कैयौँ पटक ब्राजिलको यात्रा गरे र ‘अपरेसन कार वास’ को माध्यमले त्यहाँका पूर्व वामपन्थी राष्ट्रपति लुला दा सिल्भामाथि लादिएका राजनीतिक र कानुनी जालोहरूका विरोधमा तथा नेता लुलाको पक्षमा बोले । बुधबार म्याराडोनाको निधनमा शोकाकुल हुनेमध्ये पूर्वराष्ट्रपति लुला पनि एक थिए । उनले भने – “डियगो अर्मान्डो म्याराडोना अर्जेन्टिनाका मात्र नभई पूरै विश्व फूटबलका एक हस्ती हुनुहुन्थ्यो । उहाँसित अद्वितीय प्रतिभा र व्यक्तित्व थियो । उहाँले आफ्नो बुद्धि र विवेक खेल क्षेत्रमा मात्र सीमित गर्नुभएन बरु ल्याटिन अमेरिकी देशहरूको सार्मभौमसत्ताको रक्षा र युग परिवर्तनका लागि लगाउनुभयो । खेल क्षेत्रमा म्याराडोना ब्राजिलियाली फूटबल टीमले सामना गर्ने गरेको एक महान् प्रतिद्वन्द्वी हुनुहुन्थ्यो तर खेल मैदानबाहिर उहाँ ब्राजिलको एक महान् मित्र हुनुहुन्थ्यो । ब्राजिलका जनताको हितको उद्देश्यका लागि भएका आन्दोलनप्रतिको ऐक्यबद्धताका लागि म उहाँलाई धन्यवादमात्र भन्न सक्छु । म्याराडोना सदा स्मरणीय रहनुहुनेछ !” सन् २०१४ को फिफा विश्वकप उद्घाटन समारोहमा राष्ट्रपति डिल्मा रुसेफमाथि त्यहाँका दक्षिणपन्थीहरूले गरेको गालीगलौजलाई म्याराडोनाले सहन सकेनन् । उनले आफ्नो राजनीतिक दृष्टिकोण कहिल्यै लुकाएनन् । उनी ल्याटिन अमेरिकाका वामपन्थीहरूलाई आफ्नो मित्रका रूपमा लिन्थे । उनले एक पटक भनेका थिए – “जसरी फिडेल क्यास्ट्रो र लुलाजस्ता अरू कोही छैनन् त्यसरी नै चाभेजजस्तो अरू कोही छैनन् । उनीहरू ल्याटिन अमेरिकाका अद्वितीय धर्तीपुत्रहरू हुन् ।”
तर, कस्तो संयोग डियगो म्याराडोना पनि आफ्ना आदर्श र महान् मित्र फिडेल क्यास्ट्रो संसारबाट बिदा भएकै दिन अर्थात् नोभेम्बर २५ मा संसारबाट बिदा भए ।
विश्वले उनको खेल र खुला विचारका लागि म्याराडोनालाई सम्झिरहनेछ । ल्याटिन अमेरिकाले डियगोलाई मैदानभित्र र बाहिर उनको आशा र प्रेरणाका लागि सम्झिरहनेछ ।
अनुवाद: प्रकाश
Leave a Reply