भर्खरै :

कोभिडको खोपमा राष्ट्रवादी हानिकारक, रुसमा सुरु भयो खोप अभियान

काठमाडौँ, २० मङ्सिर । स्वास्थ्यविद्हरूले राजनीतिक सङ्कीर्णताले कोभिड–१९ महामारी फैलिएको गम्भीर समयमा जनताको मनोबल उकास्ने प्रयासमा नकारात्मक प्रभाव पार्न सक्ने बताएका छन् ।
बेलायतको यूसीएलको फर्मास्युटिकल र जनस्वास्थ्य नीतिका वरिष्ठ प्राध्यापक डेभिड टेलरले कोभिड–१९ खोपको विषयमा कसैले पनि राष्ट्रवादी बन्न नहुने बताएका छन् । उनले खोपको विषयमा हुनसक्ने ‘घातक प्रतिस्पर्धा’प्रति पनि सजग हुनुपर्ने बताए । बरू संसारभरका जनताले अहिलेसम्म यो क्षेत्रमा हासिल गरेका उपलब्धिबारे कदर गर्नुपर्ने बताए ।
“विभिन्न थरी खोपका विशेषताबारे तुलना गर्नु ठीक हो । तर आपसमा सहकार्यको सट्टा एकअर्कालाई हिलोछ्याप्ने काम अनपेक्षित र विवेकहीन हुनेछ”, टेलरले भने ।
बेलायतको पीफीजर–बायोएनटेक कम्पनीले तयार गरेको भन्दा सस्तोमा बेलायतकै फर्मास्युटिकल कम्पनी अस्ट्राजेनेकाले अक्सफोर्ड विश्वविद्यालयसँग मिलेर सस्तो मूल्यमा अर्को खोप उत्पादन गरेको छ । बायोएनटेकले प्रतिडोज खोपको मूल्य पन्ध्र अमेरिकी डलर पर्ने बताएको छ भने अस्ट्राजेनेकाको खोप प्रतिडोज ४ अमेरिकी डलर पर्ने बताइएको छ । अस्ट्राजेनेकाको खोप विशेषतः संसारका गरिब देशको लागि उपयोगी हुनसक्ने बताइएको छ ।
अस्ट्राजेनेकाको खोप सामान्य रेफ्रिजेरेटरमा भण्डारण गर्न सकिन्छ भने पिफिजर–बायोएनटेकको खोप भण्डारण गर्न –७० डिग्री सेल्सलको वातावरण आवश्यक पर्ने बताइएको छ ।
यसैबीच लन्डनको स्वास्थ्य संस्था वेलकम ट्रस्टका खोप कार्यक्रम प्रमुख चार्ल वेलरले संसारलाई कोभिड–१९ बाट जोगाउन खोपभन्दा पनि महत्वपूर्ण खोपाउने कार्यक्रम आवश्यक हुने बताएकी छिन् ।
रूसले उच्च जोखिममा काम गर्ने मजदुरहरूलाई शनिबारबाट कोभिड–१९ को खोप लगाउने अभियान थालेको छ । मस्को सहरमा स्थापना भएका ७० वटा विशेष क्लिनिकमा स्पुटनिक पाँचौँ नामको रूसले नै बनाएको खोप खोपाइएको हो । रूसमा हाललाई सो खोप चिकित्सक, स्वास्थ्यकर्मी, शिक्षक र सामाजिक कार्यकर्तालाई खोपाइएको छ । उनीहरूलाई रूस सरकारले उच्च जोखिममा काम गर्ने समुदायमा समावेश गरेको छ । सो खोपले बेलायतको अक्सफोर्ड–अस्ट्राजेनेकाले तयार गरेको खोपले जस्तै काम गर्ने बताइएको छ । सो खोप २१ दिनको अन्तरालमा दुई डोज खोप लगाइनेछ ।
मस्कोमा खोप लगाउन गएका मानिसहरूको सुरूका दस मिनेट सामान्य स्वास्थ्य परीक्षण गरिएको थियो । खोप–१८ डिग्री सेल्सलमा राखिएको हुनाले त्यसपछिको पन्ध्र मिनेट खोपको तयारीमा लगाइएको थियो । खोप लगाएको आधा घण्टा भने खोपाएको व्यक्तिलाई निगरानीमा राखिएको थियो ।
रूसी अधिकारीहरूका अनुसार खोप लगाएको ४२ दिनपछि मात्र खोपाएको व्यक्तिमा पूर्ण प्रतिरोधी क्षमताको विकास हुन्छ ।
पछिल्ला दुई सातामा विशेष स्वास्थ्य अवस्था भएका, गर्भवती महिला र अन्य श्वास प्रश्वाससम्बन्धी व्यक्तिलाई खोप लगाइएको थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *