भर्खरै :

आमालाई छोरीको पत्र

– क्रिश्चिना
प्रिय ममी,
हामी दाजु–भाइ र दिदीबहिनी सबै सञ्चै छौं । त्यहाँ मम्मी र मामा, माइजुहरूको सुस्वास्थ्यको कामना गर्छु । गएको साल चीनको प्रख्यात नाटककार ताङ्ग सियानचु (Tang Xianzu, 1560-1616) बेलायती नाटककार विलियम सेक्सपियर (१५६४–१६१६) को ४ सय वर्ष मनाइँदै थियो । साथै चीनमा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त बंगाली भाषाका लेखक र विचारक रविन्द्रनाथ ठाकुरको सम्पूर्ण रचना पनि चिनियाँ साहित्यमा अनुवाद भएको थियो । त्यसबारे नेपाली अखबार र साहित्यिक पत्र–पत्रिका हेर्दा केही उल्लेख पाइन ।
चिनियाँ साहित्यको अनुवाद नेपाली साहित्यमा कमै थियो, यसकारण मैले आफ्नो जिज्ञासा मिटाउन बुबाको दराजमा शेक्सपियरका र रविन्द्रनाथ ठाकुरका साहित्य खोज्दै गर्दा, बुबाको एउटा राम्रो गाता भएको डायरी भेट्टाएँ । सुन्दर अक्षरमा लेखिएको त्यो डायरी लिएर म मेरो अध्ययन कक्षमा पुगें ।
प्यारी मम्मी,
त्यो डायरीमा ६० पृष्ठसम्म बुबासँग पढ्ने र काम गर्ने एक केटोको विषयमा तीन भागमा लेखिएको थियो । म छोटोमा तीनै भागको सार–संक्षेप मम्मीलाई लेख्दैछु वा सुनाउँदैछु ।
शम्भु महतोले बुबाकहाँ ५ कक्षादेखि काम गरेका थिए, सरल र कुरा बुझ्ने छात्र भएको हुँदा बुबाले उसलाई नेपाली साहित्यका सरल पुस्तकहरू पढाउँदै प्रगतिशील र प्रतिक्रियावादी साहित्यका विषयहरूसम्मका पुस्तकहरू पढ्न दिनुभयो । सरल स्वभाव र आज्ञाकारी भएको हुनाले उसले बुबाको कुनै कुरा नाइनास्ती गरेको थिएन । सोधेका सबै विषय र साहित्यिक व्यक्तित्वकाबारे प्रस्टै भन्न सक्ने भए । उनका प्रवेशिका परीक्षापछि बुबाले उसलाई नेपालको भूगोल र इतिहास पढ्न दिनुभयो । दुई महिनापछि उसले विश्व इतिहास पढ्न दिनुभयो । दुई महिनापछि उनले विश्व इतिहासकाबारे सामान्य ज्ञान प्राप्त गरे ।
आई.ए. पढ्नको निम्ति बुबाले उत्साहित गर्नुभयो र कलेजमा भर्ना हुन आवश्यक पैसा पनि दिनुभयो । तीनकोठे सानो घरमा बुबाको डेरा थियो र बुबा एउटा कोठामा बस्नुहुन्थयो र शम्भू अर्को कोठामा, तेस्रो कोठामा भान्सा थियो । पिंढीमा बुबाले ट्युसन पढाउनुहुन्थ्यो । बुबा ५ बजे उठेर नुहाई–धुवाई गर्नुहुन्थ्यो र शम्भू ६ बजे उठेर सफाई गथ्र्यो र बुबासँगै चिया खान्थ्यो । ट्युसन पढ्ने केटाहरूसँग ऊ पनि पढ्थ्यो र त्यसपछि बुबाले चिन्ह लगाई दिनुभएको समाचारहरू बाँचेर बुबालाई सुनाउँथ्यो । उसको भाषा शुद्ध र उच्चारण पनि राम्रो हुँदै गयो । बुबासँग उसले भात खान्थ्यो र सफाइपछि कलेज जान्थ्यो । कापी–कलम र चिया खान बुबासँग पैसा माग्थ्यो र फूर्तिसाथ कलेज जान्थ्यो । एक समय ऊ खेलकुदमा जान्थ्यो, फेरि बुबासँग चिया खान्थ्यो र साँझको खाना खाएर बुबासँगै रेडियो सुन्थ्यो, कापीमा नोटहरू लेख्थ्यो ।
एकदिन बुबाले उसको नोटबुक हेर्नुभयो र बुबा सार्‍है खुशी भएर एउटा अर्को किताब जस्तो नोटबुक दिनुभयो । उसको लेखोट र अक्षर अत्यन्त राम्रो र बुझ्ने खालको थियो । राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरूकोबारे पनि अरुलाई बताउन सक्ने गरी बुझ्थ्यो, विहान अखबार पढ्दा हिजो रातीको रेडियोको पाठ दोहोर्‍याएजस्तो हुन्थ्यो ।

—0—

शम्भूले आई.ए. राम्रो अङ्ंक ल्याएर उत्तीर्ण भयो । प्राध्यापकहरूको आँखा पनि उसप्रति आकर्षित भयो । बी.ए. मा उसले अर्थशास्त्र र राजनीतिशास्त्र लियो । कलेजको वादविवाद कार्यक्रम, स्वतन्त्र भाषण र अन्य गतिविधिमा पनि अब्बल देखिए । कक्षा र कलेजमा ऊ चर्चित थियो र अरु सहपाठीहरू पनि ऊ सँगै चिया पिउन थाले ।
शम्भूको बुबा थिएन, एक्ली आमा र दुई दिदी–बहिनी थिए । बी.ए को परीक्षा पछि उसले बुबासँग मनको बह पोख्यो –‘सर, बी.ए. को परिणाम आएपछि म जागिर खान्छु, दिदी–बहिनीको विवाह गर्नु छ, आमा एक्लै कमाइ गर्नुहुन्छ ।’
‘शम्भू, तिमी सार्‍है समझदार केटा हौ, तिमीले एम.ए. सम्म पढ्यौ भने छिट्टै तिमीले नोकरी पाउनेछौं– तिम्रो घरमा पैसा दिनुपर्छ भने अब तिमीलाई म २० रुपैयाँको सट्टा ४० रुपैयाँ दिन्छु’– बुबाले भन्नुभयो ।
पहिले एक महिनामा एक चोटि घर जाने शम्भू अब हरेक हप्ता घर जान थाल्यो । आइतबार घरबाट फर्कंदा ऊ बुबासँग भन्न चाहेको अनुभव गर्नुभयो र सोध्नुभयो । असमञ्जसमा पर्दै उसले बडो अदवपूर्वक बुबालाई भन्यो – ‘सर, मलाई पढाइ छोडेर विवाह गर र नजिकको साहुको पसलमा ३० रुपैयाँमा काम गर भन्छ ।’
‘कसले भन्छ, शम्भू, आमाले ?’
‘होइन सर, हाम्रा आमाहरू र फुफाज्यूहरूले भन्नुहुन्छ, आमा सार्‍है सोझो हुनुहुन्छ ।’
बुबा एक दिन अल्मलिनुभयो र सम्झाउनुभयो–‘अबको एक वर्षमा तिमी एम.ए. हुन्छौ, अनि घर खर्च र दिदी–बहिनीको विवाह गर्न पैसा जोगार गर्न सक्नेछौं ।

—0—

शम्भूले मामा र फुफाज्यूहरूलाई नोकरी पाएपछि आधा तलब दिने कबुल गर्‍यो र एम.ए. गरेपछि घर नजिककै पसलमा काम गर्‍यो । सरकारी नोकरी र कलेजमा लेक्चरर हुन नदिएको कुरा बुबालाई बतायो ।
शम्भूले मामा र फुफज्यूहरूसँग प्रश्न गर्दा सरकार र कलेज ‘पहाडीहरू’ को हो, हामीले त्यसमा काम गर्नुहुन्न भनेका कुरा धरधर आँसु खसाल्दै बुबासँग बिदा लिइ शम्भू घर गयो ।
दुई महिनापछि शम्भू साँझतिर बुबाकहाँ पुग्यो, उसले रक्सी खाएको थियो । बुबाले सम्झाउनुभयो –‘शम्भू, पहिले त तिमीले कहिल्यै रक्सी खाँदैनथ्यौ, तिम्रो जिऊ बिग्रिन्छ ।’
धरधर आँसु खसाल्दै शम्भूले भन्यो –सर, मेरा मामा र फुफाज्यू इण्डियाको हो, बरोबर घरमा आइ मलाई रक्सी खान बाध्य पार्छन्, मलाई भारतको केटी विवाह गर्न दबाब दिंदैछ ।’
‘केही हेर्‍यौ त ?’
‘छैन’
तिम्रो आमा के भन्नुहुन्छ ?’
‘मामा र फुफाजुहरू आउँदा उहाँ रुनुहुन्छ । दिदी–बहिनी पनि रुन्छन् ।’
‘अब तिमी के गर्छौ त, शम्भू ।’
‘र मलाई इन्डियाबाट आउने हाम्रा नातागोताले पहाडी सरकहाँ नजाऊ, उनी त कम्युनिष्ट’ भनी दबाब दिन्छन् ।’
‘शम्भू अब के गर्छौ, परिवारमा सल्लाह गर ।’
‘सर, हाम्रो परिवारै काठमाडौं जान चाहन्छौं ।’
बुबा एकछिन निरुत्तर हुनुभयो । केही सोचेर बुबाले रक्सी खान छोड, २–४ दिनपछि हामी कुरा गरौंला, तिम्रो घरमा पनि पुग्छु ।’

—0—

बुबाले साँचोमा शम्भूलाई एक असल, शिष्ट र योग्य नागरिक बनाउन चाहनुहुन्थ्यो । उसको अध्ययन पनि व्यापक थियो । यसकारण परिवेश बदलेपछि अर्थात् एक दुई जना शम्भू होइन धेरै धेरै शम्भू बनाएपछिमात्रै समाजको वातावरण सकारात्मक हुने बुबाले निष्कर्षमा लेख्नुभएको छ ।
माया गर्ने छोरी
चमेली

Leave a Reply

Your email address will not be published. Required fields are marked *