भर्खरै :

हेनरी किसिङ्गरको आँखामा चीन – १

(हेनरी अल्फ्रेड किसिङ्गर अमेरिकी राजनीतिज्ञ, कूटनीतिज्ञ तथा भूराजनीतिका सल्लाहकार हुन् । उनी संरा अमेरिकामा राष्ट्रपति रिचार्ड निक्सन र गेराल्ड फोर्डको राष्ट्रपतीय प्रशासनमा विदेश सचिव (मन्त्री) र राष्ट्रिय सुरक्षा सल्लाहकार बनेका थिए । सन् १९२३ मे २७ का दिन जर्मनीको बेभेरिया फुर्थमा जन्मेका किसिङ्गर १५ वर्षको उमेरमा नाजी आमनरसंहारबाट जोगिन परिवारसँगै संरा अमेरिकामा शरण लिएका थिए । भियतनाम युद्ध अन्त्य गर्न प्रमुख वार्ताकारको भूमिका निभाएबापत उनलाई १९७३ को नोवेल शान्ति पुरस्कार प्रदान गरिएको थियो ।
अमेरिकी राजनीतिमा किसिङ्गर एक विवादास्पद र ध्रुवीकृत व्यक्तित्वका रूपमा रहेका छन् । संरा अमेरिकाका धेरै पत्रकार, राजनीतिक कार्यकर्ता र मानव अधिकारवादी वकिलहरू उनलाई युद्ध अपराधी मान्छन् भने अरूले उनलाई संरा अमेरिकाका एक प्रतिबद्ध र प्रभावशाली विदेश सचिव, कूटनीतिज्ञ र अन्तर्राष्ट्रिय सम्बन्धका विद्वानका रूपमा लिन्छन् ।
तत्कालीन समाजवादी देश सोभियत सङ्घ र संरा अमेरिकाबीचको तनाव मत्थरका लागि खेलेको सकारात्मक पहल र जनवादी गणतन्त्र चीन र संरा अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापनाका लागि उनले खेलेको महत्वपूर्ण भूमिकाका लागि उनलाई बरोबर स्मरण गरिन्छ ।)–सं.
हिलेको बजारमा राजनीति, अर्थनीति तथा कूटनीतिबारे लेखिएका पुस्तकहरू प्रशस्त पाइन्छन् । तर, अत्यन्त खोजमूलक, वस्तुपरक तथा प्रत्यक्ष अनुभवको आधारशिलामा तयार पारिएका कममात्र पुस्तक पाइन्छन् । कतिपय पुस्तकलाई आत्मसंस्मरणको रूप दिइएको हुन्छ तर ती आत्मश्लाघाले भरिपूर्ण हुन्छन् । यथार्थभन्दा पनि कृत्रिमता खचाखच भरिनाले ती पानीका फोकाभैmँ बिलाउँछन् र घाम लागिसकेपछि शीतका कण सुक्न थालेभैmँ वास्तविकताको तापसामु ती हराउँछन् । इतिहासको नाममा लेखिएका कतिपय स्तुतिगानहरू पनि बालुवामा लेखिएको आकृतिलाई थोरै पानी या हावाको झोँकाले उडाइदिएभैmँ दृश्यबाट सजिलै विलुप्त हुन्छन् । कति प्रायोजित तथा ‘प्रचारक’ हरूद्वारा तयार पार्न लगाइएका पुस्तकहरू हुन्छन् । ती लेखक पनि एकदिन उदाङ्गिन्छन् । साम्राज्यवादी शक्तिका अन्धभक्तहरूद्वारा तयार पारिएका पुस्तकको मुख्य उद्देश्य नै विद्रोह, जनक्रान्ति तथा समाजवादलाई दबाउने या बदनाम गर्ने हो । क्रान्तिको सेवाका निम्ति तयार पारिएका पुस्तक साँचो अर्थमा सर्वकालिक हुन्छन् र विश्व मानव जगतको युगीन दर्पण बन्छन् ।
समाजवादी देश चीन, चिनियाँ क्रान्ति र चिनियाँ समाजवादबारे लेखिएका पुस्तकहरूको पनि कमी छैन । तर, तीमध्ये कतिपय यथार्थभन्दा पर तथा दोषपूर्ण छन् । कतिपय पुस्तकको आलोचनात्मक अध्ययन जरुरी हुन्छ । ‘चीनबारे’ (On China) वरिष्ठ कूटनीतिज्ञ तथा संरा अमेरिकाका पूर्वविदेशमन्त्री हेनरी किसिङ्गरद्वारा लिखित पुस्तकको नाम हो । यसलाई पुरानो चीन र नयाँ चीनलाई चिनाउने पुस्तकभन्दा उपयुक्त होला । सन् १९७१ मा चीन र पश्चिमा देशबीच कसरी सम्बन्धको सुरुआत भयो र कसरी अगाडि बढ्यो भन्नेबारे बताउन तयार पारिएको संस्मरण र प्रत्यक्ष भोगाइमा आधारित पुस्तक हो यो । कूटनीति, विदेश नीति, रणनीति, सम्झौता आदि नै यस पुस्तकको मुख्य विषयवस्तु हो । विशेषगरी चीन र संरा अमेरिकाको सम्बन्धमा केन्द्रित पुस्तकले तत्कालीन विश्व राजनीति, शीतयुद्धकालीन परिवेश, दक्षिणपूर्वी एसियाको राजनीतिको सजीव दृश्य उतार्छ । सन् २०११ मा प्रकाशित यो पुस्तक जम्मा ५८६ पृष्ठ र १८ वटा अध्यायमा विभक्त छ ।

जनवादी गणतन्त्र चीनको इतिहास, उपनिवेशवादविरोधी सङ्घर्ष, समाजवादी क्रान्तिको विकास तथा विजय, समाजवादी निर्माणको आरोह–अवरोह, आर्थिक उन्नयनको नालीबेली आदिबारे असङ्ख्य लेखकले धेरै पुस्तक लेखेका छन् । तीमध्ये केही ख्यातीप्राप्त विदेशी लेखकहरू पर्दछन् । एक विदेशीको नजरमा चीन कस्तो छ, चीनले के ग¥यो र गर्दै छ, चीन कतातिर जाँदै छ आदिबारे बुभ्mन किसिङ्गरको ‘चीनबारे’ अध्ययन गर्न सान्दर्भिक हुन्छ । चिनियाँ नेतृत्व कस्तो थियो, कसरी काम ग¥यो, कसरी विकास भयो भन्नेबारे सदृश्य वर्णन यस पुस्तकले गर्दछ । चिनियाँ कम्युनिस्ट पार्टी के हो, कार्यशैली कस्तो छ र उद्देश्य हासिल गर्न क्रान्तिको नेतृत्व कसरी गर्दै छ भन्नेबारे गम्भीर अभिरुचि भएकाहरूका निम्ति यो एउटा छुटाउन नमिल्ने पठन सामग्री हो भन्नु अत्युक्ति नहोला । अन्तर्राष्ट्रिय सम्बन्धको अध्ययनको क्षेत्रमा यो एउटा महत्वपूर्ण पुस्तक हो ।
संरा अमेरिकी पूर्वविदेशमन्त्री हेनरी किसिङ्गर अहिले ९७ वर्षका वयोवृद्ध भइसकेका छन् । उनले राष्ट्रिय सुरक्षा सल्लाहकार तथा विदेशमन्त्रीका रूपमा राष्ट्रपति रिचार्ड निक्सन र जेराल्ड फोर्डको कार्यकालमा सेवा गरे । पछि अरू धेरै राष्ट्रपतिलाई विदेश मामिलामा सल्लाह प्रदान गरे । उनको यस पुस्तकमा चीनले समाजवादी क्रान्ति सम्पन्न भइसकेपछि प्राप्त उपलब्धि जोगाउन र देशको रक्षा सम्बन्धमा चुनौती खडा हुँदा कसरी कूटनीतिक गतिविधि अगाडि बढायो, सङ्कट समाधानमा कसरी सुझबुझ तथा परिपक्वता देखाउँदै ठूला शक्तिसामु कसरी सामना ग¥यो भन्नेबारे विस्तृत चर्चा छ । विशेषगरी तत्कालीन सोभियत सङ्घले चीनको भौगोलिक अखण्डतामाथि हाँक दिँदा चिनियाँ नेतृत्वले सन्तुलित कदम चाल्दै विपरीत विचारको संरा अमेरिकासँग कसरी कूटनीतिक सम्बन्ध स्थापित गरी सम्बन्ध अगाडि बढायो भन्नेबारे पनि यो पुस्तकले छर्लङ्ग पार्छ ।
जनवादी गणतन्त्र चीन र चिनियाँ नेतृत्वबारे अहिलेसम्म बाहिर नआएका कतिपय विषय, त्यससँग जोडिएका घटना–परिघटना पुस्तकमा प्रस्तुत गरिएका छन् । अध्यक्ष माओ त्सेतुङ र प्रधानमन्त्री चाउ एनलाइबारे यस पुस्तकले थप जानकारी दिन्छ । उहाँहरूको दृष्टिकोण, दूरदर्शिताबारेका अनगिन्ती दृष्टान्त, प्रसङ्ग, संवादले यस पुस्तकको ऐतिहासिक महत्व उजिल्याउँछ ।
पूर्वविदेशमन्त्री किसिङ्गरले पदमा रहँदा र नरहँदा गरेका ५० पटकभन्दा बढी चीन भ्रमण तथा चिनियाँ शीर्ष नेता तथा उच्चपदस्थ अधिकारीसँग भएका महत्वपूर्ण औपचारिक तथा अनौपचारिक भेटघाटको सार नै यो पुस्तक हो भन्नु समीचिन हुनेछ । अमेरिकी राष्ट्रपति र चिनियाँ राष्ट्रपतिबीच फरक–फरक समयमा भएका औपचारिक तथा अनौपचारिक वार्ता एवम् बैठक, दुई देशबीच भएका अन्य उच्चस्तरीय वार्ता, महत्वपूर्ण क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सवालमा भएका बैठकका क्रममा भएका आदान–प्रदान, मत–मतान्तर पुस्तकमा उल्लेख छन् ।
सन् १९४९ मा चीन मुक्त भए तापनि चीनले धेरै वर्षसम्म अन्तर्राष्ट्रिय सम्बन्धमा खासै चासो देखाउन सकेन या उल्लेख्य प्रगति गर्न सकेन । चीन तत्कालीन सोभियत सङ्घसँगको मित्रता, सहयोग आदान–प्रदानमा सीमित थियो । करिब बीस वर्षसम्म संरा अमेरिका र चीनबीच सम्बन्ध राम्रो थिएन । तीबीच शत्रुतापूर्ण वातावरण कायम नै रह्यो । सन् १९५० देखि १९५३ सम्म भएको कोरियाली युद्धका कारण यी दुई ठूला देशबीच दुश्मनी नै थियो । थाइवानको प्रश्नले दुबैलाई अलग्याइरह्यो । यही सवालले सबैभन्दा बढी दुवै पक्षविपरीत स्थितिमा थिए । विश्वमा चलिरहेको शीतयुद्धको प्रभाव मुख्य कारण थियो भन्नु अझ बढी वस्तुपरक तथा तर्कसङ्गत हुनेछ । यद्यपि, सन् १९७० पछि विश्वको एउटा महाशक्ति संरा अमेरिका र एसियाको विशाल देश चीनबीच संवादको थालनी भयो । त्यो संवादको सेतु किसिङ्गर थिए भन्नु अन्यथा हुनेछैन । आजभन्दा लगभग ५० वर्ष अगाडि राष्ट्रपति रिचर्ड निक्सनले जिम्मेवारी सुम्पेबमोजिम संरा अमेरिका र चीनबीच सम्बन्ध पुनः स्थापित गर्न किसिङ्गरले भगीरथ प्रयास गरे । त्यति ऐतिहासिक तथा अत्यन्त संवेदनशील अभिभारा एक वरिष्ठ अमेरिकी अधिकारी, एक जिम्मेवार सूचना संवाहक र एक विद्वानको नाताले पूरा गरेको किसिङ्गर बताउँछन् । त्यस क्रममा किसिङ्गरले आठजना अमेरिकी राष्ट्रपति र चार पुस्ताका चिनियाँ नेताहरूसँग व्यवहार गरे । यस यथार्थबाट पनि उनले निर्वाह गरेको जिम्मेवारी संवेदनशील हुनुका साथै जोखिमपूर्ण थियो भन्ने प्रस्ट हुन्छ । दुई देशका नेताहरूबीच कुराकानी हुँदा बनाइएको टिपोट सुरक्षित राखिएको र त्यसैको मुख्य आधारभूमिमा यो पुस्तक तयार भएको उनी स्वीकार्छन् । दुई भिन्न परिवेश, भिन्न संस्कृति र भिन्न सोचका साथै भिन्न उद्देश्य भएका दुई समाज र देशबीच काम गर्नु जोखिमपूर्ण तथा रोमाञ्चकारी हुनु अस्वाभाविक होइन भन्छन् उनी ।
विशेषगरी जनवादी गणतन्त्र चीन, संरा अमेरिका र सोभियत सङ्घबीचको त्रिकोणात्मक सम्बन्ध तथा द्वन्द्व वरपर यो पुस्तक घुम्छ । त्यस क्रममा विश्व राजनीति, कूटनीति, इतिहास र आर्थिक उतार–चढावका भिन्न आयामबारे छर्लङ्ग पार्दछ । जनवादी गणतन्त्र चीन किन र कसरी संरा अमेरिकासँग सम्बन्ध जोड्न तयार भयो ? सम्बन्धको विकासको नालीबेलीबारे यो पुस्तकले स्पष्ट पारेको अनुभूत हुन्छ ।
चीनको इतिहासः सङ्क्षिप्त चर्चा
पुस्तकको पहिलो अध्यायमा चिनियाँ इतिहासको सङ्क्षिप्त चर्चा गर्दै चिनियाँ सभ्यताको विशिष्ट गुण, उपलब्धि तथा विश्व मानव सभ्यताको विकासमा चीनको देनबारे प्रकाश पारिएको छ । इतिहासमा चीनले गौरवशाली स्थान ओगटेको उल्लेख गरिएको छ । साङ्ग वंश (Shang) अर्थात्् आजभन्दा चार हजार वर्षभन्दा पहिला नै चिनियाँ लिपिको विकास भएको र त्यतिखेर ग्रीसका नगर–राज्यहरू र रोमको उदयसमेत भइनसकेको लेखक बताउँछन् । चीनले असङ्ख्य गृहयुद्ध, हमला, उपद्रव, विपत्ति बेहोरेको र तत्पश्चात् एउटा न एउटा एकीकरणकारी शक्तिको पनि उदय भएको उनी बताउँछन् । “चिनियाँ साम्राज्यको भूगोलमाथिको दाबी समुद्र किनारभन्दा पर गएन । सङ्ग वंश (Song) (९६०–१२७९) को सुरुआततिर नै जलयात्रा र जलसेनासँग सम्बन्धित प्रविधिमा चीनले विश्वमा नेतृत्व गरिसकेको थियो । त्यो शक्तिको प्रयोग गरी चिनियाँ साम्राज्यले कब्जा र अनुसन्धान कार्य तीव्र बनाउन सक्थ्यो । यद्यपि, समुद्र पारी पुगेर उपनिवेश बनाउने र आफ्नो किनारा पार गरी अर्को देश पुग्न चासो देखाएन ।” यसप्रकार लेखकले चीनको यथार्थ उजागर गरेका छन् । चीनले कन्फुसियस र बुद्धका विचार विदेश निर्यात गर्ने उद्देश्य नराखेको बारे सिलसिलेवार वर्णन गरिएको छ । मीङ्ग वंश (१४०५ र १४३३ को बीचतिर) मात्र चङ ह (Zheng He) जलयात्रामा निस्केको पाइन्छ ।
आधुनिक युगको प्रारम्भिक कालतिरको चीनलाई देखेका पश्चिमा पर्यवेक्षकहरू चीनको शक्ति र भौतिक समृद्धिबाट अत्यन्त प्रभावित भए, ती आश्चर्यले चकित बने । फ्रान्सेली विद्वान डु हाल्डे (Du Halde) ले १७३६ मा लेखेअनुसार त्यतिखेर चीनको घरेलु व्यापार उत्कर्षमा पुग्दै थियो । सिङ्गो युरोपको व्यापार र चीनको व्यापार उस्तैउस्तै थियो । फ्रान्सेली राजनीतिक अर्थशास्त्री फ्रान्कोस क्विस्ने (Francois Quesnay) भन्छन्, “यो राज्य विश्वकै सबैभन्दा सुन्दर हो भन्ने कुरा कसैले अस्वीकार गर्न सक्दैन । यो सबैभन्दा बढी जनसङ्ख्या भएको र समृद्धितर्पm लम्किरहेको देश हो । सारा युरोपेली देश एउटा सम्प्रभु भएमा मात्र चीनसँग बराबर हुनेछ ।” चीनसँग व्यापार गर्न पश्चिमा देशहरू लालायित हुन्थे र ती अत्यधिक फाइदा हासिल गर्थे ।
यसै अध्यायमा लेखकले कन्फुसियसको विचारबारे छलफल गरेका छन् । रक्तपातपूर्ण युद्धको अन्त्यपश्चात् चीन फेरि एक ढिक्का भएर माथि उठ्यो । हान वंश (Han) ले कन्फुसियसको विचारलाई राज्यको आधिकारिक दर्शनको मान्यता दियो । कन्फुसियसले मनुष्य जातिलाई आपैmलाई चिन्न आह्वान गरे । सद्भावको वृद्धिका लागि कडा मेहनत गर्न उनले आह्वान गरे ।
‘अन्तर्राष्ट्रिय सम्बन्धको अवधारणा ः पक्षपातविहीनता वा समानता’ उपशीर्षकमा लेखक किसिङ्गर चीनको विदेश नीतिको सङ्क्षिप्त इतिहासको झलक र दृष्टिकोण प्रस्तुत गर्दछन् । युरोप आधुनिक युगमा प्रवेश गर्नुभन्दा एक हजार वर्षअगाडि नै चीनले परीक्षा लिएर सरकारी कर्मचारी नियुक्त गर्ने परिपाटी बसालेको थियो । तसर्थ, विश्व व्यवस्थाबारे चिनियाँ नीति या अवधारणा युरोपको भन्दा निकै भिन्न थियो । सोह्रौँ र सत्रौँ शताब्दीतिर विदेश नीति सम्बन्धमा युरोपले आधुनिक अवधारणा निर्माण गरेको थियो ।
संरा अमेरिकाले आफ्ना मूल्य–मान्यताको अन्तर्राष्ट्रियकरण गर्न खोजेभैmँ चीनले त्यस्तो प्रयास गरेन । आपूmविरुद्ध हमला गर्न आउनेलाई ढोकैमा रोक्ने चीनको नीति रह्यो ।
अफिम युद्धबारे
यस पुस्तकको दोस्रो अध्यायमा चीनको अन्तर्राष्ट्रिय सम्बन्ध विकासको प्रारम्भिक कालको सन्दर्भ उल्लेख गरिएको छ । विशेषगरी पुस्तकमा अफिम युद्धबारे चर्चा गरिएको छ ।
अठारौँ शताब्दीको अन्त्यतिर चीन एउटा बलियो साम्राज्यको रूपमा उदाइसकेको थियो । सन् १६४४ मा सुरु भएको छिङ्ग वंश (Qing) ले चीनलाई एउटा प्रमुख सैन्य शक्तिको रूपमा स्थापित गरिसकेको थियो । एसिया महादेशको प्रमुख शक्तिमात्र होइन चीन संसारको कुनै पनि साम्राज्यलाई चुनौती दिनसक्ने मुलुक बन्यो । चीनको शक्ति, वैभव तथा उन्नतिबाट पश्चिमाहरू आकर्षित हुँदै थिए । पश्चिमाहरूले विस्तारै विभिन्न गतिविधि गर्दै चीनलाई एउटा केन्द्रको रूपमा अगाडि बढ्न नदिने प्रयास गरे । नभन्दै पश्चिमाहरूले नयाँ औद्योगिक तथा वैज्ञानिक विकासको थालनी गरे, वाष्प इन्जिन तथा रेल्वेको विकास गरे, नयाँ औद्योगिक उत्पादन तथा पुँजीको विकास थाले ।
सत्रौँ शताब्दीको प्रारम्भतिर चीनको दक्षिण–पूर्वी भागमा युरोपेली व्यापारीको उपस्थिति बाक्लो हुँदै थियो । चिनियाँहरू तिनलाई ‘पश्चिम समुद्रका बर्बरहरू’ अथवा ‘बर्बर व्यापारीहरू’ भन्थे । ती व्यापारीमध्ये अत्यन्त कमले मात्र विरलै पेचिङ्गसम्म जाने अनुमति पाउँथे । तिनलाई अति कडा कानुनले बाँधेको थियो । चिनियाँ निगरानीसमेत त्यतिकै कडा पारिएको थियो । पश्चिमा व्यापारीलाई चिनियाँ भाषा सिकाउन बन्देज लगाइएको थियो । चिनियाँ इतिहास र संस्कृतिसम्बन्धी पुस्तक पनि तिनलाई बेच्न पाइँदैनथ्यो । विशेष अनुमति प्राप्त स्थानीय व्यापारीको माध्यमबाट मात्र सम्पर्क गर्न मिल्ने प्रावधान थियो । व्यापारिक गतिविधि गर्न तिनीहरूका निम्ति क्यान्टन अर्थात्् क्वाङ्चाउ एउटामात्र खुला गरिएको थियो । अन्यत्र जाने अनुमति दिइएको थिएन ।

सन् १७१५ मा छिङ्ग वंशले पेचिङ्गमा मस्कोको दूत राख्न अनुमति प्रदान ग¥यो । कालान्तरमा त्यो राजदूतावासमा परिणत गरियो । एक शताब्दीमा कुनै विदेशी कार्यालय पेचिङ्गमा खोलिएको यो नै पहिलो घटना थियो । विस्तारै युरोपसँग चीनको व्यापार बढ्दै गयो । चिया, रेशम, सजावटका सामग्री, फलफुल आदिमा युरोपेलीहरूको आकर्षण थियो । पश्चिमा शक्तिहरूको आर्थिक सम्पन्नता र आत्मविश्वास बढ्दै गएपछि तिनलाई रोक्न सम्भव नै भएन !
पश्चिमा व्यापारीले क्वाङ्चाउभन्दा बाहिर अर्थात्् दक्षिण–पूर्वी समुद्र किनार क्षेत्रभन्दा पर पनि व्यापार गर्ने अनुमति माग गरे । त्यतिञ्जेलसम्ममा बेलायतले चीनको समुद्री किनारा सुरक्षा प्रबन्धबारे अध्ययन गरिसकेको र सम्पूर्ण कमजोरीबारे थाहा पाइसकेको थियो । बेलायतले लर्ड जर्ज म्याकार्टनिको टोली सन् १७९३–१९९४ मा चीन पठायो । उनी अन्तर्राष्ट्रिय सम्बन्धका एक अनुभवी सरकारी कर्मचारी थिए । म्याकार्टनिले अनेक उपहार दिएर चिनियाँ सम्राटलाई प्रभावमा पार्ने कोसिस गरे । बेलायत औद्योगिकीकरणमा अत्यन्त अगाडि बढिसकेको र चीन पुरानो युगमा अल्झिरहेको सन्देश दिँदै बेलायतसँगको विशेष सम्बन्ध विस्तार गरी फाइदा उठाउन चीनलाई उत्प्रेरित ग¥यो । तर, चीन बेलायतलाई एउटा घमण्डी देश मान्दै सम्बन्ध अगाडि बढाउन सहमत भएन ।
बेलायती प्रतिनिधि म्याकार्टनिले चिनियाँ सम्राटसँगको दर्शनभेटका लागि चिनियाँ परम्पराअनुसार टाउकोले तीन पटक भुइँ छुवाएर सम्राटलाई अभिवादन गर्ने ‘कोटो’ (kowtow) का लागि तयार नभएको, बरु युरोपेली शैलीमा एउटा खुट्टाले टेकेर अभिवादन गर्ने अडान लिएको प्रसङ्ग रोचक छ । म्याकार्टनिले पछि चिनियाँ शैलीबमोजिम नै सम्राटलाई अभिवादन गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *