चुनावी सफलता
विभिन्न चरणमा निर्वाचन सम्पन्न भयो । चुनावको मुखैमा फेब्रुअरी २७ मा मैले कोलकोत्ता मैदानमा आयोजित विशाल जनसभामा सम्बोधन गरेँ । त्यो दिन कोलकोत्ता मैदानमा भेला भएका मानवसागर अझै पनि मेरो मानसपटलमा ताजै छ ।
पहिलो चरणको चुनावलगत्तै पश्चिम बङ्गालका अधिकांश मतपेटिकाको सिल तोडिएको मैले थाहा पाएँ । मार्च ५ मा मैले प्रमुख निर्वाचन आयुक्तलाई सम्पर्क गरें । उनीसमक्ष मैले त्यसरी धाँधली भएका निर्वाचन क्षेत्रमा पुनः निर्वाचनको माग गरेँ । तर, उनले मेरो मागको वास्ता गरेनन् । बरु, उनले पश्चिम बङ्गालमा मतपेटिकाको परीक्षणमा विशेष ध्यान दिने वचन दिए ।
मार्च २१ मा म निर्वाचन लडेको निर्वाचन क्षेत्रको मत परिणाम घोषणा भयो । काङ्ग्रेसका उम्मेदवार कनाईलाल ढोललाई मैले ९४१५ मतको अन्तरले जीत हासिल गरेँ । अघिल्लो निर्वाचनमा मैले १३ हजार ९६८ मत प्राप्त गरेर विजय हासिल गरेको थिएँ भने यो निर्वाचनमा मैले २८ हजार २६७ मत प्राप्त गरेँ । मैले मेरो विजयलाई मेरो कामप्रति जनताको समर्थनको रूपमा लिएँ । मलाई सम्झना भएसम्म मतगणना व्यारेकपुरमा भएको थियो । मतपरिणाम घोषणा भएलगत्तै मेरा समर्थकहरूले विशाल विजय जुलुस निकालेका थिए । मेरा समर्थकहरूका खुसीमा साथ दिंदै म जुलुसको अग्रभागमा थिएँ । तर, मेरो दिमाग भने आगामी दिनको कार्ययोजनामा घुमिरहेको थियो । मैले इमानदारीका साथ भन्नैपर्छ, मेरो जीवनको कुनै पनि मोडमा म कुनै सफलताबाट मात्तिइनँ । तथापि, त्यो क्षणलाई मेरो मानसपटलमा अविस्मरणीय सफलताको रूपमा लिएको छु । जनशक्ति, पैसा र स्रोध साधनको चर्को अभावबीच पनि मसहित मेरा धेरै कमरेडहरू त्यो निर्वाचनमा सफल भएका थियौँ । रेणु चक्रवर्ती, कन्सारी हल्डर, त्रिदिप चौधरी, साधन गुप्ता, हिरन मुखर्जी, हरिकृष्ण कोनर, हेमन्त बसु, समर मुखर्जी र निराजन सेन गुप्तालगायत कमरेडहरूले काङ्ग्रेसका प्रतिद्वन्द्वीलाई पराजित गरेका थिए ।
पश्चिम बङ्गालका मुख्यमन्त्री डा. बीसी रोयले झिनो मतान्तरले मात्र जित्न सफल भएका थिए । हुलाकी मतसहित जम्मा ५४० मतको झिनो मतले मात्र उनले बोबजार निर्वाचन क्षेत्रमा भारतीय कम्युनिस्ट पार्टीका उम्मेदवार कमरेड मोहम्मद इमाइललाई पराजित गरेका थिए । झिनो मतले मात्र आफू विजय भएकोमा डा. रोय ज्यादै दुःखी बनेका थिए । मार्च २१ मा बसेको राज्य सभाको बैठकमा उनले आफ्ना प्रतिद्वन्द्वीका समर्थकहरूले ‘पाकिस्तान जिन्दावाद ¤’ जस्ता भारतविरोधी नारा लगाएको भनी बोले । उनले त्यसैलाई बहाना बनाई अल्पसङ्ख्यक समुदायका हाम्रा समर्थकहरूमाथि दमन र धरपक्कड गर्न व्यापक सङ्ख्यामा प्रहरी परिचालन गरेका थिए ।

विशाल जनसभामा ज्योति बसु
मुख्यमन्त्रीका यस्ता गतिविधिको विरोधमा मैले राज्य सभामा आक्रामक भाषण गरेँ । मैले भनेको थिएँ, “तपार्इँ किन स्वतन्त्र मतलाई कुण्ठित गर्दै हुनुहुन्छ ? चुनाव सम्पन्न भयो । तपार्इँ किन जनताको मतको अपमान गर्दै हुनुहुन्छ ? मलाई थाहा छ, धेरै मुसलमानहरूले तपाईको पक्षमा पनि मत व्यक्त गरेका छन् । तपाईँलाई मुसलमान गुण्डाहरूबाट घेरिएर हिँड्दै गरेको पनि देखिएको छ । अनि तपार्इँ किन विशेषतः मुसलमानहरूमाथि आक्रमण गर्दै हुनुहुन्छ ?” डा. बीसी रोयले आफ्नो ठाउँका मुसलमानहरूले पाकिस्तानको पक्षमा नारा लगाएको आफूले सुनेको भन्दै आफ्नो भनाइको रक्षा गरिरहेका थिए । उनले भारतीय कम्युनिस्ट पार्टीका उम्मेदवार मोहम्मद इस्माइलले चुनाव जितेको भए उनी पश्चिम बङ्गालका मुख्यमन्त्री बन्ने र कदाचित त्यसो भए कोलकोत्ता पाकिस्तानमा मिसिने र कास्मिरजस्तै बन्नेसमेत भन्न छोडेनन् । डा. रोयले असंवेदनशील भएर प्रस्तुत भइरहेको म अनुभव गर्दै थिएँ । आफूले चिताएको जति मत हासिल गर्न नसके पछि उनले हल्लाको भरमा यस्ता घटनाको कुरा गरेकोमा म पक्का भएँ । मलाई उनको व्यवहारले निकै असजिलो अनुभव भएको थियो । मार्च २१ मा मैले भारतका प्रधानमन्त्रीलाई बीसी रोयको सो मितिको भाषणबारे विचार गर्न अनुरोधसहित खबर पठाएँ । उनका यस्ता भनाइले साम्प्रदायिक भावना फैलाइरहेको र बिनाकारण अल्पसङ्ख्यक समुदायलाई खुलारूपमा आतङ्कित बनाइरहेको थियो । मैले नेहरुलाई यो विषयमा हस्तक्षेप गर्न आग्रह गरेँ । मलाई जहाँसम्म सम्झना छ, उनले त्यस विषयमा केही पनि गरेनन् ।
सन् १९५७ को निर्वाचनमा हाम्रो पार्टीको उल्लेखनीय सफलता हासिल गरेर पनि हामीले सरकार भने गठन गर्न सकेनौँ । हाम्रो अदम्य भावनाकै कारण निर्वाचनमा हामीले सफलता हासिल गर्न सकेको मलाई लागेको थियो । चुनावपछि हामीले हाम्रो सङ्गठनको संरचनागत समस्या र कमजोरी पत्ता लगायौँ । साथै अन्य धेरै क्षेत्रमा हामीले गर्नुपर्ने जिम्मेवारी पहिल्याउन सफल भयौँ ।
सन् १९५२ मा राज्यसभाभित्र कम्युनिस्ट सांसदहरूको सङ्ख्या २८ थियो भने दोस्रो निर्वाचनपछि त्यो सङ्ख्या ४६ पुग्यो । तीबाहेक हाम्रो समर्थनमा अरू तीन जना स्वतन्त्र उम्मेदवारहरू पनि विजयी भए । अरू वामपन्थी दलहरूमध्ये आरएसपीले २१ स्थान, फर्वड ब्लकका चार, पीएसपीका तीन, एमएफबीका दुई जना उम्मेदवारहरू विजयी भए । २३५ जनाको राज्य सभामा वामपन्थी सांसदहरूको सङ्ख्या ८१ पुगेको थियो । काङ्ग्रेसको तर्फबाट १५२ जना सांसदहरू निर्वाचित भएका थिए । पश्चिम बङ्गालमा कम्युनिस्ट सरकार बनाउन हामीलाई अब २७–२८ जना थप सांसदहरूको खाँचो थियो । हामीलाई अझै पनि जादुमयी सङ्ख्याको कमी थियो र आत्मसन्तोष लिने हामीलाई कुनै छुट थिएन । हामीले बङ्गालका कामदार जनता, मध्यम वर्गीय कर्मचारी र सरकारी कर्मचारीबाट पनि मत हासिल गरेका थियौँ । बहुमत आवासविहीन शरणार्थीहरूले पनि हाम्रै पक्षमा मत दिएका थिए । आन्दोलन र सत्तारुढ दलले गरेका भूमिसुधारबारे सत्य तथ्यको उजागर गरेर ग्रामीण क्षेत्रका जनताबीच पनि बलियो किल्ला बनाउन हामी सफल भएका थियौँ ।
तथापि, काङ्ग्रेसले पैसा, गुण्डा र शक्तिको आडमा चुनाव जितेर सरकार बनाउन सफल भयो । पश्चिम बङ्गालमा हामीले नसके पनि टाढा दक्षिणबाट एउटा राम्रो उभार उठेको हामीले देख्यौँ । म अझै पनि स्पष्टसँग त्यो दिन सम्झन्छु । सन् १९५७ को मार्चको तेस्रो साता हामीले केरालामा कम्युनिस्टहरूको सफलताको खबर पाएका थियौँ । काकाबाबुले तत्कालै पश्चिम बङ्गाल प्रान्तीय समितिको तर्फबाट केरालामा हाम्रो पार्टीले प्राप्त गरेको सफलताको लागि बधाई सन्देश पठाए । केरालामा कम्युनिस्ट पार्टीले ६० स्थान, कम्युनिस्ट पार्टीको समर्थनमा ५ स्थान, पीएसपीले नौ स्थानमा जीत हासिल ग¥यो भने काङ्ग्रेसले जम्मा ४३ स्थानमात्र प्राप्त गर्न सफल भयो । त्यहाँको राज्य सभाको कुल सांसद सङ्ख्या १२६ थियो । कमरेड ईएमएस नम्बुदरीपाद त्यहाँका मुख्यमन्त्री बने । अच्युत मेनन, केपी गोपालन, टीए मजिद र भीआर कृष्ण ऐरसहितको मन्त्रिमण्डल गठन भयो ।
केरालामा पार्टीलाई प्राप्त सफलताको खुसियालीमा अप्रिल ७ को दिन कोलकोत्ता मैदानमा सभाको आयोजना ग¥यौँ । मैले सभासमक्ष बधाई प्रस्ताव पेश गरेँ र त्यो पारित गरियो । पारित प्रस्तावमा केरालामा भारतीय कम्युनिस्ट पार्टीको विजयलाई समग्र भारतको प्रजातान्त्रिक आन्दोलनको अग्रगतिको रूपमा चर्चा गरिएको थियो । हामीले पश्चिम बङ्गालमा प्रजातान्त्रिक आन्दोलन अझ सबल बनाउने र देशभर शान्ति, प्रजातन्त्र र समाजवादको लागि सङ्घर्ष अघि बढाउने कटिबद्धता व्यक्त ग¥यौँ । लोकसभा निर्वाचनमा पनि हामीले राम्रो सफलता हासिल ग¥यौँ । सन् १९५२ को निर्वाचनको तुलनामा लोक सभामा कम्युनिस्ट पार्टीका सांसदहरूको सङ्ख्या २९ जनाले बढ्यो । पहिलो निर्वाचनको तुलनामा दोस्रो निर्वाचनमा कम्युनिस्ट पार्टीले दोब्बर मत हासिल गर्न सफल भयो । पहिलो निर्वाचनमा ५५ हजार र दोस्रो निर्वाचनमा १ करोड २२ लाख मत पुग्यो ।
दोस्रो निर्वाचनपछि म एकमतले राज्यसभाको कम्युनिस्ट मोर्चाको नेतामा निर्वाचित भएँ । त्यत्तिञ्जेल धेरैभन्दा धेरै जनताले हाम्रो कार्यक्रमको पक्षप्रति समर्थन जनाइरहेका थिए । सबै तहका हाम्रो आन्दोलनमा जनताको समर्थन बढ्दै थियो । अघिल्लो सदनमा जस्तै यो पटक पनि मैले विपक्षी नेताको जिम्मेवारीलाई गम्भीरतापूर्वक निर्वाह गर्न प्रयास गरेँ । मलाई थाहा थियो, अघिल्लो पटकभन्दा यसपटक सदनभित्र र बाहिर मेरो गतिविधिलाई जनताले गहिरिएर नियाल्नेछन् । सन् १९५२ मा हामी सदनभित्र सबभन्दा ठूलो विपक्षी दल थिएनौँ । तर, यो पटक कसैले उपेक्षा गर्नै नसक्ने गरी सबभन्दा ठूलो विपक्षी दल बनेका थियौँ । मैले नयाँ सभामुख शङ्करदास बेनर्जीलाई हामीलाई औपचारिक रूपमा सदनको प्रमुख प्रतिपक्ष दल घोषणा गर्न पत्राचार गरेँ । जून २५ मा शङ्करबाबुले मिनिस्टर अफ द क्राउन एक्ट, १९३७ को धाराअनुसार हामीलाई प्रमुख प्रतिपक्षको मान्यता दिए ।

केरालाको पहिलो कम्युनिस्ट मन्त्रिमण्डल
सन् १९५७ मा बङ्गालमा खाद्य सङ्कटले अझ भयावह आकार ग्रहण ग¥यो । सन् १९५७÷५८ को सङ्घीय वित्तमन्त्री टीटी कृष्णमचारीले चिया, कफी, चिनी, कागज, सलाई, सिमेन्ट, मट्टीतेल र पेट्रोलजस्ता दैनिक उपयोग्य वस्तुमा थप करको व्यवस्था गरे । स्वतन्त्रतापछिका दिनमा अप्रत्यक्ष करको दर लगातार बढिरहनु वास्तवमै दुःखको कुरा थियो । तर, एकाधिकार पुँजी र ठूला व्यापारीहरूले प्रत्यक्ष करबाट मुक्ति प्राप्त गरिरहेका थिए । सत्तारुढ दलको कुशासनको विरोधमा हामीले जुलुस, सभा र विरोध सभाहरू आयोजना गर्न थाल्यौँ । हरेक दिन भोका मानिसहरूको हुल सहरतिर पसिरहेका हुन्थे । भोकले मानिसहरू मरेको समाचार हामी सुनिरहेका हुन्थ्यौँ । त्यो वास्तवमै दयनीय अवस्था थियो । तर, सरकार भने यस्तो भयावह अवस्था देखे नदेखेझैँ गरेर बसेको थियो । सेप्टेम्बर १६ मा रेनन सेन, विजय मोदक, गोपाल बसु, सोमनाथ लहिरी, समर मुखर्जी, सुकुमार सेना गुप्ता, ज्योति देव आदि कमरेडहरूसँगै मैले पनि स्वेच्छिक गिरफ्तारी दियौँ । हामीलाई कोलकोत्ताको प्रमुख प्रेसिडेन्सी मेजिस्ट्रेटमा पु¥याइयौँ । मेजिस्ट्रेटले हामीलाई अक्टोबर १ सम्म हिरासतमा राख्न आदेश जारी गरे । भोकले मारिरहेका जनताको पक्षमा नाराबाजी गरेको भन्दै शासकहरूले हाम्रो खेदो खन्दै गर्दा खाद्य सङ्कटको समस्या भने भारतका अन्यमा पनि डढेलोजस्तै फैलिरहेको थियो । न्यायपूर्ण खाद्य नीति र भविष्यमा त्यस्तो सङ्कट ननिम्तिने अवस्था बनाउन हामीले गरेका सकारात्मक मागलाई सरकारले पूर्णतः बेवास्ता ग¥यो ।
खाद्य सङ्कट चरमोत्कर्षमा पुगेको बेला अर्को एउटा थप समस्या बल्झियोः शरणार्थी र उनीहरूको पुनःस्थापनाको समस्या । देश विभाजनपछि काङ्ग्रेस पार्टी यो विषयमा पूर्णतः उदासीन रहँदै आएको थियो । काङ्ग्रेस शासनमा पूर्वी बङ्गालमा शरणार्थीको समस्या नराम्ररी बल्झिएको थियो । खाना र छानाको अभावमा धेरै सङ्ख्यामा मानिसहरूको निधन भएको थियो । अन्यत्र स्थानान्तरण गरेर केही शरणार्थीको पुनःस्थापना गरिएको थियो । ती शरणार्थीहरूलाई पनि बस्नै अयोग्य शिविरमा राखिएको थियो । तैपनि ती शरणार्थीहरूले बाँच्नको लागि ठूलो सङ्घर्ष गर्नुपरेको थियो । शासक दल मानवीय कष्टमा कसरी यति निर्दयी हुन सकेको होला भनी म चकित पर्थेँ ।
आखिरमा काङ्ग्रेस सरकारले यो समस्यालाई शरणार्थीहरूलाई बङ्गालबाट धपाएर समाधान गर्ने आफ्नै तरिका निकाल्यो । केन्द्रीय सरकारले उडिसा, आन्द्र प्रदेश र मध्य प्रदेशमा फैलिएको झन्डै ८० हजार एकड खाली क्षेत्रमा शरणार्थीहरूको पुनःस्थापना शिविर बनाउने निधो ग¥यो । केही वर्षभित्रै दन्दाकरन्या लाखौँ लाख घरबार नभएका जनताको विशालतम पुनःस्थापना शिविर बन्यो । त्यो बन्दोबस्तबारे हामीलाई पूरै अन्धकारमा राखियो । हामीले बङ्गालीलाई बङ्गालबाहिर पठाउने निर्णयको खरो विरोध ग¥यौँ । जुलाई २५ मा मैले यो बेतालको निर्णयविरुद्ध लामो भाषण गरेँ । काङ्ग्रेस भने आफ्नो यो योजनाले सोचेजस्तो काम गर्नेमा अलि बढी नै आशावादी थियो अथवा ती निहत्था जनतालाई अनिश्चित नियतिमा छोडेको थियो ।
हाम्रो पार्टीले शोषण र अन्यायको लगातार विरोध जारी राख्यो । जुलाईमा म सन् १९५७ को अगस्ट ८ र ९ मा तय भएको अखिल भारतीय हुलाक तथा टेलिग्राफ मजदुरहरूको हड्तालको तयारीमा व्यस्त रहेँ । कोलकोत्ताको वेलिङ्टनमा आयोजित हुलाक तथा टेलिग्राफ मजदुरहरूको विशाल सभामा मैले सम्बोधन गरेँ । हडतालको एक दिनअघि भारतका राष्ट्रपतिले प्रस्तावित हड्ताल निषेध गर्ने आदेश जारी गरे । सरकारको कडा अडान भने केही नरम भयो । नेहरु र तत्कालीन सञ्चारमन्त्री लालबहादुर शास्त्रीले हुलाक तथा टेलिग्राफका मजदुरहरूका विभिन्न माग पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे । काङ्ग्रेस सरकारको मजदुरविरोधी भावना देखेर म फेरि एक पटक चकित परेँ ।
त्यहीबीच पश्चिम बङ्गालको हाम्रो पार्टीले दैनिक ‘स्वाधीनता’ बारे महत्वपूर्ण निर्णय ग¥यो । ‘स्वाधीनता’ हाम्रो पार्टीको एकमात्र प्रकाशन थियो । कामदार जनता र प्रगतिशील प्रजातन्त्रवादीहरूबीच त्यो अखबार निकै लोकप्रिय थियो । तर, पत्रिकालाई निरन्तरता दिन हाम्रो कोष भने खुम्चिँदै गएको थियो । पत्रिकाका ग्राहक र समर्थकहरूबाट प्राप्त हुने चन्दा नै त्यसको मुख्य आर्थिक स्रोत थियो । प्रान्तीय समितिले चार पन्नाको ‘स्वाधीनता’ लाई आठ पन्नाको बनाउने निर्णय गरे पनि स्वभावतः त्यसको लागि थप पैसाको खाँचो प¥यो । सेप्टेम्बर महिनामा मैले असानसोल, बर्नपुर र रानीगञ्ज गएर बैठकहरू आयोजना गरेँ र पत्रिका सञ्चालनको निम्ति कोष जम्मा गरेँ । त्यत्तिबेला ‘स्वाधीनता’ दैनिकको सम्पादक सरोज मुखर्जी थिए । कोलकोत्ताको सर्कस पार्क मैदानमा विशाल ¥याली र स्थानीय बैठकहरू आयोजना गरेर हामीले ‘स्वाधीनता’को बाह्रौँ वार्षिकोत्सव मनायौँ । हाम्रो त्यो प्रयास फलदायी बन्यो । हामीले सोभियत सङ्घ, चीन, संयुक्त अधिराज्य, फ्रान्स र इटालीबाट शुभकामना सन्देशहरू प्राप्त ग¥यौँ । त्यस्तै संरा अमेरिका, इन्डोनेसिया, कोरिया, जापान र अस्टे«लियाका कम्युनिस्ट पार्टीबाट पनि बधाई सन्देशहरू प्राप्त ग¥यौँ । यो एक प्रकारले अन्तर्राष्ट्रिय तहमा कम्युनिस्ट भ्रातृत्वको एउटा उदाहरणीय सम्बन्ध बनेको थियो ।
नेपाली अनुवादः बर्बरिक
Leave a Reply