भर्खरै :

विकाससँगै विकृति !

भक्तपुर नगरपालिका स्थापना भएको ७१ वर्ष पूरा भइसकेको छ । भक्तपुर नगरपालिकाले विभिन्न उतारचढावबीच विकास र प्रगतिसँगै यहाँका जनताको जीवनस्तर बढाइरहेको छ । शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ र व्यवस्थित आवास क्षेत्रजस्ता जनताका आधारभूत आवश्यकतालाई पूरा गर्दै नगरपालिका अघि बढ्दै छ । कोरोना महामारीको बिचमा नपाले जनतालाई केन्द्रमा राखी कठिन र प्रतिकूल अवस्थामा समेत काम गर्दै छ । भक्तपुर नगरपालिकाले चुनावी घोषणापत्रअनुसार जनताको चरणबद्धरूपमा प्रतिबद्धताबमोजिम जनताको सक्दो सेवा गर्दै आइरहेको छ । यसको लागि भक्तपुर नगरपालिकालाई हृदयदेखि धन्यवाद दिन चाहन्छु ।
भक्तपुर नगरपालिकाले जनसङ्ख्या वृद्धिसँगै अव्यवस्थित बसोबास रोक्न आवास योजनाहरूको विकास गर्दै आइरहेको छ । यसबाट जनतालाई राहत मिलेको छ । जस्तैः कमलविनायक आवास क्षेत्र, लिवाली आवास क्षेत्र, तुमचो दुगुरे आवास क्षेत्र आदि । नगरपालिकाले तुमचो, दुगुरे आवास क्षेत्र भनपा ९ मा मालपोत कार्यालय र नापी कार्यालयलाई जग्गा प्रदान गरेको धेरै वर्ष पुगेको छैन । कार्यालयले आफ्नो भवन बनाई कार्य पनि सुरु गरिसकेको छ । यसले गर्दा छोटो समयको अन्तरालमै मालपोत कार्यालयको वरिपरि धेरै बस्ती विकास भएको छ ।
नेमकिपाको घोषणापत्रमा सहरको दायाँ–बायाँ हरियाली विकास गर्ने र यात्रुहरूलाई अप्ठ्यारो नहुने गरी गाडीको पार्क गर्नुपर्ने कुरा उल्लेख छ । यो वातावरणसँग सम्बन्धित वायु प्रदूषण, ध्वनि प्रदूषणरहित र स्वस्थ वातावरणसहितको समाज कल्पना गरिएको छ । त्यसअनुसार भक्तपुर नगरपालिकाले सडक र आवास क्षेत्रहरूमा यो लागू गर्दै आइरहेको छ । तर, मालपोत, नापी कार्यालयका बाटोहरूमा सानो साइकल नै जान नमिल्ने गरी दुई साइडमै पार्किङ्ग गरिएको सवारीसाधनहरूले गर्दा त्यहाँ आवतजावत गर्न निकै कठिनाइ झेल्नु परेको छ । अझ पैदल यात्रुहरूको लागि छुट्याइएको फुटपाथ र पेटीमा समेत पार्किङ्ग गरेको पाइन्छ । त्यसरी अस्तव्यस्त र अव्यवस्थितरूपमा पार्किङ्ग गर्दा विभिन्न दुर्घटनाको जोखिम हुने, अनावश्यक आवाज र सवारी साधनको हर्नले विद्यार्थी, बिरामी र अन्यलाई ध्वनि प्रदूषण हुने, धुँवा–धुलोले वायु प्रदूषण हुने, बाटोमा हिँड्ने बटुवालाई आवतजावत गर्ने कुरा त छोडौँ दमकल र एम्बुलेन्सजस्ता साधन पनि समयमा जान नसकिने स्थिति सबैलाई अवगत नै हुनुपर्छ ।
दैनिकरूपमा करोडौँ राजस्व उठाउन सक्ने, सयौँलाई प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा रोजगार दिनसक्ने मालपोत कार्यालयमा न आफ्नो अन्डरग्राउन्ड पार्किङ्ग छ, न पार्किङ्गको लागि घर र स्थल या कुनै ठाउँमा पार्किङ्गको राम्रो व्यवस्थापन छ ।
पार्किङ्ग व्यवस्थापनको जिम्मा लिइरहेका महत्वपूर्ण निकाय ट्राफिक पार्किङ्ग गर्नु अपराध हो भन्ने ट्राफिक कार्यालयको नियम खोइ लागू भएको ? यस विषयमा त्यस स्थानमा घर–कोठा भाँडामा दिइरहेका घरधनीले किन बोल्न सकेनन् ? नागरिक भावना खोइ ?
मालपोत कार्यालय हरेक क्षेत्रमा घरजग्गासम्बन्धी कारोबार गर्ने, मानिसहरू आउने, त्यस सँगसँगै चाहिने–नचाहिने मानिसहरू पनि आवतजावत हुने, मोटरसाइकल र गाडीको अस्तव्यस्त पार्किङ्ग गर्ने सडकको रूपमा चिनिसकेको छ । साँघुरो सडक नै जाम हुने गरी सवारी साधन पार्क गरेको कारण दमकल, एम्बुलेन्सजस्ता साधन पनि समयमै जान नसकी कुनै ठाउँमा आगोबाट जनधनको क्षति भएमा वा समयमै उपचार पाउन नसकी बिरामीको मृत्यु भएमा र सडक अवरुद्ध पारे कसले क्षतिपूर्ति दिने ? वाहनका मालिकले कि ? मालपोत कार्यालय या अरू निकायले ?
आवास क्षेत्रको सडक कुनै पार्किङ्ग स्थल र ग्यारेज होइन । डिजेल र पेट्रोल भएका साधनहरू बस्ती वरपर राख्दा आगो लागेमा, दुर्घटना भएमा ठूलो जनधनको क्षति हुने भएकोले आवास क्षेत्रभन्दा पर पार्किङ्ग स्थल वा ग्यारेजको बन्दोबस्त गर्नु र गराउनु अति आवश्यक छ ।
मालपोत कार्यालय वरपर लेखापढी व्यवसायीहरू बाहिर जिल्लाका पनि धेरै छन् । यसबारे स्थानीय तहले कुनै तथ्याङ्क राखेको छ कि छैन ? करको दायरामा ल्याएको छ कि छैन ? अप्रिय घटना हुन नदिन तिनीहरूको तथ्याङ्क राखी करको दायरमा ल्याउनुपर्दछ । लेनदेनको कारण झै–झगडा हुने, दिनभर कोलाहल र होहल्ला हुने, पार्किङ्ग गर्ने मोटरसाइकलवालाहरूको हेलमेट हराउने, सवारी साधन एक ठाउँबाट अर्को ठाउँमा आफूलाई थाहा नै नदिई सारिदिने, घर–घरको मूल गेटसम्मै पार्किङ्ग गरिदिने आदिले गर्दा झै–झगडाहरू भइरहेको दृश्य सबैले देखिरहेकै हुन् । अतः सम्बन्धित निकायले समयमै आवश्यक कदम चाल्नु हतारो भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *