सीपमूलक तालिमका प्रशिक्षार्थीहरूको अभिमुखीकरण कार्यक्रम
- जेष्ठ ४, २०८३
शुक्रबार आयोजित पत्रकार भेटघाटमा नेता माधव नेपालले प्रधानमन्त्री ओलीलाई ‘गोर्भाचोभ’ भएको आरोप लगाए । गोर्भाचोभ तत्कालीन सोभियत सङ्घका अन्तिम राष्ट्रप्रमुख हुन् जसले सन् १९८९ मा औपचारिकरूपमा सोभियत समाजवादी सत्ता विघटनको घोषणा गरेका थिए । सन् १९१७ मा भएको रूसी अक्टोबर समाजवादी क्रान्तिबाट स्थापना भएको सोभियत सङ्घ सन् १९५२ मा स्तालिनको निधनपछि संशोधनवादी नेतृत्वको हातमा गयो । खु्रश्चेभले सोभियत सङ्घलाई संशोधनवादी र सामाजिक–साम्राज्यवादी भासमा डो¥याए । सैद्धान्तिकरूपमा पथभ्रष्ट भएको सोभियत सङ्घ अन्ततः गोर्भाचोभले विघटनको घोषणा गरे । गोर्भाचोभले सोभियत सङ्घको विघटनपछि दिएको एउटा अन्तर्वार्तामा ‘आफ्नो जीवनको लक्ष्य नै सोभियत सङ्घ विघटन गर्नु भएको र आफ्नो लक्ष्यमा आफू सफल भएको’ बताएका थिए । सोभियत सङ्घ र कम्युनिस्ट पार्टीको नेता भएर कम्युनिस्ट सत्ता र कम्युनिस्ट पार्टी नै विघटन गर्न नेतृत्व गरेका गोर्भाचोभ गद्दार नेता थिए । उनले सोभियत जनता र संसारकै श्रमिक वर्गलाई धोखा दिएका थिए ।
माधव नेपालले केपी ओलीलाई ‘गोर्भाचोभ’ भन्नुले स्पष्टतः दुई अर्थ निकाल्न सकिने देखिन्छ । पहिलो, नेकपा संशोधनवादी पार्टी हो भन्ने कुरा नेपालले स्वीकारेका छन् । गोर्भाचोभले नेतृत्व गरेको सोभियत सङ्घको कम्युनिस्ट पार्टी संशोधनवादीमात्र थिएन, बरू समाजवादको आवरणमा साम्राज्यवादी चरित्र भएको पार्टी थियो । संशोधनवाद कम्युनिस्ट आन्दोलनभित्रको पुँजीवादी रोग हो जसले कम्युनिस्ट आवरणमा क्रान्तिको बाटोमा अवरोध पु¥याइरहेको हुन्छ । ओली र नेपाल केही दिनअघिसम्म पनि एउटै दलभित्र थिए । अहिले नेकपामा कुनै सैद्धान्तिक विषयमा विवाद भएकोले विभाजन आएको होइन । राजनीतिक र पदीय भागबन्डा नमिल्दा उनीहरू विभाजित भएका हुन् । त्यसकारण विभक्त नेकपाका दुवै खेमा गोर्भाचोभकै सन्तति भएको नेपालको भनाइले प्रस्ट बनाउँछ ।
तत्कालीन एमाले नेपालको कम्युनिस्ट आन्दोलनको मुख्य संशोधनवादी धार थियो । केशरजङ रायमाझीले थालनी गरेको संशोधनवादी धारलाई एमालेले निरन्तरता दियो । माओवादी केन्द्र पनि त्यो धारमा मिसिएपछि नेकपा नामको संशोधनवादी मोर्चा बनेको हो । गोर्भाचोभ र सोभियत संशोधनवादी नेताहरूले सोभियत सङ्घ र सोभियत कम्युनिस्ट आन्दोलनलाई विघटनको खाल्डोमा जाँकेका थिए, नेकपाका दुवै खेमाले नेपालको कम्युनिस्ट आन्दोलनलाई त्यसरी नै कमजोर बनाउनेमा दुईमत छैन ।
माधव नेपालको सो आरोपबाट नेपालमा यतिबेला ‘समाजवादी’ व्यवस्था छ भन्ने अर्थ पनि लाग्छ । संशोधनवादीहरूको लक्ष्य नै समाजवादको आवरणमा पुँजीवादको विकास गर्नु हो । संशोधनवादीहरू पुँजीवादलाई नै समाजवादको रूपमा प्रचार गरी जनतामा भ्रम सिर्जना गर्छन् । आज नेकपाका दुवै खेमाका नेताहरूले त्यही गरिरहेका छन् । नेपाल अहिले पुँजीपति, एकाधिकार पुँजीका दलाल, भ्रष्ट ठेकेदार र कालाबजारियाको लागि ‘समाजवाद’ नै बनेको छ । तर, कामदार नेपाली जनताको समाजवाद अझै आएको छैन । ‘गोर्भाचोभहरू’ले कामदार जनताको समाजवाद बनाउने होइन, विघटन गर्ने गर्छन् । नेकपाहरूले नेपालका कामदार जनताको समाजवादी आन्दोलनलाई कमजोर बनाउने हुन् । गोर्भाचोभको जीवन लक्ष्य समाजवाद ध्वस्त बनाउनु भएजस्तै नेकपाका नेताहरूको जीवनको लक्ष्य पनि नेपालमा कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाएर कम्युनिस्टको मुखुण्डो लगाएर आफूले सत्तासुख भोग गर्नु हो । भ्रममा नपरौँ, नेकपाका दुवै खेमाले गोर्भाचोभका नेपाली संस्करणको प्रतिनिधित्व गर्छन् ।
Leave a Reply