लोकतन्त्र भनेको ‘एल्गोरिदमतन्त्र’ होइन, न त ‘मिदासतन्त्र’ नै हो !
- बैशाख २८, २०८३
नेकपाका सबैजसो नेताहरूले पार्टी कुनै हालतमा फुट्दैन भनी वाचा गरेका थिए । पार्टी फुट्दैन, कसैले फुटाए बाँकी राख्ने छैन भन्ने विचार पनि तिनै नेताहरूले पोखेका थिए । तर, नेकपा विभाजित भएपछि या नेकपा अलग अलग भएपछि पार्टी फुट्दै फुट्दैन भन्ने बखान कसैले गरेनन् । पार्टी विभाजित भए पनि ती नेताहरूले आफ्नो पार्टीको नाम नेकपा नै भनेका छन् या दाबी गरिरहेका छन् । शक्ति, पद र भागबन्डामा लागेको नेकपा फेरि मिल्दैन भनी भन्न सकिने स्थिति छैन । नेकपा विभाजित हुन नदिन ओली र दाहालको छुट्टाछुट्टै प्रतिवेदनको अध्ययन गरी दुवैलाई मिल्ने अर्काे नयाँ राजनीतिक प्रतिवेदन ल्याउने कुरो भएकै हो । केन्द्रीय समितिको बैठक अलग अलग बसे पनि, नयाँ अध्यक्ष र नयाँ प्रवक्ता चयन भए पनि स्वार्थ एउटै भएको हुँदा फेरि जुट्न सकिने कुरा राजनीतिक विश्लेषकहरूले उठाएका छन् ।
कुनै हालतमा फुट्दैन भनिएको पार्टी कसरी फुट्यो या विभाजित भयो ? संसारमा कहीँ नभएको काम गरेको देखाएर या दुई अध्यक्षको बन्दोबस्त गरेर नेकपाले आफूलाई शक्तिशाली र अद्भूत पार्टी ठान्यो । पार्टीमा दुई अध्यक्षको बन्दोबस्त भएजस्तै झन्डै देशमा दुई प्रधानमन्त्री बनाउने कुरा नेकपाका एक अध्यक्षले फुकेकै हुन् । त्यसबेला दुई जना प्रधानमन्त्री बनाउने प्रयास असफल भए पनि राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीसमेत चार उपप्रधानमन्त्रीको बन्दोबस्त भयो । सङ्घीयताको विरोध गर्ने राजमोका अध्यक्ष केसी कुन ध्येयले उपप्रधानमन्त्री बन्न पुगे । केसी उपप्रधानमन्त्री भए पनि आखिर देश र जनताको लागि केही गर्न सकिएन ।
आफूलाई ठूला कम्युनिस्ट पार्टीका शीर्ष भनिने नेताहरू बाबुराम भट्टराई, केपी ओली, पुष्पकमल दाहाल, माधवकुमार नेपाल र झलनाथ खनाल प्रधानमन्त्री भए । प्रधानमन्त्री भएरै पालैपालो शासन गरे । तर, कुनै पनि प्रधानमन्त्रीले आफ्नो पालामा जनतालाई राहत हुने गतिलो काम गर्न सकेनन् । नेकपा विभाजनको कारण सरकारको नेतृत्व हेरफेर भए पनि त्यो सरकारले पनि गतिलो काम गर्न सक्नेछैन । सङ्घीय लोकतान्त्रिक गणतन्त्र पुँजीवादी बन्दोबस्त हो । पुँजीवादी बन्दोबस्तमा रहेर आमूल परिवर्तन असम्भव छ । यो व्यवस्थामा समाजवादी गणतन्त्र स्थापना सम्भव छैन । कम्युनिस्ट भनिने नेकपाले सरकारमा गएर गलत अभ्यास ग¥यो । नेकपाले सरकारको नेतृत्व गर्नु नै आफ्नो अन्तिम उद्देश्य ठान्यो । पार्टी ठूलो बनाउने र सरकारको नेतृत्व गर्ने उद्देश्यले नेकपाले भीड थुपार्ने राजनीति ग¥यो । पार्टी प्रवेश भनेपछि पात्र जोसुकै भए पनि पार्टीमा भित्र्याइयो । पार्टीमा प्रवेश गराउँदा त्यो व्यक्तिको चरित्रको कुनै ख्याल गरिएन । पार्टीभित्र छिराएर सङ्ख्या भए पुग्छ । व्यक्तिको चरित्र र व्यवहार नहेरी भ्रष्टाचारी, कलङ्कित, कमिसनखोर, ठग, मूर्तिचोर, अपराधी जो कसैलाई नेकपाभित्र भित्र्याउने काम नेकपाले ग¥यो । पार्टीमा जो कोही भित्र्याएर कम्युनिस्ट पार्टी कसरी मजबुत हुन्छ ? नेकपामा भीड जम्मा गरेकै कारण सिद्धान्त र विचारभन्दा व्यक्तिगत र दलगत स्वार्थ बढेको हो । फलतः नेकपा विभाजित भयो । विभाजित नेकपा आफ्नै पार्टी रहेको दुवैले दाबी गरे । निर्वाचन आयोग र सर्वाेच्च अदालतले सोको छिनोफानो तुरून्तै गर्नु जरुरी छ ।
Leave a Reply