भर्खरै :

२० प्रतिशत जनतालाई कोभिड–१९ विरूद्धको खोप

काठमाडौँ, २० मङ्सिर । सरकारले कोभिड–१९ विरूद्धको खोप २० प्रतिशत नागरिकलाई पुग्ने गरी ल्याउने भएको छ । विभिन्न देशमा अन्तिम परीक्षण भइरहेको खोप कुल जनसङ्ख्याको २० प्रतिशतलाई पुग्ने गरी ल्याउने तयारी गरिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप ल्याउनदेखि लगाउनसम्मको तयारी गर्नका लागि विभिन्न ८ उपसमिति बनाएको छ । मन्त्रालयले विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ), ‘गाभी र सेपी’ नामक तीन सङ्गठनको ‘कोभ्याक्स सुविधा’ नामक संयन्त्रअन्तर्गत सहुलियत दरमा २० प्रतिशत जनसङ्ख्यालाई पुग्ने खोप ल्याउन थालेको बालबालिका तथा खोप सेवा शाखाका प्रमुख डा. झलक शर्मा गौतमले जानकारी दिनुभयो ।
उहाँले अझै खोप परीक्षणकै क्रममा रहेकाले कुन खोप ल्याउने भन्ने निश्चित भइनसकेको बताउनुभयो । उहाँले सुरूमा २० प्रतिशत जनतालाई खोप ल्याएपछि बिस्तारै सबैलाई पुग्ने गरी खोप ल्याइने जानकारी दिनुभयो । कोभ्याक्सअन्तर्गत आउने खोप नेपाललाई निःशुल्क प्रदान हुनेछ । गरिब तथा कम आय भएका मुलुकलाई कोभ्याक्स सुविधाअन्तर्गत खोप निःशुल्क प्रदान गरिनेछ ।
“खोप अझै तेस्रो चरणको परीक्षणमा रहेकोले कुन खोप ल्याउने भन्ने निश्चित छैन । खोपको अन्तिम परीक्षण सफल भएपछि खोप ल्याइनेछ,” उहाँले भन्नुभयो ।
प्रमुख डा. शर्मा गौतमका अनुसार फाइजर एन्ड बायोएनटेक कम्पनी (रसिया), मोडेर्ना (अमेरिका), ग्यामेलिया (रसिया) र अक्सफोर्ड एक्ट्राजेनिका (बेलायत) कम्पनीका खोप अहिले परीक्षणको क्रममा रहेकोले तिनीहरूमध्ये एउटा कम्पनीको खोप स्वदेशमा ल्याइनेछ । खोप उत्पादन गर्ने मुलुकमा दर्ता भइसकेपछि डब्लूएचओमा दर्ता र त्यसपछि नेपालको औषधि व्यवस्था विभागमा खोप दर्ता हुनेछ ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहको संयोजकत्वमा खोप सचिवालय, तथा मन्त्रालयको प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीको संयोजकत्वमा खोप कोष सचिवालय गठन गरेको छ ।
मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले सरकारले खोप ल्याउने तयारीका साथ काम गरिरहेको जानकारी दिनुभयो । उहाँका अनुसार खोपका लागि आवश्यक रकम, खोप ल्याइसकेपछि भण्डारण, खोप सुरूमा कसकसलाई दिने, खोप कसरी दिने भन्ने स्वास्थ्यकर्मीलाई तालिमजस्ता काम भइरहेका छन् ।
उहाँले खोप ल्याउनेका लागि विभिन्न कूटनीतिक नियोगसँग पनि छलफल भइरहेको जानकारी दिनुभयो । “खोपको अन्तिम परीक्षणपछि हामी नेपालमा खोप ल्याउने गरी तयारी गरिरहेका छौँ”, उहाँले भन्नुभयो । विश्वमा उत्पादन भएका खोप अहिले तेस्रो चरणमा रहेका छन् । ती खोपको अन्तिम परीक्षण हुन बाँकी नै रहेको छ । नेपालमा सुरूमा खोप दीर्घरोगी वृद्धवृद्धा, स्वास्थ्यकर्मी, अग्रपङ्क्तिमा काम गर्ने कर्मचारीलाई उपलब्ध गराइनेछ ।
नेपालमा अहिलेसम्म दुई लाख ३८ हजार ८६१ जनामा कोरोना सङ्मण देखिएको छ । यस्तै दुई लाख २१ हजार ८४७ निको भएका र एक हजार ५६७ को निधन भइसकेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *