भर्खरै :

जे रोपिन्छ, त्यही फल्छ

अन्ततः नेकपा विभाजन भयो । मङ्गलबार ओली र दाहाल–नेपाल–खनाल समूहको अलग–अलग बैठकसँगै अब देशमा ‘नेकपा’ नामका दुई दल विद्यमान छन् । एमाले र माओवादी–केन्द्रबीच तीन वर्षअघि एकता हुँदा ‘सिद्धान्तहीन एकता लामो समय नटिक्नेमात्र होइन, त्यस्तो एकता देश र जनताको लागि फलदायी नहुने’ भनी गरिएको विश्लेषण आज समयक्रममा पुष्टि भएको छ । सङ्ख्या गन्तीको आधारमा देशका दुई ठूला दलको एकताबाट कति मानिस उत्साहित भएर अतिरञ्जनापूर्ण अति व्याख्याहरू गरेका थिए । उनीहरूबीचको एकतालाई देशको ‘समृद्धि र विकासको आधार’ भनी व्याख्या गर्नेहरू पनि थिए । तर, त्यस्ता सबै अवस्तुगत चर्चालाई राजनीतिका ज्ञाताहरूले लगातार खारेज गर्दै गए । एमाले र माओवादी–केन्द्र दुवै पुँजीवादी पार्टी भएकाले उनीहरूको एकता व्यापक नेपाली जनताको निम्ति फलदायी नहुने दृष्टिकोणलाई त्यत्तिबेला कतिपयले पूर्वाग्रहको रूपमा लिएका थिए । तर, दुई पार्टीको एकता सत्तास्वार्थ र सत्ताप्राप्तिको लागि नै भएको विश्लेषण आज पुष्टि भएको छ ।
संसारका कुनै पनि कम्युनिस्टहरूबीचको एकता वा विभाजनको आधार सिद्धान्त र विचारधारा हुने गर्दछ । सत्तासुखकै लागि एकता आपसमा मिल्ने दलहरू कम्युनिस्ट हुनसक्दैन । कम्युनिस्टहरू आन्दोलन, क्रान्ति र जनताको हितको लागि मिल्न सक्छन् । तर, सिंहदरबार र बालुवाटारमा कुर्सी न्यानो बनाउन अपुग सङ्ख्या पु¥याउनकै लागि मिल्नेहरू कम्युनिस्ट हुनसक्दैनन् । त्यो त पुँजीवादी दलको चरित्र हो । एमाले र माओवादी केन्द्रबीच एकताको लागि कुनै सैद्धान्तिक सहमति भएको थिएन । न त कार्यकर्ता तहमा त्यस्तो कुनै सैद्धान्तिक एकताको प्रयास नै भएको थियो । पूर्वएमाले समूहले वस्तुतः पूर्वमाओवादीहरूलाई ‘जनताको बहुदलीय जनवाद’ (जबज) नामको संशोधनवादी विचारमा लतार्ने प्रयास भयो । माओवादी केन्द्र बन्द गल्लीमा फसिसकेको थियो । ऊसँगै त्यही संशोधनवादी विचारधारासामु नतमस्तक हुनुको विकल्प थिएन । यद्यपि, तीन वर्षको अवधिमा सिद्धान्त र विचारधाराका यस्ता कुरा सबै बहानामात्र बने । मुख्यतः एमाले र माओवादी केन्द्र दुवै आफ्नो भागमा बढी रोटी पार्ने दाउमा लागे । सिद्धान्त र कार्यक्रममा नभई भागबन्डामा मिलेका नेता र दल भागबन्डा नमिलेको दिन फुट्नु अनौठो कुरा थिएन । मङ्गलबार त्यही देखियो ।
जे कुराको बीउ रोपिन्छ, त्यसकै फल लाग्ने हो । नेकपाको बीउ नै खराब थियो । एकताको लक्ष्य नै सत्ता थियो । त्यही सत्ताकै रापले नेकपालाई विभाजित ग¥यो । जो आगोमा खेल्छ, आगोमै सकिन्छ जो पानीमा खेल्छ, पानीमै सकिन्छ । सत्तासुख र भागबन्डाको लागि नेकपा बन्यो । त्यसैकारण उसको विभाजन भयो । तीन वर्षमा छोटो अवधिमा नै पार्टी एकताको उत्साह सेलायो । खासमा पार्टी एकता बहानाबाजीमात्र रह्यो । पार्टी एकता तल्लो तहमा पुग्न पनि नपाई विभाजनको मार खप्नुप¥यो ।
कति मानिसहरू नेकपाको विभाजन र अहिलेको चर्तिकलाले नेपालको कम्युनिस्ट आन्दोलन र कम्युनिस्टहरूकै बदनाम भएको हल्ला गर्दै छन् । प्रस्ट होऔं, विभाजित नेकपाका दुवै खेमामध्ये कुनै पनि दल कम्युनिस्ट पार्टी होइनन् । उनीहरू पुँजीवादी पार्टीहरू नै हुन् । उनीहरू र नेकाजस्ता पुँजीवादी दलबीच कुनै भिन्नता छैन । नेकपाका प्रमुख नेताहरू पटक–पटक देशको प्रधानमन्त्री भए । आफू सरकारमा हुँदा उनीहरूले गरेका व्यवहार र परिणामबाट पनि उनीहरू र देशका अन्य पुँजीवादी दलबीच कुरा भिन्नता नभएको प्रमाणित गरेको छ ।
कम्युनिस्ट शब्दको दुरुपयोग गरेका हुनाले नेपाली जनतामा पक्कै केही भ्रम हुनसक्छ । तर, कम्युनिस्टको मुखुण्डो लगाएर नेकपाका नेताहरूले गरेका व्यवहारबाट नेपाली जनता क्रमशः सचेत बन्दै जाने निश्चित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *