भर्खरै :

नेपालको ज्ञानेन्द्र शाह र अफगानिस्तानको जाहिर शाह

हरेक घटनाक्रमलाई कुमालेको चक्रसँग जोड्न मिल्दैन । सन् २००२ मा तालिवान शासनको अन्त्यपछि अफगानिस्तानका अपदस्थ राजा जाहिर शाह इटालीमा निर्वासन जीवन बिताएर पुनः अफगानिस्तान फर्के । त्यहाँका केही मान्छेले उनलाई पुनः राजा भइदिन अनुरोध गर्दा उनले ठाडै अस्वीकार गरिदिए । किनकि, बहुमत जनताको इच्छा त्यो पनि थिएन अफगानिस्तानको परिस्थिति राजाले सम्हाल्न नसकिने गरी नियन्त्रण बाहिर गइसकेको थियो । अफगानी राजाले यही वास्तविकतालाई सहजरूपमा स्वीकार गरेको कारण सन् २००७ मा जाहिर शाहको मृत्यु पश्चात् अफगानी जनताले उनको सम्मानपूर्वक बिदाइ गरे ।
यो सन्दर्भ अहिले नेपालमा राजतन्त्र फर्काउन भइरहेको प्रयाससँग पनि जोड्न सकिन्छ । राजसी शानका साथ ऐश आराम गर्ने र जनताले तिरेको करमा तर मार्ने एउटा सम्प्रभु राजतन्त्रको माग भइरहेको छ । दलहरूको घृणित कार्यको कारण असन्तुष्ट भएका जनतालाई राजतन्त्र फर्काउने नाराले केही दिन आकर्षित गर्ला तर त्यसले देशमा रहेको विद्यमान समस्या समाधान गर्दैन । नेपाली शाह राजाले २३७ वर्ष शासन गरे । २१० वर्ष राजाहरूले एक छत्र राज गरे ! राजा र दलहरू मिलेर २७ वर्ष शासन गरे ! राजाबिना दलहरूले मात्र एकलौटी शासन गरेको १३ वर्ष भएछ । यस हिसाबले राजाहरूले ८४ प्रतिशत र दलहरूले १६ प्रतिशत समय शासन गरेको देखिन्छ । ज्ञानेन्द्र शाहले पनि २०६१ देखि २०६३ सम्म शासन गरेकै थिए तर देश र जनताको लागि कुनै लछारपाटो लाउन सकेनन् बरु देशमा अस्थिरता झनै बढ्यो । राजगद्दी छोडिसकेपछिको १३ वर्ष पनि उनले देशको निम्ति कुनै दूरदर्शिता देखाउन सकेका छैनन् । यी सबै कुरा मनन गरेर अफगानिस्तानका राजाले जस्तै ज्ञानेन्द्र शाहले पनि जनतालाई स्पष्ट पार्दै घोषणा गरे, “म पुनः राजा हुन सक्दिनँ र नेपालमा राजतन्त्र फर्किदैन ।” तर, अहिले ज्ञानेन्द्र शाह ‘ताकपरे तिवारी नत्र गोतामे’ पारामा आ–आफ्नो स्वार्थ सिद्ध हुने लोभमा ‘राजा आऊ’ भनेर नारा लगाइरहेका केही मान्छेहरूको उफ्राइमा रमाएर ¥याल चुहाइरहेका छन् ।

 ज्ञानेन्द्र शाह


अहिले राजतन्त्रको माग गर्नेहरू मूलतः वैदिक आर्यहरू हुन् जसको अन्तिम लक्ष्य एकल धर्म हिन्दू राज्य हो । यसको लागि उनीहरूले राजतन्त्रलाई भ¥याङ् बनाइरहेका छन् । त्यसैगरी राजाको नाममा आफ्नो दुनो सोझ्याउने अर्कोथरी मानिस भनेको राजनीति गर्ने तर बहुमत जनताको समर्थन कहिल्यै नपाएका लोकतन्त्रविरोधी दरबारिया दासहरू हुन् । तेस्रो चाहिँ निर्वाचनपछि भ्रष्टाचारमुक्त सरकार, सुशासन, विकासको आशा गरेका तर वर्तमान सरकारको कामभन्दा बढी गफ र भ्रष्टाचारबाट वाक्कदिक्क भएका सोझा सीधा जनता हुन् ।
संसारमा कुनै राजाहरू चुनाव लड्दैनन् । ईश्वरको रूपमा पूजा गरेर गद्दीमा राज गराइदिने अनि हामीमाथि शासन गराउने हो । त्यसपछि आफ्नो आसेपासे, हुक्के र मन परेकालाई तानेर मन्त्री, राजदूत बनाउने नै राजतन्त्रको इतिहास रहेको छ । जन्मेको आधारमा राजा महाराजा हुने व्यवस्थाभन्दा देशको समुचित विकास र समृद्ध गर्ने स्पष्ट भिजन भएका जनताबाट प्रत्यक्ष चुनिएर आउने कार्यकारी प्रमुख हुने व्यवस्था नै उपयुक्त हो । कुनै पनि अग्रगामी नीति अघि बढ्ने नै हुन्छ न कि पछाडि फर्कने । नेपालको प्रजातान्त्रिक आन्दोलन राणाशाही, राजशाही, बहुदल हुँदै गणतन्त्रसम्म अगाडि बढेको हो । अगाडि जान सक्ने सम्भावना छउञ्जेल हिँड्ने अगाडि हेरेरै हो । त्यसो त राजाका खलकहरू पनि फेरिंदै आएको इतिहास छँदै छ, त्यसैले राजावादीहरू राजाको खलकै फेर्न राजी हुन्छन् त ? राजावादीहरूलाई ज्ञानेन्द्र नै चाहिएको हो भने कार्यकारिणी राष्ट्रपति प्रणालीको लागि अभियान चलाउनु अनि चुनावमा जिताएर राष्ट्रपति बनाउन पनि सकिहाल्छ ।
‘राजा आऊ’ भनेर कोकोहोलो मच्चाउनेहरू राजाको पालामा थुप्रै उद्योग खुलेका र थुप्रै भवन बनेकाजस्ता झिना मसिना कुरा देखाएर राजतन्त्र नै ठीक ठान्छन् । साँच्चै राजाको आफ्नै बलबुत्तामा बनेको उद्योग तथा विकासका संरचनाको कुरा गर्ने हो भने हातलाग्यो शून्य छ । चीन र रुसलगायत मित्रराष्ट्रको सहयोगबाट बनेका उद्योगलगायत विकासका संरचनालाई देखाएर राजाको पालामा थुप्रै विकास भएको धक्कु लगाउँछन् राजावादी भनाउँदाहरू । खराब भन्ने जान्दाजान्दै राजालाई बोक्नु भनेको बाँदर्नीले मरेको बच्चाको लास छातीमा च्यापिरहनुजस्तै निरर्थक चेष्टा हो ।

अफगानिस्तानका राजा जाहिर शाह


दलहरूको लाचारी र अकर्मण्यताको कारण जनतालाई भएभरको दुःख बोकाएर भ्रष्टाचारी नेताहरूले गरेको सुखसयल देखेर जनताको गणतन्त्रप्रति हल्काफुल्का विश्वास घट्दै गएको निश्चित हो । तर पहिल्यै असफल भइसकेका देउवा, ओली, प्रचण्डजस्ता नेताकै पछि लाग्ने कार्यकर्ताको ओेठे जवाफ आइहाल्छ, “उहाँहरू नभए अरू को त ? विकल्प के त ?” हो, यही अहङ्कार बढेर देशको हालत यो अवस्थामा पुग्दा राजावादीहरूले भन्ने ठाउँ पाएका छन् । छोटो अवधिमा राजनीतिक दलले गरेको व्यथितिलाई देखाएर राजतन्त्रको माग गर्नु भनेको ‘सौताको रिसमा पोइको नाक काटे’ जस्तै हो । यथार्थ के हो भने केही खराब व्यक्ति गणतन्त्रमा गएर जनतालाई पानीको फोहराले हिर्कायो भन्दैमा गोली हान्ने राजतन्त्र कदापि ठीक छैन । गणतन्त्रमा कमसेकम देश लुट्न नेताहरूलाई फाल्ने मौका छ, त्यसको सदुपयोग गर्नुपर्छ । त्यसैले गणतन्त्रको विकल्प खोज्नुभन्दा नेतृत्वको विकल्प खोज्नु राम्रो हुन्छ ।
चुनावको समयमा टन्न रक्सी, मासु भात खाएर भ्रष्ट आचरणका नेताहरूलाई भोट दिने अनि ती नै नेताहरूले देश डुबाए भन्दै गणतन्त्रको विरोध गर्नु भनेको ‘आफ्नै हेलचक्राइँले गर्दा बञ्चरोले खुट्टामा चोट पु¥यायो भनेर बञ्चरो नै फाल्नुजस्तै हो’, जुन बुद्धिमत्तापूर्ण काम होइन । यसको सबैभन्दा ठूलो दोषी हामी नै हाँै जसले दोहो¥याइतेह¥याइ ती काङ्ग्रेस वा नेकपाका भ्रष्ट, अनैतिक नेताहरूलाई भोट हाल्यौँ । बहुदल पछाडिको हरेक चुनावमा नेताहरूको डकैतीलाई अनवरत अनुमोदन गर्दै गयौँ । त्यसैको फल हो देशको यो अवस्था । अबको चुनावमा जनताबाट यस्तो गल्ती हुनु भएन ।
शासन प्रणालीमा परिवर्तन आवश्यक हो भने पनि राजतन्त्र विकल्प हुनसक्दैन । राजतन्त्रमा फर्कनु भनेको विद्युत्को विकल्प टुकीमा खोज्नुजस्तै हो । वर्तमान व्यवस्थामा परिमार्जनको प्रशस्त ठाउँ छ । संसारमै असफल भइसकेको संसदीय व्यवस्थाको ठाउँमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीबारे बहस हुनसक्छ । त्यसैले अबको विकल्प शासन प्रणालीमा पुनःसंरचना हो, न कि राजतन्त्र ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *