भर्खरै :

स्थायी समितिको बैठकमा सशस्त्र सुरक्षाकर्मी किन ?

नेकपाका एक अध्यक्षले अर्का अध्यक्षलाई आरोप–प्रत्यारोप गरेको दस्तावेज बाँडेर आइतबार बसेको नेकपाको स्थायी समितिको बैठक सशस्त्र प्रहरीको घेरामा बस्यो । सशस्त्र सुरक्षाकर्मीहरूको तैनाथ हेर्दा नेकपाको पार्टी कार्यालय धुम्बाराही बसेको स्थायी समितिको बैठकभित्र दाहाल पक्षधर र ओली पक्षधरका नेताहरूबीच कतै हानथाप हुने त होइन भन्ने शङ्का उब्जाइएको थियो । कार्यालय बाहिर दायाँबायाँ र कार्यालको प्राङ्गणमा सशस्त्रधारी सुरक्षाकर्मीहरू किन जरुरी भयो भन्ने प्रश्न नेकपाकै नेता, कार्यकर्ता र अन्य सर्वसाधारण जनताले उठाएकाछन् ।
सत्तारूढ दल नेकपाको स्थायी समितिको बैठकमा दर्जनौँ सुरक्षाकर्मीहरू कसको सुरक्षाको लागि कसले पठाएका हुन् ? के ती सुरक्षाकर्मी पार्टीको अनुरोधमा गृहमन्त्रालयले खटाएको हो ? बैठकमा नेकपाका अध्यक्ष एवम् प्रम ओली र अर्का अध्यक्ष दाहालको प्रतिवेदन वितरण गरिएको थियो । उक्त सुरक्षाकर्मीको परिचालनले केही दिनपहिले नेकपाका एक अध्यक्ष दाहालको गतिविधिमा सरकारले गुप्तचर प्रयोग गरिरहेको सञ्चारमाध्यमले फुकेको खबर हो रहेछ भन्ने पुस्टि गरेको देखिन्छ ।
पार्टी कार्यालयमा बसेको नेकपाका स्थायी समितिका सदस्यहरूमाथि बाहिरबाट कुनै हमला हुने डरले हो या स्थायी समितिकै सदस्यहरूबीच अन्तरविरोध चर्केर काटमार होला भन्ने डरले सुरक्षाकर्मीहरू परिचालन गर्नुपरेको हो ? आफ्नै दलका नेताबीच यतिको शङ्का कसरी उब्ज्यो ? शङ्कै शङ्काको घेरामा रहेर बैठक बसेको हो कि दुई अध्यक्षद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनउपर छलफल गर्न भएको हो ? स्थायी समितिको त्यो गोप्य या आन्तरिक बैठकमा पनि दर्जनौँ सुरक्षाकर्मी तैनाथ त्यो बैठक प्रम ओलीको विरोधमा प्रदर्शन गर्न डाकेको हो या अध्यक्ष दाहाललाई पार्टीबाट निकाल्ने भयले सुरक्षाकर्मी तैनाथ गरिएको हो ?
नेकपाको नेतृत्वबाट हटाउने या कायम राख्ने भन्ने कुरा पार्टीको आन्तरिक कुरा हो । दुवैको प्रतिवेदन खारेज गर्ने या छलफल गरेर अर्को निकास निकाल्ने त्यो पनि पार्टीको आफ्नो मामिला हो । त्यो बैठकमा बाह्य हमला हुने कुनै लक्षण छैन । पार्टीको त्यो बेठकमा हात हालाहाल हुने लक्षण पनि छैन । बैठकमा पार्टीका नेताहरूबीच अन्तरविरोध स्वाभाविक हो । अन्तरविरोध चर्केर विवाद चरमोत्कर्षमा पुग्ने भयले के सशस्त्रधारी सुरक्षाकर्मी परिचालन गरिएको हो ? स्थायी समितिको बैठक त्यो स्थितिमा पुगेको हो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *