भर्खरै :

सदस्य सङ्ख्या नै सही दलको नापो होइन

कुनै पनि दललाई चिन्ने आधार, गलत या सही दलको मापदण्ड पार्टी सदस्य सङ्ख्या होइन । दलमा सदस्य सङ्ख्या ह्वात्तै बढाएर आफ्नो दललाई बहुमत रहेको दलको परिचय दिने काम सही होइन । ओली र दाहाल–प्रचण्ड पक्षधर नेकपाले आफ्नो दललाई बहुमत रहेको दल देखाउने प्रतिस्पर्धा गर्दै छन् । बहुमत प्राप्त दल देखाउन दुवै दलका शीर्ष नेताहरू एकले अर्काेलाई तान्न दौडधुप गरिरहेका छन् । ती नेताहरू नेकपाका नेता वामदेव गौतम र रामबहादुर थापालाई आ–आफ्नो पक्षको दलमा ल्याउन लोभ बाँड्दै छन् । ओली पक्षधर नेकपाले एकै पटक ५५६ जना केन्द्रीय सदस्य थपेर सङ्ख्याको आधारमा आफ्नो दललाई ठूलो बनाउने चेष्टा ग¥यो । नेकपा एउटै रहँदा ४४६ मात्र सदस्य रहेको सो पार्टीमा अहिले ओली पक्षले ११९९ पु¥याएको छ । यो सङ्ख्या दल बलियो बनाउन बढाएको होइन भन्ने कुरा कसैले भनिरहनु पर्दैन ।
नेकपा विभाजित भएपछि ओली पक्षको नेकपा अल्पमतमा परेको यथार्थ हो । त्यही कारण ओली पक्षले सदस्य सङ्ख्या थपेको हो । सदस्य सङ्ख्या दाहाल–नेपाल पक्षधर नेपालले पनि थप्न नसकिने होइन । दाहाल–नेपाल पक्षले केन्द्रीय सदस्य सङ्ख्या १२९९ पु¥यायो भने के त्यसबेला फेरि ओली पक्षधर नेकपाले अल्पमतमा परेको स्वीकार्ने हो ? नेकपा विभाजित हुनुभन्दा अघि जति केन्द्रीय सदस्य थिए त्यो नै नेकपाको केन्द्रीय सदस्यको सङ्ख्या हो भन्ने राजनीतिज्ञहरूको विश्लेषण अन्यथा होइन । झन्डै दुईतिहाइ बहुमत प्राप्त बलियो र शक्तिशाली नेकपाको हालको हविगतले उक्त कुरा पुष्टि गर्छ ।
कुनै पनि दल सिद्धान्त, विचार या दर्शनको आधारमा चलेको हुन्छ, चल्नुपर्छ । विचार र सिद्धान्त छोडेर केन्द्रीय समितिको बैठकमा जति सङ्ख्या थपे पनि त्यसको आधारमा बलियो, शक्तिशाली र सही मान्न सकिँदैन । सुरुमा एमाले र माओवादी एक हुँदा त्यसरी नै एक हजार बराबरको सदस्य रहेको केन्द्रीय समिति गठन गरिएको थियो । त्यसबेला नेकपाका नेताहरूले संसारकै सबभन्दा ठूलो र शक्तिशाली दलको बखान गरेका थिए । अहिले ओली पक्षधर नेकपाले झन्डै १२ सय केन्द्रीय सङ्ख्या बढाएर आफ्नै दललाई संसारकै सबभन्दा ठूलो दल बनाउने प्रयास गरेको छ । दस करोडभन्दा बढी सदस्य रहेको चिनियाँ कम्युनिस्ट पार्टीले समेत केन्द्रीय समितिको सदस्य सङ्ख्या एक हजार बढाएको छैन ।
ओली र दाहाल – नेपाल पक्षधर नेकपा सिद्धान्त र विचारको आधारमा चलेको छ कि छैन ? नेपाली जनताले चिन्नुपर्छ । कम्युनिस्टको सिद्धान्त र विचारको आधारमा अघि बढेको या राजनीति गरेको दलप्रति जनताको विश्वास हुन्छ । कम्युनिस्टको सिद्धान्त र विचार छोडेको दललाई सङ्ख्याको आधारमा सही दल या कम्युनिस्ट पार्टी भनिँदैन । विभाजित नेकपाका ओली र दाहाल पक्षधर दलमा कम्युनिस्ट आचरण नभएको हुँदा दुवै दलले दलको नाउँ फेर्नुपर्ने देखिन्छ । यो दल हाम्रो हो भनेर झगडा गरिरहनुभन्दा दलको नामै फेरेर निर्वाचन आयोगमा दर्ता गरे आनन्द हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *